चीनले सहायतास्वरुप प्रदान गरेको कोभिड–१९ विरुद्धको खोप आज काठमाडौं आइपुगेको छ। कोभिड–१९ विरुद्धको ‘भेरासेल’ खोपको आठ लाख डोज खोपलगायत सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाजबाट काठमाडौं ल्याइएको हो।
सहायता सामग्री लिन साे विमान आइतबार साँझ चीनको राजधानी बेइजिङ उडेको थियो। उक्त विमान सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। सो खोप दिउँसो नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ।
सरकारको निर्णयअनुसार कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको ‘बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा उडान भरेको थियो।
यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।
कोभिड महामारीबाट विश्व अर्थतन्त्र एवं सामाजिक अवस्थामा प्रतिकूल असर परिरहेका बेला पुनः त्यसको नयाँ स्वरुपले थप समस्या सिर्जना गरेको छ। नेपालको परिवेशमा नागरिकसम्म पहिलो मात्राको पहुँच सहज गराउन सङ्घीय सरकार दत्तचित्त भइरहेका सन्दर्भमा निगमले दायित्व निर्वाह गरेको जनाइएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन्।
खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनिएपछि उनले आज नेपाल मुख्यसचिव शङ्करदास वैरागी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाई सो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन समेत निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले पद बहाली गरेलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट आगामी चैत भित्र खोप लगाउन आवश्यक पर्ने सबै समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइ सक्ने निर्णय गरेका थिए।