आइन्स्टाइन र हिटलरको पुनर्जन्म
२७ फागुन २०६६
•
१५ मिनेट पाठ
आइन्स्टाइन र हिटलरको पुनर्जन्म
सन् १९०२ मा पहिलोपल्ट जर्मन वनस्पतिविज्ञ गोट्लिब हाबरल्यान्डलेे सबै वनस्पतिको कोषबाट सिंगो विरुवाको पुनर्विकास गर्न सकिन्छ भन्ने सिद्धान्त अघि सारेका थिए। सन् १९५० को दशकमा बेलायतका अर्का वनस्पतिविज्ञ एफ. सि. स्टिवार्डले गाजरको एक सूक्ष्म तन्तुबाट प्रयोगशालामा उपयुक्त रसायनको मिश्रण राखिएको परीक्षण नली (टेस्ट ट्युब)मा गाजरको सिंगो बोट पुनर्विकास गरेर हाबरल्यान्डको सिद्धान्तलाई व्यवहारमा प्रमाणित गरेका थिए। 'टिस्यु कल्चर' नामले चिनिने उक्त प्रविधिमार्फत् आज कुनै पनि बोटविरुवाको अङ्ग, तन्तु वा कोषबाट प्रयोगशालामा नयाँ विरुवा उत्पादन गर्न सकिन्छ। आज यो प्रविधि कृषि, बागवानी एवं नर्सरीका क्षेत्रमा उन्नत र दुर्लभ जातको बोटविरुवा उत्पादन गर्न व्यापकरूपमा प्रयोग हुँदै आएको छ। यसरी कुनै जीवको अङ्ग, तन्तु वा कोषबाट सोही जीवको पूर्ण प्रतिरूप तयार पार्ने अयौनिक विधिलाई 'क्लेानिङ' भनिन्छ। वनस्पति होस् वा प्राणी, सबै जीवको प्रत्येक कोषमा सोही जीवको पुनर्विकास गर्न आवश्यक सम्पूर्ण आनुवंशिक सूचना (जेनेटिक इन्फरमेसन) पाइन्छ भन्ने यथार्थ प्रमाणित भइसकेको छ।

क्लेानिङ प्रविधिमार्फत् बोटविरुवाको पुनर्विकास गर्न सजिलै भए पनि प्राणी र विशेषतः स्तनधारी प्राणीको पुनर्विकास गर्न भने त्यति सरल थिएन। सन् १९९७ मा मात्र स्कटल्यान्डका आएन् विल्मट र उनका सहकर्मी वैज्ञानिकहरू क्लेानिङ प्रविधिमार्फत् एक स्तनधारी प्राणीको प्रतिरूप (क्लोन) निर्माण गर्न सफल भएका थिए। उनीहरूले एक वयस्क भेडीको थुनबाट संकलन गरिएको एक कोषबाट विशेष विधिद्वारा नयाँ भेडीको पूर्ण प्रतिरूप तयार गरेका थिए। 'डली' नाम दिइएको उक्त भेडीलाई दुरुस्तै आमाको प्रतिरूपमा उत्पन्न गरिएको थियो। यस प्रविधिबाट मानवको प्रतिरूपसमेत तयार पार्न सकिने सम्भावना देखिएकाले विल्मट र उनका सहकर्मीको उक्त अनुसन्धानले त्यतिबेला विश्वमा ठूलो हलचल मच्चाएको थियो।

विल्मट र उनका सहकर्मीले विकास गरेको क्लोनिङ प्रविधिको प्रयोग गरी वैज्ञानिकहरू मुसा, कुकुर, गाई, उँट, घोडा तथा मानिसको सबैभन्दा नजिकको आनुवंशिक नाता भएको प्राणी मानिने 'रेसस' जातको बाँदरजस्ता अरू धेरै प्रकारका स्तनधारी प्राणीको प्रतिरूप तयार पार्न सफल भइसकेका छन्। यस प्रविधिले हजारौं वर्षअघि लोप भइसकेका प्राणीको पुनर्विकास गर्न सकिने सम्भावनाको ढोका उघारेको छ। क्लेानिङ प्रविधिमार्फत् मानवको प्रतिरूपसमेत तयार पार्न सकिने सम्भावना बढेको छ। क्लेानिङ प्रविधि प्रयोग गरी सिद्धान्ततः कुनै पनि मृत वा जीवित मानिसको प्रतिरूप तयार पार्न सकिने देखिन्छ। तथापि अहिलेको अवस्थामा यो काम प्राविधिक दृष्टिकोणले निकै कठिन मानिन्छ। तर हिजो कठिन वा असम्भव देखिएका कतिपय कुरा अहिले वैज्ञानिक यथार्थमा परिणत भएका उदाहरण थुप्रै छन्। तसर्थ मानव क्लोनिङको सम्भावनालाई पूरै नकार्न सकिन्न।

मानव प्रतिरूप तयार पार्नु नैतिक तथा चिकित्सकीय दृष्टिकोणले अनुचित हुने भन्दै युरोप, अमेरिकालगायत विश्वका सबैजसो देशमा मानव क्लोनिङमा प्रतिबन्ध लगाइएको छ। तथापि केही वैज्ञानिकहरू पहिलो मानव शिशुको प्रतिरूप तयार पार्ने होडबाजीमा लागेका हुन् कि भन्ने शंका गरिन्छ। सन् २००३ मा 'क्लोन एड' नाम गरेको एक अमेरिकी जैविक प्रविधि कम्पनीले आफ्ना वैज्ञानिकद्वारा 'इभ' नाउँकी एक शिशु बालिकाको मानव प्रतिरूप तयार गरिएको दावीसमेत गरेको थियो। कम्पनीले थप प्रतिरूप शिशुको जन्म हुने पनि घोषणा गरेको थियो। वैज्ञानिक स्तरमा यस समाचारको विश्वसनीयताबारे पुष्टि हुन नसकेपनि यसले सञ्चार माध्यममा ठूलै सनसनी फैलाएको थियो र विश्वभर मानव क्लोनिङको मानवीय, चिकित्सकीय र नैतिक पक्ष विपक्षबारे तीव्र बहस सुरु भएको थियो।

मानव क्लोनिङको सम्भावनाले समाजमा आशा र भय दुवै उत्पन्न गरेको छ। यस प्रविधिले अकालमै मृत्यु भएका मानव शिशुको प्रतिरूप तयार गरेर त्यस शिशुको 'पुनर्जन्म' समेत गराउने सम्भावना बोकेको छ। यसले कतिपय दुःखीआमाबाबुले आफ्ना गुमेका बच्चा पुनः प्राप्त गर्ने सम्भावना हुन्छ। यस्तो सम्भावनाले समाजका कतिपय व्यक्तिमा ठूलो उत्साहको सञ्चार गरेको छ। यस प्रविधिद्वारा कतिपय मानिस अल्बर्ट आइन्स्टाइनजस्ता अपूर्व बुद्धि र प्रतिभाका प्रतीक मानिने महान् वैज्ञानिकको प्रतिरूप तयार पार्न सकिने सम्भावनाबाट रोमाञ्चित हुने गर्छन् भने, कतिपय मानिस यही प्रविधिबाट एडोल्फ हिटलरजस्ता क्रुर र खतरनाक व्यक्तिको 'पुनर्जन्म' हुने आशंकाले भयभीत पनि हुने गर्छन्। के वास्तवमै क्लोनिङ प्रविधिबाट अर्को आइन्स्टाइन वा हिटलरको 'पुनर्जन्म' हुन सक्छ? के क्लोनिङ प्रविधिबाट तयार पारिएको कुनै पनि मानव प्रतिरूपको शारीरिक, बौद्धिक र मानसिक स्वभाव दुरुस्त मूल व्यक्ति समान हुन्छ? यस्ता प्रश्नको सही उत्तर प्राप्त गर्न मानिसको समग्र विकासमा आनुवंशिक तत्व (जेनेटिक मटेरियल) र भौतिक तथा सामाजिक वातावरणले खेल्ने भूमिकाबारे चर्चा गर्न आवश्यक हुन्छ।

मानिसबाहेक प्रायः सबैजसो प्राणीको जैविक क्रियाकलाप र व्यवहार मूलतः आमाबाबुबाट प्राप्त वंशाणुगत गुण र ज्ञानबाट निर्देशित हुने गर्छ। तर अन्य प्राणीका तुलनामा स्नायु प्रणाली र मस्तिष्क उच्च विकसित भएकाले मानिसमा आफ्ना आमाबाबुबाट मात्र नभएर आफू हुर्केको भौतिकसामाजिक वातावरणबाट समेत ज्ञान आर्जित गर्ने क्षमता हुन्छ। मानिसमा वर्तमानमात्र नभएर भूतकालको ज्ञानलाई समेत उपयोग गर्ने क्षमता विकास भएको छ, जुन अरू कुनै प्राणीमा पाइँदैन। मानिसले आफूले यसरी हासिल गरेको ज्ञानलाई आफ्नो मस्तिष्कमा धेरै समयसम्म सञ्चित गरी आफ्ना व्यवहारमा अनुकूल परिवर्तन गर्न उचित समयमा पुनः प्रयोग गर्न सक्छन्। त्यसैले मानिसको जैविक क्रियाकलाप र व्यवहार, आमाबाबुबाट प्राप्त वंशाणुगत गुण र ज्ञानका साथै आफूले आर्जन गरेको ज्ञानमा पनि निर्भर हुन्छ।

मानिसको जैविक व्यवहार र आन्तरिक चेतना मूलतः आमाबाबुबाट प्राप्त आनुवंशिक तत्वबाट निर्देशित भएपनि बौद्धिक एवं मानसिक व्यवहार भने भौतिक एवं सामाजिक वातावरणबाट आर्जित ज्ञान र अनुभवबाट बढी प्रभावित हुने विश्वास गरिन्छ। तसर्थ कुनै पनि मानिसको व्यक्तित्व, व्यवहार र बुद्धि उसको वंशाणुगत गुण र ऊ हुर्केको वातावरणको संयुक्त उपज हो। यिनै कारणले गर्दा समान वंशाणुगत गुण भएका तर फरक सामाजिक परिवेशमा हुर्किएका जुम्ल्याहाको शारीरिक रूप र जैविक गुण एकदम समान भए पनि उनीहरूको बौद्धिक र मानसिक स्वभावमा कतिपय भिन्नता पनि पाइन्छ। मानिसको समग्र विकासमा आनुवंशिक तत्व र वातावरणमध्ये कुन पक्ष बढी प्रभावी हुन्छ, किटान गरेर भन्न सकिएको छैन। आनुवंशिक तत्व र वातावरणबीचको सम्बन्ध अत्यन्त जटिल र पेचिलो मानिन्छ।

भनिन्छ, आइन्स्टाइनको मस्तिष्कको केही भाग अझै कतै सुरक्षित छ। आइन्स्टाइनको देहान्तपछि कुनै चिकित्सक वा अनुसन्धाताले आइन्स्टाइनको तीक्ष्ण बुद्धिको रहस्य पत्ता लगाउन गोप्यरूपमा उनको मस्तिष्कका केही भाग रसायनिक घोलमा डुबाएर सुरक्षित गरी राखेको बताइन्छ। हिटलरको मृत शरीरको कुनै अङ्ग आजपनि सु्रक्षित छ वा छैन थाहा छैन। हिटलरको आत्महत्यापछि उनीप्रति वफादार सैनिक जवानले उनको शरीरलाई जलाएर नष्ट गरेको बताइन्छ। तथापि हिटलरको मृत्यु आजपनि रहस्य छ। मृत्युपछि उनको शरीरलाई कतै सुरक्षित ठाउँमा लुकाएर राखिएको छ भन्ने पनि सुनिएको छ।

क्लेानिङका लागि आवश्यक जीवको कोषभित्र पाइने आनुवंशिक तत्व अर्थात् डिएनए अति स्थिर तत्व मानिन्छ। हजाराँै वर्ष पुरानो मृत जीवको कोषबाट संकलित डिएनएलाई समेत वैज्ञानिकहरू पुनः क्रियाशील तुल्याउन सफल भएका छन्। तसर्थ आइन्स्टाइन र हिटलरको मृत शरीरको कुनै अंग वा तन्तु वास्तवमा सुरक्षित छ भने त्यसबाट संकलित कोषको प्रयोगगरी आधुनिक क्लेानिङ प्रविधिमार्फत् सिद्धान्ततः आइन्स्टाइन र हिटलरको प्रतिरूप शिशु तयार गर्न असम्भव देखिंदैन। तर यसरी निर्माण गरिएको आइन्स्टाइनको प्रतिरूप वास्तवमै आइन्स्टाइनजस्तै अपूर्व बुद्धि र प्रतिभासम्पन्न व्यक्तिमा विकसित हुनेछ नै भन्ने निश्चित् चाहिँ छैन। प्रतिरूपमा वैज्ञानिक आइन्स्टाइनकै शतप्रतिशत आनुवंशिक तत्व रहने भएपनि ऊ हुर्किने र बाँच्ने अहिलेको वातावरण र त्यतिबेला आइन्स्टाइन हुर्केका र बाँचेका वातावरणको भौतिक, सामाजिक तथा वैज्ञानिक संरचना भिन्न हुनेछन्। तसर्थ आइन्स्टाइनको प्रतिरूपको व्यवहार र व्यक्तित्व वैज्ञानिक उनको भन्दा नितान्त भिन्न पनि हुन सक्नेछ।

आइन्स्टाइनजस्तै हिटलर पनि उनको आनुवंशिक तत्वको उपजमात्र नभएर त्यसबखत जर्मनी र युरोपमा विद्यमान राजनीतिक एवं आर्थिक-सामाजिक परिस्थितिको परिणाम पनि हुन्। हिटलरको प्रतिरूप हुर्किने आजको विश्वको वातावरण, राजनीतिक एवं आर्थिक-सामाजिक अवस्था हिटलर त्यतिबेला हुर्किएको संसारभन्दा नितान्त फरक छ। तसर्थ हिटलर र उनको प्रतिरूपको व्यवहार पनि फरक हुनेछ र उनीहरू फरक व्यक्ति हुनेछन्।

आधुनिक क्लेानिङ प्रविधिबाट एकैरूप र समान आनुवंशिक तत्व भएका व्यक्तिको निर्माण गर्न सकिएला तर यस प्रविधिबाट तयार पारिएको कुनै पनि मानव प्रतिरूपको व्यवहार र व्यक्तित्व सर्वथा मूल व्यक्ति समान हुन सम्भव छैन। अर्थात्, क्लेानिङ प्रविधिमार्फत् अर्को आइन्स्टाइन वा हिटलरको 'पुनर्जन्म' सम्भव छैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस