सौदाबाजीमा संवैधानिक निकाय
०५ कार्तिक २०७३
•
१५ मिनेट पाठ
सौदाबाजीमा संवैधानिक निकाय
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनाअगाडि माओवादी शिविरमा भएको आर्थिक घोटाला छानबिन गर्ने भनेर गरेको घोषणा बदनियतपूर्वक गरिएको थियो भन्ने तथ्यहरू भेटिएका छन्। करिब २० अर्ब रुपैयाँ खर्च भएको भनिएको माओवादी लडाकूको रेखदेख, समायोजन र पुनर्स्थापना प्रकरणमा अनुसन्धान अगाडि बढाउने अख्तियारको दाबी झट्ट हेर्दा भ्रष्टाचार नियन्त्रण प्रयासजस्तो देखिन्छ। तर, प्रकारान्तरले त्यो कदम बदनियतपूर्ण, आवेशप्रेरित र उसको क्षेत्राधिकारबाहिरको काम थियो भन्ने तथ्यहरूले देखाएका छन्।




सर्वोच्च अदालतले लोकमानसिंह कार्कीको नियुक्ति र उनलाई गरिएको भनिएको विभागीय कारबाहीको सक्कल फाइल पेश गर्न सरकारका नाममा आदेश दिएको एक महिना पुग्यो। ३१ भदौ २०७३ को त्यो अदालती आदेश सार्वजनिक भएको केही घन्टाभित्रै पत्रकार सम्मेलन गरेर आयोगले 'लडाकू भ्रष्टाचार प्रकरण सम्बन्धी छानबीन र अनुसन्धान कार्य तीव्र गतिमा अघि बढाएको' दाबी गरेको थियो। प्रवक्ता गणेशराज कार्कीले त यतिसम्म भनेका थिए 'महŒवपूर्ण पदाधिकारीलाई सोधपुछ तथा अनुसन्धानका लागि बोलाएका छौँ। बयानका आधारमा उनीहरूमाथि कस्तो कारबाही गर्ने भन्ने निर्णय हुनेछ।'

अख्तियारकै विशेषसूत्रहरूका भनाइमा त्यो 'हंगामा' बाह्य खपतका लागि मात्रै थियो। अदालतले दिएको आदेशको बदलामा अख्तियार प्रमुखको आवेशप्रेरित कदम थियो त्यो। यतिसम्म कि एक–दुईलाई छाडेर अख्तियारका बाँकी आयुक्तहरू र त्यहाँको स्थायी संरचनालाई यो मामिला अख्तियारको छानबिनको विषय बन्न सक्दैन भन्ने राम्ररी थाहा थियो।

२५ बैशाख २०७० मा लोकमानले ६ वर्षका लागि प्रमुख आयुक्त पदमा नियुक्ति पाएका थिए। भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकायको प्रमुख पदमा उनले नियुक्ति पाउनु एक वर्षअगावै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले लडाकू शिविर आर्थिक घोटाला मामिला अख्तियारले छानबिन गर्नैनसक्ने गरी किनारा लगाएका थिए। २१ बैशाख २०६९ को मन्त्रिपरिषद् बैठकले २०६३ देखि २०६८ सालसम्म माओवादी लडाकूका लागि विनियोजित तलबभत्ता, मासिक भरणपोषण, समायोजन/स्वेच्छिक अवकाश, पुनर्स्थापनालगायतमा भएको करिब २० अर्ब रुपैयाँ निकासालाई मन्त्रिपरिषद् बैठकको कार्यसूचीमा राखेर अनुमोदन गरेको थियो। मन्त्रिपरिषद्ले सो दिन गरेको निर्णय नम्बर २५ मा भनिएको छ, 'शान्ति तथा पुनःनिर्माण मन्त्रालय :  खर्च समर्थन गरी पेश्की फर्स्योट एवं मिनाहा गर्ने।' यसको अर्थ शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत भएको लडाकू शिविरको रेखदेख, समायोजन र पुनर्स्थापनाका लागि निकासा भएको रकम र त्यसको खर्च प्रक्रियालाई मन्त्रिपरिषद्ले नीतिगत निर्णयको विषय बनाएको थियो।

शिविरका लडाकू र तिनका कमान्डरबीच आर्थिक मामिलामा चर्को आरोप–प्रत्यारोप बाहिर आउन थालिसकेको अवस्थामा भट्टराई सरकारले त्यो निर्णय गर्नुको अर्थ त्यो मामिलामा अख्तियारले हात नहालोस् भन्ने नै थियो। किनकि, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ४ (ख) मा 'मन्त्रिपरिषद् वा त्यसको कुनै समितिले सामूहिकरूपमा गरेको कुनै नीतिगत निर्णय'माथि आयोगले अनुसन्धान, तहकिकात र कारबाही अघि बढाउन पाउँदैन। महालेखा परीक्षकको कार्यालयको अभिलेखअनुसार माओवादी लडाकूका लागि २०६३ देखि २०६६ सम्म ७ अर्ब ८६ करोड ८७ लाख ७५ हजार रुपैयाँ विनियोजन भएको थियो। यसैगरी आर्थिक वर्ष २०६७/६८ मा १ अर्ब ९२ करोड ४५ लाख ८४ हजार, आर्थिक वर्ष २०६८/६९ मा ५ अर्ब ४२ करोड १४ लाख ७० हजार तथा आर्थिक वर्ष २०६९/७० मा ४ अर्ब ६४ करोड ५१ लाख ७५ हजार रुपैयाँ निकासा भएको थियो। सात वर्षको यो रकम जोड्दा करिब २० अर्ब हाराहारी हुन आउँछ।

सर्वोच्च अदालतले लोकमानको नियुक्तिको वैधता जाँच्न र क्षेत्राधिकार नाघेर गरेका कतिपय निर्णयमा लगाम लगाउन खोजेपछि उनले एकाएक लडाकू शिविर मुद्दालाई प्रयोगमा ल्याउन खोजेका छन्।  दुई कारणले नेकपा माओवादी केन्द्र यो चर्चाको पनि केन्द्रमा देखिन्छ। पहिलो, माओवादी लडाकूसम्बद्ध आर्थिक विवादले कुनै न कुनै रूपमा तान्ने वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र उनी निकट माओवादी नेतालाई नै हो। दोस्रो, सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति गर्दा एमाओवादीले सुशीला कार्कीलाई बलियो समर्थन गरेको लोकमानलाई थाहा छ। त्यसैले हल्लामात्रैले पनि माओवादी केन्द्रलाई तर्साउन सकियो भने संसद् र न्यायालयलाई आफ्नो पक्षमा पार्न केही न केही वातावरण बन्छ कि भन्ने लोकमानलाई लागेको हुनसक्छ।

अख्तियारकै एक आयुक्तका भनाइमा, यो हल्लाको व्यवहारमा कुनै अर्थ छैन भन्ने आयोगभित्र पनि करिबकरिब एकमत छ। नाम बताउन नचाहने ती आयुक्त भन्छन्, 'लडाकू भरणपोषणसम्बन्धी सम्पूर्ण खर्च र भुक्तानीलाई मन्त्रिपरिषद्बाट अनुमोदन गराएपछि अख्तियारबाट यो विषयको छानबिन अघि बढ्नै सक्तैन।' उनी भन्छन्, 'मन्त्रिपरिषद्का नीति–निर्णयमाथि हाम्रो क्षेत्राधिकार नहुँदा यो विषय कानुनअनुसार अनुसन्धान हुनै सक्तैन।'

५ असोज २०६९ मा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले नेकपा माओवादी केन्द्र (तत्कालीन एमाओवादी) अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता बाबुराम भट्टराई (हाल नयाँ शक्ति नेपालका संयोजक) नेता कृष्णबहादुर महरासहितका नेताविरुद्ध '४ अर्ब रुपैयाँ हिनामिना गरेको' उजुरी दिएका थिए। यो उजुरीको चर्चामात्रैले पनि एमाले–माओवादी केन्द्र सम्बन्धमा दरार आउने र संसद्को गणितीय सन्तुलनमा आफूलाई खेल्न सजिलो हुने लोकमानको बुझाइ हुन सक्छ।

लडाकू शिविर घोटाला प्रकरणमा आफूहरूबाट केही गर्न सकिँदैन भन्ने अख्तियारलाई पनि राम्ररी थाहा छ भनेर उसैका दस्तावेजहरू बोल्छन्। २१ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियारले बुझाएको वार्षिक प्रतिवेदनमा 'सामान्य प्रशासनिक विषयलाई समेत नीतिगत निर्णयका लागि मन्त्रिपरिषद्मा पेश गर्ने परिपाटीलाई निरुत्साहित गर्नुपर्ने' उल्लेख गरिएको छ। प्रतिवेदनको ४२ बुँदे सुझावमा भनिएको छ– 'मन्त्रिपरिषद्मार्फत् नीतिगत निर्णय गर्दा त्यसको आधार र औचित्यसमेत स्पष्ट पार्न जरूरी छ।'

१ असोज २०७१ मा व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिमा उपस्थित भएर प्रमुख आयुक्त कार्कीले 'प्रशासनिक कामकाजलाई समेत मन्त्रिपरिषद्बाट निर्णय गराउँदा भ्रष्टाचार छानबिन तथा अनुसन्धानमा समस्या भएको' बताएका थिए। माओवादी शिविरको भ्रष्टाचार प्रकरण आफू पदमा आउनुअघि नै नीतिगत निर्णय भइसकेको विषय हो भन्ने उनलाई पर्याप्त जानकारी थियो। सरकारबाट भएको भुक्तानी, खर्च र अनमिनले प्रमाणीकरण गरेका लडाकू संख्यामा तालमेल नदेखिएपछि महालेखा परीक्षकको कार्यालयले २०६३ देखि २०६८ बीचको शिविरको सम्पूर्ण खर्चलाई बेरुजुमा राखेको थियो। तर, भट्टराई प्रधानमन्त्री भएका बेला २०६९ बैशाखमा गरिएको मन्त्रिपरिषद् निर्णयलाई आधार मानेर महालेखाले त्यसयता बेरुजु शीर्षक हटाएको छ। 

शान्ति तथा पुनःनिर्माण मन्त्रालयको तत्कालीन लेखा परीक्षण प्रक्रियामा संलग्न एक जना अधिकारी भन्छन्, 'भट्टराई प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाट भएको सोही निर्णयका आधारमा माओवादी नेता कृष्णबहादुर महराले लडाकूका लागि भुक्तानी तथा खर्चको विवरण पेश गरेपछि बेरुजुबाट सबै रकम हटाउन हामी बाध्य भयौँ।' यसको पुष्टि गर्दै महालेखा परीक्षकको कार्यालयका प्रवक्ता बाबुराम गौतम भन्छन्, 'लगातार यो रकम बेरुजुमा राखेका थियौँ। संसद्को सार्वजनिक लेखा समितिमा छलफल भएर मन्त्रिपरिषद्ले यसलाई नीतिगत निर्णय गरेपछि हामीले बेरुजुबाट हटायौँ।'

भएको के थियो भने, अनमिनबाट प्रमाणित भएका १९ हजार ६०२ लडाकू संख्याको आधारमा एमाओवादी नेतृत्वले २०६३ देखि भरणपोषण सम्बन्धी खर्च बुझ्दै आएको थियो। तर, ३० पुस २०६७ मा अनमिन बाहिरिएपछि ३० कात्तिक २०६८ देखि १६ मंसिर २०६८ सम्म मुख्य ७ शिविरमा लडाकूको पुनः प्रमाणीकरण र तथ्यांक अद्यावधिक गरियो। त्यसबेला अनमिनले प्रमाणीकरण गरेभन्दा २ हजार ४५१ ले लडाकूको संख्या घट्यो। त्यसबेला शिविरमा बसेका लडाकूको संख्या १७ हजार ७६ मात्रै भेटियो। जबकि त्यतिबेलासम्म पनि अनमिनले प्रमाणीकरण गरेको संख्याकै आधारमा माओवादी नेतृत्वले प्रति लडाकू ६ हजार ५०० का दरले रकम बुझ्दै आएको थियो।

यसरी गलत विवरणका आधारमा माओवादीले २०६३ देखि २०६८ सम्म बुझेको खर्च रकम यकिन गर्न महालेखाले २०७० सालको वार्षिक प्रतिवेदनमा प्रश्न उठायो। सो प्रतिवेदनमा भनिएको छ– '२०६८ साउनअगाडिको अवधिमा भएको मासिक भत्ता र भरणपोषण सम्बन्धी खर्चको वास्तविकता यकिन गर्नु आवश्यक छ।'   महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७२ अनुसार, पुनःस्थापना, संक्रमणकालीन न्याय, लडाकू रेखदेख तथा समायोजनलगायत शीर्षकमा सरकारबाट २०६३ देखि ०७० सम्म ५८ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ निकासा भएको थियो। त्यसमा लडाकूको तलब/भत्ता, शिविर व्यवस्थापन तथा प्रशासनिक खर्चमा मात्रै करिब २० अर्ब रुपैयाँ सकिएको थियो।

२०७० सालमा लोकमानले नियुक्ति पाएपछि अख्तियारले २०६३ माघदेखि २०६८ सम्म लडाकूको भरणपोषण र आवासका नाममा भुक्तानी भएको विवरण अर्थ र शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट झिकाएको पनि थियो। तर, मन्त्रिपरिषद्बाट अनुमोदन भएको भेटिएपछि २०७१ सालमा यो फाइल तामेलीमा राखिएको थियो। अहिले आएर आफ्नो नियुक्ति र कतिपय काम कारबाहीविरुद्ध परेको निवेदनलाई सर्वोच्च अदालतले अघि बढाएपछि लोकमान आफू नियुक्ति हुनुपूर्व आफ्नै संस्थाले तामेलीमा राखेको फाइल देखाएर माहोल आफ्नो पक्षमा पार्न खोजिरहेका छन्।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की भन्छन्, 'राज्यका पदाधिकारीबाट संविधान र कानुनले परिकल्पना गरेका मान्यताको सकारात्मक प्रयोग भएन भने कानुनीराज्यको अवधारणा नै सकिने मात्र होइन, त्यसले अराजकता, एकाधिकार र अधिनायकवादलाई टेवा पुर्‍याउँछ। अहिले यही भइरहेको छ।'

खोज पत्रकारिता केन्द्र
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस