निरन्तर ओरालो उद्योग व्यवसाय
२६ चैत्र २०७२
•
४३ मिनेट पाठ
निरन्तर ओरालो उद्योग व्यवसाय
विसं १९९० को महाभूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरले मुलुक पुनर्निर्माण र विकासको सपना देखे। तर, जनता वर्षौंदेखिको जहानियाँ शासनले थिचिएको अनि आधुनिक शिक्षा नै प्रारम्भ भइनसकेको त्यो पृष्ठभूमिमा त्यसको कार्यान्वयन फलामको चिउरासरह थियो।एक त विश्वयुद्धपछिको भद्रगोल स्थिति अर्कातिर निश्चित योजना, स्रोतसाधन अनि दक्ष जनशक्ति अभाव। विदेशी मुलुकले गरेको विकास र समृद्धिबारे सुनेपछि नेपाललाई पनि त्यस्तै बनाउने इच्छाकै बलमा उनले त्यो युगमा एउटा 'कठिन' सपना देखेका थिए। र, त्यसलाई केही हदसम्म साकार पनि पारे।

झन्डै ८२ वर्षपछि देशमा फेरि महाभूकम्प गयो। ठूलो धनजन क्षति भयो। सरकारले पुनर्निर्माण गर्न भन्दै दाताबाट ठूलो रकम जुटायो। त्यसमाथि भारतीय नाकाबन्दीले अर्को सकस थपिदियो।

भूकम्पपछिको विनाशका दृष्टिले यी दुई कालखण्डबीच लगभग समानता रहे पनि पुनर्निर्माण अघि बढाउन त्यो युगमा भन्दा अहिले निकै सुविधा र अवसर छन्। तर, एक वर्ष बित्दा पनि पीडितका घरसम्म बन्न सकेका छैनन्, औद्योगिक विकास त निकै परको कुरा। तानाशाही संस्कारमा हुर्किएका जुद्धशम्शेरजति पनि संवेदनशील देखिएनन् अहिलेका नेता, विपत्तिले पिल्सिएका जनताप्रति।

जुद्धशम्शेरको इच्छाशक्तिका कारण ९० सालको महाभूकम्पपछि देशमा पुनर्निर्माण र औद्योगिकीकरणले गति लिएको ठान्छन्, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका प्राध्यापक पुस्कर वज्राचार्य। 'त्यो अवस्थामा जुद्धशम्शेरले नै नेपाललाई पुनर्निर्माण र औद्योगिकीकरणतर्फ डोर्‍याएका हुन्,' उनले भने।

नेपालमा उद्योग भनेको के हो भन्ने थाहा नभइसकेका बेला उनले बेलायतले गरेको प्रगति सुने। त्यसको वस्तुस्थिति बुझ्न सरदार विजय शम्शेर र गुञ्जमान सिंहलाई बेलायत पठाए। त्यो टोलीले पत्तो लगायो– बेलायतले औद्योगिक विकासकै कारण समृद्धि हासिल गरेको रहेछ।

त्यसपछि जुद्धशम्शेरले पनि मुलुकमा औद्योगिक विकास गर्ने निर्णय लिए।

त्यही युगमा मुलुकमा औद्योगिकीकरणको पहिलो चरणमा प्रवेश गरेको बताउँछन्, पूर्वअर्थमन्त्री डा. रामशरण महत। 'त्यस बेला निजी क्षेत्र र राणाहरूको लगानीमा केही उद्योग स्थापना भए,' उनी भन्छन्, 'विश्वयुद्धपछिको अभाव पूर्ति गर्न उनीहरूले उद्योग स्थापना गरेको देखिन्छ।'

जुद्धशम्शेरले सुरुमा कानुन निर्माण गरे। त्यस बेलासम्म देशमा कुनै पनि कम्पनी खोल्न अनुमति थिएन। कानुनी रूपमै सर्वसाधारणले कम्पनी खोल्न पाउने गरी 'कम्पनी एक्ट १९९२' बनाए।

कानुन बने पनि उद्योग सञ्चालन गर्न दक्ष जनशक्ति थिएन। त्यसैले उनले दोस्रो काम 'घरेलु इलम प्रसार अड्डा' स्थापना गरे। त्यसमार्फत सर्वसाधारणलाई सीपमूलक तालिम दिने योजना थियो। अहिले साना, लघु तथा घरेलु विकास समिति, उद्योग विभागले गर्ने कामको सुरुआत थियो त्यो।

त्यसपछिको आवश्यकता पुँजी लगानी थियो। आर्थिक लगानी नभई उद्योग चल्दैन, त्यसका लागि बैंक चाहिने कुरा जुद्धशम्शेरले बुझिसकेका थिए। उनले नेपालमै पहिलोपटक १९९४ कात्तिक ३० गते नेपाल बैंक लिमिटेड स्थापना गरे। यससँगै औद्योगिक विकासलाई आवश्यक पूर्वाधार विकास गर्दै गए।

यसअघि विराटनगर जुट मिल (विसं १९९३) स्थापना भइसकेको थियो। यद्यपि यो जुद्धशम्शेरले नभएर भारत, कटिहाराका उद्योगपति लायलकाले स्थापना गरेका थिए। भारतीय स्वतन्त्रता संग्राममा सघाएको भन्दै तत्कालीन ब्रिटिस शासकले देशनिकाला गरेपछि उनी जोगबनी हुँदै नेपाल छिरे। आफूसँग ल्याएको धनसम्पत्ति लगानी गरी 'विराटनगर जुटमिल' स्थापना गरे। पछि उद्योग दर्ता गर्दा तत्कालीन सरकारले ७ प्रतिशत मात्र सेयर लिएको थियो।

विराटनगर जुटमिल 'एक्सिडेन्ट्ली' सुरु भए पनि २००७ सालसम्म आइपुग्दा ६५ वटा कम्पनी दर्ता भइसकेको प्रोफेसर वज्राचार्य बताउँछन्। 'सात सालको क्रान्ति, राजनीतिक परिवर्तनपछि भने उद्योग विकासक्रम 'लल' (मत्थर) भयो,' उनी भन्छन्, 'कतिपय उद्योग बन्द पनि भए।' राजनीतिक परिवर्तनपछि ३० वटा उद्योग मात्र राम्ररी चलेको वज्राचार्यको अनुभव छ।

औद्योगिकीकरणमा संस्थान

नेपालको औद्योगिकीकरणका लागि सार्वजनिक संस्थानले महŒवपूर्ण भूमिका खेलेका छन्। अर्थ मन्त्रालय सार्वजनिक संस्थान महाशाखाका उपसचिव डा. वासुदेव शर्मा पौडल त्यति बेला सार्वजनिक संस्थान स्थापना नभएको भए अर्थतन्त्रमा देश निकै पछि पर्ने बताउँछन्।

२००४ देखि २०१७ सालसम्म औद्योगिक विकास हुन सकेन। निजी क्षेत्र आउन सकेनन्। त्यही अभाव पूरा गर्न सरकारले नै सार्वजनिक संस्थान सुरु गरेको थियो।

त्यस बेला विश्वमै सार्वजनिक संस्थान स्थापनाको लहर थियो। सुरुआत बेलायतबाट भएको थियो। 'सरकारले कमान्ड एन्ड कन्ट्रोल इकोनोमी माध्यमबाट राज्यव्यवस्था अगाडि बढाउनुपर्छ भन्ने सिद्धान्तका आधारमा संस्थान सुरु भएका हुन्,' उपसचिव पौडेल भन्छन्, 'नेपालको सन्दर्भमा पनि यही हो।' चीन, अमेरिका, युरोप, अस्ट्रेलिया, मध्यपूर्वलगायत देशले सार्वजनिक संस्थानकै माध्यमबाट लगानी प्रभावित गरी आर्थिक आम्दानी गरिरहेको उनको भनाइ छ।

नेपालमा पनि सार्वजनिक संस्थानको प्रारम्भ उपयुक्त समयमा भएको ठान्छन् विज्ञहरू। 'जुन बखत निजी पुँजी आकर्षित थिएन, सरकारले उद्योग खोल्नु बाध्यकारी अवस्था थियो,' पूर्वअर्थमन्त्री महत भन्छन्। सार्वजनिक संस्थान स्थापना नेपाल आफैंले भने गरेको होइन। चीन र रसियाले सहयोग गरिदिएका थिए। ती उद्योग सरकारले संस्थानमार्फत आफूले लियो।

रुसले २०२१ सालमा जनकपुर चुरोट कारखाना बनाइदियो। त्यस बेला नेपालमा आयात हुने वस्तुमध्ये चुरोट दोस्रो नम्बरमा थियो। यहाँ सुर्ती खेती राम्रो हुने र आयात पनि घट्ने हुनाले चुरोट कारखाना स्थापना गरिएको थियो। चीनले कपडा कारखाना, बाँसबारी जुत्ता कारखाना र दुइटा टायल कारखाना स्थापना गरिदियो। सरकारी तथ्यांकअनुसार २०४९ सालसम्म देशमा ६६ वटा सार्वजनिक संस्थान स्थापना भइसकेका थिए। तीमध्ये ४० वटा उत्पादनमूलक उद्योग नै थिए।

देशलाई आवश्यक औद्योगिक, व्यापारिक, सेवाक्षेत्र, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा समेट्न संस्थान स्थापना भएका थिए। संस्थानअन्तर्गतका उद्योगले उत्कृष्ट उत्पादन पनि गर्न थाले। ६ वर्षअघि बन्द भएको जनकपुर चुरोट कारखाना सुरुदेखि नाफामा थियो। २०४३ सालमा नेपालको सबैभन्दा धेरै नाफा (७ करोड २० लाख रुपैयाँ) कमाउने कम्पनी भएको वज्राचार्य बताउँछन्। गोरखकाली टायर, बाँसबारी छालाजुत्ता कारखाना, चिनी कारखाना, कपडा कारखानाजस्ता उद्योगले देशलाई औद्योगिकीकरणतर्फ डोहोर्यालइरहेका थिए।

अहिले पनि विश्वकै उत्कृष्ट मानिने उदयपुर सिमेन्ट बजारमा चाहिएजति पाइँदैन। यसले बजारका कुनै पनि सिमेन्टसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्छ तर उत्पादन भने ३२ प्रतिशतभन्दा माथि हुन सकेको छैन। राम्रो हुँदाहुँदै पनि कारखाना घाटामा चलिरहेको छ।

सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०७२ को तथ्यांकअनुसार अस्तित्वमा रहेका ३७ संस्थानमध्ये १८ वटा खुद नाफामा छन् भने १५ वटा खुद नोक्सानमा ।

सन् १९९० को दशकपछि सार्वजनिक संस्थानको अवधारणा परिवर्तन हुँदै गयो। सरकारले व्यवसाय गर्नु हुँदैन भन्ने आवाज उठ्यो, अर्कातिर संस्थानले प्रभावकारी काम गर्न सकेनन्। सरकारले चलाउँदा उत्पादनभन्दा लागत बढी, राजनीतिक हस्तक्षेप र 'ह्वाइट एलिफेन्ट'को रूप लिने सोच विश्वभरि नै उदायो।

संस्थान सुरुआत गर्ने बेलायतले नै निजीकरण सुरु गर्योर। नेपालमा पनि संस्थान दिनप्रतिदिन ओह्रालो लागिरहेका थिए। पञ्चायतको अन्तिमतिर यहाँ पनि निजीकरण सोच आइसकेको पूर्वमन्त्री महत बताउँछन्।

जसरी सार्वजनिक संस्थानले उत्कृष्ट उत्पादन दिन थालेका थिए, त्यो बेला नै सही व्यवस्थापनमार्फत चलाउनुपर्ने विज्ञको धारणा छ। सरकारले तिनीहरूलाई सही व्यवस्थापन गरेर नयाँ उद्योग स्थापनातिर हात हाल्नुपर्थ्यो भन्छन्, प्राध्यापक वज्राचार्य। 'चाहिनेभन्दा धेरै समय सार्वजनिक संस्थानले हात हाल्यो,' उनी भन्छन्, 'इन्ट्री सही तर 'एक्जिट' हुन जानेनन्।'

संस्थान डुब्नुको कारण अत्यधिक राजनीतिक हस्तक्षेप, व्यवस्थापकीय क्षमता अभाव, जथाभाबी नियुक्ति, प्रतिस्पर्धात्मक क्षमतामा ह्रास, ढिलासुस्ती, माथिको नियन्त्रण, समयमा निर्णय लिन नसक्ने, आम्दानीभन्दा खर्च बढी, सरकारको ढुकुटीबाट उनीहरूको घाटा पूर्ति गर्नुपर्ने अवस्था बताउँछन्, पूर्वअर्थमन्त्री महत।

संस्थान यस्तै समस्याबाट गुजि्रन थालेपछि निजीकरण सुरु भएको हो। आठौं पञ्चवर्षीय योजनाबाट उदार अर्थनीति अवलम्बन गर्ने योजनासहित सार्वजनिक निजीकरण र सुधारको काम थालियो। संस्थान स्थापना जति जरुरी थियो, निजीकरण आवश्यकता पनि त्यति नै रहेको विज्ञको भनाइ छ। 'संस्थान निजीकरण आवश्यकता हो,' निजीकरण सूत्रधार मानिने उदारवादी अर्थतन्त्र पक्षधर महतले भने, 'नेपालमा निजीकरण जसरी भयो त्यो उदाहरणीय छ। अत्यन्त पारदर्शी ढंगबाट भएको छ, जहाँ सरकारको पनि सेयर हुन्छ।' उदार अर्थव्यवस्था अवलम्बन भएपछि ३० वटा संस्थान निजीकरण गरियो।

अझै पनि राष्ट्रले ठूलो घाटा बेहोरिरहेका संस्थानमा रकम खर्चिरहनुपरेको छ। त्यसो भए अबको बाटो के त?

'दुई विकल्प छन्,' उपसचिव पौडेल भन्छन्, 'पहिलो घाटामा गएका संस्थानलाई उपयुक्त मोडलमा निजीकरण गर्ने। दोस्रो, संस्थानमा सुधार गर्ने।' यसो गरे मात्र संस्थान चल्न सक्ने, सरकारलाई बोझ कम हुने र औद्योगिक वातावरण बन्ने उनको बुझाइ छ।

पौडेलले दोस्रो विकल्पका रूपमा संस्थानभित्रै 'रिफर्म' लाई अगाडि सारेका छन्। अहिले पनि केही संस्थानको आवश्यकता नकार्न सकिँदैन। निजीक्षेत्र पुग्न नसक्ने दुर्गम ठाउँमा, आपत्कालीन अवस्थामा संस्थानको आवश्यकता बढी देखिन्छ। भूकम्प र भारतीय नाकाबन्दीका बेला केही संस्थानले गरेको प्रभावकारी सेवाबाट पनि यसको आवश्यकता देखिने पौडेलको भनाइ छ। 'अहिलेका ३७ संस्थानलाई सीमित संख्यामा झार्नुपर्छ,' पौडेल भन्छन्, 'चारपाँचवटा संस्थान मिलाएर एक बनाउन सकिने ठाउँ छ।' उनका अनुसार औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा एक–एक मात्र संस्थान भए पुग्छ।

शिखरबाट झर्दै निर्यात व्यवसाय

शिखरमा पुग्नुभन्दा त्यहाँ टिकिरहनु महŒवपूर्ण हो भन्ने नेपालको निर्यात व्यवसायमा ठ्याक्कै लागू हुन्छ। एकताका नेपालबाट धान–मकै निकै निर्यात हुन्थ्यो। केही वर्षअघिसम्म कार्पेट, गार्मेन्ट, पस्मिना निर्यात उच्च थियो। त्यसलाई कायम राख्न सकेको भए आज देशको अर्थतन्त्र अर्कै हुन्थ्यो।

पूर्वी भागमा रहेका तिब्बती शरणार्थीलाई लक्षित गरेर सन् १९६७ ताका स्विट्जरल्यान्ड सरकारको सहयोगमा ललितपुर, एकान्तकुनामा ह्यान्डिक्राफ्ट ट्रेनिङ सेन्टर स्थापना भएको थियो। उनीहरूलाई दिइने तालिममध्ये एउटा थियो, कार्पेट बुनाइ। 'तिब्बती शरणार्थीले नेपालमा कार्पेट बुन्न थालेका थिए,' प्रोफेसर वज्राचार्य भन्छन्, 'यसले विस्तारै व्यावसायिक रूप लिँदै गयो।'

काठमाडौंमा कार्पेट बुन्न थालेको १० वर्षसम्म निर्यात हुन सकेको थिएन। आन्तरिक बजारमा खपत भइरहेको कार्पेट बेलाबेला प्रदर्शनी हुन्थ्यो। 'पहिलो कार्पेट प्रदर्शनी काठमाडौं इन्द्रचोकदेखि जनबहालसम्म भएको थियो,' वज्राचार्य भन्छन्, 'सानो कोरिडोरमा झ्यालझ्यालबाट झुन्ड्याएर कार्पेट प्रदर्शनीमा राखिएको थियो।' त्यसै गरी प्रदर्शनीमा राख्दा पर्यटकका रुपमा आएका विदेशीले किन्न थाले। त्यसपछि नेपालमा ६० नटवाला कार्पेट बन्न थाल्यो।

सन् १९७७ मा मोरक्कोको अर्थतन्त्र धराशायी भइदियो। त्यति बेला मोरक्को कार्पेट निर्यात गर्ने एक नम्बर देश थियो। त्यसपछि मोरक्काली कार्पेटको बजार नेपाली कार्पेटले लिएको प्रोफेसर वज्राचार्य बताउँछन्। सन् १९८० र ९० को दशकसम्म नेपाली कार्पेट उद्योग दिनप्रतिदिन उकालो लागिरह्यो। युरोपमा धेरै रुचाइयो। सन् १९९४ सम्म कार्पेटका १० हजारभन्दा बढी फ्याक्ट्री स्थापित थिए। तिनमा ४ लाख भन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएको वज्राचार्य सम्झन्छन्।

सन् १९९० दशक अन्तिमतिरबाट नेपाली कार्पेट व्यवसाय धराशायी हुन पुग्यो। 'यसको कारण नेपाली व्यवसायी आफैं हुन्,' वज्राचार्य भन्छन्। उनका अनुसार मुख्य दुई कारण छन्। पहिलो, नेपालका कार्पेट उद्योगमा बालश्रमिक प्रयोग गरिन्छ भनेर तयार पारिएका १५ मिनेटका दुई भिडियो जर्मनीमा देखाउनु। त्यस बेला बालश्रमिक प्रयोग नभएका होइनन् तर थोरै मात्रामा। प्रचार भने सबै उद्योगमा बालश्रमिक रहेको जसरी भयो। धराशायी हुनुको दोस्रो कारण हो, 'झिन्डु' प्रयोग। झिन्डु भनेको टुक्रा–टुक्रा उन गाँसेर नयाँ धागो बनाउने र पुनःप्रयोग गर्ने विधि हो। यसरी बनाएको धागो बलियो हँुदैन। अस्वस्थ प्रतिस्पर्धा र व्यावसायिक बन्न नसक्दा कार्पेट निर्यात दिनप्रतिदिन घट्दै गयो। सन् १९९४ मा नेपालले ३६ लाख स्क्वायर मिटर (३.६ मिलियन स्क्वायर मिटर) कार्पेट निर्यात गरेको थियो, अहिले ३ लाख स्क्वायर मिटर मात्र हुन्छ।

गार्मेन्ट र पस्मिना निर्यात व्यवसाय पनि शिखरमा पुगेर ओरालो लागेको छ। मल्टिफाइभर एरेन्जमेन्ट (एमएफए) लागू भएपछि नेपाललाई कोटा नलागेको सुविधा उपभोग गर्न भारतीय लगानीकर्ता नेपाल छिर्न थाले। सन् १९८२ तिर छिरेका ती व्यवसायीले गार्मेन्ट उद्योग स्थापना गरे। उनीहरू आफ्नै कामदार, प्रविधि, कच्चा लिएर आएका थिए। बिस्तारै नेपालीले पनि यसको सिको गर्दै गार्मेन्ट उद्योग सञ्चालन गर्न थाले। सन् १९९९ मा गार्मेन्टले कार्पेटलाई उछिनेर नेपालको नम्बर एक निर्यात वस्तु भयो। एक वर्षमा १३ अर्ब रुपैयाँसम्मको गार्मेन्ट निकासी भएको थियो।

नेपाल विश्व व्यापार संगठन (डब्लुटिओ) मा प्रवेशपछि नेपाली गार्मेन्ट उद्योग ओरालो लागेको देखिन्छ। गार्मेन्ट उद्योगले विश्वबजारमा प्रतिस्पर्धा गर्न सकेनन्। 'नेपालको प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ। मूल्यमा प्रतिस्पर्धी बन्न सक्नुपर्छ भन्ने सुझावसहित कार्यपत्र प्रस्तुत गरेको थिएँ,' वज्राचार्य भन्छन्, 'त्यस बेला मेरो कुरा कसैले सुनेन।'

बंगलादेशको गार्मेन्ट उद्योग विश्वकै उदाहरणीय मानिन्छ। कोरियनले सुरु गरिदिएको उक्त उद्योगमा नयाँ प्रविधि थियो। नेपालमा भनेे कार्पेट, गार्मेन्ट र अन्य घरेलु वस्तु उत्पादनमा विदेशीलाई छिर्न नदिँदा प्रविधी भित्रिन सकेन। परिणाम, लागत बढी हुँदा नेपाली गार्मेन्टले प्रतिस्पर्धा गर्न सक्नेनन्। २००६ मा बंगलादेशले ५७ प्रतिशतसम्म लागत मूल्य झारेको थियो। यस्तै प्राविधिक कारणले पस्मिना, वनस्पति घिउ पनि टिक्न सकेनन्।

निर्यात व्यवसाय अहिले पनि ओरालोमा छ। दिनप्रतिदिन आयात र निर्यातको खाडल झन्पछि झन् ठूलो हुँदै छ। अझै पनि नेपाल मुख्य निर्यात वस्तु भनेको औद्योगिक उत्पादन नै हो। ह्यान्डिक्राफ्ट, गार्मेन्ट, अलैंची, जस्तापाता निर्यात भइरहेका छन् तर बढ्नेभन्दा घट्ने क्रम बढी छ। बेलैमा ध्यान नदिए कार्पेट, गार्मेन्टकै हालत अन्य निर्यात व्यवसायले पनि नभोग्लान् भन्न सकिन्न।

औद्योगिक क्षेत्र राजनीतिक थलो

पाँचै विकास क्षेत्रमा पर्ने गरी स्थापना गरिएका औद्योगिक क्षेत्र पञ्चायतकालको महŒवपूर्ण देन मानिन्छ। सार्वजनिक संस्थानजस्तै औद्योगिक क्षेत्र स्थापना पनि निकै राम्रो थालनी मान्छन् उपसचिव पौडेल। २०४० सालअघि नै स्थापित यी औद्योगिक क्षेत्रले नेपालको औद्योगिक विकासमा राम्रो सुरुआत गरेका थिए। तर, पछिल्ला दिन सरकार परिवर्तन, राजनीतिक अस्थिरता र व्यस्थापकीय कमजोरीका कारण औद्योगिक क्षेत्रहरूबाट राम्रो प्रतिफल आउन सकेको छैन। २०४६ साल र २०६३ को आन्दोलनपछि ती क्षेत्र राजनीति गर्ने अखडा बनिरहेका छन्।

देशभरका १० औद्योगिक क्षेत्र अहिले प्रमुख राजनीतिक दलका अड्डा बनेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापनका कर्मचारी नियुक्ति र सरुवादेखि मजदुरसम्मका काम ट्रेड युनियनमार्फत प्रमुख राजनीतिक दलले गर्छन्। राजनीतिक पक्षविपक्ष कतिसम्म भने बेलाबेला व्यवस्थापन र उद्योगपतिबीच बोलचाल समेत हुँदैन।

राजनीतिक नियुक्ति लिएर नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष बनेका नन्दकिशोर बस्नेत यो क्षेत्र राजनीतिक अखडा बनेको स्विकार्छन्। २०१९ सालमा स्थापित पहिलो बालाजु औद्योगिक क्षेत्रमा मात्र १ सय २० वटा उद्योग छन्। अर्को ठूलो औद्योगिक क्षेत्र हेटौंडामा १ सय १५ उद्योग छन्। त्यसबाहेक ललितपुरको पाटन, भक्तपुर, नेपालगन्ज, बुटवल, सुर्खेत वीरेन्द्रनगर, धरान र पोखरा औद्योगिक क्षेत्र सञ्चालनमा छन्। बस्नेतका अनुसार यी सबै क्षेत्रमा हाल साढे ७ सय उद्योग छन् भने २० हजारले रोजगारी पाएका छन्। यी क्षेत्रमा गैरउत्पादनमूलक उद्योगसमेत राखिएको छ।

सप्तरी, राजविराजमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र चल्न सकेको छैन। आपराधिक गतिविधि, चन्दादेखी राजनीतिक दबाबका कारण औद्योगिक क्षेत्र चल्न नसकेको बस्नेतको भनाइ छ। २०४१ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा धनकुटामा औद्योगिक क्षेत्र घोषणा भयो तर त्यो अहिलेसम्म कार्यान्वयनमा आएन।

बालाजु औद्योगिक क्षेत्र माओवादी शान्तिप्रक्रियामा आएपछि उनीहरूको कब्जामा गयो। यसअघिका उद्योगमन्त्री महेश बस्नेतलाई ६ महिनासम्म उक्त क्षेत्रमा छिर्न नदिइएको नन्दकिशोर बताउँछन्। नन्दकिशोर अध्यक्ष भएपछि एमालेबाट उद्योगमन्त्री बनेका बस्नेतलाई बालाजु छिर्ने व्यवस्था मिलाएका थिए। 'यहाँ कोक, बिस्कुट निःशुल्क खान पाइने। पिट्ने मान्छे निःशुल्क पाइने र पैसासमेत पाइने भएकाले माओवादीले कब्जामा राखेका थिए,' उनी भन्छन्।

अहिले पनि पाटन औद्योगिक क्षेत्र माओवादी समर्थक ट्रेड युनियनको कब्जामा छ। त्यस्तै, हेटौंडा औद्योगिक क्षेत्रमा एमाले, पोखरामा माओवादी, नेपालगन्जमा एमाले, कांग्रेस, माओवादी र बुटवलमा एमाले र माओवादी निकट ट्रेड युनियनको दबदबा रहेको बस्नेत बताउँछन्।

औद्योगिक क्षेत्र व्यवस्थाप जिम्मा लिएको निकाय निकै कमजोर अवस्थमा छ। औद्योगिक क्षेत्र भाडामा दिने र भाडा उठाउनेबाहेक केही काम गर्न नसकेको उपसचिव पौडलको भनाइ छ। 'त्यसभित्र कार्टेलिङ छ, भाडा बढाउन दिँदैनन्, आफूआफू मिल्छन्, व्यवस्थापन निकै कमजोर छ,' पौडेल भन्छन्, 'त्यो जग्गालाई भरपूर प्रयोग गर्न 'रिफर्म' जरुरी छ।' सबै औद्योगिक क्षेत्रलाई पब्लिक प्राइभेट पार्टनरसिपमा लैजान जरुरी भएको र एउटै कम्पनी बनाएर राजनीतिक प्रभावबाट टाढा राख्नुपर्ने उनको सुझाव छ।

भइरहेकै औद्योगिक क्षेत्र राम्ररी व्यवस्थापन गर्न नसकिरहेका बेला सरकारले नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न योजना अघि सारेको छ। उद्योगमन्त्री सोमप्रसाद पाण्डेले राज्यको नयाँ संरचनाअनुसार प्रत्येक प्रदेशमा पर्ने गरी सातवटा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना रहेको बताएका छन्। हजार बिघा क्षेत्रफलमा रहने गरी पाँचवटा औद्योगिक क्षेत्र पहिचान भइसकेको उनको भनाइ छ।

नयाँ औद्योगिक क्षेत्रको आवश्यकता भए पनि सञ्चालन कहिले हुने र व्यवस्थापन कस्तो हुने भन्नेमा भर पर्ने बताउँछन्, नेपाल उद्योग परिसंघ अध्यक्ष तथा व्यवसायी हरिभक्त शर्मा। 'सरकारको सोच राम्रो हो,' उनले भने, 'यसको कार्यान्वयन र व्यवस्थापन ठूलो कुरा हो।' विशेष आर्थिक क्षेत्र (सेज) बनाउन सुरु गरेको १२ वर्ष भएको छ तर अहिलेसम्म कानुन बनेर सञ्चालन हुन सकेको छैन। नयाँ औद्योगिक क्षेत्रको पनि यस्तै अवस्था निम्तिन सक्ने धेरैको भनाइ छ।

औद्योगिक क्षेत्रभित्र बन्द, हडताल नहुने, पूर्वाधार निर्माण र बिजुली उपलब्ध हुनेमा व्यवसायी विश्वस्त छैनन्। बस्नेत नयाँ औद्योगिक क्षेत्रका लागि ५ सय मेगावाट विद्युत चाहिने बताउँछन्। यसको जोहो गर्न राज्यलाई हम्मे पर्ने देखिन्छ। अहिले पनि विद्युत नपाउँदा देशभरका औद्योगिक करिडोर, औद्योगिक क्षेत्रका कतिपय उद्योग पूर्ण सञ्चालन हुन सकेका छैनन्।

'इन्डस्ट्रियल डिस्ट्रिक्ट' भन्दा पनि 'इन्डस्ट्रियल जोनिङ'को आवश्यकता रहेको औंल्याउँछन्, वज्राचार्य, जहाँ बस्ती र औद्योगिक क्षेत्र छुट्टाछुट्टै हुन्।

औद्योगिक क्षेत्र, औद्योगिक पार्क, विशेष आर्थिक क्षेत्रको आवश्यकता रहेको पूर्वअर्थमन्त्री महतको भनाइ छ। उनी अर्थमन्त्री हुँदा करिब १२ वर्षअघि सेजका लागि बजेट छुट्ट्याउन सुरु गरेका थिए तर अहिलेसम्म एउटा पनि सेज सञ्चालन हुन सकेको छैन।

औद्योगिक करिडोर बनाएर उद्योग विकास गर्न सकिने बताउँछन्, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) का रेसिडेन्ट सिनियर इकोनोमिस्ट वासुदेव गुहा–खास्नोविज।

निजी क्षेत्र उदय र आशा
२०१६ सालमा एनआइडिसी बैंक स्थापना भयो। उद्योगलाई ऋण दिन, पुँजीको अभाव पूर्ति गर्न, खास गरी निजी क्षेत्रका उद्योग प्रवर्द्धन गर्न विकास बैंकको आवश्यकता महसुस गरिएको थियो। यो बैंकबाट निजी क्षेत्रलाई चाहिने केही लगानी सुरु भएको पूर्वअर्थमन्त्री महतको भनाइ छ।

२० र ३० को दशकमै केही सहुलियत दिएर उद्योग स्थापना गर्ने सोच देखिन्छ। पहिला आयातमुखी उद्योग खाद्य पदार्थ, फुड प्रोसेसिङ, टेक्सटायल, चिनी मिल, तेल मिल स्थापना भए। त्यसपछि भने निर्यातमुखी उद्योग कार्पेट, गार्मेन्ट, पस्मिनालगायत उत्पादन आरम्भ गरिए।

यसै समयमा सार्वजनिक संस्थानको व्यवस्थापन खस्किँदै गयो भने निजी क्षेत्रको उदय भएको वज्राचार्य बताउँछन्। २०४८ सालमा नेपाली कांग्रेसको सरकार स्थापनापछि तत्कालीन अर्थमन्त्री महतले अवलम्बन गरेको उदार अर्थतन्त्र नीतिसहित आठौं योजना आएको थियो। त्यसले निजी क्षेत्र अर्थतन्त्रको मूल खम्बा हो भन्ने नीति लिएको थियो।

तत्कालीन सरकारले निजी क्षेत्रलाई स्वतन्त्र व्यवसायको वातावरण बनाउन केही महŒवपूर्ण निर्णय गरेको महतको भनाइ छ। त्यस बेलासम्म व्यवसाय गर्नुपहिला सरकारबाट लाइसेन्स लिनुपर्ने प्रावधान थियो। त्यसलाई हटाएर खुला अर्थतन्त्र अभ्यास सुरु गरेका थिए महतले।

'निजीक्षेत्रलाई यसरी कुण्ठित बनाएर राख्न हुँदैन भन्ने हाम्रो मान्यता थियो,' महत भन्छन्, 'विश्वव्यापी लहर पनि उदार अर्थनीतिकै थियो।' सरकारी उद्योग घाटामा गएको, निजी क्षेत्र प्रोत्साहित नभएको र नयाँ व्यवस्थापकीय क्षमता उद्योगधन्दामा नआइसकेको अवस्थालाई ध्यानमा राखेर उदार अर्थनीति अपनाइएको महत बताउँछन्।

'नेगेटिभ लिस्ट'मा रहेका, स्वास्थ्य–पर्यावरणलाई हानिकारक, सुरक्षासँग सम्बन्धित बाहेक अरू उद्योगलाई लाइसेन्स नचाहिने व्यवस्था त्यो सरकारले गरेको थियो। लाइसेन्स प्रथा, पर्मिट प्रथा, टिप्पणी राज, ब्युरोक््रय्राटिक व्यवधान, उद्योग लाइसेन्स, कच्चा पदार्थ लाइसेन्स, विदेशी मुद्रा, विदेशबाट कच्च पदार्थ झिकाउन अनि उद्योग खोल्न पनि लाइसेन्स चाहिन्थ्यो। दरबार, मन्त्री, सचिव, कर्मचारीको अधीनमा थियो सबै। जसले लाइसेन्स लियो त्यसको सोर्सफोर्स, एकाधिकार चल्थ्यो। विदेशी लगानीमा प्रतिबन्ध थियो। त्यसकारण निजी क्षेत्र आकर्षित थिएनन्।

त्यस बेला जलविद्युत, दूरसञ्चार, बैंकिङ, इन्सुरेन्सलगायतमा निजी क्षेत्रको लगानी आउँदैनथ्यो। प्रजातान्त्रिक सरकार आएपछि यी क्षेत्रमा निजी पुँजी खुला गरियो। सर्तसहित वैदेशिक लगानी पनि खुला गरियो। मेडिकल कलेज, शैक्षिक क्षेत्रमा स्वदेशी–विदेशी लगानी खुला गरियो। निजीका लागि हवाई क्षेत्रमा भएको प्रतिबन्ध हटाइयो। आमसञ्चार, दूरसञ्चार क्षेत्रमा जहाँ–जहाँ प्रतिबन्ध थिए, ती सबै हटाएपछि निजी क्षेत्र औद्योगिकीकरणको खुला वातावरणमा विस्तारित हुन थाले।

यसले गर्दा डाबर, कोल्गेट, लिभर नेपाल जस्ता बहुराष्ट्रिय कम्पनीको प्रवेश भयो। आधा दर्जनजति ठूला चिनी, तीन चार दर्जन जुत्ताचप्पल उद्योग स्थापना भए।

औद्योगिकीकरणमा निजी क्षेत्रको सकारात्मक पक्ष धेरै भए पनि उनीहरूले व्यावसायिकतामा ध्यान दिनुपर्ने बताउँछन् वज्राचार्य। 'नेपालको सन्दर्भमा हेर्ने हो भने निजी क्षेत्रमा व्यावसायिकता कम देखिन्छ,' वज्राचार्य भन्छन्, 'उनीहरू प्रतिस्पर्धालाई टाढा राख्छन्। सम्भव भएसम्म सरकारलाई प्रभाव पार्न खोज्ने प्रवृत्ति छ।'

योजना सहित उद्योग सञ्चालन गर्ने नीति नभएको आरोप निजी क्षेत्रलाई लाग्ने गरेको छ। नेपाल उद्योग परिसंघ अध्यक्ष तथा व्यवसायी हरिभक्त शर्मा भने सरकारको नीतिअनुसार निजी क्षेत्र चल्ने बताउँछन्। 'निजी क्षेत्र भनेको कुलाको पानीजस्तै हो। जता डोहोर्याायो त्यत्तै जान्छ,' शर्मा भन्छन्, 'राज्यले उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्ने हो भने निजी क्षेत्र त्यतै लाग्छ।' लगानीको वातावरण निर्माण गरे मात्र औद्योगिक विकास हुने उनको ठहर छ।

अहिले निजी क्षेत्र उत्पादनमुखीभन्दा पनि आयातनिर्यातमा बढी केन्द्रित भएर व्यापारको सजिलो बाटो अपनाएको युएनडिपीका वरिष्ठ अर्थशास्त्री वासुदेव गुहा–खास्नोविज बताउँछन्। 'सरकारी नीति, राजनीतिक स्थिरताकै कुरा आउँछ,' उनी भन्छन्, 'निजी क्षेत्रलाई व्यापारबाट उत्पादनमूलक क्षेत्रमा लैजान सरकारले नै पहल गर्नुपर्छ।'

निजी क्षेत्रले औद्योगिक क्षेत्रमा ठूलो लगानी गरेको बताउँछन्, पूर्वअर्थमन्त्री महत। 'जलविद्युत, हवाई, दूरसञ्चार, आमसञ्चार, शैक्षिक क्षेत्र, मेडिकल कलेजलगायतमा आएको परिवर्तन निजी क्षेत्रले गर्दा नै हो,' उनी भन्छन्, 'आयातको झन्डै ६० प्रतिशतसम्म धान्न सक्ने गरी निर्यात क्षेत्र पनि विस्तार भएको थियो।'

निजी क्षेत्रकै प्रयासमा उत्पादनमूलक क्षेत्रबाट जिडिपीमा १० प्रतिशतसम्म योगदान थियो। त्यसै बखत राजनीतिक अस्थिरता, असुरक्षा सुरु भयो। माओवादी द्वन्द्व, छिनछिनमा सरकार परिवर्तन हुँदा कुनै पनि नीतिले निरन्तरता पाउन सकेनन्। असुरक्षा, बन्द हड्ताल, सैनिक परिचालन, अशान्त सडकका कारण उत्पादनमूलक क्षेत्र खस्किँदै गएको महतको भनाइ छ। दुई पटक संविधानसभाको निर्वाचन, संविधान निर्माण भइसक्दा पनि देशमा लगानीको वातावरण बन्न सकेको छैन। वैदेशिक लगानीसमेत घटिरहेको छ। स्वदेशी लगानीसमेत आकर्षित हुन सकेको छैन।

नेपालमा उत्पादनमूलक उद्योगमा ठूलो सम्भावना रहेको विज्ञको भनाइ छ। कृषि, पर्यटन, जलस्रोत तुलनात्मक रूपमा बढी लाभ लिन सकिने क्षेत्र हुन् भने यसबाहेक प्राविधिक क्षेत्र, गाडीका पार्टपुर्जा उत्पादनजस्ता अन्य कैयन् उद्योगको सम्भावना छ।

आफूहरू निर्धक्क लगानी गर्न सक्ने वातावरण पर्खाइमा रहेको व्यवसायी बताउँछन्। 'लगानीको वातावरण भनेको सरकारले शान्तिसुरक्षादेखि छिटोछरितो काम गर्ने वातावरण बनाउनु हो,' सिएनआई अध्यक्ष शर्मा भन्छन्, 'औद्योगिकीकरण गर्न अब वातावरण बनाउनुपर्छ।' राजनीतिक स्थिरता भए उद्योग स्थापनामा सहज हुने व्यवसायीको भनाइ छ।

सरकारी काममा हुने ढिलासुस्तीका कारण अर्थव्यवसायसँग सम्बन्धित ऐन बन्न सकेका छैनन्। यो अवस्था औद्योगिकीकरणको बाधक रहेको थाहा हुँदाहँुदै पनि सरकारले अनुकूल वातावरण बनाउन तदारुकदा देखाउन सकेको छैन। औद्योगिक व्यवसाय ऐन नहुँदा काम गर्न अप्ठ्योरो परेको व्यवसायी बताइरहेछन्। बेलैमा ऐन–नियम तयार पारे मात्र देश औद्योगिकीकरणमा जान सक्ने सिएनआई अध्यक्ष शर्माको भनाइ छ।

नेपालमा भित्रिने रेमिट्यान्स औद्योगिक विकासको कोसेढुंगो साबित हुन सक्छ। अहिले ८–९ सय अर्ब हाराहारी रेमिट्यान्स भित्रिन थालिसकेको छ। त्यसमध्ये वर्षको २ सय अर्ब उत्पादनमूलक क्षेत्रमा लगानी भए औद्योगिक विकास छिटो हुने वज्राचार्यको भनाइ छ।
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
१० घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।

सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस