संविधानको दु्रत यात्रा
३० पौष २०७१
•
१४ मिनेट पाठ
संविधानको दु्रत यात्रा
नेपाल प्रहरीले ‘छिटो गए भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ र ‘तीव्र गति जीवन क्षति' जस्ता सन्देश प्रवाह गरिरहन्छ। सार्वजनिक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन दिइएका सचेतनामूलक सन्देशको औचित्य र सार्न्दभिकता बढ्दो दुर्घटनाले थप पुष्टि गरिरहेको देखिन्छ।सडक यातायात र दुर्घटनासँग ठ्याक्कै तुलना गर्न नमिल्ला, तर हाम्रो राजनीतिले पनि माघ ८ लाई केन्द्र बनाएर तीव्रता लिँदैछ। पछिल्लो समय अख्तियार गरिएको ‘संविधान निर्माण प्रक्रिया' कहाँ पुगेर रोकिने हो, गन्तव्यमा पुग्ने वा नपुग्ने हो, यो यात्राले संविधान दिने वा नदिने अनिश्चितता छँदैछ। संविधान सभामा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले राप्रपा नेता सूर्यबहादुर थापालाई गणेश थापेर संविधानको यात्रा थालेका छन्। यसले आशासँगै अनिश्चितता र अन्योल पनि बढाएको देखिन्छ। सत्ताधारी कांग्रेस, एमालेलगायत दल नेम्वाङले समातेको स्टेयरिङ भरमा छन्। नेम्वाङको सक्रियताको प्रशंसा गर्नेहरूको संख्या ठूलो होला, अहिलेको राजनीतिक अवस्थामा। मृदुभाषी र सहमतिका कुरा गर्ने नेम्वाङको यस्तो सक्रियताका पछाडि सत्तापक्षीय सभासदहरूको दबाबले काम गरेको हुनुपर्छ। सत्तापक्षीय सभासदहरूले नै प्रतिपक्षीय भूमिका खेल्नुपरेको संविधान सभामा त्यस्ता ठूलो संख्याका सत्तापक्षीय सभासदलाई उपेक्षा गर्न मिल्दैन। तर, नेम्वाङले संसद भनेको प्रतिपक्षको हो भन्ने संसदीय व्यवस्थाको मूल्यपद्धतिमाथि प्रहार गरेका छन्। यसबाट अघिल्लो संविधान सभादेखि सभाध्यक्षको हैसियतमा लामो अनुभव सँगालेका नेम्वाङले प्रतिपक्षीहरूलाई निषेध गरेको अर्थ लाग्नेछ। पुस २९ मा संविधान निर्माण प्रक्रिया प्रारम्भ गर्ने संविधान सभाको बैठक बस्नु र त्यसै दिन एमाओवादी नेतृत्वको मोर्चाले बन्द आह्वान गर्नुलाई नजिकबाट केलाउँदा दुवै पक्षमा राजनीतिक इमानदारी देखिँदैन। बरु राजनीतिक कूटिलताले काम गरेको अनुभूत हुन्छ। 
दुई साताअघि नै एमाओवादी नेतृत्वको मोर्चाले उपत्यका बन्दको कार्यक्रम घोषणा गरेको थियो। एक साताअघिको संविधान सभा बैठकले त्यसै दिन संविधान सभामा संवाद समितिको प्रतिवेदन पेस गर्ने मिति तोक्यो। नेम्वाङलाई थाहा थियो, पुस २९ बन्द घोषित छ। एमाओवादीलाई थाहा नहुने कुरै भएन, आफैंले घोषणा गरेको बन्द। तर २४ पुसको संविधान सभा बैठकमा एमाओवादीले पनि ताली ठोकेर पुस २९ मा बैठक डाकेको विषयमा समर्थन जनायो। यही बैठकले संवाद समितिका सभापति एनेकपा (माओवादी) नेता डा. बाबुराम भट्टराईलाई संविधान सभाले तेस्रोपटक प्रतिवेदन फर्काउने निर्णय गरेको थियो। भट्टराईले पुस २९ गते सभाध्यक्ष नेम्वाङलाई प्रतिवेदन बुझाए, तर उनी संविधान सभामा उपस्थित भएनन्। भट्टराईले बन्दको कारण देखाउँदै अर्को दिन आफैंले प्रतिवेदन पेस गर्ने भनेका थिए। भट्टराईले पुस २९ को संविधान सभा स्थगन गर्दै अर्को दिन प्रतिवेदन पेस गर्न अनुरोध गरेको सार्वजनिक भयो। नेम्वाङले भट्टराईको आग्रह स्विकारेनन्। उनले संविधान सभाको प्रक्रिया सुरु गरे। नेम्वाङसँग विकल्प थियो। उनले ‘पर्ख र हेर' को नीति लिन पनि सक्थे। उनले ‘टाइमबाई' को राजनीतिअन्तर्गत एमाओवादीलाई संविधान सभामा अडाउन पनि सक्थे। त्यस्तो अवस्थामा उनीमाथि सत्तापक्षीय सभासद् ओइरिने थिए जुन थेग्न सहज थिएन। तर, उनीमाथि प्रतिपक्षीलाई निषेध गरेको आरोप भने लाग्दैनथ्यो। 
अहिले नेम्वाङ प्रश्नावली समिति गठन गरेर संविधान सभालाई सक्रिय बनाउने राजनीतिमा छन्। उनको यो राजनीतिले परिणाम ल्याउँछ त? प्रश्नहरू बनाउने र त्यसैमाथि बहुमत र अल्पमतको समर्थन–विरोधका आधारमा विवाद टुंगो लगाउँदै जान यो राजनीति सफल होला? यस्तो राजनीतिले माघ ८ मा संविधानको मस्यौदा आउन सक्ला? प्रश्नहरूको उत्तर सहज छैन, किनभने अवस्था पेचिलो छ। 
मुलुक दुईधारे राजनीतिबाट अघि बढेको छ। संविधान बनाउने भन्दै सत्ताधारी दल ‘पोलिटिकल एडभेन्चर' मा उत्रिएका छन्। अर्कोतर्फ प्रतिपक्षी संविधान सभा छाडेर सडकमा पुगेको छ। के हुन्छ त अब? दुई तिहाइ बहुमतले संविधान निर्माणको काम अघि बढ्ला? वा पुनः सहमतिको प्रयासमा राजनीतिले नयाँ बाटो लेला? प्रश्नहरू अनुत्तरित छन्। वास्तवमा पछिल्लो समय दलहरूबीच अविश्वास बढेको छ। सत्तापक्षीय र प्रतिपक्षीय दुरी फैलँदै गएको छ। घटनाक्रमले संकेत गर्दैछ, माघ ८ मा संविधानको मस्यौदा आउँदैन। प्रश्नावली समिति बनाउने र त्यसले काम गर्ने अनि प्रश्नहरूमाथि छलफल भएर पक्ष–विपक्षमा मतदान हुने कामले समय त लिन्छ नै। त्यसैले नेम्वाङको पछिल्लो राजनीतिलाई संविधानको प्रक्रिया थालनी गरेको श्रेय लिने खेलबाहेक अर्को अर्थमा लिन मिल्दैन। 
अन्तरिम संविधानको भावना सहमतीय राजनीति हो। तर, ६ वर्षयताको अभ्यास त्यस्तो देखिएन, बरु राजनीति बहुमत–अल्पमतको खेल भन्ने परिभाषित गर्ने प्रयास भयो। अन्तरिम संविधानको प्रयोगलाई हेर्ने हो भने हामी सहमतिको कोरा कुरा गर्दै बहुमतीय अभ्यासमा सरकार बनाउने र भत्काउने काम गर्दै आएका छौँ। यस अर्थमा हाम्रो अभ्यास संसदीय प्रकृतिको राजनीतिक गणित हो। तर, राजनीति सधँै अंकगणितजस्तो सोझो हुँदैन। गणितका हिसाबकिताब गर्दा राजनीतिक समीकरणहरूको जोडघटाउ जान्नु आवश्यक हुन्छ। एकोहोरो दुई तिहाइले भन्दा बहुमत कतिपय अवस्थामा प्रभावकारी हुन्छ। हामी दुइटा धरातलीय यथार्थमा उभिएका छौं। एउटा, सहमतिबाट संविधान बन्न नसक्ने र अर्को अहिले अँगाल्न खोजिएको गणितबाट बनेको संविधानले राजनीतिक वैधता प्राप्त गर्न नसक्ने। निश्चय नै सत्ताधारी दल कांग्रेस, एमाले, राप्रपालगायत साना दल मिल्दा संविधान सभामा दुई तिहाइ पुग्छ। तर, यस्तो गणितको बलमा जारी भएको संविधानले राजनीतिक वैधता प्राप्त गर्ने कुरामा प्रश्न उठ्न सक्छ। कारण, एमाओवादी र मधेसी सबै दल अहिले सडकमा छन्। परिवर्तनकारी शक्ति भनेर कहलिएका दलहरू संविधान सभाबाहिर पुग्नुले राम्रो संकेत दिइरहेको छैन। तर, बहुमतको बल प्रदर्शन गर्नुभन्दा हार्दिकताका साथ खास पक्ष र पार्टीको साथ र समर्थन लिनु राजनीतिक बुद्धिमानी हुनेछ। नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला केही सातायता संविधान निर्माणमा ‘लेनदेन' को कुरा गर्र्दैछन्। ‘अडान' तथा ‘त्याग' को राजनीतिक पहिचान बनाएका कोइरालाको लेनदेन राजनीतिक रूपमा कहाँ–कसरी कार्यान्वयन भइरहेको छ? देख्न र अनुभव हुन सकिरहेको छैन। आशा गरौं, उनको लेनदेन आउँदा दिनमा स्पष्ट हुँदै जानेछ र त्यसैले राजनीतिको दिशानिर्देशित गर्नेछ । 
एक महिनाअघिदेखिका राजनीतिक घटनाक्रम केलाउँदा एमाओवादी नेतृत्वको मोर्चाबाट मधेसीलगायत साना दल अलग्गिने क्रममा थिए। मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार सत्तामा आउन तम्तयार रहेको अवस्था थियो। तर, प्रधानमन्त्री कोइरालाले त्यस्तो अवस्थाबाट लाभ उठाउन सकेनन्। उनको लेनदेन नीति प्रचारमा सीमित भयो। व्यवहारमा राजनीतिक उदारता प्रदर्शन हुन सकेन। एमालेले निर्देशित गरेको बाटोमा हिँडिरहेका कोइराला कांग्रेस सभापति र प्रधानमन्त्रीय नेतृत्व दुवैको भूमिका खेल्न बिर्सिरहेका त छैनन्? आफ्नै भूमिकाको अवमूल्यन त गर्दै छैनन्? राजनीतिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भत्किसकेको मोर्चा सम्हालेका छन्। उता, एमालेका अध्यक्ष केपी ओलीले सत्ता राजनीतिमा आउन तयार मधेसीलाई भड्काउने काम गरे। कोइरालाले लेनदेन नीतिलाई उदार बनाएर संविधानको प्रक्रियामा कम्तीमा मधेसकेन्द्रित केही पार्टीलाई ल्याउन सकेको भए अहिले सुरु भएको प्रक्रियाले गहन महत्व राख्दथ्यो। मधेसी राजनीतिमा सांगठनिक हिसाबले उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम र गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक प्रभावकारी लाग्छन्। गणनामा आउने केही मधेसी दल र गच्छदार नेतृत्वको दललाई अहिलेको संविधान निर्माण प्रक्रियामा सहभागी गराउन सक्नुपर्थ्यो। अहिले पनि समय घर्किएको छैन। यसका लागि माघ ८ को रटान त्याग्न सक्नुपर्छ। दुई तिहाइको गणित केलाउने अभियानमा लाग्नु सुशील र उनको पार्टी दुवैको हितमा छैन। सुशील एक्लै एमालेले देखाएको बहुमतीय प्रक्रियाको बाटोमा अघि बढेका त छैनन्? आफ्नै दलभित्र समर्थन कमजोर भइरहेको त छैन? आत्मसमीक्षा गर्न आवश्यक छ उनले। कांग्रेसकै वरिष्ठ नेता शेरबहादुर देउवाले अन्तरिम संविधानलाई अनुमोदन गर्ने र बिस्तारै विवादका कुरा मिलाउँदै जाने अवधारणा अघि सारेका छन्। देउवाको यो अवधारणाको अर्को पाटो अहिले सुरु गरेको बहुमतीय प्रक्रियाबाट अगाडि नबढौं भन्ने नै हो। अन्तरिम संविधानलाई अनुमोदन गर्ने र विवादका विषय मिलाउँदै उनको ‘टाइमबाई' नीतिले सडकमा भौंतारिइरहेको प्रतिपक्षीलाई मत्थर बनाउन सक्छ। प्रमुख प्रतिपक्षी एमाओवादी र मधेसवादी दुवैलाई उत्तेजित बनाएर सडकमा धकेल्ने र एमालेको सल्लाहमा बहुमतीय प्रक्रियामा जान हतार गर्ने राजनीतिले कस्तो परिणाम देला? सुशील कोइरालाले खुला दिमागले सोच्नु आवश्यक छ। उनी प्रधानमन्त्री मात्र होइन, मुलुककै प्रिय नेता बन्ने बेला हो अहिले।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस