गिरिजाबाबुको नेतृत्वदायी अनुहार
१४ चैत्र २०६६
•
१८ मिनेट पाठ
गिरिजाबाबुको नेतृत्वदायी अनुहार
क्रान्तिकारी हुँदाको 'आदर्श' र सत्तामा पुगेपछि बिर्सने राजनीतिक नेताको कमजोरीमा गिरिजाबाबु पनि अपवाद हुन सकेनन् तर शान्ति प्रक्रियालाई यहाँसम्म ल्याउन उनको नेतृत्वकारी भूमिका सबै पक्षभन्दा बलवान् देखिन्छ।

गेटुलियो भर्गास ब्राजिलको इतिहासमा कहिले क्रान्तिकारी आचरण त कहिले तानाशाही व्यवहार गर्ने राजनीतिक नेतृत्वको प्रतीक हो। भर्गासले नेतृत्व गरेको जनक्रान्तिले सन् १९३० मा राष्ट्रपति वासिङ्गटन लुईको सत्तालाई पल्टाएको थियो। जनक्रान्तिको नेतृत्वको गर्ने राजनीतिक नेता पनि सत्तामा पुगेपछि तानाशाह र पपुलिस्ट (अन्धलोकवादी) हुँदोरहेछ। लामो समयसम्म शासन सम्हाल्ने क्रममा भर्गास यसको जीवन्त दृष्टान्त बनेका थिए। तर, आफ्नो शासनको अन्तिम समयमा उनले जनतासँग मिलेर देशीविदेशी पुँजीवादी उत्पीडनको विरोध गरे। त्यसैकारण अगस्त १९५४ मा जननिर्वाचित राष्ट्रपति भर्गासको हत्या गरी उनले आत्महत्या गरेको प्रचार गरियो।

पपुलिस्ट र तानाशाह बनेका नेता पनि जनतासँग मिल्ने र जनताकै हितका लागि समर्पित हुने हो भने फेरि क्रान्तिकारी हुने रहेछ। त्यसका लागि पाउलो फ्रेरेको भाषामा भन्दा उसले दोधारे, सन्दिग्ध र बिचौलियाको भूमिका खेल्नुको सट्टा पूर्णतः जनपक्षीय भूमिका खेल्नु जरुरी हुन्छ। सत्ता र जीवन गुमाउने जोखिम भए पनि जनपक्षीय हुने आँट गर्न सकेमात्रै जनताबाट पनि प्रेम र विश्वास पाइन्छ। गिरिजाबाबुको उतारचढाव पनि भर्गासकै राजनीतिक यात्राजस्तो देखिन पुगेको छ। उनको राजनीतिक यात्रा पनि सुरुमा चढावमा, बीचमा उतारमा र अन्त्यमा पुनः चढावमा पुगेको देखिँदैन? उनको ६० वर्ष लामो राजनीतिक यात्रा सदाबहार क्रान्तिकारी र लोकतन्त्रवादीकै रूपमा मात्रै अगाडि बढेको देखिन्छ कि त्यसमा पनि उतार-चढाव आएको देखिन्छ?

गिरिजाबाबुको देहान्तका कारण नेपाली राजनीति उनीप्रतिको श्रद्धा र श्राद्धको मनस्थितिमा रहेको बेला उनको उतारचढावका रेखा पढ्नु धेरैलाई मन नपर्न सक्छ। अन्ध-श्रद्धाले लामो छलाङ मारिरहेको बेला सन्देह, प्रश्न, आलोचनात्मकता र विवेकका साथ उनको जीवनले पार गरेको यात्रामा लोकतन्त्रका डोब कति छन् भनेर हेर्न गाह्रो हुनसक्छ। तर, उनको जीवनलाई सही ढंगले बुझ्न बुझाउन नेपालको इतिहास र संरचनाको परिवर्तनमा कर्ताका रूपमा उनले खेलेको भूमिकालाई भने नजाँची सुखै छैन।

नेपालको इतिहासमा तीसको उत्तरार्धमा मात्रै गिरिजाबाबु नेपाली कांग्रेसका नेताका रूपमा उदय भएका थिए। पहिले मजदुर आन्दोलनकारी, पछि प्रजातान्त्रिक आन्दोलनका कार्यकर्ताका रूपमा कार्यरत थिए उनी। तर, तीसको दसकको सुरुमै उनी प्लेन अपहरण काण्ड, रकम जफत काण्ड र ओखलढुंगा सशस्त्र विद्रोहको नेताका रूपमा परिचित भए। त्यतिबेला उनलाई लुट, अपहरण, बन्दुक, हिंसा र क्रान्तिको कर्म र विचारका बारेमा कुनै परहेज थिएन। तिनै काण्ड र विद्रोहबाट स्थापित गिरिजाबाबु आफ्ना दाजु बीपी कोइरालाको निधनसँगै नेपाली कांग्रेसको नेतृत्वमा थालिएको 'ट्रोइका' का एक हस्ती भए। पंचायती निरंकुशताविरोधी संघर्षका बारेमा ट्रोइकाका तीन नेताका तीनथरी मतबीच द्वन्द्व भयो। गणेशमान सिंह वामपन्थी शक्तिसँग मिलेर वार कि पारको आन्दोलन गर्ने पक्षमा थिए भने गिरिजाबाबु एउटै चुनावचिन्ह लिएर प्रचार गर्न पाउनुपर्ने, पंचायती जनवर्गीय संगठनको सदस्यता लिनुपर्ने प्रावधान हटाउनुपर्ने ६ वटा सर्तसहित पंचायती चुनावमा भाग लिने पक्षमा थिए। अन्ततः कांग्रेसको ०४२ सालको सत्याग्रह, पाँच वामपन्थी दलको आन्दोलन र जनवादी मोर्चाको बमकाण्डबाट पाठ सिकेर ०४६ सालको संयुक्त जनआन्दोलन भयो। गणेशमान सिंहको अग्रगामी नीति र साहसिक नेतृत्वमा वामपन्थी दलहरूसँगको संयुक्त मोर्चा बन्यो। यसरी संयुक्त जनआन्दोलन सुरु भएपछि त्यसमा गिरिजाबाबु दृढतापूर्वक लागे।

०४६ सालको जनआन्दोलनपछि ट्रोइका नेतृत्व सहज रूपमा अगाडि बढेन। प्रधानमन्त्री हुन नचाहने सिंह, अन्तरिम प्रधामन्त्री भट्टराई र संसदीय दलका नेताबाट प्रधानमन्त्रीसमेत भएका गिरिजाबाबुबीचको द्वन्द्व बढ्यो। त्यो द्वन्द्व राजनीति र विचारको सीमाबाट छचल्किएर सत्ता र पदको बाँडफाँडसम्ममा फैलियो। द्वन्द्वका क्रममा सिंह र भट्टराईलाई पाखा लगाउन सफल गिरिजाबाबुको नेतृत्वको पार्टी र सरकार परिवर्तनमुखीभन्दा पनि यथास्थितिको पक्षपोषण गर्ने जमातजस्तो देखियो। राजनीतिशास्त्री कृष्ण हाछेथुका अनुसार धर्म, भाषा, जाति, सुकुम्बासी, कमैया, महिला आदि क्षेत्रमा उठेका सबालमा कांग्रेसले परिवर्तनको पक्षमा भन्दा पनि यथास्थितिलाई संरक्षण गर्‍यो। यसै प्रक्रियाले ती सबाल उठाउने शक्तिलाई परिवर्तनको खोजमा संसदीय र शान्तिपूर्ण बाटोभन्दा परसम्म हुत्याइदियो र तिनीहरूमाथि बलप्रयोग गरी यथास्थिति कायम गर्ने राज्य-अभियानको नेतृत्व पनि गिरिजाबाबुले नै गरे।

यसरी यथास्थितिको संरक्षणमा नेतृत्वकारी भूमिका खेल्नाले गिरिजाबाबुको विद्रोही छविमा ह्रास आयो। सत्तामा पुगेपछि आमूल परिवर्तनकामी विद्रोही कम्युनिस्टहरूमाथि हिंसा र हत्याको प्रयोगका कारण उनको छवि तानाशाही शासकको जस्तो पनि देखियो। राजनीतिक जीवनको थालनीमा कम्युनिस्ट बनेका विद्रोही गिरिजाबाबु नै 'माले, मसाले, मण्डले एकै हुन्' भन्दै वामपन्थी शक्ति र कम्युनिस्ट विचारविरुद्ध जेहाद छेडेपछि दक्षिणपन्थी र प्रतिक्रियावादीजस्तो पनि देखियो, सार्वजनिक राजनीतिक जीवनमा। र, पार्टीको आन्तरिक जीवनमा पनि उनी आफ्ना प्रतिस्पर्धी अगुवाहरूको पत्तासाफ गर्ने, आन्तरिक लोकतन्त्रको सट्टा व्यक्तिगत हैकम र निरंकुशता लाद्ने तथा सिद्धान्त-विचार-पद्धतिहीन गुटबन्दीजन्य राजनीतिको नेतृत्व गर्ने सदाबहार सभापति देखिए।

सरकार र पार्टी सञ्चालनको क्रममा यस्तो छवि बन्नुमा कोइराला र उनको पार्टीको वैचारिक-राजनीतिक सीमाले काम गरेको देखिन्छ। उनीहरूको दृष्टिमा लोकतन्त्र भनेकै बुर्जुआ औपचारिक लोकतन्त्र थियो, व्यक्तिगत स्वतन्त्रता भएको, पार्टी संगठन खोल्न पाइने, आवधिक चुनाव प्रणाली भएको वेस्टमिनिस्टर प्रणालीको डेमोक्रेसी मात्रै हो। त्योभन्दा पर गएर आर्थिक र सांस्कृतिक लोकतन्त्रका बारेमा सोच्नै नसक्ने, लोकतन्त्रलाई अनौपचारिक, प्रत्यक्ष र जनमुखी बनाउने विषयमा सुन्नसमेत नचाहने प्रवृत्तिले पनि उनी र उनको पार्टीलाई यथास्थितिवादी बनाएको देखिन्छ। त्यहीकारण पटक-पटकको प्रधानमन्त्रीत्वकालमा राजा र राजतन्त्रवादीसँग उनीहरूको अन्तरविरोध कम तथा परिवर्तनकामीहरूसँग भने हिंसात्मक-अहिंसात्मक द्वन्द्व तीव्र भएको हो।

माओवादी विद्रोहको फैलावट र वीरेन्द्र परिवारको वंश नाशसँगै ज्ञानेन्द्र शाहले सैन्यबल र छलनीतिका आधारमा संसदीय प्रजातन्त्रमा डेमोकल्सको तरवार प्रहार गरेपछि गिरिजाबाबुले यथास्थितिवादी रुझान त्याग्न थाले अनि क्रान्तिकारी विद्रोहीको स्वभाव देखाउन थाले। विमान अपहरणका नायकले जस्तै, ओखलढंुगा सशस्त्र विद्रोहका नेताले जस्तै ०५९-०६२ सम्मको प्रतिगामी कालखण्डमा सैन्यबलसहितको राजाको निरंकुशतन्त्रका दमन सहेर पनि उनले आन्दोलन उठाउन भरमग्दुर प्रयत्न गरे। संसदीय राजनीति गरिरहेका वामपन्थी दलहरूसँग सहकार्य गर्दै संघर्षलाई व्यापक पार्न पनि खोजे। तर, उनी र उनीजस्ता संसदीय नेताहरूले विगतमा चलाएको कुशासनले नेपाली जनतालाई संसदीय राजनीति र संसदीय दलको आन्दोलनबाट विमुख पारिसकेको थियो।

०६१ सालदेखि ज्ञानेन्द्र आफैले प्रत्यक्ष शासन चलाउँदै आम जनतादेखि राजनीतिक दलका नेताहरुमाथि फौजी दमनलाई तीव्र पारे। त्यसपछि गिरिजाबाबुलाई वामपन्थीहरूसँगको सहकार्यलाई अरू व्यापक बनाउनुपर्ने आवश्यकता महसुस भयो। उनले ०४६ सालमा प्रयोग भएको वामपन्थी र कांग्रेसी संयुक्त मोर्चामार्फत् आन्दोलन चलाउने नीतिलाई ०६२-६३ सालमा पुनः एकपटक साहसिक प्रयोग गरे। उनले जनयुद्ध गरिरहेको नेकपा (माओवादी)को पनि साथ लिने र राजालाई आन्दोलनकै बलमा माथ गर्ने नीति अख्तियार गरे। माओवादी त्यस्तै खालको संघर्ष गर्दैथियो, जस्तो खालको संघर्ष उनले तीसको दशकमा ओखलढंुगा सशस्त्र विद्रोहका बेला गरेका थिए। अन्यायपूर्ण राज्य र सरकारविरुद्ध हतियार उठाइरहेको शक्ति र हतियार उठाएर पनि बिसाइसकेका शक्तिबीचको अग्रगामी मेल थियो बाह्रबुँदे समझदारी। त्यही समझदारीले नेपाली जनताको सुतिरहेको चेतना बिउँझायो र सडक आन्दोलनसम्म तानेर लग्यो, त्यसको नेतृत्व गिरिजाबाबुको हातमा थियो।

समाजशास्त्री चैतन्य मिश्रका अनुसार, ०६३ को जनआन्दोलनको आधार नेपालको बदलिँदो सामाजिक संरचना थियो, त्यसले जन्माएको चेतना थियो, जसले बहुलवाद, लोकतन्त्र र गणतन्त्र मागिसकेको थियो। नेपालको इतिहास र इतिहासबोधले केन्द्रीकृत शासन, राजतन्त्र र निरंकुशतालाई लखेट्न थालिसकेका थिए। तिनै सामाजिक संरचना र इतिहासमाथि टेकेर गिरिजाबाबुले नेतृत्वकर्ताको ऐतिहासिक भूमिका खेलेका थिए। इतिहास, संरचना र कर्ताबीचको यही अन्तर्घुलन र अन्तर्द्वन्द्वबाट ०६३ सालको आन्दोलनमा विद्रोही र क्रान्तिकारी गिरिजाबाबुको पुनः अभ्युदय भएको हो। इतिहास र संरचनाको पदचाप सुनेर उनले आफूलाई बाह्रबुँदे समझदारी, बृहत् शान्ति सम्झौता, अन्तरिम संविधानको अन्तर्वस्तुको तहसम्म क्रान्तिकारी कर्ताका भूमिकामा उभ्याए। र, यो क्रान्तिकारीपन संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रको दुईखम्बे नीति लिने भारत र अमेरिकालगायतका शक्तिराष्ट्रका दबाबसामु पनि नझुक्ने, आफैले आतंककारी घोषित गरेको माओवादीजस्तो कम्युनिस्ट शक्तिसँग पनि सहकार्य गरी सरकार नै बनाउने तथा राज्यको अग्रगामी पुनर्संरचनामार्फत् लोकतन्त्रलाई राजनीतिक-आर्थिक-सांस्कृतिक क्षेत्रमा विस्तार गर्न सघाउने हदसम्म फैलिएको छ।

पक्कै पनि, आफ्नो दलभित्र १३-१३ वर्षसम्म एकतन्त्र र जहानियाँ पद्धतिको अभ्यास अनि ५-५ पटकको प्रधानमन्त्रीत्वकालमा राजाकै शैलीमा निरंकुशता र तानाशाहीको प्रयोगका लागि आलोचनाका पात्र हुनबाट उनी मुक्त हुन सक्दैनन्। धेरैजसो राजनीतिक नेतृत्वको इतिहास हेर्दा विद्रोही र क्रान्तिकारी हुँदा 'रोल मोडल' नै देखिने र सत्तासरकारमा गएपछि त्यस्तो आकर्षक छविमा दाग लाग्ने गरेको पाइन्छ। गिरिजाबाबु पनि त्यसबाट मुक्त नभएको तथ्य सुजाता प्रकरणमा पनि देखिएकै हो। तर, शान्तिप्रक्रियालाई यहाँसम्म ल्याउन आफ्नो शिखर व्यक्तित्वको प्रयोग र नेतृत्वकारी भूमिका आलोचनाका यावत पक्षभन्दा बलवान् देखिन्छ। सशस्त्र संघर्ष गरिरहेको कम्युनिस्ट शक्तिसँग संसदीय संघर्ष गरिरहेका दलहरूको सहकार्य र सहआन्दोलनको क्रममा संविधानसभाको चुनाव गराउने, शाहवंशीय राजतन्त्रलाई फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् कार्यको नेतृत्व पनि उनका अरू कमीकमजोरीको तुलनामा उच्चस्तरको कर्मको रूपमा रहेको छ।
माओवादी नेता डा. बाबुराम भट्टराईको भाषामा, 'चरम दक्षिणपन्थी शक्तिहरू विस्तृत शान्ति सम्झौता र संविधानसभालाई भंग गरी प्रतिगमनलाई तीव्र पार्न लागेको तथा त्यसको प्रतिकार गर्ने नाममा 'वाम' अतिवादी गल्ती हुने र देशमा अन्त्यहीन मुठभेड हुने खतरा पैदा भएको' स्थितिमा उनले उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व लिई शान्ति र संविधानलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउन जुन पहल गरे, त्यो उनको पछिल्लो अग्रगामी कर्म हो। यी सबै कर्मका आधारमा उनको राजनीतिक छविमा आएको चढाव पक्कै पनि जनपक्षीय र अग्रगामी रहेको छ। यही जनपक्षीय र अग्रगामी चढाव दक्षिणपन्थतिर ढल्केको नेपाली कांग्रेसका दोस्रो तहका नेताका लागि भने चुनौतीका रूपमा खडा भएको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस