पच्चीस वर्षको लोकतन्त्र
११ वैशाख २०७२
•
४१ मिनेट पाठ
पच्चीस वर्षको लोकतन्त्र
'मकैको खेती' नामक कृषि शिक्षासम्बन्धी पुस्तकले विसं १९७७ मा नेपाललाई नयाँ युगमा प्रवेश गरायो। कृष्णलाल अधिकारीको यो पुस्तकलाई तत्कालीन राणा शासकहरूले कृषि शिक्षाका नाममा राज्यमाथि व्यंग्य गरेको ठाने। र, अधिकारीलाई नौ वर्षको सजाय दिए।
तीन वर्षपछि जेलमै उनको मृत्यु भयो।अधिकारीको पुस्तक प्रकाशित भएको १० वर्षपछि खड्गमान सिंहको नेतृत्वमा 'प्रचण्ड गोरखाले' राणा शासकमाथि बम हान्ने योजना बनायो। यो योजना राणा गुप्तचरीका कारण असफल भयो। यसका नेता खड्गमान सिंह २००७ सालमा मात्र जेलबाट छुटे।

सहिद धर्मभक्त माथेमाको घरमा जम्मा भएका पाँच युवाको प्रयत्नले विसं १९९३ जेठ २२ गते 'नेपाल प्रजा परिषद' नामक राजनीतिक संस्था गठन भयो। संवैधानिक राजतन्त्रअन्तर्गत संसदीय व्यवस्था माग गर्दै 'एक्सन'मा गएको यो नेपालको पहिलो राजनीतिक गतिविधि थियो। काठमाडौंका जनता प्रजा परिषदका युवाको राजनीतिक पर्चा छर्ने कार्यबाट तीनछक परे। यो प्रकरणमा प्रजा परिषदका चार युवालाई मृत्युदण्ड भयो। त्यसपछिका दिनमा तिनै चार सहिद धर्मभक्त, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दको जगमा नेपालको सम्पूर्ण लोकतान्त्रिक आन्दोलन अघि बढ्यो।

पहिलो राजनीतिक संस्था गठन भएको दस वर्षपछि २००३ माघ १३ गते बिहीबार नेपाली कांग्रेसको जन्म भयो, भारतको कलकत्तामा। त्यसउप्रान्त सात दशक बितिसक्दा पनि नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व नेपाली कांग्रेस गर्दै आएको छ। २००७ सालको क्रान्ति, ०४७ को जनआन्दोलन र ०६२ को दोस्रो जनआन्दोलन सबैमा कांग्रेस नेतृत्वदायी भूमिकामा रह्यो। सात सालको क्रान्तिका सहयोगी राजा त्रिभुवन थिए भने ०४७ सालको जनआन्दोलनको सहयात्री वामपन्थी मोर्चा र ०६२ सालको दोस्रो जनआन्दोलनको सहयोगी भूमिगत नेकपा माओवादी थियो। दोस्रो जनआन्दोलनमा नेपालको राजनीतिक आन्दोलनको चरित्रमा मूलभूत फरक आयो। अर्थात्, कांग्रेससहित सात दल र माओवादी एक्लै दोस्रो जनआन्दोलनका शक्ति बने।

यिनै माथिका आन्दोलन र तिनले सिर्जना गरेको आर्थिक–सामाजिक व्यवस्थाका साथै ०६३ माघमा भएको मधेस विद्रोहपछि उत्पन्न सामाजिक, आर्थिक र राजनीतिक इतिहास नै नेपालको आधुनिक राजनीतिक इतिहास हो।

झन्डै सय वर्षभन्दा बढीको राजनीतिक उथलपुथल र आरोह–अवरोहलाई एकातिर पन्छाएर विगत २५ वर्षको प्रजातन्त्र पुनर्स्थापनापछिको नेपाली अर्थराजनीति र सामाजिक अवस्थाको चित्रणमा यो लेख सीमित गर्नुपर्ला।
...
०४७ सालबाट गणना गर्दा २५ वर्ष भयो नेपालमा प्रजातन्त्र पुनर्स्थापना भएको। नेपालको इतिहासमा त्यो साल चिरकालसम्म स्मरणयोग्य रहनेछ।

विश्व इतिहासमै त्यो समयलाई 'लोकतन्त्रको विजयी वर्ष' भनी सम्झना गरिन्छ। यो त्यही समय थियो जब बर्लिनको पर्खाल ढलेर शितयुद्ध समाप्तिको चरणमा थियो। सोभियतसंघ विघटन भइरहेको थियो। पूर्वी र मध्य युरोपमा कम्युनिस्ट पार्टीको सत्ता समाप्त भयो। उत्तरको छिमेकी चीनमा चिनियाँ कम्युनिस्ट पार्टीले बजारमुखी पुँजीवादी अर्थव्यवस्था अपनाएर एउटा अनौठो प्रयोग अघि बढाएको थियो तिनैताका। विश्व इतिहासमा अविस्मरणीय घटनाका साथै विस्मयकारी प्रयोग भइरहेका थिए, ०४६/४७ तिर।

नेपालमा पनि प्रजातन्त्र पुनर्स्थापनाको लडाइँमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टी एउटै मञ्चमा आएर आन्दोलन गर्न तयार भएका थिए। यो त्यही समय थियो जब नेपालका एकथरी कम्युनिस्ट बहुलवाद र संसदीय व्यवस्थाको पक्षमा आन्दोलन गर्न तयार भएका थिए कांग्रेससँग मिलेर। नेपालका कम्युनिस्ट पार्टीका मुर्धन्य नेता पुष्पलाल श्रेष्ठको सपना साकार हुँदै थियो, कांग्रेस–कम्युनिस्ट एकताको आन्दोलनले। अनि यो त्यही समय थियो जब नेपाली कांगे्रस आफ्ना जननायक बिपी कोइरालाको सिद्धान्तविपरित कम्युनिस्टहरूसँग कार्यगत एकता गर्न तयार भएको थियो, राजाको प्रत्यक्ष शासनविरुद्ध।

कांग्रेस र वामपन्थीको कार्यगत एकताले ३० वर्षको निरंकुश पञ्चायत ढल्यो, राजाको प्रत्यक्ष शासन गयो र राजा संवैधानिक हुन तयार भए। सहिद धर्मभक्त माथेमाको घरबाट पाँच जना युवाले सुरु गरेको आन्दोलनले मूर्तरूप लियो।

नेपालको इतिहासमा यो ऐतिहासिक अवसर थियो जब वर्षौंदेखि 'फुटाऊ र राज गर' भन्ने दरबारिया अस्त्र असफल भइरहेको थियो। लोकतन्त्र र कम्युनिस्टतन्त्रको नाममा विभाजित भएको नेपाली जनतालाई यही आन्दोलनबाट एकाकार हुने अवसर प्राप्त भयो। वाद र विचारबाट विभाजित नेपाली जनतालाई पहिलोपटक एकीकरण गर्ने कार्य कांग्रेस नेता तथा जनआन्दोलनका कमान्डर गणेशमान सिंहका कारण सम्भव भयो। गणेशमान सिंह ती चार सहिदका साथी थिए जसले सर्वप्रथम लोकतन्त्रको संगठित आवाज काठमाडौंको ओमबहालबाट सुरु गरेका थिए।

गणेशमान संघर्षबाट लौहपुरुष भइसकेका थिए, ०४७ सालसम्म। सबै नेपालीले गणेशमानलाई प्रजातन्त्रका लागि अविचलित योद्धाका रूपमा देखे र आफ्नो नेता माने। आन्दोलन सफल भयो, वीर गणेशमान जिन्दावाद र प्रजातन्त्र अमर रहोस्को नारा देशभर गुञ्जियो। आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि विभिन्न वादमा विभाजित नेपालको एकीकरण थियो। बर्लिनको पर्खालले दिएको सन्देश, सोभियतसंघ विघटन र कम्युनिस्ट चीनले अपनाएको आर्थिक उदारीरकणको असर नेपालका राजनीतिक दलहरूमा पर्योु।

नेपालका राजनीतिक दलहरूमा एउटा आत्मस्वीकृति र सहअस्तित्वको मार्ग यहीँबाट प्रारम्भ भयो। कांग्रेसको राजाप्रतिको अनुराग सकियो भने कम्युनिस्टहरूले प्रयोग गर्ने 'कम्युनिस्ट जार्गन शब्द' क्रमशः कम हुन थाल्यो, यही आन्दोलनपछि।

उता भारतमा पनि त्यही समय अनौठो र नयाँ नयाँ राजनीतिक प्रयोग भइरहेको थियो। भारतको केन्द्रीय सरकार भ्रष्टाचारविरोधी, सीमान्तकृत र दलितको आन्दोलनबाट निर्माण भएको थियो, विश्वनाथप्रसाद सिंहको नेतृत्वमा। भारतमा स्वतन्त्रताको ४५ वर्षपछि मण्डल आयोगका कारण दलित र सीमान्तकृत समुदाय जागेका थिए। भारतमा आएको यो नयाँ जागरणलाई विगतका समाजवादीले सघाइरहेका थिए। यी समाजवादी नेपालको राजनीतिमा सहयोगी मात्र थिएनन्, लोकतन्त्र पुनर्स्थापनाका लागि सक्रिय पनि थिए।

के उपलब्धि भयो २५ वर्षे संसदीय अभ्यासमा?

संसदीय अभ्यासको सबैभन्दा ठूलो उपलब्धि भनेको नेपाली जनतालाई लोकतान्त्रिक वातावरणमा बस्ने आदत लाग्यो। संक्षेपमा भन्नुपर्दा, युवा नेपालीहरूको जीवन पद्धति नै लोकतान्त्रिक भयो। स्वतन्त्र रूपमा सोच्ने, घुम्नेफिर्ने मात्र होइन, आफूलाई विश्व बजारमा पुर्यािउने सामर्थ्य पनि नेपालका आमनागरिकले विकसित गरे यसैबीचमा। राज्यसँग डराउने होइन, राज्य नागरिकको सेवा र सुविधाका लागि हो भन्ने कुरा सर्वसाधारणले पनि बु‰न थाले। राजाको निरंकुश ३० वर्षे शासनमा डर र त्रासमा बसेका जनता मानसिक र शारीरिक रूपले स्वतन्त्र भएका थिए।

सत्ताको शान्तिपूर्ण परिवर्तन नेपाली राजनीतिको दोस्रो ठूलो उपलब्धि देखियो। विगत २५ वर्षमा तत्कालीन राजा ज्ञानेन्द्रले बलात सत्ता हत्याउनेबाहेक राजनीतिक दलहरूले लोकतान्त्रिक माध्यमबाट मात्र सत्ता परिवर्तन हुन्छ भन्ने अभ्यास प्रस्तुत गरे। कम्युनिस्ट बाहुल्य भएको नेपालमा शान्तिपूर्ण सत्ता हस्तान्तरणको अभ्यासलाई लोकतन्त्र दीर्घजीवी हुनेछ भनी विश्वास गर्ने आधार बन्यो। तर, सरकारहरू छोटो समयका लागि बन्ने र विघटन हुने प्रक्रियाले जनताबीच निराशा मात्र ल्याएन, देशको आर्थिक विकास पनि पछाडि पर्योन। यति हुँदाहुँदै लोकतन्त्रको संस्थागत विकासका लागि सत्ताको शान्तिपूर्ण परिवर्तनको अभ्यास मात्र हुनु पनि असाधारण कुरा मान्नुपर्छ।

तेस्रो ठूलो परिवर्तन भनेको नेपालमा आमनिर्वाचनबाट पहिलो कम्युनिस्ट सरकार बन्यो विश्वमै। मनमोहन अधिकारीको नेतृत्वमा एमालेको अल्पमत सरकार बन्यो। यो सरकार निर्माणसँगै भारतले नेपालमा कहिल्यै कम्युनिस्ट सरकार बन्न दिनेछैन भन्ने राजधानीका उपबुज्रुकहरूको मान्यता समाप्त भयो। राजा भएको देशमा कसरी कम्युनिस्ट सरकार बन्छ भनी दरबारियाहरूले पालेको भ्रम पनि सकियो। वास्तवमा नेपाली कांग्रेसभित्रै धेरै नेता तथा विद्धानहरू राजा र भारतलाई नेपालमा कम्युनिस्ट सरकार रोक्ने प्रभावकारी औजार ठान्दथे। शितयुद्ध र सोभियतसंघ विघटनले दिएको विश्वव्यापी सन्देश बु‰न राजधानी काठमाडौंका केही कांग्रेस र धेरै भारदार तयार थिएनन्। तर, जनमतको अगाडि कसैको केही चलेन। ०५१ को मध्यावधि निर्वाचनले एमालेलाई सत्तारोहण नगरेको भए सम्भवत ०६५ को प्रथम संविधानसभा निर्वाचनपछि माओवादी 'जनयुद्ध'बाट आएका पुष्पकमल दाहाललाई सत्ता हस्तान्तरण शान्तिपूर्वक हुने थियो भनी भन्न गाह्रो छ। एमालेको लोकतान्त्रिकीकरणले माओवादीलाई बु‰न र यो पनि लोकतान्त्रिक चरित्रमा रूपान्तरण हुनेछ भनी विश्वास गर्न सजिलो भएको हो।

अर्थराजनीति

नेपाली कांग्रेस २५ वर्षअघि प्रथम आमनिर्वाचनबाट सत्ताको नेतृत्वमा आयो। राजनीतिक स्वतन्त्रतासँगै आर्थिक क्रान्तिको युग अब सुरु भयो भनी गणेशमान सिंहले पहिलो कांग्रेस संसदीय दल बैठकमा भनेका थिए। निर्वाचनमा पराजय व्यहोरेका कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पनि भने, 'अब नेपाल समाजवादतर्फ उन्मुख हुन्छ।' गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रपछि गाउँगाउँमा विकास पुग्ने बताए। तर, राजनीतिक परिवर्तनजस्तो आर्थिक विकास भनेको भाषणले मात्र रातारात हुने विषय थिएन। त्यसमाथि विकासको मोडल नै नभएको कांग्रेससामु पुँजीवादको विश्वव्यापी विजयले आर्थिक विकासको बाटो पहिल्याउने काम कठिन र जटिल थियो।

कांग्रेसका बूढा नेताहरूले २५ वर्षअघि परिभाषित गरेभन्दा फरक विकास मोडल अन्त कतै 'रेडिमेड' बन्छ भन्ने यी पुराना नेतालाई थाहा थिएन। नेपालको विकासको सोच, नीति र रणनीति सात समुद्रपारि वासिङटनबाट निर्देशित हुनेवाला थियो। लोकतन्त्र पुनर्स्थापनासँगै त्यही भयो। प्रधानमन्त्री भएको केही महिनापछि नै गिरिजाप्रसादले 'म गरिब देशको मगन्ते प्रधानमन्त्री हुँ, सबैतिर हात मात्र फैलाउनुपर्छ' भन्ने आत्मस्वीकृति गरे।

विश्वमा पुँजीवादको जयजयकार भइरहेको बेला कांग्रेसको समाजवाद र एमालेको साम्यवादले निर्वाचनमा भोट जुटाउने काम मात्र गर्योा। यो दर्शनबाट विकास अघि बढाउने सम्भावना नै थिएन, भएन। यी दुवै पार्टीले आफ्नो सिद्धान्त र नामसमेत परिवर्तन गर्ने आँट देखाउनुपर्थ्यो त्यही समय, तर चाहेनन्। दुवै भावना बेचेर भोट माग्न चाहन्थे। सत्तामा गएपछि एकथोक गर्नुपर्ने छ, तर सत्ता बाहिर बस्दा भोटको राजनीतिमा क्रान्तिकारी बन्ने होड पनि छाड्न नसक्ने अवस्थाले नेपालको आर्थिक विकासको दिशा प्रस्ट भएन। कांग्रेस कहाँनेर समाजवादमा उभिन्छ र एमाले कहाँनेर मार्क्सवादी–लेनिनवादी हो बु‰न, बुझाउन गाह्रो छ, अझै पनि।

देशको आर्थिक नीतिमा साझा र समान दृष्टिकोण सबै राजनीतिक दलबीच रहनु विगत २५ वर्षको ठूलो उपलब्धि हो। राजनीतिक दर्शन, ढाँचा, व्यवस्था र सिद्धान्तमा अनेकता हुँदाहँुदै आर्थिक नीतिमा भने कुनै पनि पार्टीको खासै फरक मत छैन। यहाँसम्म कि, उदारवादी अर्थव्यवस्था र संसदीय पद्धतिलाई आक्रमण गरी द्वन्द्वमा होमिएको माओवादीले पनि आज कांग्रेस–एमालेसँग समान दृष्टिकोण राख्न पुगेको छ। यस दृष्टिबाट हेर्दा नेपाली कांग्रेसले प्रजातन्त्र पुनर्स्थापनासँगै लिएको आर्थिक उदारीकरण समयसापेक्ष र युग सुहाँउदो नै भयो। सबैले त्यही स्विकारेका छन्, तलमाथि केही नगरी।

उदार बजारमुखी अर्थतन्त्रले अमेरिका मात्र होइन, चीन र भारत पनि अगाडि बढिरहेको थियो। यी दुवै छिमेकी साम्यवाद र समाजवादबाट गरिबीसँग लड्न नसकी पुँजीवादतर्फ अग्रसर भएका थिए। चीनमा भइरहेको राजनीतिक कट्टरवादमा पनि आर्थिक रूपले बजारमुखी उदारवादको सफलताले धेरैलाई लोभ्याएको थियो। नेपालमा नवोदित लोकतन्त्रलाई लोकप्रिय बनाउन आर्थिक विकासलाई तीव्रता दिनु थियो, तर पुँजी थिएन। पुँजी अन्तर्राष्ट्रिय बजारबाट नजोडी सामाजिक र भौतिक पूर्वाधारको विकास सम्भव थिएन। दाता राष्ट्र, ऋण दिने बैैंकहरू, सहयोगी राष्ट्र सबैसँग सर्तसहित सहयोग र दान जुटाउँदा सरकार अलोकप्रिय हुनु स्वाभाविक थियो। दाता राष्ट्रका सर्त मान्ने क्रममा जनताले सरकारसँग गरेका अपेक्षा र भरोसा स्खलित हुने क्रम बढ्यो। नागरिकबीच बजारमुखी अर्थतन्त्रका केही नकारात्मक छवि अगाडि आयो, जसले अहिले भयंकर रूप धारण गरेको छ।

निजी क्षेत्रले सबैभन्दा ध्वस्त पारेको नेपालको सडक यातायत हो। सडकमा गुड्ने सबै गाडी निजी छन् नेपालमा। सार्वजनिक सवारी नाम दिइएको यातायत व्यवस्था शतप्रतिशत निजी छ। जनता तिनै निजी स्वामित्वमा रहेको तर चरित्र र कार्य सार्वजनिकझैं लाग्ने गाडीमा आवतजावत गर्न बाध्य छन्। निजी सार्वजनिक यातायात नाफामूलक हुन्छ। नाफा कमाउने उद्देश्यले नै चलाएको भए पनि निजी यातायात साधनले नेपाली जनतालाई सेवा र सुविधा दिन सकेकोमा धन्यवादका पात्र छन्। तैपनि यातायातमा सिन्डिकेट छ। सडक दुर्घटना बढी छ। भाडा पनि धान्नै नसक्ने भयो जनताले। नागरिकले पाउने सास्ती र हैरानी अति नै छ। यसको नियमनका लागि अनेक उपाय अवलम्बन गरिन्छ तर सार्वजनिक यातायात सरकारले सञ्चालन नगरुञ्जेल नेपालको सडकमा देखिने अराजकता मत्थर होला भनी विश्वास गर्ने ठाउँ छैन।

निजी विद्यालय र स्वास्थ्य क्षेत्रको स्थिति डा. गोविन्द केसीको अनशनले बाहिर ल्यायो। नेपालका सबै औद्योगिक घरानाले निजी विद्यालय र स्वास्थ्य क्षेत्रमा लगानी गरेका छन्, नाफाका लागि। व्यापारी र औद्योगिक घरानालाई विगतमा सहयोग गर्ने राजनीतिकर्मीहरू अहिले यी दुवै क्षेत्रमा पैसा कमाउने महŒवाकांक्षाले आफैं संलग्न भएका छन्। धेरै राजनीतिकर्मीले निजी विद्यालय र अस्पतालमा लगानी गरेका छन् नाफा कमाउन।

बजारमा नाफा कहाँ छ? विगतमा यो कुरा व्यापारीले मनन् गर्थे, अहिले राजनीतिकर्मी पनि यसमा संलग्न भए। स्वास्थ्य र शिक्षामा सबैले नाफा देखेका छन्। किनकि, नेपालको मध्यमवर्ग केटाकेटीलाई राम्रो शिक्षा दिन र बिरामी पर्दा उपचार गर्न जसरी पनि पैसा जुटाउन लागिपरेको छ। यही मानसिकताले भ्रष्ट र अनैतिकताको दलदलमा राष्ट्र फस्दै गएको छ। नेपाली समाजलाई भ्रष्ट अपराधी हुनबाट बचाउन राज्यले जनताका आधारभूत आवश्यकताको जिम्मेवारी आफैं लिनुपर्ने देखिन्छ। यहाँ भने पानीदेखि, शिक्षा, स्वास्थ्य र सुरक्षासमेत निजी क्षेत्रलाई सुम्पिएको अवस्था छ। नेपालमा जस्तो निजीकरण विश्वका अन्य मुलुकमा विरलै पाइन्छ।

मध्यम र निम्न–मध्यम वर्गमा गुणस्तरीय आधारभूत सेवा लिने प्रतिस्पर्धा छ। अर्कातिर बजारमा मोटर, मोटरसाइकल, टेलिभिजन, फोन, मोबाइल, इन्टरनेट, मदिरा, मासुलगायत सबैको आपूर्ति तीव्र छ। अर्थशास्त्री जेबी सेको कथन 'आपूर्तिले माग बढाउँछ' भन्ने सिद्धान्त नेपालमा अझै मिल्दो छ। गुड्ने, खाने, पिउने, सुत्ने, लगाउने, मनोरञ्जन गर्ने सबै चिजबिज आयात हुन्छन् बजारमा। यसबाट अर्थ मन्त्रालयको राजस्व वृद्धि भएको छ, जनता चुसेर। विराटनगरसँग सिमा जोडिएको जोगबनीका जनताले ६० हजारमा किन्ने मोटरसाइकल विराटनगरमा दुई लाख पर्छ। यो कस्तो विकास र अर्थतन्त्र हो, बुझिनसक्नु छ। त्यसरी नै उठाएको राजस्व देखाएर अर्थमन्त्रीहरू आफ्नो सफलताको कथा प्रचार गर्छन्।

अर्थ मन्त्रालयको उपस्थिति राजस्व वृद्धिमा मात्र सीमित हुँदा राजधानी काठमाडौं उपभोगको केन्द्र भएको छ। उता सिमाक्षेत्रका नेपाली बजार विराटनगर, जनकपुर, वीरगन्ज, राजविराज, भैरहवा सुनसान हुन थालेका छन्। एक किलो चिनी किन्न पनि नेपालीहरू सिमापारी जाने चलन छ। यस प्रकरणमा नेपालको अर्थराजनीतिक व्यवस्था पूरै प्रभावित छ।

उता, नेपालका ग्रामीण युवा रोजगारका लागि विदेशिन थालेका छन्। आयातमुखी अर्थतन्त्रको सिकार सधैं र सबैभन्दा पहिले युवा नै हुन्छन्। आयातमुखी अर्थतन्त्रले रोजगार सिर्जना गर्न सम्भव छैन। रोजगार वृद्धि गर्ने र सम्भावना देखाउने नेता नेपालमा कहिल्यै भएनन्, अझै छैनन्। पटक–पटक सरकारमा एउटै अनुहार देखेर पनि युवाहरू रोजगार र भविष्यप्रति आश्वस्त हुन सकेनन् र पलायन हुने क्रम बढ्यो। 'आशै मरेपछि देश नछाडे के गर्ने,' यस्तै भन्छन् युवाहरू।

'कसको विश्वास गर्ने, जुन जोगी आए पनि कानै चिरेका,' युवाहरूको अनुभव यस्तै छ।

विगतमा माओवादी द्वन्द्वका कारण युवाहरू डराएर विदेश पलायन भए भनियो। अहिले द्वन्द्व समाप्त भएको एक दशकपछि युवाहरू पलायन हुने क्रम झनै तीव्र भएको छ। अब के भन्ने? कृपया एकपटक प्रधानमन्त्री, योजना आयोगका पदाधिकारी र अर्थनीतिका जिम्मेवार साथीहरू गाउँघरका सार्वजनिक विद्यालय जानुहोस्। त्यहाँ कक्षा ८, ९ र १० का विद्यार्थी भारत, मलेसिया तथा मध्यपूर्वका देश जानेबाहेक अरू कुरै गर्दैनन्। राजधानी काठमाडौंमा गरिबी निवारणका पाँचतारे अफिस जति भए पनि स्थानीय स्तरमा त्यसको कुनै अर्थ छैन। नेपालको रेमिटेन्स बाल श्रमिकलाई विदेश ठेलेर, पेलेर वृद्धि भएको छ।

नेपालमा वर्गीय, जातीय र क्षेत्रीय विभेद छ भनी त्यसै भनेको होइन। मलेसिया, मध्यपूर्व र भारतमा पैसा कमाउन जाने वर्गले नेपाल धानेको छ, नेपालको बजार र अर्थतन्त्र धानेको छ। तर, तिनलाई सामाजिक सम्मान राज्यबाट कहिल्यै हुँदैन। गाउँबाट पासपोर्ट लिन सदरमुकाम आएदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म तिनले आफ्नै राज्यबाट अपमानित हुनुपर्छ, घुस खुवाउनुपर्छ। अर्कातिर, अमेरिका र युरोप जाने उच्च मध्यमवर्ग जसको सरकारमा पहुँच छ, राज्यसँग जसको वर्ग मिल्छ, ती नेपालमा रहेका सम्पत्ति बेचेर विदेश लग्छन्, तैपनि राज्यबाट सम्मानित छन्। तसर्थ नेपालमा गुरुचरण दासको शब्द सापट लिएर भन्नुपर्छ– यहाँ पनि सरकारमा पहुँच भएका र नभएका दुई जाति छन्। पहुँच हुनेलाई सबथोक छ, नहुनेले पीडा, अपमान र आश्वासन मात्र पाउँछन्। अझ राज्यसँग साधारण मधेसीको कुनै काम परे तिनले पाउने हैरानी यहाँ वर्णनलायक नै छैन।

गणेशमान सिंहको फेरि यहाँ सम्झना गर्नुपर्ने हुन्छ। उनले बेलैमा एकल जातीय राज्य नेपालमा अनर्थ हुन्छ भनेका थिए। गणेशमानले भनेका कुरा असत्य थिएनन्। उनले राज्यमा 'बाहुनवाद भयो' भने। उनले भनेका कुरा त्यतिखेर सत्य साबित भयो जब संसदीय पद्धतिलाई कांग्रेस–एमालेको क्षमताले टिकाउन र जोगाउन सकेनन्। तत्कालीन राजा ज्ञानेन्द्रको सफ्ट 'कू' बाटै यी दुई पार्टी र अन्य पाँच संसदवादीहरू थला परे। किन यस्तो भयो होला भनी कहिल्यै चिन्तन भएन। बरु राजतन्त्र र संसदीय व्यवस्थाविरुद्ध हतियार उठाएको माओवादीसँग सहकार्य गर्नुपर्ने अवस्थामा पुग्दा पनि कांग्रेस–एमालेले आफ्नो गल्तीबाट कहिल्यै सिकेनन्, अझै सिकिरहेका छैनन्।

संसदीय अभ्यासमा गौरव गर्ने कुरा प्रशस्तै भए, भइरहेकै छन्। नागरिकको जीवन लम्बियो, शिशु मृत्युदर घट्यो, पाठशाला जाने विद्यार्थी प्रतिशत बढ्यो, बिजुली, पानी, मोबाइल, टिभी सबैको उपभोग बढ्यो। तर, दुईवटा कुरा अझै आम नागरिकको पहुँच बाहिर छ — राज्यसँग पहुँच र सम्पत्तिमाथि आम नागरिकको स्वामित्व।

राज्यसँगको पहुँचलाई षडयन्त्रपूर्वक सीमित गरिएको छ, पुरानै भारदारी शैलीबाट। बढो दुःखसाथ भन्नुपर्छ, संसदीय अभ्यासको २५ वर्षमा पनि 'शासन गर्ने त हामीले मात्र हो' भन्ने मानसिकता केही उच्च जातिमा अझै छ। र, दोस्रो, आम नागरिकको पहुँचमा भएको सम्पत्तिमाथि बाहिरबाट आएकाले कब्जा गर्नाले ती विदेशिन बाध्य भएका छन्। यस्ता युवा ४० लाख छन्। विगतमा यी दुवै कुरा राजतन्त्रको छत्रछायामा भारदारहरूले गर्थे, त्यसैले राजतन्त्र गयो। गणतन्त्र आएको एक दशक भयो, तैपनि व्यक्ति बदलिए व्यवस्था कहिल्यै फेरिएन। व्यवस्था फेर्न भनी मधेस आन्दोलन भयो, नेपाल संघीय ढाँचामा जाने निर्णय भयो अन्तरिम संविधानमा, तर समस्या ज्युँका त्युँ।

भोलिको संघीय नेपाल

प्रदेशहरूको नाम, सिमा र जनसंख्या कस्तो हुने भनी उठेको किचलोले पहिलो संविधानसभाले संविधान दिन सकेन। दोस्रो संविधानसभा पनि यही कुरामा अलमलिएको छ। अझै कैयन दिन अलमलिन सक्छ तर केही मूलभूत प्रश्नको समाधान नयाँ संविधानले सम्बोधन गर्न सक्नुपर्छ।

प्रदेश मात्र होइन, शासकीय पद्धतिबारे पनि प्रस्ट हुनुपर्ने छ। संसदीय पद्धति नेपालमा चलेन। यो अभ्यास नेपाली नेता सुहाउँदो छ तर जनता र देशको सम्बोधन यो व्यवस्थाबाट हुन सम्भव छैन। सबै राजनीतिक दल भने त्यसैमा जान रुचाएको देखिन्छ। विश्वनाथ उपाध्यायमार्फत नेपालको न्यायालय संसदीय व्यवस्थाको कार्याधिकारभित्र प्रवेश गरेको दुई दशक बढी भयो, तसर्थ न्यायालयको भूमिका र कार्यकारिणीको सिमाबारे पनि अहिले नै छलफल चलाउनु उचित होला। बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीजस्ता हस्तीलाई संसदीय पद्धतिले हुर्मत लिएको तथ्य कसैबाट लुकेको छैन। यस्तो पृष्ठभूमिमा दुईपटक संविधानसभा निर्वाचन गरेर पनि त्यही पद्धति स्विकार्दा आउने चुनौति अहिले नै बहसको विषय बनोस्।

नेपालमा सांस्कृतिक रूपमा चारथरीको बसोबास छ। बाहुन, क्षत्री र दलितको सबैभन्दा ठूलो जनसंख्या छ, दोस्रोमा मधेसी छन् अनि तेस्रोमा मंगोल, किरात र नेवार छन्। अब यी जातिबीच सबै क्षेत्रमा साझेदारी नगरी नेपालको संविधान बन्न सम्भव देखिँदैन। माओवादी द्वन्द्वको शान्ति प्रक्रियाका बाँकी काम मात्र पूरा गरेर पनि नेपालमा शान्ति आउने सम्भावना छैन। यी जातिबीचको सौहार्दता र सांस्कृतिक सहअस्तित्वको खोजी गर्नुपर्छ। अहिले नेपालमा जातिहरूबीच सांस्कृतिक द्वन्द्व बढी छ। धेरै वर्षअघि स्यामुल पि हन्टिङटनले 'क्लास अफ सिभिलाइजेसन' लेखे। त्यसलगत्तै उनैले 'हु एम आई' भन्ने अर्को पुस्तक पनि लेखे। अहिले नेपाललाई यी दुवै पुस्तकमा उल्लिखित अवधारणाले गाँजेको छ।

हामी को हौं? हामी कहाँका हौं? मधेसी समुदायमा यो प्रश्न सबैभन्दा बढी उठेको छ। प्रदेश निर्माण गर्दा यसलाई सम्बोधन नगरी नेपालमा दिगो शान्तिको वातावरण बन्न सम्भव छैन। मंगोल, किरात र नेवारमा मधेसी समुदायलाई जस्तो पहिचानको समस्या छैन। यिनले आफ्नो संस्कृति र परम्पराको निरन्तरतामा जोड दिएको देखिन्छ। पहिचान मधेसी सांस्कृतिक समूहको पहिलो आवश्यकता हो। अब कस्तो पहिचान स्थापित गराउन सक्छन् मधेसीहरूले र पहिचान कसरी स्थापित गरिन्छ संविधानमा, नेपालको शान्ति प्रक्रियाको खण्ड दुई यही हो। अब बन्ने संविधानबाट सही अर्थमा सार्वभौम राष्ट्रको गौरव, नेपाली भएको अनुभूति मधेसी समुदायबीच स्थापित गराउन सक्नु नै अहिले संविधान निर्माणमा लागेका नेताहरूका लागि सबैभन्दा ठूलो चुनौती हो।

प्रदेश निर्माणको माग माओवादी र मधेसवादीबाट त्यसै आएको होइन। यसको पछाडि सामाजिक–आर्थिक मान्यता छन्। माओवादी द्वन्द्व मध्यपश्चिम र सुदूरपश्चिमबाट देशभर फैलियो। त्यसो हुनुमा राज्यले कहिले त्यो क्षेत्रमा पुग्ने जमर्को गरेन। अनि केही फुटकर प्रभाव गोरखा, सिन्धुलीतिर पनि भए। त्यस्तै समग्र मधेस आन्दोलनको माग प्रदेश निर्माण थियो, छ। मधेसमा राज्यले कहिल्यै समभाव देखाउन सकेन। मधेसमा राज्यले मात्र होइन, पहाडी समुदायले पनि तिनमाथि वैरभाव र 'देशीको' बिल्ला भिराए। अझ नेपालको दक्षिण सिमावर्ती भागमा बस्ने नेपाली भारतबाट पनि र नेपालबाट पनि प्रताडित छन। त्यहाँ पहिचान छैन, रोजगार र सुरक्षा पनि केही छैन। भावी संविधानमा तिनलाई सम्बोधन गर्ने तयारी संविधान निर्माणमा अहिले केही देखिँदैन।

आज हिन्दुराष्ट्र हुनुपर्छ भनी धार्मिक श्रेष्ठताको नारा दिनेहरू नेपाललाई पुरानै भारदारी शैलीमा चलाउन उद्यत भएका देखिन्छन्। अहिले कांग्रेस–एमालेको दुईतिहाइ गठवन्धन सरकार झन्डै 'कन्जरभेटिभ' दक्षिणपन्थी शैलीमा अघि बढिरहेको छ। राज्यका संवैधानिक निकायको सञ्चालनले यस्तो कुराको पुष्टि प्रत्येक दिन गरिरहेको छ। यो पृष्ठभूमिमा नेपाल हिन्दुराष्ट्र हुन पनि सक्छ। तर नेपाल हिन्दुराष्ट्र भए हिन्दुवादी जीवनमूल्यहरूलाई मान्ने कि नमान्ने? गणतन्त्रको नयाँ सभ्यतामा प्रदेशहरूको विकास कर्मबाट गर्ने कि भाग्यबाट भन्ने प्रश्न आउँछ कि आउँदैन? विष्णु भगवानको अवतार मानिँदै आएका राजा रहेनन् अनि किन फेरि भाग्यवाद र पुर्पुरोमा विश्वास गर्ने धार्मिक राज्य चाहिएको नेपालमा? हिन्दुधर्मले निर्माण गरेको वर्णाश्रम व्यवस्थाभित्र छुवाछुत फेरि मुलुकी ऐनको बन्दोबस्तमा पर्छ कि पर्दैन? महिलाहरूको भूमिका के हुने हिन्दुराष्ट्रमा? मनुस्मृतिमा महिलालाई दिएको स्थानमा फेरि नेपाली महिलालाई पुर्यारउने विगतको झैं?

संविधान मात्रले देश चल्दैन। देशलाई अघि बढाउन राज्य हाँक्नेहरूले जनतालाई विश्वास र भरोसा दिलाउन सक्नुपर्छ। आज आफ्नो सरकारसँग सबैभन्दा विश्वासिलो जनता चीनमा छन। त्यसैले चीन विश्वको पहिलो शक्ति बन्ने नगिच छ। भनिरहनु पर्दैन, नेपाली जनताको सरकारसँगको सम्बन्ध विश्वका मुलुकमध्ये सबैभन्दा तल्लो स्तरको होला। तसर्थ सरकारको कर्तव्य हो, आफ्नो जनतालाई विश्वास र भरोसामा लिने। यो कार्य नभै संविधान जस्तो आए पनि जसले पनि च्यात्न सक्छ। जनताको विश्वास जित्न डा. केसीको अनशन टुटाउन भएको सम्झौता उल्लंघन हुनु भएन। अनि भ्रष्टाचारलाई टुलुटुलु हेर्ने र निहीर हुने संस्कारबाट प्रधानमन्त्री माथि उठ्न जरुरी छ।

नेपालमा राजनीतिक आन्दोलनहरू धेरै भए, झन्डै एक सय वर्षदेखि। प्रधानमन्त्री सुशील कोइराला ठिकै भन्छन्, अब आर्थिक विकासमा देश अगाडि बढ्छ भनेर। तर, भनेर मात्र कहाँ पुग्छ र प्रधानमन्त्रीज्यू? तपाईंकै नेताहरूले २५ वर्षअघि यही कुरा भनेकै हुन्। तर, भएन। अब २५ वर्षअघि भएन भनी रोएर बस्नुको कुनै औचित्य छैन, आर्थिक विकासको युग सुरु गरिहाल्ने हो। व्यवस्थापन पढ्ने विद्यार्थीहरूलाई थाहा छ, सबै थोक मिलाउन सजिलो छ, तर मानिसलाई मिलाएर विकास अगाडि बढाउने काम चानचुने होइन। यसमा सफलता मिलोस्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस