वीरगन्ज– सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पोहोरको भन्दा १६.८० प्रतिशत बढी राजस्व उठाएको छ। १४ अर्ब ३ करोड ६८ लाख ७३ हजार राजस्व यस भन्सार कार्यालयले आर्थिक वर्ष २०७०/०७१ मा संकलन गरेको यहाँका प्रमुख भन्सार अधिकृत अच्चयुतप्रसाद सिवाकोटीले जानकारी दिए।
यो भनेको भन्सार विभागले यस कार्यालयका लागि अनुमान गरेको वार्षिक भन्सार असुलीको लक्ष्य १३ अर्ब ८४ करोड ९३ लाख ४२ हजारभन्दा १.३५ प्रतिशत बढी हो। सुख्खा बन्दरगाह भन्सारबाट अघिल्लो आर्थिक वर्ष २०६९/०७० मा १२ अर्ब १ करोड २८ लाख रुपैयाँ भन्सार राजस्व असुली भएको थियो। यसपाली सबभन्दा बढी असार महिनामा मासिक लक्ष्य १ अर्ब २४ करोड ५८ लाख ५८ हजारभन्दा ४९.९१ प्रतिशत अर्थात डेढ गुणा बढी राजस्व यस कार्यालयले संकलन गरेको छ। असारमा १ अर्ब ८६ करोड ७७ लाख ८७ हजार राजस्व असुली गर्न सुक्खा बन्दरगाह कार्यालय सफल भएको छ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयले साउनदेखि माघसम्म लगातार ७ महिना तोकिएको लक्ष्यअनुरुप राजस्व संकलन गर्न सकेको थिएन। ‘आर्थिक वर्षको सुरुदेखि नै लक्ष्य भेटाउन सकेका थिएनौं,' सिवाकोटीले भने, ‘त्यसका धेरै कारण देखिन्छन्।' नेपालका लागि तेस्रो मुलुकबाट सामान आउने कोलकतास्थित बन्दरगाहमा भारतीय भन्सार कार्यालयको काम असहज भएर पुसको अन्तिम सातादेखि करिब डेढ महिना नेपालका कन्टेनर त्यहाँ थन्किएका थिए। त्यस्तै सुक्खा बन्दरगाह भएर आउने भएको करिब ३ अर्ब २० करोड बराबरको १ सय ६६ ‘कन्साइमेन्ट'को आयातकर्ताले नाका परिवर्तन गरेपछि त्यसको ७० करोड ३२ लाख राजस्व पनि अन्तै गएको सिवाकोटी बताउँछन्।
भारतीय रेल्वेले मर्मत गरेको भन्दै नेपाल आउने मालवाहक रेल सञ्चालन पटकपटक रोकेकाले ‘कन्साइन्मेन्ट'को नाका व्यापारीले परिवर्तन गराएको उनको बुझाइ छ। अमेरिकी डलरको अस्थिर दरले पनि नेपाली आयातलाई असर पारेको सिवाकोटीले बताए। फागुनयता ५ महिनामा भने राजस्व असुलीमा सुधार भएपछि सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्य नाघ्न सकेको हो।
आर्थिक वर्ष २०७०/०७१ मा विदेशबाट सामान बोकेर आउने कन्टेनरको संख्या घटेको छ भने रेल कार्गोमार्फत सामान आयात बढेको छ। २०७० साउनदेखि २०७१ असारसम्म विदेशबाट सामान बोकेर आएका कन्टेनरको संख्या पाहोरको यसै अवधिको २० हजार ३ सय ९२ भन्दा १ हजार २ सय १६ वटा घटेको छ। यसपालि वर्षभरीमा १९ हजार १ सय ७६ मात्र कन्टेनर सुक्खा बन्दरगाह भएर नेपाल भित्रिएको छ। रेल कार्गोमार्फत आउने सामान भने २०७० साउनदेखि २०७१ असारसम्म पोहोरको भन्दा २२ प्रतिशत वृद्धि भएर १ लाख १० हजार मेट्रिक टन बढी आयात भएको छ। ६ लाख २० हजार मेटि्रक टन माल सामान रेल कार्गोबाट आसारसम्म एक वर्षभित्र आएको छ।
यसभन्दा अघिल्लो वर्ष त्यस्ता समान ५ लाख १० हजार मेट्रिक टन रेलमार्ग भएर सुक्खा बन्दरगाहबाट नेपाल भित्रिएको थियो। त्यस्ता कार्गोमा उद्योगको कच्चा पदार्थको रुपमा मंगाइने बिभिन्न खाले फलाम र बोराबन्द सामान रहने गरेका छन्।