क्यानेडियन सिख नेता हरदीपसिंह निज्जर हत्याकाण्डमा भारत र क्यानडाबिच फेरी तनाव सुरु भएको छ । क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जर हत्याकाण्डको छानबिनमा भारतले सहयोग नगरेको वक्तव्य दिएसँगै फेरी दुई देश बिच तनतनी सुरु भएको हो ।
दुवै देशले आफ्नो देशमा रहेका कूटनीतिक अधिकारीलाई निष्कासन समेत गरेका छन् । भारतले क्यानडासँगको कूटनीतिक संवादलाई समेत अन्त्य गरेको घोषणा गरेको छ । जसले दुई देश बिचको कूटनीतिक सम्बन्ध निकै जटिल मोडमा पुर्याएको छ ।
ट्रुडोले के भनेका थिए ?
क्यानेडियन प्रधानमन्त्री ट्रुडोले सोमबार ‘भारत सरकारसँग जोडिएको हिंसात्मक आपराधिक गतिविधिमा चलिरहेको अनुसन्धान’ भन्दै एक वक्तव्य जारी गरेका थिए । जसमा उनले आफ्नो देशका एजेन्सीको अनुसन्धानमा ‘क्यानडाको जमिनमा क्यानेडियन नागरिक हरदीपसिंह निज्जरको हत्यामा भारत सरकारका एजेन्टको सिधा संलग्नता रहेको’ खुलेको बताएका छन् ।
रोयल क्यानेडियन माउन्टेन पुलिस(आरसिएमपी)को अनुसन्धानमा भारतीय राजदूतावासमा कार्यरत ६ जना अधिकारी आपराधिक गतिविधिमा रुचि राख्ने किसिमका पाइएको ट्रुडोको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा कसैको नाम भने उल्लेख छैन । तर यसमा क्यानडामा रहेका भारतीय राजदूत सञ्जयकुमार बर्मालाई समेत आरोप लगाइएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
‘आरसिएमपीका आयुक्त माइक डुहेमले आज भनेका छन्, आरसिएमपीसँग स्पष्ट प्रमाण छन्, जसमा भारत सरकारका अधिकारी यस्तो गतिविधिमा संलग्न हुने गरेका छन् । जो सार्वजनिक सुरक्षाका माथि एक ठुलो खतरा पैदा गर्छ,’ प्रधानमन्त्री ट्रुडोले भनेका छन्,‘जसमा गोप्य सूचना एकत्रित गर्ने, दक्षिण एसियाली मूलका क्यानेडियन नागरिकलाई लक्षित गरेर बलपूर्ण व्यवहार गर्ने र हत्याका एक दर्जन बढी धम्कीसहितका हिंस्रक काममा संलग्नताका घटना छन् ।’
यो विषयमा क्यानेडियन अनुसन्धानकर्ता र सुरक्षा अधिकारीले भारतीय पक्षसँग बारम्बार कुरा गर्न खोज्दा सहयोग नभएको ट्रुडोको वक्तव्यमा उल्लेख छ ।
भारत सरकार अहिले पनि सहयोग गर्न इन्कार गरिरहेकाले क्यानेडियन विदेश मन्त्री मेलानी जोलीले आपराधिक क्रियाकलापमा संलग्न ६ भारतीय अधिकारीलाई क्यानडा छोड्न निर्देशन गरिसकेको पनि ट्रुडोले भनेका छन् । ती अधिकारीहरूले अब क्यानडा छोड्नुपर्ने, आइन्दा क्यानडामा कूटनीतिक काम गर्न नपाउने र क्यानडा प्रवेश समेत नपाउने बताएका छन् ।
‘हामी क्यानडाको धरतीमा क्यानेडियन नागरिकलाई धम्क्याउने र मार्ने काममा विदेशी सरकारको संलग्नतालाई सहन्नौँ । जुन क्यानडाको सम्प्रभुता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उलंघन हो,’ ट्रुडोले अगाडि भनेका छन्,‘एक पटक फेरी पनि भारत सरकारसँग यो अनुसन्धानमा हामीलाई सहयोग गर्न आग्रह छ । भ्रामक बयानबाजी छाडेर हामीले देखाएका विश्वसनीय प्रमाण र जानकारी गम्भीरतापूर्वक लेओस् ।’ ट्रुडोले भारत र क्यानडा सम्बन्धको लामो सम्बन्ध पनि स्मरण गराएका छन् ।
ट्रुडोको वक्तव्यले भारत क्रुद्ध
यता निज्जर हत्याकाण्डमा भारत सरकारको संलग्नता भन्दै क्यानेडियन प्रधानमन्त्री ट्रुडो बयान दिएपछि भारत क्रुद्ध बनेको छ । उसले सोमबार नै भारतमा रहेका क्यानडाका ६ जना कूटनीतिक अधिकारीलाई देश छाड्न निर्देशन दिएको छ । भारतीय विदेश मन्त्रालयले यही अक्टोबर १९ तारिकको अन्त्यसम्ममा भारत छाड्न निर्देशन दिएको हो ।
यस्तै भारतले क्यानडासँगको कूटनीतिक संवादको समेत अन्त्य गरेको घोषणा गरेको छ ।
भारतीय विदेश मन्त्रालयले सोमबार साँझ वक्तव्य जारी गर्दै भनेको छ,‘ट्रुडो सरकारको रवैयाका कारण भारतीय कूटनीतिक अधिकारीको सुरक्षामा खतरा भएको छ । यसलाई मध्यनजर गर्दै भारतले क्यानडाबाट आफ्ना राजदूतसहितका कूटनीतिक अधिकारीलाई फिर्ता बोलाउने फैसला गरेको छ ।’ यस्तै भारतले क्यानडा सरकार भारत विरुद्ध पृथकतावादी अतिवादीको समर्थन गरिरहेको आरोप लगाएको छ । ‘यस विरुद्ध भारतलाई जवाफ दिने अधिकार छ’, भन्दै भारतीय विदेश मन्त्रालयले निज्जर हत्याको समर्थन जनाउने आशय वक्तव्यमा उल्लेख गरेको छ ।
विदेश मन्त्रालयको विज्ञप्तिमा ट्रुडोले ‘भोट बैंक’को राजनीति गरेको समेत आरोप लगाएको छ । ‘प्रधानमन्त्री जस्टिन ट्रुडो हिंसक अतिवादीलाई संरक्षण गरिरहेका छन् । जो क्यानडामा भारतीय कूटनीतिक अधिकारी र त्यहाँको समुदायलाई धम्की दिन्छन् । क्यानडाको सरकार अभिव्यक्ति स्वतन्त्रताको नाममा यस्तो गतिविधिमा स्वतन्त्रता दिइरहेको छ,’ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
निज्जर हत्याकाण्ड के हो ?
हरदीपसिंह निज्जर भारतीय मूलका क्यानेडियन नागरिक थिए । उनी क्यानडामा बस्दा त्यहाँका सिख धर्मका धार्मिक नेता बनेका थिए, क्यानडामा रहेको गुरु नानक सिख गुरुद्वाराका अध्यक्ष पनि थिए ।
गएको वर्ष सन् २०२३ जुन १८ मा गुरुद्वाराको पार्किङ क्षेत्रमा अज्ञात समूहले गोली हानेर निज्जरको हत्या गरेको थियो । जसमा भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ९रअ०को संलग्नता रहेको आशंसा गरिएको थियो ।
हत्या गरिएका सिख धार्मिक नेता हरदीपसिंह निज्जरनिज्जर भारत सरकारको ‘मोस्ट वान्टेड’ सूचीमा थिए । पन्जाबको जालन्धर जिल्लामा पुर्ख्यौली घर भएका उनलाई भारत सरकारले भारतलाई विभाजन गरेर खालिस्तान देश बनाउन चाहने पृथकतावादी संगठन खालिस्तान टाइगर फोर्सको प्रमुख रहेको दाबी गर्ने गर्छ । उनी क्यानडामा बसेर खालिस्तान टाइगर फोर्स सञ्चालन, परिचालन, नेटवर्किङ, प्रशिक्षण र आर्थिक सहायता दिएर भारतमा हिंसात्मक गतिविधिमा संलग्न रहेको भारतको आरोप रहँदै आएको थियो ।
यस क्रममा गत वर्ष निज्जरको हत्या भयो । त्यसपछि क्यानेडियन प्रधानमन्त्री ट्रुडोले क्यानडाको भूमिमा क्यानेडियन नागरिकको हत्यामा भारत सरकारको संलग्नता रहेको भन्दै विरोध गरेका थिए ।
२०२३ को सेप्टेम्बरमा ट्रुडोले क्यानडाको संसद्मा पहिलो पटक भारतको सम्भावित संलग्नताबारे वक्तव्य दिएका थिए । त्यसपछि अक्टोबरमा भारतले नयाँ दिल्लीमा रहेका ४० क्यानेडियन अधिकारीलाई फिर्ता पठाएको थियो ।
त्यसयता निज्जर हत्याकाण्ड प्रकरणले भारत–क्यानडाबिचको कूटनीतिक सम्बन्ध नराम्ररी खलबलिएर जटिल मोडमा पुगेको छ ।
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।
रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।
बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।
‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।
बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको,कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।
बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।
यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...