राजनीतिक दलका जिम्मेवार नेता एवं त्रिविका बहुसंख्यक इमान्दार प्राध्यापकहरूले प्राज्ञिक पदको राजनीतिक भागबन्डा गर्ने कुसंस्कारको विरोध गरेर अन्त्य गर्न नसकेसम्म शिक्षण अस्पतालमा देखा परेजस्तो समस्या अन्यत्र पनि दोहरिइरहने छ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत स्नातकोत्तर तहको प्रवेश परीक्षामा संस्थानका डीन डा. अरुण सायमिले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै सुरु भएको आन्दोलनका कारण दुई साताभन्दा बढी समयदेखि त्रिवि शिक्षण अस्पतालको बहिरंग तथा आकस्मिक सेवा बन्द भएका छन्। देशकै सबैभन्दा ठूलो अस्पताल र गम्भीर प्रकृतिका शल्यक्रिया र उपचार हुने त्रिवि शिक्षण अस्पतालबाट सेवा प्राप्त गर्न नसकेर प्रत्येक दिन हजारौंको संख्यामा देशका कुना काप्चाबाट आएका मूलतः निमुखा बिरामी ठूलो मर्कामा परेका छन्। शिक्षण अस्पताल पुगेका तर तत्काल चिकित्सकको उपचार पाउन नसकेका कतिपय बिरामीले सायद आफ्नो ज्यानसमेत गुमाइसकेका होलान्।
अस्पतालका निर्देशकअनुसार आन्दोलनरत परिक्षार्थी, विद्यार्थी एवं शिक्षकचिकित्सकको कुनै पनि माग अस्पतालसंँग सम्वन्धित नभए पनि अस्पताल आन्दोलनकारीको तारो बनेको छ र बिरामीहरूले अनावश्यक दुःख पाएका छन्। शिक्षण अस्पतालकै वरिष्ठ चिकित्सक महेश खकुरेलले भनेजस्तै विद्यार्थीले प्रवेशपरीक्षामा आर्थिक भ्रष्टाचार र अनियमितता भएको आरोप लगाएर सुरु गरेको हडताल राजनीतिक कोटामा नियुक्त पदाधिकारीको झगडासम्म आइपुगेर आकस्मिक सेवासमेत बन्द हुने स्थिति आएको हो। यस प्रकरणबाट अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकबीच गुटबन्दी भएको स्पष्ट हुन्छ र हाल शिक्षण अस्पतालमा देखिएका समस्याको मूल कारण त्यहाँका चिकित्सकको राजनीति नै हो भन्ने लाग्दछ।
सुरुमा स्नातकोत्तर तहका केही परिक्षार्थी र क्याम्पस प्रमुख डा. रामप्रसाद उप्रेतीले डीन डा. अरुण सायमिलाई परीक्षामा नाम निकालिदिने सर्तमा केही परीक्षार्थीबाट १ करोड २० लाखसम्म घुस खाएको आरोप लगाएका थिए। यो आरोप सुन्दा म स्तब्ध भएको थिएँ। पछिल्लो समाचारअनुसार छानवीन समितिले डा. सायमिले आर्थिक अनिमितता गरेको कुनै प्रमाण पाएन। सायमिमाथि लगाइएको आरोप सही ठहरिएको भए उनीमाथि कार्यवाही हुन्थ्यो होला। सायमि वास्तवमै दोषी नठहरिए उनीमाथि झुठो आरोप लगाउनेलाई नियमबमोजिम कार्यबाही हुनु जरुरी छ।
कुनै बेला पुल्चोकको इन्जिनियरिंग क्याम्पस र महाराजगंजको चिकित्सा क्याम्पस त्रिवि अन्तर्गतका सबैभन्दा अनुशासित र स्तरीय पठनपाठन हुने क्याम्पसका रूपमा चिनिन्थे। यहाँ अध्ययन गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षकको शैक्षिक योग्यता उत्कृष्ट स्तरका हुन्थ्यो। त्रिविका यी दुई क्याम्पसबाट उत्पादन हुने जनशक्ति निकै उच्च स्तरको हुनुको साथै यी दुई क्याम्पस क्रमशः दक्षिण एसियाकै उत्कृष्ट इन्जिनियरिंग र मेडिकल कलेजमा पर्थे। देशमा निजी क्षेत्रमा कयौँ इन्जिनियरिंग र मेडिकल कलेज स्थापना भइसक्दा पनि इन्जिनियरिंग र चिकित्साशास्त्र अध्ययन गर्न चाहने उत्कृष्ट विद्यार्थीका लागि यीनै कलेजनै पहिलो छनोटमा पर्छन्। यसो हुनुमा यी कलेजहरूमा सस्तोमा पढ्न पाइने भएरमात्र होइन यहाँको पढाइ स्तरीय भएर पनि हो।
सन् १९९० को दशकमा मैले महाराजगंज क्याम्पसबाट उत्तीर्ण भएर संयूक्त राज्य अमेरिकाका केही अस्पतालमा कार्यरत नेपाली युवा डाक्टरहरूलाई भेट्ने अवसर पाएको थिएँ। अस्पतालका स्थानीय वरिष्ठ डाक्टरहरूअनुसार उक्त अस्पतालमा कार्यरत अरू विकासशील देशबाट आएका डाक्टरका तुलनामा त्रिवि शिक्षण अस्पतालमा पढेका डाक्टरहरू धेरै उत्कृष्ट थिए। त्रिविमै कार्यरत प्राध्यापक भएकाले हाम्रा युवा डाक्टरहरूको प्रशंसा सुन्दा मलाई निकै गर्व लागेको थियो। आज त्रिवि शिक्षण अस्पतालमा उत्पन्न यस विषम परिस्थिति देख्दा दुःख लागेको छ।
पुल्चोक र महाराजगंज क्याम्पसमा स्तरीय पठनपाठन हुनु र त्यहाँबाट उत्पादित जनशक्ति उच्चस्तरको हुनुको प्रमुख कारणमा विद्यार्थीहरूको भर्नाका लागि हुनेे प्रवेशपरीक्षाको स्तरीयता, निष्पक्षता र विश्वसनीयता थियो। पंक्तिकार कुनै समय त्रिविको शिक्षाध्यक्ष छँदा यी क्याम्पसमा भर्ना गर्ने विषयलाई लिएर त्रिविका केन्द्रीय पदाधिकारीलाई कतैबाट दबाब आएको जानकारी छैन। सक्रिय राजतन्त्रका बेलामासमेत यी क्याम्पसमा संचालन हुने प्रवेशपरीक्षामा राजा वा राजाका सचिवहरूकोसमेत केही चल्दैनथ्यो भन्ने जनमानसमा विश्वास थियो र त्यो सत्य पनि थियो। यसैगरी त्रिविका अन्य क्याम्पसमा बन्द हडताल हुँदासमेत महाराजगंज क्याम्पसमा पठनपाठन सुचारुरूपले संचालन हुनेगर्थ्यो। प्राज्ञिक अनुशासनको राम्रो पालना हुन्थ्यो। आज त्यही संस्था प्रवेशपरीक्षाका विषयमा विवादमा पर्नु दुःखको कुरा हो।
हाम्रो समाजमा आजपनि डाक्टरहरू सबैभन्दा इज्जतदार व्यक्ति मानिन्छन्। तर पछिल्लो समयमा राजनीतिक आकांक्षा र संलग्नताका कारण देशका कतिपय वरिष्ठ, सफल र प्रतिष्ठित चिकित्सकसमेत विवादमा पर्न थालेका छन्। शाही कालको स्वास्थ्य मन्त्री बनेर वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाले प्रशंसाभन्दा बढी आलोचना आर्जन गरे। यसैगरी देवकोटाकै अग्रसरतमा वीर अस्पतालमा स्थापित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)का प्रथम उपकुलपति सर्जन डा. दिनेश नाथ गंगोलले वीर अस्पतालकै चिकित्सकहरूबाट दुरव्यवहार सहनु पर्यो। उनीपछि नियुक्त अर्का प्रतिस्थित सर्जन डा. विश्वराज दल्लीमाथि अस्पतालका चिकित्सकले विभिन्न आरोप लगाए र अन्ततः उनी पनि पदमुक्त भए।
यसैगरी दलीपछि माओवादी सरकारको समयमा नियुक्त नाम्सका अर्को उपकुलपति एवं वरिष्ठ युरोलजिस्ट डा. चन्द्रप्रसाद मास्केको पनि त्यही हविगत भयो। वीर अस्पतालका डाक्टरहरूको एक समूह उनको विरोधमा उत्र्यो र उनको कार्यालयमा महिनौंसम्म तालाबन्दी भयो। केही दिनअघि मात्र मास्के आफ्नो पदबाट राजिनामा दिन बाध्य भयो। यसरी नाम्सका प्रत्येक उपकुलपतिले अपमान भएर आफ्नो पदबाट राजिनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ। यही नियति नाम्सका आउँदा उपकुलपतिले पनि भोग्नु नपर्ला भन्न सकिँदैन। अहिले आएर त्रिवि चिकित्सा अध्ययन संस्थानका डीन डा.सायमिले यस्तै नियति भोगिरहेका छन्। यी प्रकरणले चिकित्सक समुदायमा पनि कति राजनीति घुसिसकेको छ, स्पष्ट हुन्छ। वास्तवमा अनौठो लाग्छ, किन यी वरिष्ठ एवं समाजका प्रतिस्थित डाक्टरहरू पनि कुनै राजनीतिक दलका गोटी बन्छन् र यस्ता अवाञ्छित नियति भोग्छन्।
त्रिवि शिक्षण अस्पतालमा हालको परिस्थिति सिर्जना हुनुमा मूलतः त्रिविमा व्याप्त दलीय राजनीति र राजनीतिक आधारमा पदाधिकारीको नियुक्ति हुने प्रथा जिम्मेवार छ। त्रिविमा पदाधिकारीको नियुक्ति राजनीतिक भागबन्डाका आधारमा गर्ने परिपाटी २०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकारको पालादेखि सुरु भएको हो। वास्तवमा यस्तो परिपाटीको थालनीमा राजनीतिक दलका नेताभन्दा त्रिविकै अध्यापन र अनुसन्धानभन्दा राजनीतिमा बढी संलग्न हुने प्राध्यापक संघका केही सीमित एवं स्वार्थी पदाधिकारीहरू बढी जिम्मेवार थिए। जनआन्दोलनपछि त्रिविमा नियुक्त उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार एवं त्रिविअन्तरगतका चार अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सबै कांग्रेस वा नेकपा (एमाले) संग आबद्ध प्राध्यापक संघका निर्वाचित वा निर्वाचनमा पराजित पदाधिकारी थिए। दुवै राजनीतिक दलले पदाधिकारी नियुक्तिमा बराबर भाग पाएका थिए। कुनै पनि पदाधिकारीको नियुक्तिमा उनको प्राज्ञिक योग्यताको भूमिका रहेन। त्यसपछि जुन राजनीतिक दलको सरकार बन्यो त्यही दलसंग आबद्ध प्राध्यापकहरू उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारमा नियुक्त हुने त्रिविको अलिखित नियम नै बन्यो। मिलीजुली सरकार आएपछि त्रिविमा पनि त्यस्तै भागबन्डा सुरु भयो।
सुरुमा केन्द्रीय पदाधिकारीको नियुक्तिमा लागू यो नियम कालान्तरमा गएर डीन, सहायक डीन, क्याम्पस प्रमुख, सहायक क्यम्पस प्रमुख, विभागीय प्रमुख, त्रिवि सेवा आयोगको अध्यक्ष एवं सदस्य, परीक्षा नियन्त्रक, सहायक परिक्षा नियन्त्रक एवं अन्य सबै प्रकारका पदाधिकारिको नियुक्तिमासमेत लागु भयो। फलस्वरूप त्रिविजस्तो देशकै सर्बोच्च प्राज्ञिक संस्थामा प्राज्ञिक क्षमता भएका व्यक्तिभन्दा अध्ययनअनुसन्धान कम तर राजनीति र राजनीतिक दलका नेताको चाकडीमा बढी लाग्ने कथित प्राध्यापकहरूको प्रभाव बढ्यो। प्राज्ञिक योग्यताले भन्दा राजनीतिक पँहुचले त्रिविमा उच्चस्थान पाउन थालियो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका तत्कालीन स्वकीय सचिव एवं सल्लाहकार हरि शर्माले यस पंक्तिकारलाई कुनै समय बताएअनुसार त्रिविका वरिष्ठ प्राध्यापकहरूसमेत विद्यार्थी युनियनका नेताहरूलाई लिएर विश्वविद्यालयको महत्वपूर्ण पदमा नियुक्ति पाउन प्रधानमन्त्री एवं उनका आसपासका व्यक्तिका चाकडीमा आउन गर्थे।
आज शैक्षिक क्षेत्रमा देखिएको भागबण्डाको राजनीति त्रिविमा मात्र सीमित छैन। शिक्षाको हरेक क्षेत्र यस भाइरसबाट संक्रमित छ। हाल संचालन भइरहेको प्रवेशिका परीक्षाको केन्द्राध्यक्षको नियुक्तिमा समेत राजनीतिक भागबन्डाको भएको समाचार केही दिनअघि सञ्चारमाध्यममा आएको थियो। शैक्षिक क्षेत्रमा गरिएको राजनीतिक भागबन्डाले विशेषगरी देशको सबैभन्दा ठूलो र उच्च शिक्षाको ९० प्रतिशतभन्दा बढी जिम्मेवारी बोकेको त्रिवि उठ्नै गाह्रो हुनेगरी तहसनहस भएको छ। तैपनि, यस प्रथाको सशक्त विरोध त्रिविका कुनैपनि प्राध्यापकको समूहले गरेको छैन। त्रिवि शिक्षण अस्पतालमा केही दिनदेखि देखापरेको परिस्थिति यही रोगको लक्षणमात्रै हो। राजनीतिक दलका जिम्मेवार र दूरदर्शी नेता एवं त्रिवि शिक्षण अस्पताललगायत त्रिविका समग्र क्याम्पसका बहुसंख्यक इमान्दार प्राध्यापकले त्यहाँ विद्यमान राजनीतिक भागबन्डाको कुसंस्कारको विरोध गरेर अन्त्य गर्न नसकेसम्म शिक्षण अस्पतालमा देखा परेको समस्या केही दिनमा समाधान भए पनि अन्यत्र दोहरिनसक्छ।