इलाम- नेपाल चिया विकास निगमअन्तर्गत इलाममा सञ्चालित उद्योगमा कार्यरत झण्डै चार सय मजदुर दैनिक कमाईले हात मुख जोड्न नसक्ने स्थितिमा पुगेका छन्। निगमअन्तर्गतका चार कमान तथा कारखानामा कार्यरत चिया मजदुरले दैनिक आठ घण्टा उद्योगमा खटेवापत एक सय ५० देखि एक सय ८६ रुपैयाँसम्म ज्याला पाउँदै आएका छन्।
महंगी बढेका बेला त्यति ज्यालाले मजदुरलाई परिवारको छाक टार्नै मुस्किल परिरहेको छ।
'व्यापार घाटामा गएको' कारण देखाएर निगमले सम्झौताअनुसारको ज्याला नदिँदा मजदुरलाई महँगी सामना गर्न समस्या परेको हो। आफ्ना सात कमान र कारखानामध्ये झापामा सञ्चालित तीनको अवस्था सन्तोषजनक रहे पनि इलामका चारको 'सन्तोषजनक नरहेको' निगमको दावी छ। मजदुरलाई दैनिक आठ घण्टा खटेवापत दुई सय एक रुपैयाँ दिने तीन बर्षअघिको सम्झौता निगमले त्यही समस्या देखाएर पूरा नगरेको हो।
कमान र कारखानाको काम गर्दै चिया उद्योगमै लामो समय बिताइसकेका मजदुरसमेत ज्यालाको सम्झौता लागू नहुँदा निगमप्रति रुष्ट छन्। 'आन्तरिक समस्या जे जस्तो भए पनि मजदुरलाई मर्कामा पार्न नहुने' भन्दै कन्याम, सोक्तिम, चिलिमकोट र इलाम चिया कमानका मजदुले छुट्टाछुट्टै रुपमा सम्झौताअनुसारको ज्याला अर्थात दैनिक दुई सय एक रुपैयाँ पाउनुपर्ने माग राखेका छन्। निगमले भने 'तत्काल त्यो पूरा नहुने' जनाएको छ।
दैनिक अढाई रुपैयाँ ज्याला पाउने गरी २०२८ सालमा कमान छिरेकी कन्यामकी चिया मजदुर डोमा शेर्पाले '४४ बर्षमा एक सय ८३ रुपैयाँ ५० पैसा मात्रै ज्याला बढेको' दुःखेसो गरिन्। 'श्रीमान् श्रीमति नै कमानको काममा लागेका थियौं, यहीं जवानी बित्यो तर चित्तबुझ्दो ज्याला कहिल्यै पाइएन' तीन सन्तानकी आमा ६३ बर्षीया शेर्पाले नागरिकलाई सुनाइन्, 'दैनिक आठ घण्टाका दरले यस्तै अरु काम गरेको भए लखपति हुन्थ्यौं।'
कन्याम कमानमै २०४० सालदेखि कार्यरत चिया मजदुर कुमारी घले अहिले पाइरहेको ज्याला दैनिक एक सय ८६ रुपैयाँले नुन तेल किन्नै नपुगिरहेको बताउँछिन्। 'कमानको काममा दिनभरी खटेर लखतरान भयो, बेलुका भोकै परिएला भन्ने पीर लाग्न थालेको छ' घलेले गुनासो गरिन्, 'तीन बर्ष अघि नै बढेको ज्याला अझै दिइएन, महंगीसँग जुधेर परिवार पाल्नै नसकिने भो।' ४५ बर्षीया घलेको परिवारमा पाँच जना छन्।
अर्की चिया मजदुर तारादेवी चापागाईं 'हरेक कुराको मूल्य बढेका बेला थोरै ज्यालाले परिवार पाल्न' धौ धौ परेको बताउँछिन्। 'आफ्नो चियाबारीमा मजदुर लगाउन पर्यो भने आठ घण्टा काम गरेको खित्रिकै तीन सय रुपैयाँ दिनुपर्छ' चापागाईंले सुनाइन्, 'हामीले चाहिँ निगमको काम गर्दा एक सय ८६ मात्रै पाउँछौं, यो ठूलो अन्याय र शोषण हो।' सम्झौताअनुरुप मजदुरले गत माघ १ देखि दैनिक दुई सय एक रुपैयाँ पाउनुपर्ने थियो।
यता, निगमले 'हरियो पत्ती उत्पादनमा आएको गिरावटसंगै निगम धरासयी भएको र आम्दानी घटेकाले सम्झौताअनुरुपको ज्याला दिन नसकेको' कारण देखाएको छ। निगमको बिर्तामोडस्थित कार्यालयका प्रशासन प्रमुख लोकनाथ दंगालले मजदुरको मर्का जान्दाजान्दै पनि आन्तरिक समस्या चर्को भएकाले चित्तबुझ्दो ज्याला दिएर काममा लगाउन नसकेको बताए। उनका अनुसार निगमका उद्योगमा अहिले आठ सय जति मजदुर छन्।
'कन्याम चिया कारखाना एक करोड ६८ लाख घाटामा छ, इलाम कमानमा उत्पादित चिया पोहोरदेखि बिकेकै छैन' दंगालले आइतवार नागरिकलाई भने, 'यस्तो संकटका बेला मजदुरलाई सम्झौताअनुसारको ज्याला दिनसक्ने स्थिति छैन।' अर्ग्यानिक उत्पादन थालेपछि इलाम कमानबाट दैनिक ६० किलो जति मात्रै हरियो पत्ती उत्पादन भइरहेको र कन्याममा पनि पहिलेजस्तो उत्पादन नभएकाले निगम घाटामा गएको उनी बताउँछन्।
२०५७ मा सरकारबाट ५० बर्षलाई निजीकरणमा लिएपछि निगम त्रिवेणी ग्रुप (सांघाई समूह) को स्वामित्वमा छ। जसले इलाम कमानका मजदुरलाई दैनिक एक सय ५०, कन्यामका लाई एक सय ८६, सोक्तिमका लाई एक सय ७० र चिलिमकोटका लाई एक सय ८० रुपैयाँ ज्याला दिँदै आएको छ। निजीकरणपछि चिया कमान र कारखानाको कामप्रति रुष्ट भई आधाजसो मजदुर पलायन भइसकेका छन् भने नयाँ पनि खासै आकर्षित छैनन्।