काठमाडौं- अमेरिकाले नेपाली तयारी पोसाकसहित विभिन्न ६६ वस्तुलाई भन्साररहित प्रवेश दिने विधेयक पारित गरे पनि त्यो सुविधाबाट लाभान्वित हुन नेपाली उद्योगलाई निकै हम्मे पर्ने देखिएको छ। अमेरिकाले दिएको शून्य भन्सार सुविधा उपयोग गर्न नेपाली गार्मेन्ट उद्योगले उसले तोकेका मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। मापदण्ड पूरा नगर्ने उद्योगले उक्त सविधा पाउँदैनन्।अमेरिकाले विश्वका अन्य मुलुकलाई दिएको जस्तै नेपालबाट पनि तोकिएको मापदण्ड पूरा भए, नभएको निरीक्षण गरेरमात्र सुविधा दिन्छन् वा सुविधा पाउने सामान किन्छन्। 'शून्य भन्सार दरको सुविधा पाउन हाम्रा उद्योगले उनीहरूले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्छ,' उद्योग मन्त्रलयका सहसचिव दिनेशकुमार घिमिरेले भने, 'उनीहरू मापदण्ड पूरा गरे, नगरेको निरीक्षण गरिरहन्छन्।' अमेरिकी राष्ट्रपति बाराक ओमाबाले नेपालबाट आयात हुने विभिन्न वस्तुलाई शून्य भन्सारको सुविधा दिने विधेयकमा हस्ताक्षर गरेपछि पहिलोपटक यही मार्च महिनामा नेपाली गार्मेन्ट उद्योगबारे बुझ्न अमेरिकी टोली काठमाडौं आउँदैछ।
अमेरिकी सरोकारवालाले नेपाली उद्योगको अवस्थाबारे र व्यवसायीसँग छलफलसमेत सुरु गरेका छन्। व्यवसायीको अनुसार सोमबार काठमाडौंस्थित अमेरिकी राजदूतावासका अधिकारीले नेपाली उद्योगी, व्यवसायीसँग छलफल गर्दैछन्।
अमेरिकी मापदण्ड पूरा गर्न कुनै पनि उद्योग एक्सपोर्ट प्रोसेसिङ जोन (औद्योगिक क्षेत्र) मा सञ्चालन भएको हुनुपर्छ। उक्त क्षेत्रमा सञ्चालन भएको उद्योगले मात्र यस्तो सुविधा पाउन सक्ने नियम छ। नेपालका अधिकांश उद्योग काठमाडौंकेन्द्रित भएर छरपष्ट सञ्चालित छन्।
उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७१/०७२ को अन्त्यसम्ममा तीन सय ६० गार्मेन्ट र ८५ वटा एप्पेरल उद्योग दर्ता भएकामा तीन सय ५४ गार्मेन्ट र ८० एप्पेरल गरी तीन सय ४३ उद्योग काठमाडौंमै छन्। काठमाडौंमा रहेका अधिकांश उद्योग घनाबस्तीको छेउछाउ रहेकाले उनीहरूलाई उपयुक्त औद्योगिक क्षेत्रमा सञ्चालन हुनुपर्ने चुनौती छ।
त्यस्तै, काठमाडौंकेन्द्रित उद्योगले वातावरणीय पक्षलाई कति ध्यान दिएका छन् भन्ने विषय पनि जोडिएर आउँछ। छुट्टै औद्योगिक क्षेत्रसँगै वातावरणीय पक्षलाई पनि अमेरिकी नीतिले महत्वका साथ हेरेको छ। आइए, इआइए, बस्तीमाथिको असरलगायत विषयमा नेपाली उद्योगले सोच्नु पर्नेछ।
नेपाली उद्योगलाई सक्कली र गुणस्तरीय पोसाक निर्यात गर्नुपर्ने चुनौती छ। नक्कली सामानको बिगबिगीले नेपाली गार्मेन्टको अमेरिका निकासी ओरालो लागिरहेको बेला त्यसलाई उकास्न उद्योगहरूले थप मेहनत गर्नु पर्नेछ। घिमिरेका अनुसार अमेरिकी सरकारको अनुगमन टोलीले नेपालबाट निर्यात हुने कपडा एवं तयारी पोसाक लगायत वस्तु 'ट्रान्ससपमेन्ट' (अन्य मुलुकबाट तयारी सामान आयात गरी अमेरिकी भंसार छुट लिने मनसायले 'नेपालमा बनेको' लेबल लगाएर गरिने निर्यात) भए, नभएको पनि वर्षको तीनपटक प्रमाणीकरण गर्नेछ। 'ट्रान्ससिपमेन्ट' भएको भेटिए सरोकारवाला आयुक्तले अमेरिकी राष्ट्रपतिलाई सोको जानकारी गराउनेछ र नेपाल यो सुविधा लिनबाट वञ्चित हुन सक्छ। नेपालको सामान नेपालमै सिलबन्दी भएर सिधै अमेरिकी भन्सारमा पुग्नु पर्नेछ।
कुनै पनि उद्योगमा १८ वर्षमुनिका बालबालिकालाई काममा लगाउन पाइँदैन। यो अमेरिकी मात्र होइन नेपालको कानुनले पनि दिँदैन। यस विषयमा पनि नेपाली उद्योग कति पारदर्शी छन्, यसैबेला देखाउनु पर्नेछ। काठमाडौं उपत्यकामा रहेका रहेका कतिपय गार्मेन्ट उद्योगमा बालबालिका प्रयोग भएका घटना बेलाबेलामा बाहिर आइरहैकै छन्। बालश्रम प्रयोगकै कारण विगतमा नेपालको हस्तनिर्मित गलैंचा, पस्मिना जस्ता वस्तु विदेशी आयाकर्ताले नकिनेका घटना छन्।
विश्वका अन्य मुलुकसँग प्रतिस्पर्धा गर्नको लागि नेपाली उद्योगले गुणस्तरीय, आकर्षक र हालको भन्दा ठूलो मात्रामा तयारी पोसाक उत्पादन गर्नुपर्ने हुन्छ। हाल तयारी पोसाक उत्पादन गर्ने सीप भएका श्रमिक कम भएकाले सुरुमै करिब ४० हजारजनालाई सिलाउने सीप सिकाउनु पर्ने तयारी पेसाक उद्यमी सुव्रत धिताल सुझाउँछन्।
अमेरिकाले नेपाली तयारी पोसाकलाई सुविधा दिने विधेयक पारित गरेपछि पूरा गर्नुपर्ने मापदण्ड र उद्योगको स्थितिबारे छलफल गर्न फागुन १९ गते उद्योग मन्त्रालयले विशेष छलफल आयोजना गरेको छ। अहिलेको नेपालको गार्मेन्ट उद्योगको अवस्था, तालिम दिनुपर्ने जनशक्ति, उद्योग सञ्चालन गर्न उपयुक्त हुने ठाउँ लगायत विषयमा हुने छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कर्मस लगायत सरोकारवाला उपस्थित हुने सहसचिव घिमिरेले बताए।
'गार्मेन्ट उद्योग सञ्चालन गर्न सिमरा विशेष आर्थिक क्षेत्र (सेज) उपयुक्त हुन सक्ने भन्दै उद्योगीसँग छलफल गर्न लागेका छौं,' घिमिरेले भने, 'उद्योगीको सुझाव, अहिलेको अवस्थाका आधारमा उद्योगको लागि क्षेत्र छुट्ट्याइने छ।' सिमरा सेजको 'ब्लक ए'लाई 'एक्सपोर्ट प्रोसेसिङ जोन'का रुपमा विकास गर्न सकिने मन्त्रालयले जनाएको छ। यस क्षेत्रको थप विकासको लागि अर्थ मन्त्रालयलसँग पाँच करोड रुपैयाँ बजेट निकासा गर्न अनुरोधसमेत भएको छ।
नेपालको श्रम ऐन, विधेयकको विषयमा पनि अमेरिकीले चासो राख्न सक्छन्। हाल छलफलको चरणमा रहेको श्रम विधेयक र विशेष आर्थिक क्षेत्र विधेयक तुरुन्त ल्याउनुपर्ने चुनौती नेपाल सरकारलाई छ। आवश्यक र उपयुक्त कानुनबिना उद्योगमा विदेशी लगानी भित्याउन गाह्रो हुन्छ। यसले अन्ततः नेपालको निर्यातमुखी उद्योगलाई असर गर्छ।
भन्सार छुट सुविधा प्राप्त हुने वस्तुमा सुती कपडा, मानवनिर्मित रेशाबाट उत्पादित कपडा, ऊनी कपडा, यी कपडाबाट निर्मित तयारी पोसाक, कार्पेट, छालाको झोला, सुटकेस आदि छन्। नेपालले शून्य भन्सार सुविधा २०२५ डिसेम्बर ३१ सम्म प्राप्त गर्नेछ। यो सुविधा विधेयक पारित भएको ३०औं दिनदेखि कार्यान्वयन हुनेछ।
सरकारी तथ्यांकअनुसार पोहोर नेपालबाट अमेरिकामा पाँच अर्ब तीन करोड रुपैयाँको तयारी पोसाक निर्यात भएको छ। यो अमेरिकाले विश्वका अन्य मुलुकसँग आयात गर्ने टेक्सटाइल र एप्पेरल वस्तुको ०.०५ प्रतिशत मात्र हो। अमेरिकाले दिएको पछिल्लो सुविधा उपभोग गर्न सके १० वर्षमै करिब पाँच खर्ब रुपैयाँ बराबरको पोसाक निर्यात हुने देखिन्छ। त्यति हुँदा करिब ८ लाख नेपालीका लागि प्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुनेछ। सन् २००५ मा मल्टिफाइबर एरेन्जमेन्टको म्याद सकिएर निश्चित मुलुकहरुले पाउँदै आएको भन्साररहित सुविधा कटौती भएपछि नेपाली निर्यातकर्ताले अमेरिकामा पोसाक निकासी गर्दा ११.५ देखि १७ प्रतिशतसम्म भन्सार कर तिर्नुपरेको थियो।