काठमाडौं- उपभोक्ताले महिनौंदेखि खाना पकाउने एलपी ग्यास नपाएर डिपोहरूमा रित्ता सिलिन्डरको लाम लागेका बेला केही उद्योगले यही मौका छोप्दै धमाधम नयाँ सिलिन्डर भिडाइरहेको तथ्य फेला परेको छ । नागरिकलाई प्राप्त पछिल्लो तथ्यांकअनुसार बजारमा ग्यास अभाव उत्कर्षमा पुगेको पछिल्ला दुई महिनामा १ लाख २५ हजार ९ सय १ नयाँ सिलिन्डर बिक्री भएका छन् । चालु आर्थिक वर्षको पहिलो छ महिनामा २ लाख ७६ हजार १ सय नयाँ सिलिन्डर बिक्री भइसकेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार बजारमा ग्यास अभाव हुन थालेको पछिल्लो दुई महिनामा मासिक औसत ६२ हजार ५ सय नयाँ सिलिन्डर बिक्री भएको देखिन्छ । गत वर्ष यही सिजनमा महिनाको १५ हजारभन्दा बढी बिक्री भएको थिएन ।
अभावको मौकामा साबिकभन्दा चार गुणा बढी नयाँ सिलिन्डर बिक्री हुनुले नै पछिल्लो ग्यास अभावको मूल कारण छर्लंग पार्छ । त्यो हो, नयाँ सिलिन्डर भिडाउँदा प्राप्त हुने उच्च नाफा ।
उद्योगीलाई एउटा सिलिन्डरमा भ्याट फिर्ता र नाफा सबै जोड्दा करिब १ हजार ६ सय रुपैयाँ फाइदा हुने निगम स्रोत बताउँछ । यसअनुसार पछिल्लो दुई महिनामा १ लाख २५ हजारभन्दा बढी सिलिन्डर बेचेर ग्यास व्यापारी र भ्रष्ट कर्मचारीले २० करोड रुपैयाँभन्दा बढी अनधिकृत नाफा गरेका छन् ।
करोडौंको यो खेलमा उपभोक्तालाई नै बलि बनाइएको छ । ग्यास उद्योगले पुरानो सिलिन्डर साट्न आउने नियमित उपभोक्तालाई 'ग्यास छैन' भन्दै रित्तो फर्काउँछन् । त्यही उपभोक्ता नयाँ सिलिन्डर किन्न राजी भए सजिलै पाइन्छ । पुरानो साट्नुको साटो नयाँ भिडाउँदा बढी नाफा हुने भएकैले ग्यास उद्योगीले यो तिकडम गरेका हुन् ।
यसमा नेपाल आयल निगमदेखि वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्चपदस्थ अधिकारीको मिलेमतो छ । बजारमा ग्यास हाहाकार हुँदासमेत आपूर्ति मन्त्रालय र आयल निगमले उद्योगीलाई कारबाही गर्ने हिम्मत नदेखाउनुले उनीहरूको मिलेमतो पुष्टि हुन्छ । उल्टै, ग्यास उद्योगीको सिन्डिकेट र कालोबजारीलाई बढावा दिने गरी लोडसेडिङ तालिकाझैं विभिन्न ठाउँका लागि ग्यास बाँड्ने तिथि तय गरेर सरकारले आफ्नो संलग्नता आफैं झल्काएको उद्योगीहरू बताउँछन् ।
उच्च मुनाफाका लागि सिर्जना गरिएको 'कृत्रिम अभाव' का कारण देशको अर्बौं रकम त्यसै फसेको छ । पुरानोलाई प्रतिसिलिन्डर १ हजार ४ सय ७० रुपैयाँमा ग्यास बेच्नुपर्छ, जबकि नयाँ ग्राहकसँग ५ हजार ५ सयसम्म लिएको पाइन्छ । नियमअनुसार नयाँ सिलिन्डरको पनि ३ हजार ७ सयभन्दा बढी पर्दैन ।
छ महिनामा बिक्री भएका नयाँ सिलिन्डर सबै तोकिएकै दाममा बिक्री भएको मान्दा पनि उपभोक्ताको १ अर्ब रूपैयाँभन्दा बढी पुँजी फसेको छ ।
नेपालमा गृहलक्ष्मी मेटल उद्योग, नेपाल सिलिन्डर र एरोटेक प्रालिले ग्यास सिलिन्डर बनाउने गर्छन् । गुणस्तर विभागको तथ्यांकअनुसार चार महिना अवधिमा गृहलक्ष्मीले ४७ हजार २ सय, नेपाल सिलिन्डरले ४२ हजार ८ सय ४७ र एरोटेकले सबैभन्दा बढी १ लाख ७७ हजार ८ सय ५४ वटा नयाँ सिलिन्डर बेचेका छन् ।
यी उद्योगले धेरैजसो सिलिन्डर त्यस्ता ग्यास कम्पनीलाई बिक्री गरेका छन्, जसको बजारहिस्सा एक प्रतिशत पनि छैन ।
उदाहरणका लागि, एरोटेकबाट बाबा ग्यासले ६ सय, भानुले १ हजार २ सय, भाइले ५ हजार ४ सय, बुटवलले ७ हजार २ सय, गौरीशंकरले ३ हजार ५ सय ९९, गृहलक्ष्मीले १ हजार २ सय, हिमालयले ७ हजार २ सय ८, कोसीले ४ हजार ७ सय ९८, मनकामनाले ७ हजार २ सय सिलिन्डर किनेका छन् ।
बाँकी पृष्ठ ८
त्यस्तै, मनोजले ३ हजार ६ सय, मेट्रोले ६ हजार ५ सय ९९, नमस्तेले ६ सय, नारायणीले ६ सय, रोयलले ३ हजार ६ सय, सिद्धार्थले २ हजार ४ सय, सुगमले ५ हजार ४ सय ८, सुपरले १ हजार १ सय ९९, सूर्यले ६ सय, त्रिवेणीले २ हजार ४ सय र उग्रचण्डीले १ हजार २ सय नयाँ सिलिन्डर किनेको तथ्यांक छ।
तथ्यांकअनुसार एरोटेकले साउन महिनामा २२ हजार ५ सय, भदौमा २२ हजार ३ सय, असोजमा ३२ हजार ५ सय, कात्तिकमा २७ हजार ६ सय, मंसिरमा ३२ हजार ९ सय र पुस महिनामा ३९ हजार ८ सय नयाँ सिलिन्डर उत्पादन गरी बजारमा पठाएको छ।
सिलिन्डर बिक्रीको यो तथ्यांक र निगमले साना उद्योगलाई बाँडेको कोटा मेल खान्छ। निगमले ठूला उद्योगको तुलनामा सानालाई बढी कोटा दिएको छ। नियमित उपभोक्ता थोरै भएका साना उद्योगलाई बढी कोटा थप्नुले नै अभाव साम्य पार्न हम्मे परेको हो। ग्यास कोटा मासिक २३ हजार टन (१५ लाख सिलिन्डर) बाट २९ हजार टन पुर्यााउँदा पनि अभाव साम्य नहुनुको कारण यही हो।
निगमको ग्यास कोटा वितरणसम्बन्धी पछिल्लो तथ्यांक हेर्दा त्यस्ता उद्योगलाई बढी कोटा थपिएको देखिन्छ, जसका उपभोक्ता कम छन्। एक प्रतिशत मात्र बजारहिस्सा भएका उद्योगलाई एकैचोटि १ सय ८ टनसम्म कोटा बढाइएको छ। जबकि १० प्रतिशतसम्म बजार ओगट्ने ठूला उद्योगको कोटा जम्मा ३६ टन वृद्धि गरिएको छ।
कुल ५५ ग्यास कम्पनीमध्ये १० वटाको बजारहिस्सा ५० प्रतिशत छ। यसमा कोसी, नेपाल, बाबा, साइबाबा, हिमालय, सगरमाथा, गौरीशंकर (हिमाल), शक्तिलगायत पर्छन्। निगमले यिनै उद्योगलाई थोरै मात्र कोटा थपेको छ। न्यूनतम हिस्सा ओगट्ने बाँकी ४५ उद्योगका लागि ७२ देखि १ सय ८ टनसम्म बढाइएको छ।
आपूर्ति मन्त्रालय स्रोतका अनुसार नेपालमा कुल ग्यासको माग मासिक २२ हजार ३ सय ७७ टन नै हो। जाडो सिजनमा १५ प्रतिशतसम्म माग बढ्छ। अहिले निगमले मासिक २९ हजार टन आयात गर्दा पनि अभाव हटेको छैन।
संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले अभाव हटाउन मासिक ४ हजार टन आयात गर्न निर्देशन दिएपछि निगमले ग्यास उद्योग संघसँग नयाँ कोटा माग गरेको थियो। संघले यही मौकामा आफ्नो सदस्यता नलिएका ठूला उद्योग पन्छाउँदै सानाका लागि मात्र कोटा बढाएर पठायो। निगमले त्यसैलाई जस्ताको त्यस्तै स्वीकृत गर्नाले अहिलेको समस्या आएको हो।
कम उपभोक्ता भएका ती उद्योगले जति बढी ग्यास ल्याए पनि लामो समयदेखि कुरिरहेका पुराना उपभोक्ताले राहत पाउँदैनन्। बरु बढी मूल्यमा नयाँ सिलिन्डर बेच्ने प्रवृत्ति नै प्रोत्साहित हुने उद्योगीहरू बताउँछन्।
ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्याल नयाँ सिलिन्डर बेच्ने वातावरण निगमले नै बनाएको बताउँछन्।
'क्षमतै नभएका उद्योगलाई कोटा दिँदा समस्या आएको हो,' उनले भने, 'कोटा परिमार्जन गरेर ठूला उद्योगको हालको कोटा वृद्धि गर्नेबित्तिकै समस्या समाधान हुन्छ।'