काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुभाष निरौलालाई भ्रष्टाचारी ठहर गरेको छ। सार्वजनिक खरिद ऐन २०६३ को मर्मविपरित अनियमितता र भ्रष्टाचार गरी पर्यटन बोर्डलाई धराशयी बनाएको भन्दै उनीविरुद्ध परेको निवेदनमा सम्वन्धित कागजात अनुसन्धान र छानबिन गरेपछि अख्तियारले कामु सिइओ निरौलालाई भ्रष्टाचारी ठहर गर्दै पदबाट निलम्वन गरी आयोगमा उपस्थित गराइदिन पर्यटन मन्त्रालयलाई निर्देशन पनि दिएको छ।
'पर्यटन बोर्डमा आर्थिक वर्ष २०६८/६९, २०६९/७० र २०७०/७१ मा सञ्चालन गरिएका/भनिएका विभिन्न कार्यसँग सम्वन्धित बिल भरपाई हेर्दा कार्यक्रमको उद्देश्य प्राप्तिभन्दा पनि विनियोजित रकम दुरुपयोग गरी निरौलाले अनियमितता र भ्रष्टाचार गरेको पुष्टि भएको छ,' अख्तियारका प्रवक्ता बेगेन्द्र पौड्यालले बुधबार नागरिकसँग भने, 'त्यसकारण उनलाई पदमै बहाल राखिरहँदा आफूविरुद्धको प्रमाण लोप वा नास गर्नसक्ने र अनुसन्धान कार्यमा बाधा पुर्यायउन सक्ने देखिएकाले तत्काल निलम्बन गरी अख्तियारमा उपस्थित गराइदिन पर्यटन मन्त्रालयलाई निर्देशन दिएका छौं।'
अख्तियारले आयोग ऐन २०४८ को दफा १९ (३) अनुसार निरौलालाई तत्काल निलम्बन गरी उपस्थित गराइदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो।
यसअघि गत कात्तिक ५ मा बसेको व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले करिब एक अर्ब रुपैयाँबराबरको अनियमिततामा प्रत्यक्ष संलग्न देखिएको भन्दै निरौलालाई तत्काल पदबाट निलम्बन गर्न सरकारलाई निर्देशन दिएको थियो।
लेखा समितिले 'सार्वजनिक खरिद कानुन पालना नगरी खरिद गर्ने, प्रमाण र औचित्यबिना खरिद गर्ने, असम्बन्धित व्यक्तिलाई गैरकानुनी रुपमा भुक्तानी दिने, लेखाका विवरण सही र यथार्थ नराख्ने लगायत क्रियाकलाप गरी आर्थिक कारोबारमा स्वच्छता, पारदर्शिता, मितव्ययिता, जवाफदेहिता, औचित्यता र आर्थिक अनुशासनजस्ता तत्वको बेवास्ता गर्दै बोर्डको करोडौं रकम अनियमितता गर्ने कार्यमा बोर्डका बहालवाला कामु सिइओ निरौलाको प्रत्यक्ष संलग्नता देखिएकाले पर्यटन बोर्डमा बहन गर्दै आएको निर्देशकलगायतको पदीय जिम्मेवारीबाट तत्काल निलम्बन गर्ने' निर्णय गरेको थियो।
बोर्डमा भएको आर्थिक अनियमितताबारे समितिमा प्राप्त उजुरी, त्यस सम्बन्धमा पर्यटन मन्त्रालयको धारणा, मन्त्रालयबाट गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेखित विषय, विभिन्न चरणमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) एवं सरोकारवालासँग भएका समितिका बैठक, बोर्डका पदाधिकारीसँगको छलफल, समितिका सदस्यहरूको अध्ययन र प्राप्त अन्य सूचना तथा विवरणका आधारमा पर्यटन बोर्डमा कानुन पालना नभएको र ठूलो आर्थिक अनियमितता भएको लेखा समितिले निष्कर्ष निकालेको थियो।
त्यसपछि कात्तिक १३ मा बोर्ड कार्यकारी समितिका अध्यक्ष तथा पर्यटन सचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले निरौलालाई निलम्बन गरी बोर्डकै वरिष्ठ निर्देशक नन्दिनीलाहे थापालाई निमित्त सिइओ नियुक्त गरेको थियो।
बोर्डमा भएका अनियमितता छानविन गर्न पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले लेखा समितिमा बुझाएको प्रतिवेदनलाई अख्तियारले पनि गहन अध्ययन गरेको थियो। उक्त प्रतिवेदनका अनुसार बोर्डले विभिन्न कामका लागि १ करोड २० लाख रुपैयाँ चुक्ता गर्नुपर्ने भए पनि सञ्चालक समितिको १९२औं बैठकले ७ करोड ४० लाख भुक्तानी गर्ने निर्णय गरेको थियो।
प्रतिवेदनमा निरौलाले करोडौं हिनामिना गरेको उल्लेख छ। बोर्ड सञ्चालक समितिको निर्णयबिना निरौलाले १ करोड ७० लाख रुपैयाँसम्म आफूखुसी खर्च गरेको पनि प्रतिवेदनमा छ। एउटै कम्पनीबाट सामान खरिद गर्दा थरिथरी बिल पेस गरिएको छ। निरौलाले भारत नयाँदिल्ली गई बेलायती समाचार संस्था बिबिसीसँग २ करोड कमिसन लिने गरी १३ करोडको विज्ञापन दिएको उक्त प्रतिवेदनमा उल्लेख छ।
निरौलाले पर्यटन बोर्डसँग असम्बन्धित राजेन्द्र घिमिरे, कुन्दन शर्मा र शिवदयाल झाको नाममा आर्थिक वर्ष २०६८/६९ मा ५१ लाख ९८ हजार, २०६९/७० मा १ करोड १२ लाख ३० हजार र २०७०/७१ मा १ करोड २३ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेका थिए। सबै रकम नेपाल इन्भेस्टमेन्ट बैंकको दरबारमार्ग शाखाबाट भुक्तानी गरिएको थियो। त्यसैगरी 'नेपाल पर्यटन वर्ष २०११' मा १० करोडभन्दा बढी रकम उपलब्धीविहीन काममा खर्च गरेको पनि पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै जागीर छाडेका कर्मचारीका नाममा खर्च देखाएको, बोर्ड कर्मचारीका नाममा थाहै नदिई चेक काटेर करोडौं रकम भुक्तानी गराएको पनि प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले बोर्डको लेखापालनमा पनि गम्भीर त्रुटि भएको उल्लेख गरेको छ। भौचर प्रमाणित नभएका र क्रमागत भौचर नरहेका, भौचरसाथ सहायक विवरण संलग्न नभएको, बैंक खाता र स्टेटमेन्ट नभिडेको, बैंक दाखिला प्रमाण र विवरण नभएको, कतिपय भौचर लेखाप्रणालीमा समावेश नभएको, भुक्तानी भौचरमा उल्लेख भएको रकम र बैंकबाट भुक्तानी भएको रकम फरक देखिएको प्रतिवेदनको ठहर छ।
त्यसैगरी बोर्डका नियमित प्रचारप्रसारका काम गर्न कार्यकारी प्रमुखलाई देशभित्र एक पटकमा १ करोड र देशबाहिर ४ लाख अमेरिकी डलरसम्म बिना प्रतिस्पर्धा खर्च गर्न पाउने अधिकार दिएर बोर्डको आर्थिक विनियमावली २०७० संशोधन गरिएको थियो।
प्रतिवेदनका अनुसार निरौलाले पाँचवटा विज्ञापन एजेन्सीलाई २०६९/७० मा सार्वजनिक खरिद ऐनविपरीत पटक–पटक विज्ञापन दिई साढे ५ करोड भुक्तान गरेका थिए। तिनमा नेचर एड्भर्टाइजिङ प्रालिलाई ४६ लाख ७४ हजार, गोल्डेन एड्भर्टाइजिङ प्रालिलाई २६ लाख ३६ हजार, गोल्डेन एग क्रिएनस प्रालिलाई ४ करोड १२ लाख २३ हजार, कि इन्टरटेन्मेन्टलाई ४३ लाख ९७ हजार र प्राइड एड्भर्टाइजिङ प्रालिलाई ९ लाख ४५ हजार भुक्तानी दिएका थिए।
निरौलाले पर्यटन मेलाको विज्ञापनमा विभिन्न कम्पनीलाई सन् २०१३ जुलाईमा लागत अनुमान, निर्णय र बिलबिना एकै दिन पेमेन्ट भौचरमार्फत ५० लाख ६८ हजार भुक्तानी दिएका थिए। त्यस्तै बिनाटेन्डर काम दिएर ओम शिव प्रिन्टिङ प्रेसलाई २०६८/६९ मा १ करोड १३ लाख ७६ हजार भुक्तानी पनि दिएका प्रतिवेदनमा छ।