आइसिसी विश्व क्रिकेट डिभिजन थ्री च्याम्पियन बनेको नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ। मलेसियन एयरलाइन्सको उडानबाट क्रिकेट टोली १२:३० बजे त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। टोलीको स्वागतका लागि क्रिकेटप्रेमी समर्थकहरुको राम्रै उपस्थिति थियो। समर्थकहरुले 'डिभिजन २ पाइयो, रंगशाला चाहियो' नारा लगाए।








पारस दाइ आउनुभो, विजय सिल्ड ल्याउनु भो जस्ता नारा लगाइरहेका समर्थकहरु विमानस्थलको अस्तव्यस्ताकै बीचमा 'रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो' गीत एक स्वरमा गाएका थिए।
विजेताको टोलीको स्वागतका लागि राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव युवराज लामा, युवा तथा खेलकूद मन्त्रालयका प्रवक्ता चुणामणि पौडेल, क्रिकेट संघका कार्यवाहक अध्यक्ष श्रीनिवास राणा, उपाध्यक्ष विकास घिमिरे, महासचिव उत्तम कर्मचार्य विमानस्थलमा पुगेका थिए।
व्यवस्थापन नगरिँदा टोलीले विमानस्थलमा पत्रकारसँग कुराकानी गर्न सकेनन्। क्रिकेट टोली विमानस्थलबाट होटल क्राउन प्लाजातर्फ लागेको छ।








सबै तस्बिर : दिपेश श्रेष्ठ