
काठमाडौं- नेपालीहरुमाझ दशक अघिसम्म दसैं आयो की नयाँ लुगा किन्ने चलन थियो। विस्तारै, दसैंको समयमा नयाँ सामान किन्ने भन्ने चलन बन्दै गयो र अहिले सक्नेले नयाँ चार पांग्रे, नसक्नेले दुई पांग्रे भएपनि किन्ने चलन चलेको छ।

दसैं लाग्नुअघि नै उकालो लागेको चार पांग्रे साधनको बिक्री निकै बढ्न थालेपछि व्यवसायीहरुको व्यस्तता पनि थपिएको छ। अघिल्लो महिनाको तुलनामा यो महिना चार पांग्रे सवारी साधनको व्यापार शतप्रतिशतले बढेको छ। केही साताअघि नेपाल अटोमोबाइल डिलर्स एसोसियनले आयोजना गरेको 'नाडा अटो सो २०१४' र दसैंको समय एकैसाथ परेकाले पनि व्यापार दोब्बर भएको व्यवसायीहरुले बताएका छन्।

सहज बैंक कर्जा, सडक विस्तार र उपभोक्ताको क्रय क्षमताका कारण गाडीको व्यापार उल्लेख्य रुपमा बढेको व्यवसायीहरुले बताए। दसैंको समयमा हरेक वर्ष नाडाले अटो सो आयोजना गर्ने गरेकाले पनि उपभोक्ताले छानीछानी आफूलाई मनपर्ने गाडी एउटै स्थानमा खरिद गर्न सकेको नाडाका उपाध्यक्ष तथा लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक अन्जन श्रेष्ठ बताउँछन्। अहिले नेपालको साँघुरो सडकमा साना ह्याचब्याक गाडी नै बढी रुचाइने हुनाले एक महिनाको अवधिमा विभिन्न कम्पनीले सार्वजनिक गरेका ह्याचब्याक गाडी नै बढी बिक्री भएको उनले बताए। दसैंमा गाडीको व्यापार उल्लेख्य रुपमा वृद्धि हुने भएकाले नै विभिन्न कम्पनीले दसैं तिहारलाई लक्ष्य गर्दै नयाँ गाडी सार्वजनिक सँगै विभिन्न छुट तथा उपहार योजना समेत सुरु गरेका थिए।

नेपालीको क्रयशक्ति विस्तारै बढेकाले दुई पांग्रे सवारी साधन किन्ने जनसंख्या चार पांग्रेतर्फ आकर्षित भएको व्यवसायीहरु पनि बताउँछन्। अहिले बैंकहरुले सस्तो ब्याजदरमा अटो लोन दिने गरेकाले पनि उपभोक्ताहरु दुई पांग्रेभन्दा चार पांग्रेतर्फ आकर्षित भएको नाडाका श्रेष्ठको अनुभव छ। 'अहिले बैंकहरुले सातदेखि नौ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन थालेका छन्। यसले गर्दा कार किन्न चाहने उपभोक्तालाई सजिलो भएको छ,' श्रेष्ठ भन्छन्।
गत आर्थिक वर्ष २०७०/७१ मा यातायात व्यवस्था विभागमा दर्ता भएका सवारी साधनमा कार, जीपजस्ता चार पांग्रे हलुका सवारी साधनको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढेको थियो। २०७० साउनदेखि २०७१ असार मसान्तसम्म देशभरमा ११ हजार तीन सय ७२ कार दर्ता भएका थिए। त्यो भन्दा अघिल्लो वर्ष देशभरमा बिक्री भएका चार पांग्रे हलुका सवारी साधनको संख्या नौ हजार पाँच सय ९५ रहेको थियो। आर्थिक वर्ष २०६९/७० मा देशभरमा औसत मासिक आठ सय ५० वटा चार पांग्रे बिक्री हुने गरेकोमा २०७०/७१ मा यो संख्या बढेर मासिक नौ सय ४८ वटा पुगेको हो।

स्टान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा सस्तो दरमा अटो लोन दिइरहेको छ। चार पांग्रे साधन लिन चाहने ग्राहकले स्टान्डर्ड चार्टर्ड बैंकबाट ७ दशमलब ३९ प्रतिशत ब्याज दरमा अटो लिन सक्छन्। त्यस्तै, लक्ष्मी बैंकले अटो लोनको ब्याज दर ७ दशमलब ५ प्रतिशत, मेगा बैंकले ७ दशमलब ७५ प्रतिशत र सानिमा बैंक, किस्ट बैंक र एनआईसी एसिया बैंकले ७ दशमलब ९९ प्रतिशत तोकेका छन्।

अधिकांश बैंकहरुले ऋणको भुक्तानी अवधी ५ देखि ८ वर्षसम्मको तोकेका छन्। त्यस्तै, बैंकहरुले शुन्य दशमलब ५ प्रतिशतदेखि एक प्रतिशतसम्म प्रक्रिया शुल्क (प्रोसेसिङ चार्ज) भनेर लिने गरेका छन्। 'ऋण लिने प्रक्रिया सजिलो त छैन, तर सवारी साधनको मूल्यको असी प्रतिशतसम्म व्याज दिने हाम्रो योजना भने आकर्षक छ' मेगा बैंकका सहायक सम्पर्क अधिकृत सुवर्ण कुँवर बताउँछन्।
हुन्डाई
हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पछिल्लो एक महिनामा पाँच सय ओटा गाडी बिक्री गरेको छ। अरु बेला सामान्यतयाः महिनाको दुई सय ओटा गाडी बिक्री हुने गरेकोमा यो वर्ष दसैंअघिको महिनामा यो संख्या बढेर पाँच सय पुगेको श्रेष्ठले बताए। पछिल्लो महिनामा हुन्डाईको ग्रान्ड आइ टेन, एक्सेन्ट र इयोन गाडी उपभोक्ताले बढी रुचाएको उनले जानकारी दिए। कम्पनीले दसैं तिहार तथा छठ पर्वलाई लक्ष्य गर्दै सुरु गरेको मिस्सी बादशाह एक्का योजना र पाँच लाख सम्मको नगद छुटले पनि यस वर्ष व्यापार बढेको श्रेष्ठको अनुभव छ। 'व्यापार बढ्नुको अर्को प्रमुख कारण बैंकले सहज रुपमा अटो लोन उपलब्ध गराउनु पनि हो,' उनले भने। बैंकहरुको सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएपछि उच्च मध्यम आय भएका उपभोक्ताको लागि पनि गाडी खरिद गर्न सहज भएको उनको अनुभव छ। कम्पनीले नेपाली बजारमा हुन्डाईका इयोन, स्यान्ट्रो, आइ टेन, आइ ट्वान्टी, इलान्ट्रा, सोनाटालगायतका कार तथा सान्टा फे, टक्सनजस्ता एसयुभी गाडिहरु बिक्री गरिरहेको छ। नेपाली चारपांग्रे बजारमा ३५ प्रतिशत हिस्सा रहेको कम्पनीको दाबी छ।
स्कोडा
नेपालमा स्कोडा गाडी बिक्री गर्दै आएको मोरङ अटो वर्क्सले पनि एक महिनाको अवधिमा ४५ ओटा भन्दा बढी गाडी बिक्री गरेको जनाएको छ। दसैंको समयमा व्यापार दोब्बर नै हुने हुनाले र्या पिड स्कोडाको ४० ओटा भन्दा गाडी बिक्रि भएको कम्पनीका बिजनेस हेड सुरज मानन्धरले बताए। पेट्रोल, डिजेल दुवै बाट चल्ने यो गाडीको सुरुवाती मूल्य ३३ लाख २५ हजार पर्ने उनी बताउँछन्। कम्पनीले नाडा अटो सो देखि दसैं, तिहार तथा छठ पर्वका लागि ३ लाख ३३ हजार डाउन पेमेन्टमा र्यानपिड स्कोडा गाडी उपलब्ध गराएको थियो।
मारुती सुजुकी
मारुति सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजि मोटोकर्पले पनि एक महिनाको अवधिमा एक सय भन्दा बढि संख्यामा मारुती सुजुकी सेलेरियो बिक्री गरेको छ। हालै मात्र कम्पनीले नाडा अटो सोको अवसरमा सार्वजनिक गरेको मारुति सुजुकी सेलेरियो उपभोक्ताले निकै रुचाएको कम्पनीका बजार प्रबन्धक भक्त कटुवालले बताए। नौ सय ९८ सीसी इन्जिन क्षमता रहेका ह्याचब्याक सिरिजको यो कारले अझै राम्रो बजार लिने उनले दाबी गरे।
यसबाहेक मारुती सुजुकीका स्विफ्ट, न्यू वागेनर, अल्टो ८०० लगायतका उत्पादन पनि पर्याप्त संख्यामा बिक्री भएको उनले बताए। बैंकको तरलता बढेकाले अटोमोबाइलमा लगानी हुने थालेकाले उपभोक्ताहरु चार पांग्रे साधनप्रति आकर्षित भएको भन्दै उनले सडक विस्तार र बढ्दो क्रय क्षमताले पनि गाडिको व्यापार बढेको बताए।
फक्सवागन
दसैं नजिकिँदै गर्दा फक्सवागनको गाडी पनि एक महिनाको अवधिमा ४ सय ओटा बिक्री भएको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेसनलले जनाएको छ। विगतका वर्षहरुमा मासिक एक सयको संख्यामा गाडी बिक्री गर्दै आएको कम्पनीले हालै भने एक हप्तामै एक सय ओटा गाडी बिक्री गरेको कम्पनीका बजार प्रबन्धक सरिक बोगटीले बताए। एक महिनाको अवधिमा फक्सवागनको पोलो र भेन्टो ग्राहकले धेरै रुचाएको उनले बताए।