सुर्खेत– पार्टी र झन्डा एउटै। कार्यक्रमका लागि लेखिएको ब्यानरका शब्द पनि उस्तै। तर, मंगलबार पश्चिम सुर्खेतको बाबियाचौरमा दृष्य फरक थियो। कांग्रेस जिल्ला सभापति तप्तबहादुर बिष्टले गाविसभवनमा नेपाल विद्यार्थी संघको बाह्रौं जिल्ला अधिवेशन उदघाटन गर्दै गर्दा तीनमध्ये दुई निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिको उपस्थितिमा संघका केन्द्रीय सदस्य ऋषिकेशजंग शाहले नेविसंघकै ब्यानरमुनि अर्को अधिवेशन उदघाटन गरे।
बुधबार बिहान दुईवटै अधिवेशनबाट फरक–फरक जिल्ला कार्य समिति घोषणा गरिए। बिष्टले उद्घाटन गरेको अधिवेशनबाट हरिप्रसाद शर्मा र शाहले उद्घाटन गरेको अधिवेशनबाट विवेक आचार्य अध्यक्षमा 'निर्विरोध निर्वाचित' भए।
केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा सुर्खेत नेविसंघमा देखिएको बिग्रहले चर्को रुप लिएको छ। यसले यही महिनाको अन्त्यतिर हुन लागेको महाधिवेशनलाई प्रभावित गर्ने स्वयं विद्यार्थी नेताहरु बताउँछन्।
सुर्खेत नेविसंघ विवादित जिल्लाको सूचिमा छ। विवादकै कारण पार्टीको जिल्ला कार्यालयमा लागेको ताला एक वर्षदेखि खुलेको छैन। डेढ वर्षअघि दुबै खेमाले क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन अलग–अलग गरेपछि विवाद सिर्जना भएको हो। तर, संविधानसभा निर्वाचनको बेला दुवै पक्षका पार्टीनेताहरु सम्मिलित बैठकले दुइवटै क्षेत्रीय कार्य समितिलाई मर्ज गर्ने र क्षेत्रीय प्रतिनिधि बराबर गर्ने सहमति गरेको थियो।
आचार्य एक वर्ष पुग्ग्दासमेत सहमति कार्यान्वयन नगरी उल्टै रातारात अवैध रुपमा अधिवेशन आयोजना गरिएपछि अर्को अधिवेशन आयोजना गर्नुपरेको बताउँछन्। 'जिल्ला कार्य समितिको बैठकसमेत नबसी मिडियामार्फत एक दिनअघि अधिवेशनबारे जानकारी गराइयो,' उनले भने, 'केन्द्रीय प्रतिनिधि तोकिएका व्यक्ति पनि एक्कासी अधिवेशनस्थलमा देखिए।' तीनवटै क्षेत्रबाट रातारात 'गैरप्रतिनिधि'लाई बाबियाचौर पुर्याइएपछि बहुमत अधिवेशन प्रतिनिधिको भावनाअनुसार आफूले अधिवेशन आयोजना गरेको उनले बताए।
शर्मा पक्षधर निवर्तमान जिल्ला अध्यक्ष रुद्र खत्रीले भने महाधिवेशनको लागि गठन भएको पार्टीको केन्द्रीय निर्देशन समितिले कात्तिक १८ गतेसम्म अधिवेशन गर्न निर्देशन दिएपछि हतारमा जिल्ला अधिवेशन आयोजना गरिएको बताए। 'हामीले विधि पुर्याएर अधिवेशन गरेका छौं,' उनले भने, 'अरुले के गरेका छन् हामीलाई जानकारी भएन।'
एउटै संगठनको दुईवटा अधिवेशन हुँदै गर्दा मंगलबार बाबियाचौरको अवस्था तनाबपूर्ण थियो। गाविसभवनमा भइरहेको अधिवेशनस्थलमा प्रहरीले पहरा दिएको थियो। अर्को पक्षले भने पिपलचौतारीको खुला ठाउँमा अधिवेशन आयोजना गर्यो। मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नेविसंघ अध्यक्ष झलक भण्डारीले प्रहरी लगाएर विद्यार्थीलाई गाविसभवनभित्र छिर्न नदिइएपछि नेविसंघ दुई चिरा भएको बताए। 'अधिवेशन भनेको हाम्रो उत्सव हो,' उनले भने, 'त्यही उत्सवमा जान नदिँदा अहिले यो अवस्था निम्तिएको हो।' पार्टीको जिल्ला नेतृत्वले पनि निरंकुश शैलीमा एक पक्षलाई च्याप्दा समस्या देखिएको उनले बताए।