पोखरा–जग्गा प्लटिङको कारोबार गर्नेलाई धम्क्याउने र पैसा माग्ने युवाहरुलाई कास्की प्रहरीले गुन्डागर्दीको आरोपमा पक्रेको छ। लेखनाथ नगरपालिकामा प्लटिङ गरिहेकाहरुलाई धम्क्याएको भन्दै स्थानीय ७ युवालाई शुक्रबार पक्रेको कास्कीका प्रहरी प्रमुख एसपी हरि पालले जानकारी दिए।
लक्की पुन, सन बहादुर गरुङ, प्रवीण सुनार, निकेश पुन, अमीर गुरुङ, देवान गुरुङ, किरण गुरुङ पक्राउ परेका हुन्। उनीहरुलाई सार्वजनिक अपराध ऐनअनुसार मुद्दा लगाइने जानकारी पनि एसपी पालले दिए। उक्त ऐनअनुसार चलाइने मुद्दामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले फैसला गर्छन्। यस्तो मुद्दामा अधिकतम ६ महिना कैद र २८ हजार रुपैयाँ धरौटी माग्न सकिने अधिकारी सिडिओलाई हुन्छ।
पछिल्लो समय जग्गा कारोबार बढेसँगै गुन्डागर्दी पनि वृद्धि भएको थियो। 'जग्गा प्लटिङ गरेको देख्नासाथै चुल्ठेमुन्द्रे आएर धम्क्याउँछन्,' एक जग्गा व्यवसायीले भने, 'किन दिने त्यत्तिकै पैसा भन्यो भने तपाईंलाई केही परे हामीलाई सम्झनोस् भन्छन्, दिन्न भने मान्दैनन्।'
यही साता सरुवा भएर आएका एसपी पालले गुन्डागर्दी नियन्त्रणलाई अभियानकै रुपमा अगाडि बढाउने बताएका छन्। यसअघि प्लटिङ व्यवसाय गर्नेहरुलाई धम्क्याउने र पैसा माग्ने गुन्डाहरु पक्राउ परेका थिएनन्। शुक्रबार ७ जना पक्राउ पर्नुलाई एसपी पालले कास्टिङमात्रै बताए। 'अब अरु पनि थुप्रै गुन्डा पक्राउ पर्छन्,' उनले भने, 'हामीले लिस्ट नै तयार पारेर खोजी गर्न थालिसकेका छौं।' आफूहरुले लेखनाथबाट ७ युवालाई पक्राउ गर्नासाथै अरु केही गुन्डाहरु तराई भागिसकेको सूचना पाएको पनि पालले बताए।
कुनै व्यक्ति स्वतन्त्र रुपमा जग्गा खोज्न जाँदा पनि गुन्डाहरु पछि लाग्ने गरेका गुनासा प्रहरीकहाँ पुग्ने गरेका छन्। सिधै जग्गाधनीलाई भेटेर जग्गा किन्दा पनि चिन्दै नचिनेका मानिसहरु कमिसन माग्न आउने र नदिए कुट्नेमार्ने धम्की दिने समस्या चर्किँदै गएको छ।
पछिल्लो समय कास्कीका लेखनाथ र पोखरा सहरी क्षेत्रका खेतहरु प्लटिङ गरेर घडेरीमा बिक्री गर्नेक्रम बढेको छ। त्यसले सहरीकरण विद्रुप बन्दै गएको छ भने यहाँको मौलिक धान जेठोबुढोको उत्पादन पनि कम भइसकेको छ। हालै स्थानीय विकास तथा संघीय मामिला मन्त्रालयले नगरपालिकाहरुलाई पत्राचार गर्दै जथाभावी भइरहेको प्लटिङ रोक्न निर्देशन गरेको छ। तर प्लटिङ गर्ने क्रम रोकिएको छैन।
यसैबीच सार्दिखोलामा निर्माणाधीन मन्दाकिनी हाइड्रो पावरका कामदारलाई धम्काउने तर्साउने तथा आयोजनाको निर्माण कार्यमा अवरोध सिर्जना गरी उच्छृङखल गतिविधि गरेको आरोपमा पनि ३ युवालाई प्रहरीले शुक्रबार पक्रेको छ। सार्दिखोला नै बस्ने प्रेमबहादुर तामाङ, तुलबहादुर तामाङ र पूर्णबहादुर तामाङ पक्राउ परेका हुन्।