म पार्टीको एक वफादार र प्रतिबद्ध सिपाही हुँ: रेनु दाहाल
२० जेष्ठ २०७९
•
११ मिनेट पाठ
म पार्टीको एक वफादार र प्रतिबद्ध सिपाही हुँ: रेनु दाहाल
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेकी रेनु दाहाललाई दोस्रो पटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ।




उनी आफ्नो निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९ बढी मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भइन्। दाहालको अबको कार्यकाल कसरी बित्छ? अघिल्लो कार्यकालमा पूरा हुन नसकेका कामहरू यसपटक सम्पन्न गर्ने योजना के छ? महानगरवासीको अपेक्षा सम्बोधन गर्ने भावी योजनाका विषयमा केन्द्रित रहेर नवनिर्वाचित प्रमुख दाहालसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईं आफ्नो पहिलो पाँच वर्षे कार्यकाललाई कसरी समीक्षा गर्नु हुन्छ?

पहिलोपटक म भरतपुर महानगरमा नयाँ थिएँ। के गर्ने कसो गर्ने कताबाट कामको थालनी गर्ने भन्नेमा अनभिज्ञ थिएँ। पाँच वर्षको बीचमा भरतपुरको समग्र वस्तुस्थिति, भौगोलिक अवस्था र जनताको मनोविज्ञानको बारेमा नजिकबाट बुझ्ने अवसर मिल्यो। पाँच वर्षको अनुभवले जनताको आवश्यकता र विकासका हिसाबले परिपक्क भएको अनुभव भएको छ।

कोभिडको महामारीका बीच पनि पाँच वर्षमा धेरै कामको सुरुआत भएका छन्। महानगरको विकासमा पहिलो कार्यकाल सकिँदै गर्दा पनि विकास भएन, गर्न सकेन भन्ने जनगुनासो सुन्नुपरेको छैन। देशको केन्द्र भागमा रहेर पनि भरतपुर विकासमा धेरै पछि परेको थियो। बाटाघाटा बजार क्षेत्रमा मात्रै थिए। ग्रामीण क्षेत्रमा सडक कालोपत्रे थिएन, जीर्ण अवस्थामा थियो  एक सय मिटर कालोपत्रे नभएको वडा पनि थियो।

अहिले पाँच वर्षमा हरेक वडामा न्यूनतम २० देखि २५ किलोमिटर र अधिकतम ५०/५५ किलोमिटर कालोपत्रे भएको छ। हामीले महानगरमा ६२२ किलोमिटर सडक कालोपत्रे गरेका छौँ। सडक पूर्वाधारमा मात्रै होइन, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायत समग्र क्षेत्रमा सन्तुलित विकासको ‘मोडेल’ दिन सकेका छौँ भन्ने लाग्छ।

तपाईंले दोस्रो कार्यकाललाई कसरी लिनुभएको छ?

पहिलो पाँच वर्षमा विकासको आधार तयार भइसकेको छ, अब त्यसमा थप सिँढी बनाउँदै जाने गरी कामहरु अघि बढाउने छौँ। त्यसलाई निरन्तरता दिनुपर्ने एउटा चुनौती छ र गर्न सकिन्छ भन्ने पूरै आत्मविश्वास पनि छ। अन्य केही मुख्य योजनाको पनि कार्यान्वयन गरी यस महानगरपालिकालाई देशकै नमूना बनाउने गरी अगाडि बढ्ने छौँ।

सङ्घीय सरकारको नीति तथा कार्यक्रमको प्रक्रिया अघि बढेको बेला हामी चुनावमा थियौँ। चुनावमा हार र जीत जेसुकै परिणाम आउला तर भरतपुरको योजनाहरुका बारेमा पहल गर्‍यौँ र नीति तथा कार्यक्रममा सिङ्गो चितवनलाई नै विकासमा फड्को मार्ने ढङ्गले सम्बोधन भएको छ।

अनुभवका हिसाबले र समग्र अवस्थाको जानकारीका हिसाबले अबको पाँच वर्ष मेरा लागि अन्तिम अवसर र चुनौती पनि हो। महानगरवासीको धेरै अपेक्षा छ, ती अपेक्षा अनुसार नै लोकप्रिय मत पनि जनताले दिनुभएको छ। उहाँहरुको अपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्न हुन्न भन्ने कुराको गहिरो बोध छ।

तपाईंले किन पुनः महानगरको प्रमुखमा दोहोरिने निर्णय गर्नुभयो?

मेरो आफ्नो आवश्यकताले भन्दा पनि भरतपुरको आवश्यकतालाई ध्यानमा राखेर दोहोर्‍याएको हुँ। नदोहोर्‍याएको भए सांसद हुन्थेँ होला, मन्त्री पनि हुनसक्थेँ। कुनै न कुनै राष्ट्रिय भूमिकामा हुन्थेँ होला । त्यो सम्भावना थियो तर त्यसो गरिन। चितवनको भरतपुर महानगरको कामहरु जसरी अघि बढाइएको छ।

जनताको जे विश्वास पाँच वर्षको अवधिमा प्राप्त गरेको छु, त्यो जनताको विश्वास र म प्रतिको बुझाइ र अपेक्षाका हिसाबले हेर्दा मेरो यहीँ आवश्यकता छ भन्ने कुरा महसुस भयो। धेरै अधुरा काम सम्पन्न गर्नुपर्नेछ। ठूलाठूला गौरवका आयोजनाहरु अघि बढेका छन्। आखिर जसले बच्चा जन्माउँछ, उसैलाई बच्चाको माया बढी लाग्छ नि!

तपाईंको पाँच वर्षे कार्यकालमा सङ्घीय सरकारको सहयोग कस्तो रह्यो?

पहिलो चरणमा पार्टी एकीकरणपछि नेकपा पनि भयो र सरकार पनि नेकपाको बन्यो। त्यतिबेला काम गर्न खासै समस्या भएन। पछिल्लो चरणमा पार्टीभित्र अन्तरविरोध हुन थालेपछि सङ्घीय सरकारको चितवन जिल्ला वा भरतपुरलाई हेर्ने सन्दर्भमा पूर्वाग्रह राखियो। चितवन जिल्ला भन्ने बित्तिकै नकारात्मक रुपमा हेर्ने अवस्था आयो।

चितवनको रङ्गशाला निर्माणका लागि जग्गा व्यवस्थापनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसहित हामी प्रधानमन्त्री कहाँ गएका थियौँ जग्गा टुङ्गोमा पुर्‍याइदिनुपर्‍यो भनेर। सिटी हलको जग्गाको कुरा टुङ्ग्याउनु पर्‍यो भन्दा पनि सकारात्मक रुपमा लिइएन।

त्यसपछि हामीले अर्को ढङ्गबाट रङ्गशालाका लागि कृषि विश्वविद्यालय, महानगरसहित त्रिपक्षीय सम्झौता गर्‍यौँ। त्यो विषयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पनि लगेका थियौँ। उहाँले सहयोग नगर्दा हामीले अर्को ढङ्गबाट काम गर्नुपर्‍यो। महानगरको सिटी हलको विषय सबै प्रक्रिया पूरा गरेर लैजान खोज्दा त्यो पनि रोकिएपछि हामीले तलैबाट समस्या समाधान गर्न सक्यौँ।

पछिल्लो चरणमा सिटी हलको बजेट विनियोजन गर्ने कुरा, सडकको बजेट विनियोजन गर्दा हरेक योजनामा सकेसम्म नहोस् भन्नेमा सरकारको दाउपेच चलिरह्यो। छ वटा महानगरमध्ये भरतपुर मात्रै ‘स्मार्ट सिटी’ बनेको थियो तर स्मार्ट सिटीबाट हटाउन लगाइयो। सहरी विकास मन्त्रालयले स्मार्ट सिटी गुरुयोजना पनि बनाएको थियो।

प्रधानमन्त्रीले आफ्ना नयाँ शहरहरु थप्नुभयो । नारायणीको गुरुयोजना बनाएर माग गरिएको तटबन्धको बजेटका लागि पनि कुनै ध्यान दिइएन । यसरी विगत पाँच वर्षमा जे जति काम भयो, हामीले धेरै मिहेनत गरेर भएको हो । सरकार नै असहयोगी बनेपछि काम गर्न सजिलो थिएन।

तपाईंलाई प्रचण्डको छोरीका रुपमा नभई आफ्नो छुट्टै पहिचान बनाएँ जस्तो लाग्दैन?

पहिला कतिपयले नेता प्रचण्डले आफ्नो छोरीलाई राजनीतिमा ल्याए भन्ने टीका टिप्पणी पनि नभएको होइन। मेरो पृष्ठभूमि जनस्तरसम्म धेरैले नबुझेका कारण त्यसो भनिएको हुन सक्छ। स्कुल पढ्दापढ्दै परिवर्तनको आन्दोलनमा होमियो। रोल्पा, काठमाडौँमा कार्य क्षेत्र हुँदै पार्टीले चितवनमा पठायो। म पार्टीको एक वफादार र प्रतिबद्ध सिपाही हुँ।

चुनावलाई आफ्नो पक्षमा ल्याउन मलाई प्रचण्ड पुत्री भनेर बढी प्रहार गरेका थिए। त्यो खालको चुनौतीका बीच मलाई काम गरेर देखाउनुपर्छ भन्ने थियो। पाँच वर्षमा धेरै काम गरेर देखाएँ। म आफ्नै कामले परिचित हुन्छु भनेर सङ्कल्प पनि राखेँ। मेरो कारणले बुबा र पार्टीलाई तथा बुबाको कारणले मलाई यो खालको टीका टिप्पणी सुन्नु नपरोस् भन्नेमा म एकदम सचेत छु।

विरोधीले पनि प्रश्न गर्न नसक्ने हिसाबले काम गर्छु भन्ने सङ्कल्प राखेको थिएँ। अहिलेको निर्वाचनमा प्रचण्ड पुत्री भन्ने शब्द सुन्नुपरेन। रेनुले यहाँ कमजोरी गर्‍यो भन्ने गम्भीर आरोप पनि सुन्नु परेको छैन। विकास भएन भन्ने सुन्नुपरेको पनि छैन। पाँच वर्षको अवधिमा आफ्नो कर्मले त्यो कुरा मेटाउन सकेँ भन्ने लाग्छ।

अबको कार्यकालमा सबै पक्षलाई समेटेर कसरी अगाडि बढ्नुहुन्छ?

मेरो आफ्नो स्वभाव सन्तुलित छ। केही चिज प्राप्त गर्नका लागि झैँझगडा, किचलो गरेर सम्भव हुन्न भन्ने कुरा मलाई गहिरो बोध छ। गएको पाँच वर्षको कामले पनि त्यो पुष्टि गर्छ। सबैसँग समन्वय गरी काम गर्ने स्वभावले गर्दा नै जुनसुकै राजनीतिक उतारचढाव हुँदा पनि महानगरको गतिलाई रफ्तारमा अघि बढाउन सकिएको हो।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य थियो। पछिल्लो सङ्घीय निर्वाचनमा एमालेसँग गठबन्धन भयो। त्यो परिस्थितिको बीचमा पनि सुरुदेखि अन्त्यसम्म एउटै रफ्तारमा महानगर अघि बढ्यो। राजनीतिक हिसाबले भन्दा महानगरको २९ वडामध्ये माओवादीले जितेको तीन वडा मात्रै थियो भने कार्यपालिकामा ३९ सदस्यमध्ये जम्मा तीन जना थिए।

सकेसम्म भरतपुरको विकास गर्ने हो, त्यो मिलेर मात्रै सम्भव छ भन्ने बोध थियो र सबैलाई सन्तुलन गरेर अघि बढेको हुँ। निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा रहे पनि अब सबैले महानगरलाई कसरी विकसित, जनमुखी बनाउन सकिन्छ भन्नेमा नै केन्द्रित रहनुपर्छ। जुनसुकै पार्टीबाट निर्वाचित भएर आए पनि सबैले जनताकै काम गर्ने हो। समृद्ध भरतपुर बनाउने नै मेरो एउटै सपना छ। यसका लागि कसैप्रति कुनै आग्रह वा पूर्वाग्रह नराखी समन्वयात्मक ढङ्गबाट काम गर्न प्रतिबद्ध छु।

निर्वाचन अवधिभर भरतपुर चर्चाको केन्द्रमा रह्यो, खास त्यसको कारण के होला?

मलाई पनि अनौठो नै लाग्थ्यो। तीन महिना अघिदेखि नै चर्चा परिचर्चा भरतपुरकै थियो। फेरी रेनु उम्मेदवार हुने हो की होइन, को आउने हो भन्ने चर्चा राष्ट्रियरुपमै थियो। अर्को कुरा हिजो पनि गठबन्धनका हिसाबले रेणुलाई दिएको थियो फेरी पनि रेणुलाई दिने हो कि भन्ने कुराहरू पनि भए।

विपक्षी पार्टीले पनि भरतपुरलाई प्रतिष्ठाको विषय बनाएको थियो। चुनावलाई नै लक्षित गरेर नेकपा (एमाले)ले राष्ट्रिय माहाधिवेशनदेखि हरेक कार्यक्रमहरू भरतपुर केन्द्रित गरेको थियो। त्यही कारणले पनि भरतपुर चर्चाको केन्द्र बन्यो।

यहाँको पहिलो कार्यकालमा फोहाेरमैला व्यवस्थापनको सम्बन्धमा काम नै भएन भन्ने गुनासो छ नि?

फोहाेरमैलाको दिगो सामाधानका लागि नयाँ, आधुनिक र नमूनाजन्य काम गर्न खोजेकै हो। अन्तर्राष्ट्रिय प्रविधिसहित कोरियन सरकारसँग सम्झौता गरिसकेका छौँ। धेरै चरणमा छलफल गरेर गुरुयोजना बनाउने काम सबै टुङ्गिसकेको छ।

महानगर, सङ्घीय मामला, अर्थ मन्त्रालय र कोरियन सरकारबीच काम अघि बढाएका छौँ। कोरियन सरकारबाट एक अर्ब २५ करोडको अनुदान दिने निर्णय पनि भइसकेको छ। तर कोरियामा फैलिएको कोभिड महामारीका कारणले यो काम अघि बढाउन सकिएको छैन। अहिलेको स्थानीय तह निर्वाचन भएको भोलिपल्ट नै कोरियाबाट इमेल आइसकेको छ।

छिटोभन्दा छिटो आउँछौँ, काम अघि बढाउँछौँ भन्ने जानकारी आएको छ। वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग सम्झौता गरेर अघि बढ्न खोजेका थियौँ। २५ करोड रूपैयाँका लागतमा सम्झौता गरेर अघि बढिसकेका बेला कोरियाको प्रस्ताव आएपछि त्यसलाई केन्द्रसँगको सम्झौतालाई रोकर गरेर यता अघि बढेको हो। कोभिडका कारणले ढिला भएको हो, अब फोहाेर व्यवस्थापनको समस्या समाधान हुन्छ।

जनतासँग यहाँको भावनात्मक सम्बन्ध राम्रो भएको निर्वाचन परिणमले देखायो, त्यसलाई कायमै राख्न सक्नुहुन्छ?

पहिलो कार्यकालमा भरतपुरवासीसँग चिनजान भएसँगै अन्तरङ्ग सम्बन्ध कायम भएको छ। त्यही सम्बन्ध र विश्वासको प्रतिफल नै दोस्रोपटक पनि मलाई अत्यधिक मत दिएर थप जिम्मेवारी सुम्पनुभएको छ। भरतपुरवासीको त्यो विश्वासलाई एक इन्च पनि घट्न नदिई अझ फराकिलो बनाउने छु।

दोस्रो कार्यकालको पदबहाली गर्दैगर्दा तीन वटा महत्वपूर्ण कार्य गरेका छौँ। भरतपुरमा छोरीहरु जन्मनेबित्तिकै बीमाको सुरुआत गरेका छौँ। विपन्न समुदायलाई लक्षित गरेर सात हजार लिटर पानी निःशुल्क गरेका छौँ। अर्को भनेको भूमिहीनलाई लालपूर्जाको कुरा पनि छ।

यस्तै हामीले विगतमा पनि महिलासँग मेयर, जोखिममा परेका समुदायसँग मेयर भनी महानगरको नीति तथा कार्यक्रममा समावेश गरेर गौरवको कार्यक्रम राखेका छौँ। यो जोखिममा परेका समुदाय र महिलालाई लक्षित गरेको कार्यक्रम हो।

त्यस्तै छात्रालाई साइकल वितरणदेखि अति लोपोन्मुख र विपन्न समुदायका तीन हजार विद्यार्थीलाई छात्रवृत्ति दिएका छौँ। यस्तै छात्रवृृत्ति सङ्घीय सरकारले जम्मा ४०० विद्यार्थीलाई मात्र दिन्छ। गरिबीका कारणले उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था रोक्न उनीहरुलाई वार्षिक १० हजार दिन थालको छौँ। स्वास्थ्य, शिक्षा, रोजगारलगायत आधारभूत कुरालाई पूरा गर्न खोजेका छौँ।

तपाईंले गर्न चाहेको तर पाँच वर्षमा गर्न नसकेका त्यस्ता अधुरा काम केही छने कि?

महानगरभित्र ठूलाठूला सडकहरु बन्दै छन्। पूर्व-पश्चिम राजमार्गको पुल्चोक-गोन्द्राङ सडक विस्तार गर्नुछ। बाइपास सडक, हुलाकी सडक, लिङ्क सडकहरु, महानगरको चक्रपथ, सिटी हल, झण्डै पाँच अर्बको नारायणी तटबन्धका योजनाको कार्यान्वयन गर्नु छ। अब राप्ती तटबन्धको गुरुयोजना पनि अघि बढाउँदैछौँ। यी अधुरा कामलाई सम्पन्न गर्ने पूर्ण अठोटका साथ अगाडि बढ्नेछु। यसो हुँदा भोलिसम्मका लागि पनि भरतपुरले गर्व गर्ने अवस्था रहन्छ।

अबको कार्यकालमा तपाईंले गौरव गर्न लायक कुन–कुन योजना सम्पन्न गर्ने लक्ष्य राख्नुभएको छ?

आगामी पाँच वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सम्पन्न हुनेछ। देशकै ठूलो तीन हजार क्षमताको अन्तर्राष्ट्रियस्तरको सिटी हल सम्पन्न हुनेछ। त्यस्तै नारायणी तटबन्ध र महानगरीय रिङरोड सम्पन्न हुन्छ। नारायणीको ‘सिग्नेचर ब्रिज’ प्राथमिकतामा राखेको छु।

महानगरभित्रको फोहर व्यवस्थापन दिगो रुपमा सम्पन्न हुनेछ भने भरतपुरको पुल्चोक–गोद्राङ सडक ब्युटिफिकेसनसहित सम्पन्न हुन्छ। हरेक क्षेत्रका योजना अब ब्युटिफिकेसनसहित सम्पन्न गर्ने लक्ष्य छ। शिक्षक अस्पताल भर्खरै मन्त्रिपरिषद्ले निर्णय गरेको छ। नीति तथा कार्यक्रममा समेत समावेश छ। सुरुमा २०० शय्याको शिक्षक अस्पताल पाँच वर्षभित्रमा सञ्चालनमा आउँछ।

यसैगरी भरतपुर विमानस्थल प्रदशेस्तरीय विमानस्थल भनेर सरकारको नीति तथा कार्यक्रममा पनि परेको छ। यस्तै मेघौली विमानस्थलाई चाहीँ कालोपत्रे गर्ने कामलाई अघि बढाउन लागिएको छ। यही आर्थिक वर्ष कालोपत्रे  हुन्छ। समग्र महानगरको सौन्दर्यकरणमा ध्यान दिइनेछ। प्रविधिमैत्री महानगर बनाउँछौँ। शिक्षा स्वास्थ्य, कृषि, पर्यटन हरेक क्षेत्रमा प्राथमिताका साथ अघि बढ्छौँ।

अन्त्यमा, केही भन्न चाहनु हुन्छ कि?

हाम्रो अबको प्रक्रिया भनेको विकाससँगै सुशासनको कुरा पनि छ। विद्युतीय भुक्तानीलगायत सफ्वेयरहरु प्रयोग गर्दैछौँ। महानगरको प्रशासनिक भवन पञ्चायतकालीन भवन हो। बदलिँदो परिवेशमा यस भवनबाट प्रशासनिक एवं विकास निर्माणका कामहरु सम्पादन गर्न कठिन भएकाले झण्डै सङ्घ र प्रदेश सरकारको साझेदारीमा एक अर्ब रुपैयाँको लगानीमा नयाँ प्रशासनिक भवन बन्दैछ। यस भवनको शिलान्यास भइसकेको छ।

निर्वाचनको क्रममा आम मतदातालाई दिएको हाम्रो प्रतिबद्धता पत्रमा महानगरको सेवालाई कसरी सञ्चालन गर्ने भन्ने उल्लेख गरेका छौँ, त्यसैलाई आधार मानेर अघि बढ्छौँ। जनताबाट आएका थप सुझावलाई आत्मसाथ गरेर अघि बढ्छौँ। अब छिट्टै महानगरको नगरसभा बस्दैछ।

यस सभामा हामीले जनतामा प्रस्तुत गरेको घोषणापत्रलाई आधार मानेर विगतका अधुरा योजनासमेतलाई ध्यानमा राख्दै महानगरको नीति, योजना तय गर्छौँ। जनताको सेवा गर्ने जुन अवसर पाएका छौँ, त्यसमा कत्ति पनि कमी हुन नदिई दोस्रो कार्यकाललाई अझ परिणाममुखी र स्मरणयोग्य बनाउने हाम्रो प्रयत्न रहनेछ। 
अर्को समाचार
स्ट्रबेरी खेती आकर्षणको केन्द्र बन्दै
१३ चैत्र २०८०
•
२ मिनेट पाठ
स्ट्रबेरी खेती आकर्षणको केन्द्र बन्दै
चितवनको भरतपुर महानगरपालिका–५ समिचोकमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी खेती सबैको आकर्षणको केन्द्र बनेको छ।




यहाँ फर्ममै स्ट्रबेरी टिपेर खान र फोटो खिच्न आउनेको दैनिकजसो घुइँचो लाग्ने गरेको छ। नेपाल एग्रोभाइन प्रालिमार्फत सात युवाले यहाँ व्यावसायिक स्ट्रबेरीखेती गरेका छन्। अनुसन्धानसँगै व्यावसायिक रुपमा गरिएको स्ट्रबेरीखेतीमा सबैको आकर्षण बढेपछि यहाँ काम गरिरहेका युवा उत्साहित छन्।

चार वर्षदेखि गरिएको स्ट्रबेरीखेतीले यस वर्ष सबैभन्दा बढी प्रतिफल दिएको छ। फर्म सञ्चालकमध्येका एक शशन देवकोटाका अनुसार इजिप्टबाट ल्याइएका बिरुवाले यस वर्ष दुई किलोसम्म फल दिएका छन्। फर्ममै टिपेर खान आउनेहरु बढेका छन्भने नेपालका विभिन्न सहरबाट यहाँको स्ट्रबेरीको माग हुने गरेको उनले बताए।

फर्ममा छ प्रकारका स्ट्रबेरी रोपिएको छ। यहाँ अमेरिकन प्रकारका स्ट्रबेरी इजिप्टबाट ल्याएर रोपिएको हो। ‘फर्ममा आउनेहरुले आफैँ टिपेर जोखेर लैजान पाउँछन्’, उनले भने, ‘स्ट्रबेरीको जुससमेत खान पाइन्छ।’ रु सात सय किलोमा बिक्री हुने गरेको स्ट्रबेरी फागु पर्वको अवसर पारेर रु छ सयमा बिक्री गरिएको उनले बताए। उनका अनुसार फर्ममा अहिलेसम्म रु ७० लाख लगानी भइसकेको छ। स्ट्रबेरीले राम्रो फल दिएपछि यस वर्ष एक विघामा स्ट्रबेरीको व्यावसायिक खेती विस्तार गरिएको छ। ‘तराईमा स्ट्रबेरीखेती सम्भव हुँदैन भन्ने सोच परिवर्तन गर्न हामीले चितवनमा स्ट्रेबेरी खेती सुरु गरेका हौँ’, उनले भने, ‘राम्रो फलेको छ, हाम्रो टोली सन्तुष्ट छ।’ उनले उत्पादन राम्रो भएका कारण क्षेत्र बढाएर स्ट्रबेरीखेती गरिरहेको बताए।

शशनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट कृषिमा स्नातक र अमेरिकाको युनिभर्सिटी अफ फ्लोरिडाबाट स्नातकोत्तर गरेका छन्। विगतका केही वर्ष स्ट्रबेरीमा अनुसन्धान गरेका उनको अग्रसरतामा नै यहाँ व्यावसायिक खेती गरिएको हो। उनको टोलीमा रहेका सबै युवाले कृषि नै पढेका हुन्। पढेका व्यक्तिले व्यावसायिकरुपमा कृषि गर्दा निकै राम्रो आम्दानी हुने उनको भनाइ छ। अब पढेका व्यक्तिले कृषि नगर्ने हो कृषि उत्पादन बढाउन नसकिने उनले बताए।

फर्ममा घुम्न आएका उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमन श्रेष्ठले व्यावसायिक रुपमा काम गर्न सके कृषि क्षेत्रबाट पनि सफलता मिल्न सक्छ भन्ने उदाहरण स्ट्रबेरी फर्मले प्रस्तुत गरेको बताए। उनले फर्ममा आएर स्ट्रबेरी टिप्दा र खाँदा आफूलाई पनि आनन्द आएको जनाउँदै राज्यले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए।

सामाजिक सञ्जालका कारण प्रख्यात बनेको यो फर्ममा स्ट्रबेरी टिप्न जानेको प्रत्येक वर्ष भीड नै लाग्ने गरेको छ। सामाजिक सञ्जालमार्फत भिडिओ हेरेर फर्म घुम्न आएको भरतपुर–१२ का शिव पौडेलले बताए। उनले प्रत्येक वर्ष उक्त फर्ममा स्ट्रबेरी खान आएको जनाउँदै यस वर्ष परिवारसहित आएको बताए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस