काठमाडौंका सबै बजार, व्यापार तथा व्यवसायलाई २४ घण्टा खुला गर्ने तयारी थालिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आवश्यक पूर्वाधार र भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लाभरका व्यापारिक क्षेत्र चौबिसै घण्टा सञ्चालन गर्ने योजना बनाएको हो।
जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै काठमाडौंलाई २४ घण्टा खुला गर्ने रणनीतिगत तयारी भइरहेको जनाएको छ।
यसअघि नै काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने निर्णय भइसकेको थियो।
काठमाडौं देशको संघीय राजधानी र महत्त्वपूर्ण क्षेत्र भएकाले जिल्लाभर नै २४ घण्टा व्यापार, व्यवसाय सञ्चालन गर्न आवश्यक तयारी भइरहेको प्रशासनले जनाएको छ।
यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्तीको पर्याप्त व्यवस्था मिलाउने तयारी भइरहेको छ। त्यस्तै, यातायात, व्यापार, व्यवसाय, स्वास्थ्य सेवा, आपूर्ति व्यवस्था र सुरक्षालाई भरपर्दो बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
जिल्लाका अन्य बजार तथा व्यापारिक क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने विषयमा स्थानीय तह, विभिन्न विभाग, सरकारी कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रसँग छिट्टै समन्वयात्मक बैठक आयोजना गरिने प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार आवश्यक तयारी पूरा भएपछि मात्रै काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने निर्णय गरिनेछ।
तर, तत्कालका लागि ठमेल र दरबारमार्गबाहेक अन्य क्षेत्रका व्यवसायीले भने पुरानै समयअनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्नुपर्नेछ। अर्को सूचना जारी नभएसम्म तोकिएको समयभन्दा बाहिर व्यवसाय सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ।
मुस्ताङ। नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य सुरु हुनसकेको छैन।
विसं २०७९ फागुनमा कोरलानाका क्षेत्रमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायतका संरचना निर्माण गर्ने उद्देश्यले सरकारले डिपिआर सर्भे गरेको थियो। त्यसअघि नै नाकाको नेपालतर्फ करिब एक हजार रोपनी जग्गा भन्सारलगायतका संरचना निर्माणका लागि नेपाल सरकारका नाममा प्राप्ति गरिएको थियो।
चीनसँगको व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले गरिएको सर्भे दुई महिनासम्म सञ्चालन भएको थियो। सो क्रममा प्रस्तावित पूर्वाधार निर्माणस्थलको भौगर्भिक अवस्था र माटो परीक्षणसमेत गरिएको थियो। तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिको योजनाअनुसार भन्सारसहितका आवश्यक संरचना निर्माणका लागि डिपिआर तयार गरिएको थियो।
सितारा इन्टुसीप–फुलराइट जेभीले रु एक करोड लागतमा ठेक्का सम्झौता गरी डिपिआर सर्भे सम्पन्न गरेको थियो। प्रतिवेदन सरकारलाई बुझाइएको लामो समय बितिसक्दासमेत पूर्वाधार निर्माणको काम सुरु नहुनु दुखद भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए।
चीनसँग सीमा जोडिएका नाकामध्ये कोरलानाका महत्वपूर्ण वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित भइसके पनि आवश्यक पूर्वाधार नहुँदा निकासी तथा पैठारी व्यापार व्यवस्थापन र पारवहन नाकाका रूपमा विकास गर्न समस्या भइरहेको अध्यक्ष विष्टको भनाइ छ।
नेपाल–चीन उत्तरी कोरलानाका उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको तीन वर्ष भइसकेको छ भने वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको पनि दुई वर्ष बितिसकेको छ। गत वर्ष यस नाकाबाट रु छ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्षको पहिलो चार महिनामै रु १२ अर्बभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ।
पछिल्लो समय कोरलानाकाबाट दैनिक ६० देखि ७० वटासम्म कन्टेनर र करिब १०० विद्युतीय गाडी नेपाल भित्रिने गरेका छन्। तर, आवश्यक भौतिक पूर्वाधार नहुँदा नाकाको सञ्चालन तथा सवारी व्यवस्थापनमा समस्या देखिएको छ।
तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द रहेको अवस्थामा नेपाल–चीन जोड्ने कोरलानाकामा व्यापारिक चहलपहल बढेको छ। बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै दैनिक सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन आवतजावत गरिरहेका छन्। नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि लोमान्थाङ–४ न्हेचुङस्थित भन्सार यार्डमा कन्टेनर र विद्युतीय सवारीको चाप बढेको छ। सडकका तीन लेनसम्म ढाकिने गरी कन्टेनर पार्किङ गर्दा कोरलानाका जाने मुख्य सडकमा यातायात आवागमन प्रभावित हुने गरेको छ।
सुक्खा बन्दरगाह नहुँदा कन्टेनर सडकमा अव्यवस्थित रूपमा रोक्नुपर्ने अवस्था रहेको र विद्युतीय गाडीसमेत खोला किनार तथा भिरको छेउमा असुरक्षित रूपमा राख्नुपर्ने बाध्यता रहेको बिवाइडी गाडी आयातकर्ता साइमेक्स इङ्कका प्रतिनिधि धर्मवीर मण्डलले बताए। नाकामा आवश्यक पूर्वाधार र चार्जिङ स्टेसन नहुँदा थप समस्या भइरहेको उनको भनाइ छ।
कोरलानाकाको अवलोकनमा सङ्घ तथा प्रदेशका मन्त्री र विशिष्ट व्यक्तिहरू पुग्ने गरे पनि पूर्वाधार निर्माणका लागि आश्वासनबाहेक ठोस काम अघि बढ्न नसकेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। गण्डकी प्रदेशको आर्थिक गतिविधि र व्यापारका लागि महत्वपूर्ण मानिएको यस नाकाको पूर्वाधार निर्माणमा ढिलाइ गर्न नहुने उनीहरूको माग छ।
यसै साता कोरलानाकाको अवलोकनमा पुगेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीसँग पनि स्थानीय जनप्रतिनिधिले नाकाबाट राजस्व सङ्कलनमा मात्र नभई आवश्यक पूर्वाधार निर्माणमा समेत ध्यान दिन आग्रह गरेका थिए। समितिका सभापति आशिष गजुरेलसमक्ष उनीहरूले कोरलानाकाको पूर्वाधार निर्माण र पहुँचमार्गको सडकलाई जतिसक्दो छिटो सहज बनाउन माग गरेका थिए।
कोरलानाका क्षेत्रमा मात्र नभई मुस्ताङ भन्सार कार्यालय रहेको लोमान्थाङ–४ न्हेचुङमा पनि सरकारी निकायका लागि विसं २०७५ मै जग्गा उपलब्ध गराइएको थियो। कोरलानाकास्थित लोमान्थाङ क्षेत्रमा विभिन्न सरकारी निकायका लागि एक हजार ४३६ रोपनी जग्गा उपलब्ध गराइएको थियो। त्यस्तै, नेपाली सेनालाई लोमान्थाङको थुर्लुङ फाँटमा एक हजार २७१ रोपनी जग्गा उपलब्ध गराइएको थियो।
न्हेचुङमा भन्सार कार्यालयका लागि १०९ रोपनी, अध्यागमन कार्यालयका लागि १२ रोपनी, नेपाल प्रहरीका लागि १३ रोपनी र सशस्त्र प्रहरीका लागि ३३ रोपनी जग्गा उपलब्ध गराइएको थियो। उपलब्ध गराइएको जग्गामध्ये सशस्त्र प्रहरीले भवन निर्माण गरिसकेको छ भने नेपाल प्रहरीले हालै भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ। भन्सार र अध्यागमन कार्यालयका भवन भने अझै निर्माण हुन सकेका छैनन्। भन्सार कार्यालयको स्तरोन्नति कार्य भने आंशिक रूपमा क्रमागत रूपमा भइरहेको छ। रासस
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...