कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
१ मिनेट अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।




सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
अर्को समाचार
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
४ मिनेट अघि
•
१ मिनेट पाठ
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
काठमाडौं। अमेरिकी अनुदानमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका आयोजना निर्धारित समयमा सम्पन्न हुन नसक्ने भएपछि नेपालले थप एक वर्षको समय माग्ने प्रक्रिया अघि बढाएको छ। नेपाल सरकारको निर्णयसँगै आयोजनाको कार्यान्वयन अवधि एक वर्ष थप गर्ने प्रस्ताव अघि बढेको हो। तर यसको अन्तिम स्वीकृति भने अमेरिकी एमसीसी बोर्डबाट आउन बाँकी छ।




नेपाल सरकारले म्याद थपको औपचारिक अनुरोध एमसीसी बोर्डमा पठाउने तयारी गरेको छ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले प्रस्तावलाई स्वीकृति दिएमा आयोजनाले थप एक वर्ष निर्माणका लागि समय पाउनेछ।

यो निर्णयसँगै एमसीसी आयोजनाले तत्काल म्याद सकिने जोखिमबाट राहत पाउने सम्भावना बनेको छ। समय थपिनु मात्रै आयोजना सफलतापूर्वक सम्पन्न हुने सुनिश्चितता होइन। बाँकी निर्माण कार्य, ठेक्का व्यवस्थापन र विगतको ढिलाइको क्षतिपूर्ति गर्ने क्षमता नै अब मुख्य प्रश्न बनेको छ।

अमेरिकी नीतिको परिवर्तनले पनि प्रभावित भयो आयोजना

एमसीसी आयोजनाको ढिलाइमा नेपालको आन्तरिक व्यवस्थापकीय समस्या मात्र जिम्मेवार छैन। अमेरिकी वैदेशिक सहायता नीतिमा आएको परिवर्तनले समेत यसको कार्यान्वयन प्रभावित पारेको थियो।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि सन् २०२५ जनवरी २० देखि वैदेशिक सहायताको पुनरावलोकन प्रक्रिया सुरु भएको थियो। त्यसक्रममा नेपालस्थित एमसीसी परियोजनाको काम करिब सात महिना प्रभावित भएको मन्त्रालय स्रोतको भनाइ छ।

पुनरावलोकनकै क्रममा सन् २०२५ मार्चमा एमसीसीले अत्यावश्यक खरिद तथा कार्यालय सञ्चालनका काम अघि बढाउन अनुमति दिएको थियो। त्यसपछि जुलाईको अन्तिम साता अमेरिकी सरकारले परियोजनालाई निरन्तरता दिन सिफारिस गरेको थियो।

यसले नेपालमा कार्यान्वयन भइरहेका पूर्वाधार आयोजना बाह्य नीतिगत निर्णयबाट समेत प्रभावित हुन सक्ने देखाएको छ। ठूलो वैदेशिक अनुदानमा निर्भर परियोजनामा दुवै देशबीचको प्रशासनिक समन्वय र नीतिगत निरन्तरता कति महत्त्वपूर्ण हुन्छ भन्ने विषय पनि यसले उजागर गरेको छ।

बाढी र ठेक्का प्रक्रियाले थपियो कार्यान्वयनको चुनौती

अमेरिकी सहायता पुनरावलोकनबाहेक प्राकृतिक विपद् र ठेक्का प्रक्रियामा भएको ढिलाइ पनि म्याद थपको कारण बनेका छन्।

गत वर्ष र यस वर्ष त्रिशूली नदीमा आएको बाढीले आयोजनाका काम प्रभावित पारेको मन्त्रालय स्रोतको भनाइ छ। त्यस्तै, प्रसारण लाइन निर्माणका लागि पहिलोपटक आह्वान गरिएको बोलपत्रमा लागत अनुमानभन्दा करिब ६० प्रतिशत महँगो प्रस्ताव परेपछि २०८० असोज २६ मा सम्पूर्ण प्रक्रिया रद्द गरिएको थियो।

त्यसपछि पुनः बोलपत्र आह्वान, मूल्याङ्कन र ठेक्का प्रक्रियाका कारण निर्माण कार्य अघि बढ्न समय लागेको थियो। नयाँ ठेक्काहरूको निर्माण अवधि नै एमसीसी कम्प्याक्टको मूल समयसीमाभन्दा पछाडि पुगेपछि म्याद थप आवश्यक बनेको हो।

नेपालमा २०८० भदौ १३ देखि कार्यान्वयन सुरु भएको एमसीसी परियोजनाअन्तर्गत पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने व्यवस्था छ। निर्धारित समयभित्र काम पूरा हुन नसके अनुदान रकम फिर्ता जाने प्रावधान रहेकाले समय थपको विषय महत्त्वपूर्ण बनेको हो।

७४ करोड ७० लाख डलरको परियोजना, निर्माणको अवस्था के छ?

नेपालमा एमसीसीअन्तर्गत विद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक स्तरोन्नतिका आयोजना सञ्चालनमा छन्। कुल ७४ करोड ७० लाख अमेरिकी डलरको लागत रहेको परियोजनामा अमेरिकाको ५५ करोड डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख डलर लगानी छ।

सुरुमा अमेरिकी अनुदान ५० करोड डलर र नेपालको योगदान १३ करोड डलर रहने गरी सम्झौता भएको थियो। लागत बढेपछि नेपालले सन् २०२३ मेमा थप ६ करोड ७० लाख डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो। अमेरिकी पक्षले पनि थप पाँच करोड डलर अनुदान उपलब्ध गराएको थियो।

प्रसारण लाइन निर्माणतर्फ ३१५ किलोमिटरमध्ये न्यु बुटवल सबस्टेसनदेखि भारतीय सीमासम्मको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भइसकेको छ। बाँकी २९७ किलोमिटर प्रसारण लाइन तीनवटा प्याकेजमा ठेक्का लगाएर निर्माण अघि बढाइएको छ।

त्यस्तै, तनहुँको दमौली, नुवाकोटको रातमाटे र नवलपरासीमा निर्माण हुने ४०० केभी क्षमताका तीन सबस्टेसनको ठेक्का पनि लागिसकेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको धानखेतदेखि लमहीसम्मको सडक स्तरोन्नतिको ठेक्का पनि अघि बढेको छ।

यसले आयोजनाका मुख्य निर्माण कार्यले गति लिन थालेको देखाए पनि बाँकी संरचना निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने चुनौती कायम छ।

म्याद थप भए बढ्ने छ जवाफदेहिताको प्रश्न

एमसीसी आयोजनाको म्याद थप गर्ने निर्णयले निर्माणका लागि थप अवसर सिर्जना गरे पनि यससँगै खर्च र कार्यप्रगतिमाथि निगरानीको आवश्यकता पनि बढेको छ।

परियोजनाको कुल लागत नबढ्ने सर्तमा म्याद थप प्रक्रिया अघि बढाइएको बताइएको छ। त्यसैले थपिएको अवधिमा उपलब्ध बजेटको प्रभावकारी उपयोग, ठेकेदारको कार्यसम्पादन र निर्माणको गुणस्तर सुनिश्चित गर्नु सरकार तथा एमसीए–नेपालका लागि महत्त्वपूर्ण हुनेछ।

विशेषगरी प्रसारण लाइन र सबस्टेसन निर्माणमा ढिलाइ हुँदा त्यसको प्रभाव विद्युत् प्रसारण तथा क्षेत्रीय ऊर्जा व्यापारको योजनामा पर्न सक्छ। सडक स्तरोन्नतिको काम पनि समयमै सम्पन्न हुन नसके अपेक्षित पूर्वाधार लाभ प्राप्त गर्न ढिलाइ हुनेछ।

अब आयोजना कार्यान्वयन गर्ने निकायले प्रत्येक निर्माण प्याकेजको समयतालिका, भौतिक प्रगति र खर्चको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिन्छ।

बोर्डको निर्णयपछि मात्रै स्पष्ट हुनेछ आगामी बाटो

नेपाल सरकारले म्याद थपका लागि प्रक्रिया अघि बढाए पनि एमसीसी बोर्डको औपचारिक स्वीकृति आउन बाँकी छ। आगामी डिसेम्बरमा हुने बैठकबाट प्रस्ताव अनुमोदन भएमा आयोजनाले थप एक वर्ष पाउनेछ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एमसीसीका निमित्त उपाध्यक्ष ज्यासन स्मलबीच अमेरिकामा भएको भेटमा पनि समय थप गरेर परियोजना सफलतापूर्वक सम्पन्न गर्ने विषयमा सकारात्मक छलफल भएको थियो।

तर अबको चुनौती समय थप्ने निर्णयमा मात्र सीमित छैन। विगतमा विभिन्न कारणले रोकिएका र ढिलाइ भएका कामलाई निर्धारित समयभित्र सम्पन्न गर्नु मुख्य जिम्मेवारी हुनेछ।

एमसीसी परियोजनाको सफलता अनुदान रकम कति प्राप्त भयो वा म्याद कति थपियो भन्नेमा भन्दा त्यसबाट निर्माण हुने प्रसारण लाइन, सबस्टेसन र सडकले देशको पूर्वाधारमा कस्तो योगदान पुर्‍याउँछन् भन्नेमा निर्भर हुनेछ।
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
नेपाल सरकारले म्याद थपको औपचारिक अनुरोध एमसीसी बोर्डमा पठाउने तयारी गरेको छ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले प्रस्तावलाई स्वीकृति दिएमा आयोजनाले थ...
Whatsapp
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
Whatsapp
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
Whatsapp
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
पार्टी सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवा...
Whatsapp
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
यो पनि पढौँ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस