रोल्पा- संविधान सभाको बैठक छोडेर आन्दोलनको घोषणा गरेको एमाओवादीका महासचिव कृष्णबहादुर महराले आगामी असारसम्म संविधान सभाबाट संविधान आउने बताएका छन्। क्रान्तिकारी पत्रकार संघ रोल्पाले सदरमुकाम लिबाङमा गरेको पत्रकार सम्मेलनमा एमाओवादी महासचिव महराले यस्तो बताएका हुन्।
'हिजोदेखि कांग्रेस-एमालेको राजनीतिक टोन अलिकति फेरिएको छ। १२ बुँदे सहमतिका सहयात्री सँगसँगै जानुपर्छ भन्ने कांग्रेस-एमालेलाई पनि परेको हो कि भन्ने हामीले महसुस गरेका छौं,' महराले भने, 'हामी सहमतिको धेरै नजिक छौं। खाली राज्यपुनःसंरचनामा सीमाको सबालमा मात्र असहमति हो। सीमाको सबालमा सहमति हुने हो भने जेठ-असारमा संविधान बन्ने सम्भावना छ।'
कांग्रेस-एमालेभित्रका राजावादी शक्तिको चलखेलले माघ ८ मा सहमतिको संविधान आउन नसकेको महराले आरोप लगाए। उनले भने, 'कांग्रेस-एमालेभित्र सहमति गर्नु हुँदैन भन्ने एउटा राजावादी शक्ति हाबी छ। माघ ८ मा संविधान आउन नदिन यही शक्तिले अलिबढी चलखेल गरेको हो कि भन्ने हामीलाई आशंका छ।'
३० दलीय मोर्चाको तीन चरणको कार्यक्रम भने तत्काल नरोकिने उनले स्पष्ट गरे। मोर्चाको आन्दोलन रोक्नका लागि सत्तारुढ दलले संविधान सभाको प्रक्रियालाई रोक्नुपर्ने महराले यहाँ पनि दोहोर्याोए। पार्टीका दोस्रो पुस्ताका नेताले सहमति चाहेको भए पनि ठूला पार्टीका शीर्ष नेताबीच नै कुरा नमिलेकाले सहमति हुन नसकेको उनले बताए। सहमति नहुनुमा शीर्ष नेताका राजनीतिक स्वार्थले काम गरी रहेको उनले उल्लेख गरे।