काठमाडौं- साउन अन्तिम साता दाङ, घोराहीस्थित राप्ति उपक्षेत्रीय अस्पतालमा दुई सुत्केरीको ज्यान गयो। बिजौरी–४, थानागाउँकी १७ वर्षे पुष्पा चौधरी र तुलसीपुर नगरपालिकाकी ३२ वर्षे यमकुमारी थापाको सुत्केरी ब्यथाका क्रममा अत्यधिक रक्तश्रावले मृत्यु भएको थियो।
– जेठ तेस्रो साता गोरखा जिल्ला अस्पतालमा शल्यक्रियाबाट प्रसूति गराइएकी गोरखा नगरपालिकाकी १९ वर्षे सोनु गुरुङको मृत्यु भयो। शल्यक्रिया गरेको केही घन्टामै स्वास्थ्य अवस्था खस्किएपछि चितवन रेफर गरिएकी सोनुको अस्पताल नपुर्याभउँदै उनको ज्यान गयो।
प्रसूति क्रममा अस्पतालमा भएका यी दुई प्रतिनिधि घटना हुन्, ग्रामीण क्षेत्रमा हुने अधिकांश मातृ मृत्यु त सार्वजनिक नै हुँदैनन्। उपयुक्त सेवा र हेरचाहले मातृ मृत्युदर घटाउने लक्ष्य लिएको 'आमा सुरक्षा कार्यक्रम' मा मात्रै सरकारले हरेक वर्ष डेढ अर्बभन्दा बढी रकम खर्चन्छ। यसबाहेक, आमा र नवजात शिशुको जीवनरक्षामा कुल जनस्वास्थ्य कार्यक्रमको करिब ६० प्रतिशत रकम खर्च भइरहेको छ। पछिल्ला दिनमा मातृ मृत्युदर भने बढ्दो पाइएको छ।
२०६८ को राष्ट्रिय जनगणनाले प्रतिलाख जीवित जन्ममा ४ सय ८० आमाको मातृ हुने गरेको औंल्याएको हो। ०६८ को जनगणनाका आधारमा राष्ट्रिय तथ्यांक विभागले हालै प्रकाशित गरेको विश्लेषणात्मक प्रकाशन 'मोनोग्राफ' मा नेपालमा मातृमृत्युदर अझै डरलाग्दो रहेको देखाइएको छ।
राष्ट्रिय अध्ययनमा यस्तो देखिए पनि डेढ वर्षअघि मात्र अन्तर्राष्ट्रिय अध्ययनले भने नेपालमा सञ्चालित परियोजना मातृ मृत्युदर घटाउन उल्लेख्य सफल भएको प्रक्षेपण गरेको थियो।
सोही आधारमा नेपालले मातृमृत्यु अनुपात (एमएमआर) उल्लेख्य रुपमा घटाउँदै सहस्राब्दी विकास लक्ष्य (एमडिजी) प्राप्त गर्ने बाटोमा बढेको भन्दै राष्ट्रसंघीय अवार्डसमेत पाएको थियो।
सन् २०१३ मा राष्ट्रसंघअन्तर्गत संस्थाहरुको साझा अध्ययनले प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु १ सय ९० जना औंल्याएको थियो। तिनै संस्थाको सन् २०१० को अध्ययनमा यो तथ्यांक १७० थियो।
राष्ट्रिय तथ्यांक विभागले हरेक दशकमा गर्ने जनगणनाका परिणामहरुको विश्लेषणात्मक आलेख राखेर 'मोनोग्राफ' प्रकाशित गर्छ। मोनोग्राफमा हालै प्रकाशित जनसंख्याविद अजित प्रधानको आलेखमा 'सरकारी कार्यक्रमको अपर्याप्तताका कारण यसअघि आँकलन गरिएजस्तो मातृ मृत्यु अनुपात नघटेको' प्रक्षेपण गरिएको छ।
'देशव्यापी रुपमा भएको जनगणनाले मातृ मृत्युदर यति उच्च देखाएबाट अब घट्यो भनेर आरामले बस्ने अवस्था नरहेको पुष्टि हुन्छ,' प्रधानले नागरिकसँग भने।
यो अध्ययनले राष्ट्रिय स्तरमा अनुपात ४ सय ८० देखाए पनि क्षेत्रगत हिसाबले सुदूरपश्चिम क्षेत्रमा अझ बढी देखाएको उनले सुनाए।
आलेखअनुसार मातृमृत्युको अवस्था क्षेत्रीय हिसाबले असमान देखिन्छ। मातृ मृत्युदर मध्यपश्चिमको हिमाली क्षेत्रमा प्रतिलाखमा १ हजार ५ सय ७१, पश्चिमी हिमाली क्षेत्रमा १ हजार १ सय ५८, सुदूरपश्चिमका हिमाली क्षेत्रमा १ हजार ५ जना पाइएको छ।
यो दर मध्यतराई क्षेत्रमा ६ सय ३२, मध्यपश्चिम तराई क्षेत्रमा ७ सय ८६ जना रहेको अध्ययनले देखाएको छ। सबैभन्दा कम पश्चिम पहाडी क्षेत्रमा ३ सय ३१, सेन्ट्ररल माउन्टेनमा ३ सय ५२, पूर्वी पहाडमा ३ सय ६६ र काठमाडौं उपत्यकामा प्रतिलाख ४ सय ६२ जना मातृ मुत्युदर भेटिएको छ।
नेपालमा पहिलोपटक सन् १९९६ मा मातृ मृत्यु अनुपात मापन गरिएको थियो। त्यसअघिको आँकडा नभए पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफले १ हजार ५ सय ३८ रहेको तथ्यांक निकालेका थिए। सोही आधारमा सन् २००० मा घोषित सहस्राब्दी विकास लक्ष्य (एमडिजी) ले सन् १९९१ को तुलनामा सन् २०१५ सम्म यो दर ७५ प्रतिशतले झार्ने लक्ष्य लिएको छ।
सन् १९९६ मा नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण (एनडिएचएस) ले ५ सय ३९ भएको देखाएको थियो। त्यसयता, सरकारले मातृ मृत्युदर घटाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सन् २००६ मा भएको एनडिएचस सर्वेक्षणले मातृ मृत्यु अनुपात प्रतिलाख जीवित जन्ममा २ सय ८१ मा झरेको देखाएको थियो। युनएन अर्गनाइजेसनहरुले सन् २०१० र ०१३ मा गरेको सर्वेक्षणले क्रमशः १ सय ७० र १ सय ९० देखाएको थियो।
प्रधानका अनुसार सन् १९९६ मा गरिएको अध्ययनमा ९७ वटा र २००६ मा ३९ वटा मातृमृत्युका घटनाका आधारमा अध्ययन गरिएको थियो। दुवै अध्ययनमा ७ देखि ८ हजार मात्रै 'स्याम्पल' लिइएका थिए। पछिल्लो राष्ट्रिय जनगणना अध्ययनले एक वर्ष अवधिमा भएका २ हजार १ सय ५९ मातृमृत्युका घटना विश्लेषणका आधारमा तथ्य औंल्याएको हो।
जनगणनाका क्रममा गणकहरुले घरघर पुगेर १२ महिनाभित्र गर्भवतीजन्य कारण वा सुत्केरी अवस्था वा सुत्केरी भएको ४२ दिनभित्र मृत्यु भएको घटना छ भनी सोधेका थिए। 'यसरी आएको तथ्यांकलाई डाटा डिफेक्टसमेत हटाएर एडजस्ट गरिएको फाइन्डिङ हो यो,' प्रधानले थपे, 'एडजस्ट नगरी हेर्ने हो भने त यो दर अझै बढी देखिन्छ।'
स्वास्थ्य मन्त्रालयले भने जनगणना र यसअघिका अध्ययनमा प्रयोग गरिएका विधि फरक रहेकाले प्रस्तुत तथ्यांक पुनरावलोकन हुनुपर्ने माग गरेको छ। विज्ञका अनुसार राष्ट्रसंघीय निकायबाट 'रिग्रेसन' विधिअनुसार अध्ययन गरिएका थिए भने एडिएचएस सिस्टहुड विधिबाट सर्वेक्षण भएका थिए। पछिल्लो तथ्यांक भने 'सेन्सर' विधिबाट निकालिएको हो।
अध्ययनको विधि फरक हुँदा पनि परिणाम फरक आएको हुन सक्ने भन्दै स्वास्थ्य अधिकारीले यसमा पुनरावलोकन चाहेका हुन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले अध्ययनमा तथ्यांकको विधि र पद्धतिको वैज्ञानिकता हेरिनुपर्ने बताए। उनले 'यो बेसी आँकलन भयो कि भन्ने लागेर राष्ट्रिय योजना आयोगका सदस्य डा. यज्ञबहादुर कार्कीको संयोजकत्वमा अध्ययन समिति बनाइएको जानकारी पनि दिए।
मातृ मृत्युदर घटाएको भनेर नेपालले स्याबासी पाइरहेको अवस्थामा पछिल्लो तथ्यांक विवादमा परेकाले अध्ययन थालिएको डा. कार्कीले बताए। 'जनगणनाबाट प्राप्त तथ्यांकले हामीलाई त्रस्त बनाएको छ,' उनले नागरिकसँग भने, 'आवश्यक देखिए समितिले पुनः भ्रमण गरेर तथ्यांक प्रकाशित गर्नेछ।'
प्रधानले तथ्यांक विश्लेषण गर्न आफूले अपनाएको विधि वैज्ञानिक भएको दाबी गर्दै पुनः जाँच्न पनि सकिने जनाए। उनले पछिल्ला दिनमा तुलनात्मक रुपमा सेवाको उपलब्धता बढे पनि आवश्यक ठाउँमा निकै अन्तर रहनाले अपेक्षित रुपमा मातृ मृत्युदर घट्न नसकेको बताए।
उनका अनुसार अहिले पनि अनिच्छित गर्भधारण, चाहेर पनि परिवार नियोजनका साधन नपाउने, सुरक्षित गर्भपतन सेवा पर्याप्त उपलब्ध नहुनुजस्ता कारण यो दर बढेको हो।
'अहिले पनि दक्ष प्रसूतिकर्मीबाट सुत्केरी हुने ३६ र स्वास्थ्य संस्थामा सुत्ेकरी हुनेको तथ्यांक ३५ प्रतिशत मात्रै छ, २५ प्रतिशत महिलाले चाहेर पनि परिवार नियोजनका साधन पाएका छैनन्,' उनले भने, 'मातृ मृत्युदर अभ, बढी रहेका क्षेत्रमा यस्ता अत्यावश्यकीय सेवाको उपलब्धता न्यून देखिन्छ, उल्लेख्य घट्न नसक्नुको कारण यही हो।'
मातृ मृत्यु अनुपात घटाउन सञ्चालित कार्यक्रम
सरकारले प्रथमपटक गर्भजाँच, गर्भावस्थामा हुने रक्तअल्पता कम गर्न वडास्तरसम्म आइरन चक्की वितरण कार्यक्रम चलाएको छ। स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन भत्ता, यातायात खर्च र रेफर गर्न परे हवाइभाडा दिनेलगायत थुप्रै कार्यक्रम सञ्चालित छन्।
दुर्गम क्षेत्रमा कार्यक्रम व्यवस्थित नहुँदा सामान्य समस्याको उपचार नपाएर सुत्केरीको मृत्यु हुने क्रम भने रोकिएको छैन। 'स्रोत छ, नीति छ, तर काम गर्ने प्रतिबद्धता माथिदेखि तलसम्म हुनुपर्छ, त्यो देखिएको छैन,' स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. लक्ष्मीराज पाठकले भने।
उनले स्रोत भए पनि सोच र व्यवस्थापन कमजोरीले यस्ता घटना नरोकिएको टिप्पणी गरे। 'दुर्गम विशेष ठाउँहरु धेरै छैनन्, त्यसका लागि विशेष रणनीति चाहिन्थ्यो,' उनले भने, 'नियमित कार्यक्रममा पैसा छुट्ट्याएर मात्र आमाहरुको ज्यान बच्दैन।'
सरकारले मातृदर घटाउन २०६५ देखि 'आमा सुरक्षा' कार्यक्रम सुरु गरेको थियो। सहरी र सुगम क्षेत्रमा मातृ मृत्युदर घटे पनि दुर्गम क्षेत्रमा सेवास्तर ताŒिवक भिन्नता आउन नसकेको विज्ञ बताउँछन्।
सरकारले महिला गर्भवती भएदेखि कम्तीमा चारपटक गर्भ जाँच गराएपछि ४ सय रुपैयाँ भत्ता दिने गरेको छ। त्यसबाहेक स्वास्थ्य संस्थामा सुत्केरी गराए तराईमा ५ सय, पहाडमा १ हजार र हिमाली जिल्लामा १ हजार ५ सय यातायात खर्च दिइछ। संस्थागत प्रसूतिलाई प्रोत्साहन गर्न स्वास्थ्य संस्थालाई पनि अनुदान व्यवस्था छ। यस्ता संस्थाले सामान्य प्रसूति भए १ हजार, जटिलता आए ३ हजार र शल्यक्रियाको अवस्थामा साढे ७ हजार अनुदान पाउँछन्।
अस्पतालमै प्रसूति गराउन प्रेरित गर्न जिल्ला सदरमुकामसम्म शल्यक्रियाबाट प्रसूति सेवा विस्तारका लागि प्रसूति कक्ष निर्माण र चिकित्सकलाई आकर्षक तलब दिई सेवाको पहुँच बढाउने कार्यक्रमसमेत लागू छ।
परिवार स्वास्थ्य महाशाखाका अनुसार सबै कार्यक्रमको अर्थ आमाको ज्यान जोगाउन स्वास्थ्य संस्थामा जाँच र प्रसूति गराउन प्रोत्साहन गर्नु हो। दुर्गम जिल्लामा अहिले पनि पूर्वाधार र चिकित्सक पुर्याथउन कठिन छ। सरकारले स्वास्थ्य संस्थाको स्तरोन्नति, उपकरण र तालिमका करोडौं खर्च गरिरहे पनि दुर्गम क्षेत्रको स्वास्थ्य अवस्थामा सुधार आएको छैन। भवन, उपकरण र तालिमका नाममा भएका करोडौं खर्चले पनि अपेक्षित सुधार ल्याउन सकेको छैन।
तालिम दिएकालाई गाउँ नपठाउने, उपकरणअनुसार जनशक्ति व्यवस्था नगर्ने, तामझामसाथ करोडौं खर्च गरेर सुरु गरिएका सेवा निरन्तर नहुनेजस्ता समस्या स्वास्थ्य अधिकारीहरु औंल्याउँछन्।
विज्ञका अनुसार अहिले पनि गर्भवती भएपछि झन्डै ८० प्रतिशत महिला पहिलो गर्भजाँचका लागि स्वास्थ्य संस्था पुग्छन्। तीमध्ये ४० प्रतिशतले मात्र पूरा अवधि अर्थात् चारपटक गर्भजाँच गराउँछन्। 'यसले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको व्यवहारले महिलालाई स्वास्थ्य संस्थामा तान्न नसकेको देखाउँछ,' डा. पाठक भन्छन्।
सरकारले गाउँगाउँमा उपस्वास्थ्य चौकीसहित देशभर झन्डै ४ हजार स्वास्थ्य संस्था सञ्चालन गरेको छ। ती सबैमा गर्भको अवस्था र सामान्य खतराको यकिन गर्न सक्ने अनमी कार्यरत पनि छन्। तर सेवाग्राही र सेवाप्रदायकबीचको अन्तरले अपेक्षित काम हुन नसकेको विज्ञ बताउँछन्।