गणतन्त्रका पाँच वर्ष : थोरै अँध्यारो, धेरै उज्यालो
१० वैशाख २०७०
•
२३ मिनेट पाठ
गणतन्त्रका पाँच वर्ष :  थोरै अँध्यारो, धेरै उज्यालो
समस्या लोकतान्त्रिक गणतन्त्रका कारण होइन, त्यसलाई संस्थागत गर्न नसक्नुका कारण सिर्जना भएको होअस्तिजस्तै लाग्छ, महाराजगन्ज प्रहरी तालिम केन्द्रको महिना दिन लामो हिरासतबाट बाहिर निस्केर लोकतन्त्र प्राप्तिको विजयोत्सव मनाएको। तर, सात बर्ष बितिसकेछन्। आरोहअवरोहका सात वर्ष, उपलब्धि र गुमाइका सात बर्ष, सपना गुम्फन र स्वप्नभंगताका सात वर्ष। नेपालको इतिहासका सम्भवतः सर्वाधिक तीव्र परिवर्तन र उथलपुथलका सात वर्ष।
लोकतान्त्रिक आन्दोलनको सफलतासँगै सुरु भएको लोकतान्त्रिकरणका शृंखला– प्रतिनिधिसभाको ऐतिहासिक घोषणा, शान्ति वार्ता र विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र अन्तरिम व्यवस्थापिका–संसदको गठन, अन्तरिम सरकार र संविधानसभाको निर्वाचनजस्ता कडीहरूमार्फत् मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको विधिवत स्थापना भयो। त्यसयता पनि पाँच वर्ष बितिसकेका छन्।
अचेल मान्छेहरू असन्तुष्ट छन्। उनीहरू निरास छन्। उनीहरू अलिकति आक्रोशित पनि छन्। यस बीचमा केही पनि भएन भन्ने गुनासो सर्वत्र छ। एकखालको नकारात्मक मनोविज्ञानले सिंगो समाजलाई ढाकेको देखिन्छ। नकारात्मकताको यही कालो बादलभित्र कतै हाम्रो आन्दोलनका ऐतिहासिक उपलब्धि– लोकतन्त्र, गणराज्य र संघीयता जस्ता विषय ओझेलमा पर्ने हुन् कि भन्ने चिन्ता पनि गहिरिँदै छ।
निश्चय नै, तस्बिरका कतिपय पाटा निराशाजनक छन्। आन्दोलनका उपलब्धि संस्थागत भएका छैनन्, त्यसैले तिनले प्रतिफल पनि दिन भ्याएका छैनन्। आन्दोलनकारी दल, शक्ति र नेताहरू बारम्बार चुकिरहेका छन्। नयाँ, जनपक्षीय र लोकतान्त्रिक मूल्यको निर्माण नहुँदा र भएका सकारात्मक मूल्य पनि विघटित हुँदै जाँदा दिक्दारी बढ्ने ठाउँ बनेको छ। नेतृत्वले घरिघरि आफ्नो धरातल बिर्सेको हो कि, आफ्नो दायित्वबाट विमुख हुन थालेको हो कि भन्ने प्रश्न जन्माइदिएको छ। लम्बिँदो संक्रमणकाल र यसबीचका बेथितिलाई आधार बनाएर परिवर्तन विरोधी शक्ति सल्बलाउन थालेका छन्। उनीहरू उत्साही देखिँदैछन् र गणतन्त्रविरुद्ध औंला ठड्याउने धृष्टता गर्दैछन्।
तर, यो तस्बिरको एउटा पाटो मात्र हो। अर्को पाटोबाट हेर्दा तस्बिर रंगीन, सम्मोहक र आशालाग्दो छ। समस्या लोकतान्त्रिक गणतन्त्रका कारण होइन, त्यसलाई संस्थागत गर्न नसक्नुका कारण सिर्जना भएको हो। समस्या हामीले हिँडेको बाटो गलत भएर होइन, त्यो बाटोमा दह्रा पाइला चाल्न र समयमै गन्तव्यमा पुग्न नसक्नुको अलमलले उत्पन्न गरेको हो। समस्या लोकतान्त्रिक शक्तिहरूका विफलताका कारण होइन, नेतृत्वका सीमा र सामर्थ्य–अभावले पैदा भएको हो। शिशु सुन्दर जन्मेको हो, तर अलिकति सेकतापको अभाव, अलिकति पोषणको अभाव र अलिकति उसका अभिभावकमा रहेको अकुशलताका कारण खिनौरो र रोगी देखिएको  हो। तर, यसको उपचार सम्भव छ र उसको भविष्य उज्ज्वल।
लोकतन्त्र एउटा घटना विशेषको मात्रै नाम होइन। गणतन्त्र एउटा परिघटनाको मात्रै प्रश्न होइन। यो एउटा प्रक्रिया हो र यसले संस्थागत रूप लिन, यसले दह्रो गरी खुट्टा टेक्न र सर्वोपरि रूपमा, यसले जनतालाई वाञ्छित प्रतिफल दिन अलि लामै समय माग गर्छ। प्रजातान्त्रिक क्रान्तिको नमुनाको रूपमा लिने गरिएको १७८९ को क्रान्तिपछि पनि फ्रान्समा गणतन्त्रले संस्थागत रूप लिन र लोकतन्त्र स्थायी हुन झन्डै सय वर्ष लाग्यो। आजको अमेरिकाले पनि स्वतन्त्रता संग्रामपछि स्थायित्व हासिल गर्न झन्डै एक शताब्दीको उकाली–ओराली पार गर्नुपरेको छ। तपाईं भारतको कुरा गर्नोस् या ब्राजिलको,  रुसको कुरा गर्नोस् या चीनको, गणतन्त्रले साँचो अर्थमा प्रतिफल दिन एउटा प्रक्रियाबाट गुजि्रनु परेको छ, आरनमा खारिनु परेको छ र राम्रैसँग 'सिजनिङ' हुनु परेको छ। यसो भनेर नेपालको राजनीतिक नेतृत्वले गरिरहेका अनावश्यक ढिलासुस्तीलाई जायज ठहर्‍याउन या हाम्रा कमजोरीलाई ढाकछोप गर्न खोजिएको बिल्कुलै होइन। तिनको वस्तुनिष्ठ, निर्मम र रचनात्मक आलोचना एवं उपचार आवश्यक छ। तर, आन्दोलनको पाँचौ वर्षमा गणतन्त्रप्रति निरास हुने या आन्दोलनको सातै बर्षमा आन्दोलनको सार्थकतामाथि प्रश्न उठाउने गल्ती गर्नु चाहिँ हुँदैन।
तपाईंले हेर्दा टेबुलको गिलास आधी खाली देखिए पनि मैले हेर्दा त्यो गिलास आधी भरिएको छ। तपाईंलाई लाग्दो हो– आकाशमा काला बादलमात्रै मडारिइरहेका छन्। तर मैले त्यहाँ चाँदीको घेरा देखिरहेको छु।
गणतन्त्र नेपाली जनताको युगौं पुरानो सपना थियो। आफूले नचिनेको, आफूले नचुनेको र आफूले नचाहेको शासकबाट शासित हुनुपर्ने, ऊ जतिसुकै अयोग्य र लठ्ठक भए पनि वंशको जेठो छोरा (छोरी पनि होइन– कति विघ्न लैंगिक विभेद!) हुुनुको नाताले लोक उसका अगाडि शीर निहुराउन वाध्य हुनुपर्ने र त्यसैलाई 'राष्ट्रिय एकताको प्रतीक' मान्न र उसका सारा कुकर्मका अगाडि मौनता साध्नुपर्ने यो मध्ययुगीन जञ्जीरबाट नेपाली जनताले मुक्ति चाहेको युगौं अगाडिदेखि हो। यसैका लागि लखन थापाले गोर्खामा फौज निर्माण गरेका थिए र शुक्रराजले हाँसीहाँसी रुखमा झुण्डिन तयार भएका थिए। यसैका लागि गंगालालले सुत्केरी पत्नीको वियोगमाथि विजय हासिल गर्दै उदात्त उत्सर्ग गरेका थिए र दुर्गानन्द झा मृत्युदण्ड बेहोर्न राजी भएका थिए। यसैका लागि रामनाथ दहाल लगायत सहिदहरू सुखानीमा अविचल मुस्कानसाथ बलिदान गर्न तत्पर भएका थिए। रत्नकुमार वान्तवाको कुरा गरौं या क्याप्टेन यज्ञबहादुर थापाको– मृत्युको बहादुरीसाथ सामना गर्दा उनीहरूका आँखामा लहराएको सपना गणतन्त्रकै सपना थियो। त्यसैले गणतन्त्र प्राप्ति सहिदहरूको बलिदानको एउटा महत्वपूर्ण प्राप्ति हो, उनीहरूप्रतिको साँचो श्रद्धाञ्जली पनि हो। त्यसैले अहिले देखापरेका बेथितिलाई बहाना बनाएर गणतन्त्रलाई अवमूल्यन गर्नु हुँदैन।
लोकतान्त्रिक गणतन्त्रकै प्रतिफल हो– आज डा. रामवरण यादव मुलुकका प्रथम राष्ट्रपतिको आसनमा प्रतिष्ठापित छन्। इतिहास या भूमिकाका हिसाबले एकदमै विलक्षण नभए पनि गणतन्त्रले लोकतान्त्रिक आन्दोलनका दोस्रो पुस्ताका यी नेतालाई जनताको छोराले पाउने त्यो सर्वोच्च ठाउँमा पुर्‍यायो। अझ उनी त त्यो समुदायको प्रतिनिधित्व गर्छन्– जुन समुदायको रंग र वर्णमाथि काठमाडौंका केही 'अभिजात'हरू राष्ट्रियताको निष्ठामाथि सधैंभरि प्रश्न उठाउँछन्। यसैगरी भोलि कुनै महिला राष्ट्राध्यक्ष बन्नेछिन्, पर्सि एकजना दलितको सन्तान आजसम्मको इतिहासलाई झुठा सावित गर्दै आफैले बनाएको मन्दिरमा पुजारी जस्तैगरी त्यो जिम्मेवारी सम्हाल्न पुग्नेछन् र निकपर्सि जनजाति समुदायको कुनै अग्रज त्यो ठाउँमा विराजमान हुनेेछन्। अनि नेपाली समाजको इन्द्रेणी रंग राज्यको सर्वोच्च अंगमा समेत प्रतिबिम्बित हुनेछ। त्यसपछि मात्रै सबै समुदायका जनताले औंलाले संकेत गर्दै भन्नेछन्– देख्यौ, हाम्रो प्रतिनिधित्व राज्यको सर्वोच्च अंगमा पनि छ। त्यतिबेला मात्रै राज्य साँचो अर्थमा सबै समुदायको साझा स्वामित्वको विषय बन्नेछ।
के गणतन्त्रको अनुपस्थितिमा यसो हुनु सम्भव थियो र?
मान्छेहरू हिजोआजका भद्रगोल र सामाजिक अपराधलाई सूचक मानेर खिन्नता व्यक्त गर्छन्। निश्चय नै, बढ्दो सामाजिक अपराध, दण्डहीनता, संवेदनशून्यता र मानवीय मूल्यको विघटन चित्तदुख्दो छ। तर सम्भि्कहेरौं त, दस वर्ष अगाडिसम्म हाम्रो बिहान रातभरिको भीडन्तमा मारिएका नेपालीहरूको मृत्युशोकबाट सुरु हुन्थ्यो र हाम्रो साँझ दिनभरिको द्वन्द्वमा मारिएका लासहरूको गिन्ती गरेर सकिन्थ्यो। यो अन्त्यहीन र अर्थहीन मृत्यु पीडाले हामीलाई संवेदनहीन तुल्याउँदै लगेको थियो र १७ हजार भन्दा बढीको मृत्यु, १ हजार ४ सयभन्दा बढी बेपत्ता, ७५ हजारभन्दा बढी विस्थापन र आन्तरिक शरणार्थी जीवन, हजारौंको अंगभंग र सर्वोपरी रूपमा, मुलुकको जिम्मेवारी सम्हाल्ने युवाहरूको सिंगो पुस्ताको विचलन– या त ऊ हिंसाको संवाहक भयो, या हिंसाको शिकार, अनि एउटा ठूलो हिस्सा पलायन, यी स्थितिले हाम्रो राष्ट्रलाई असफल बनाउँदै थिए। द्वन्द्वका यी घाऊ पुरिन दसकौं लाग्नेछ।
द्वन्द्व व्यवस्थापनमा केही त्रुटि भएका छन्। हिंसापीडितलाई न्याय दिने र दण्डहीनतालाई अन्त्य गर्ने कुुराले महत्व पाएको छैन र हिंसामा प्रयोग गरिएका युवाहरूको दिगो व्यवस्थापनमा ध्यान पुगेको छैन। पुनर्स्थापनालाई केही लाख पैसामा सीमित गरिँदा यसले एकातिर पैसा सकिनासाथ निराश युवाहरू फेरि हिंसामा फर्किने 'भल्नरेवालिटी' बढाएको छ भने अर्कोतिर आय आर्जनका लागि हिंसाको प्रयोगको नजिर बस्ने खतरा पनि उत्तिकै छ। तर यी यावत् समस्या हुँदाहुँदै पनि, आज हिंसात्मक द्व्रन्द्वको एउटा दुष्चक्रबाट मुलुकले मुक्ति पाएको छ र अब सितिमिति यस दिशातिर फर्कने दुस्साहस कसैले गर्नेछैन। दिगो शान्तितिरको यो पाइला अर्थपूर्ण छ।
मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना नभएको भए हिंसाको यो शृंखलामा विराम लाग्नु सम्भव थियो र?
नेपालमा अधिनायकवाद, तानाशाही र निरंकुशता दीर्घ समस्याको रूपमा रहँदै आएको छ। यसका विरुद्ध प्रजातान्त्रिक आन्दोलनको संस्थागत आरम्भ भएको पनि आज ७५ वर्ष पुग्न लागेको छ। सम्भवतः पाँचौं पुस्ता यो लोकतान्त्रिक आन्दोलनमा सहभागी छ आज। विगतमा राजतन्त्रलाई संवैधानिक दायरामा खुम्च्याएर प्रजातन्त्र संस्थागत गर्ने प्रयास पटक–पटक भयो। तर, प्रजातन्त्र र राजतन्त्र सँगसँगै अगाडि बढ्नै सकेनन्, राजतन्त्र बलियो हुनासाथ ऊ प्रजातन्त्रविरुद्ध नांगो ढंगले उत्रियो। त्यसैले लोकतन्त्र प्राप्तिको आन्दोलनमा निर्णायक विजयका लागि राजतन्त्रलाई निषेध गर्नैपर्ने अनिवार्यता उत्पन्न भयो। २०६२/६३ को आन्दोलनले त्यही उद्देश्य पूरा गर्‍यो। निश्चय नै, राजतन्त्रको अन्त्यपछि पनि  विभिन्न रूपमा अधिनायकवादले टाउको उठाउन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन। निरन्तरको सजगता नै लोकतन्त्रको प्रत्याभूति हो भन्ने तथ्यलाई हमेशा हेक्का राख्नैपर्छ। तर, झण्डै १ हजार ७ सय वर्ष पुरानो राजतन्त्र र त्यसको पछिल्लो संस्करण २ सय ४० वर्षे शाहवंशको हुकुमी सत्ता त अन्त्य भयो भने अन्य रूपमा अधिनायकवाद टिक्न सक्ने कुनै सम्भावना छैन भन्नेमा हामी ढुक्क हुन सक्छौं।
आज देखा परेको अभूतपूर्व लोकतान्त्रिक चेतना र अधिनायकवादका आधार कमजोर हुने कुरा के गणतन्त्रको अनुपस्थितिमा परिकल्पना गर्न सकिन्थ्यो र?
गणतन्त्र प्राप्तिको यो पाँच वर्षको तातो वैचारिक बहसको दौरान नेपालले आफ्नो भावी राजनीतिक दिशा धेरै हदसम्म रेखांकित गरिसकेको छ। सबै वैचारिक विवाद टुंगिएका छैनन् र त्यसो हुनु सम्भव पनि छैन। तर, नेपाली राजनीतिमा देखापरेका दुईखाले 'अति'हरू खण्डित भएका छन्। एकखाले साथीहरूलाई लाग्थ्यो– बोल्न, लेख्न र सभासंगठन गर्न पाएपछि, पाँच वर्षमा एकपल्ट भोट खसाउन पाएपछि जनताले प्रजातन्त्र पाइहाले, निजीकरण, खुला बजार अर्थतन्त्र र उदारीकरणले नै सबै समस्याको समाधान गर्छ र संसदीय व्यवस्था नै प्रजातन्त्रको एकमात्र मोडेल हो आदि। आज नवउदारवादका यी सीमाहरू उदांगो भएका छन्। त्यसैगरी अर्काथरि साथीहरूलाई 'सर्वहारा अधिनायकत्व,' एकदलीय प्रणाली र 'जनताको गणतन्त्र' नै  अन्तिम सत्य लाग्थ्यो, बहुलता, बहुदलीय प्रतिस्पर्धा र विधिको शासनलाई उनीहरू हेय दृष्टिले हेर्थे। यस्तो व्यवस्था प्राप्तिका लागि उनीहरू हिंसालाई अनिवार्य साधन ठान्थे । आज यी दुवै मान्यता खण्डित भएका छन्। मुलुकका प्रायः जसो शक्तिहरू (कति स्वेच्छाले र कति बाध्यताले) सामाजिक न्यायसहितको लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धासहितको खुला बहुलवादी समाज र समाजको शान्तिपूर्ण रूपान्तरणको पक्षमा आइपुगेका छन्। नेपालले लिने भविष्यको बाटो पनि यही नै हो।
मुलुकमा गणतन्त्र प्राप्त नभएको भए नवउदारवादलाई सामाजिक न्यायसहितको लोकतन्त्रमा आइपुग्न र उग्रवामपन्थलाई लोकतन्त्रका आधारभूत मान्यतासम्म ल्याइपुर्‍याउन सम्भव थिएन।
निश्चय नै, यसबीचमा नेतृत्वका सीमाहरू धेरै हदसम्म उद्घाटित भएका छन् र मान्छेहरूमा नेतृत्वप्रति एकखाले वितराग उत्पन्न भएको छ। यसका कारणहरू छन् र यसो हुनु स्वाभाविकै हो। तर, लोकतन्त्र र गणतन्त्र यस्तो प्रणाली हो, जसले तपाईंलाई नयाँ नेतृत्वको निर्माणका आधार प्रदान गर्छ। यसले ती व्यक्तिहरूलाई स्थापित गर्दै लैजान्छ, जो वास्तवमा जनताको मन जित्न सक्षम छन्। 'हाइरार्की' का कारण पदको माथिल्लो सोपानमा पुगेकाहरू, क्रेनले तानिएकाहरू, कृत्रिम ढंगले माथिल्लो ओहदामा पुगेकाहरूका ठाउँमा आफ्नो योग्यता, भूमिका र लोकप्रियताको बलमा नेतृत्वमा स्थापित हुने आधार यसले सिर्जना गर्छ। अवश्य पनि, यो लामो प्रक्रिया हो र आजै यो प्रश्नमा सन्तोष गर्ने ठाउँ छैन। तर, आज जसरी जनताहरू बोल्नसक्ने भएका छन्, जसरी दलितले आफूमाथिको युगौं पुरानो उत्पीडनको हिसाबकिताब गर्दैछन्, जसरी महिलाले पुरुषका दबाबसामु 'नाइँ' भन्ने हिम्मत जुटाइरहेका छन्, जसरी कर्णालीले काठमाडौंमा आफ्नो हिस्सा खोज्दैछ, जसरी कार्यकर्ताले नेतासामु 'किन यस्तो?' भनेर प्रश्न उठाउने आँट गरिरहेका छन् र जसरी हिजोको सामन्ती संरचनाको ठाउँ नयाँ संरचनाले लिने तर्खर गर्दैछ, यो नयाँ नेतृत्व विकासको आशालाग्दो आधार हो। राज्य, राजनीतिक दल र नीति निर्माणका महत्वपूर्ण थलोमा हिजो किनारामा धकेलिएका समुदायको उल्लेख्य उपस्थिति देखिन थालेको छ र बेवास्ता गरिएका उनीहरूका आवाज राष्ट्रिय एजेन्डा बन्दैछन्। निश्चय नै, कतिपय ठाउँमा लोकतन्त्र र भीडतन्त्र पर्यायवाची जस्तो पनि देखिएका छन्, अधिकारको दाबामा दायित्व बिर्सिदै गरिएको अवस्था छ र समाज एकखालको भद्रगोलबाट गुजि्रँदैछ। तर, संक्रमणकालमा यो अस्वाभाविक होइन। यसले देखाइरहेको संकेत हो– पुराना मूल्य विघटित हुँदैछन् र तिनले नयाँ मूल्यको खोजी गरिरहेका छन्। पुराना संरचना भत्किँदैछन् र तिनले नयाँ संरचनाको प्रतिक्षा गरिरहेका छन्। सिंगो समाज पुनर्गठनको प्रक्रियामा छ।
यी सबै कुराका पछाडि गणतन्त्रको ठूलो भूमिका छ।
हामी सबैलाई थाहा छ– गणतन्त्र आफैमा साध्य होइन, यो जनताको सार्वभौमसत्ता स्थापित गर्ने, जनताको भूमिकालाई सर्वोपरि बनाउने महत्वपूर्ण लोकतान्त्रिक साधन हो। गणतन्त्र भनेको राजतन्त्रको अनुपस्थिति मात्रै होइन। यो जनताको शासनसत्ताको महत्वपूर्ण संरचना हो। संक्रमणकाल नटुंगिइसकेको, गणतन्त्र संस्थागत भइनसकेको र यसले ल्याउनु पर्ने समृद्धि र सामाजिक आर्थिक रूपान्तरणमा पर्याप्त ध्यान नपुगेकोले गणतन्त्रको वास्तविक अर्थवत्ता र मूल्य शायद अझै राम्रोसँग स्थापित गर्न सकिएको छैन। तर, गणतन्त्र हाम्रो सपना हो, हाम्रो उपलब्धि हो र भोलिको सुन्दर भविष्यको आधारभूत प्रत्याभूति पनि हो।
यतिबेला संविधानसभाको नयाँ निर्वाचनमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरेर गणतन्त्रलाई संस्थागत गर्नु र यसलाई जनताको जीवनमा अनुवाद गर्नु हामी सबैको साझा दायित्व हो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस