काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्नो व्यवस्थापन विदेशी कम्पनीलाई सम्हाल्न दिन 'ग्लोबल टेन्डर' आह्वान गर्ने तयारी गरेको छ। गत वर्ष फागुन पहिलो साता जर्मनीको सरकारी वायुसेवा कम्पनी लुफ्थान्सा एयरलाइन्सको सहायक कम्पनी लुफ्थान्सा कन्सल्टिङले निगमको सम्पूर्ण व्यवस्थापन जिम्मा लिने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो।
उक्त प्रस्तावबारे पर्यटन मन्त्रालयले कसरी अगाडि बढ्न सकिन्छ र के गर्दा उपयुक्त होला भन्दै २०७१ फागुन १५ मा निगम सञ्चालक समितिसँग राय मागेको थियो। समितिले दुई सातापछि लुफ्थान्सा कन्सल्टिङको प्रस्तावमा सैद्धान्तिक सहमति जनाएको थियो।
त्यसयता निगमको व्यवस्थापन विदेशी कम्पनीलाई दिने कि नदिने भन्ने लामो बहस हुँदै आएको छ। यसैबीच निगमले व्यवस्थापन विदेशीलाई जिम्मा दिने उद्देश्यले ग्लोबल टेन्डरको तयारी गरेको हो। यसका लागि 'रिक्वेस्ट फर प्रपोजल' (आरएफपी) को काम भइरहेको निगमले जनाएको छ।
'व्यवस्थापन विदेशी कम्पनीलाई दिने विषयमा ग्लोबल टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ,' निगमका एक उच्च अधिकारीले मंगलबार नागरिकसँग भने, 'सार्वजनिक खरिद ऐनअनुसार लुफ्थान्सा कन्सल्टिङलाई सिधै व्यवस्थापनको जिम्मेवारी दिन नमिल्ने भएका कारण इच्छुक सबै कम्पनी सहभागी गराउन टेन्डर आह्वान गर्न लागेका हौं।'
सम्बद्ध अधिकारीका अनुसार आरएफपी तयार भएपछि निगम सञ्चालक समितिले अनुमोदन गर्ने छ। त्यसपछि ग्लोबल टेन्डर आह्वान गरिने छ। विदेशी कम्पनीलाई पूरै व्यवस्थापन दिने वा कुन–कुन क्षेत्र सम्हाल्न दिने भन्नेबारे अहिले सबै विभागसँग राय माग्ने तयारी भइरहेको छ।
'विदेशी कम्पनीलाई विज्ञ वा सल्लाहकारका रूपमा ल्याउने गरी आरएफपी तयार भइरहेको छ,' उनले भने, 'एक महिनाभित्र सबै काम पूरा हुन्छ र ग्लोबल टेन्डर आह्वान हुने छ। यसमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, व्यवस्थापन समूहलगायत इच्छुक हुनेछन्।'
निगमको व्यवस्थापन विदेशी कम्पनीलाई दिन लागिएको यो पहिलो पटक भने होइन। यसअघि ४६ वर्षअघि सन् १९७० मा फ्रान्सको सरकारी वायुसेवा कम्पनी एयर फ्रान्सले निगमको सम्पूर्ण व्यवस्थापन सम्हालेको थियो। एयर फ्रान्सले जिम्मेवारी लिएको दुई वर्षमा निगमले अमेरिकी जहाज निर्माता कम्पनी बोइङद्वारा उत्पादित 'बी७२७' सिरिजको दुई जहाज खरिद गरेको थियो। त्यही वर्षबाट निगम जेट इन्जिन जहाजमा प्रवेश गरेको थियो। तीन वर्ष व्यवस्थापन जिम्मा लिएपछि एयर फ्रान्स फिर्ता गएको थियो।
लुफ्थान्सा कन्सल्टिङले तीन चरणमा निगमको व्यवस्थापन हेर्ने गरी प्रस्ताव पेस गरेको थियो। तीन चरणका लागि चार वर्षसम्म काम गर्ने, पहिलो दुई वर्षभित्र चारवटा 'न्यारो बडी' जहाज थप्ने पनि उसको प्रस्तावमा उल्लेख छ।
निगमले युरोपेली जहाज निर्माता कम्पनीसँग हालै खरिद गरेको १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजका जहाज जस्तै चार थान थप्ने लुफ्थान्सा कन्सल्टिङको प्रस्तावमा उल्लेख छ।
लुफ्थान्साले निगमको सञ्चालन (अपरेसन), बजारीकरण (मार्केटिङ) र इन्जिनियरिङ पक्ष हेर्ने र बदलामा निगमले निश्चित रकम दिनुपर्ने प्रस्ताव गरेको थियो। लुफ्थान्सा एयरलाइन्सकै अर्को सहायक कम्पनी लुफ्थान्सा एभिएसन क्यापिटलसँग साझेदारी गरेर लुफ्थान्सा कन्सल्टिङले निगमको व्यवस्थापन हेर्ने प्रस्ताव गरेको थियो।
लुफ्थान्साको प्रस्तावअनुसार पहिलो चरणमा निगमको वर्तमान कार्यसञ्चालन सम्बन्धी सम्पूर्ण तथ्यांक संकलन गर्ने र त्यसलाई विश्लेषण गरिने छ। यो कामका लागि २ लाख ९५ हजार युरो (त्यसबेलाको ३ करोड १२ लाख ७० हजार रुपैयाँ) निगमबाट पाउनुपर्ने छ।
त्यसैगरी निगमले गर्ने कुल आम्दानीको दुई प्रतिशत हिस्सा परामर्श शुल्कका रूपमा लिन पाउनुपर्ने सर्त पनि उसको छ। यो हिसाबमा लुफ्थान्सा कन्सल्टिङले सन् २०१५ मा ३५ लाख अमेरिकी डलर (करिब ३ करोड ५० लाख रुपैयाँ) पाउने छ किनकि निगमले यो वर्ष १७ करोड ५० लाख डलर (करिब १७ अर्ब ५० करोड रुपैयाँ) आम्दानी गर्ने लक्ष्य लिएको छ।
त्यस्तै २०१६ मा ४२ लाख डलर (करिब ४ करोड २० लाख रुपैयाँ) परामर्श शुल्क लिने छ। त्यसबेला निगमको लक्षित आम्दानी २१ करोड डलर (करिब २१ अर्ब रुपैयाँ) रहने छ।
यति परिमाणबराबरको आम्दानी गर्न निगमसँग त्यसबेला दुईवटा बोइङ ७५७, दुईवटा ए३२०, दुईवटा 'मोडर्न आर्क' (एमए–६०), चारवटा 'वाई१२–ई' र दुईवटा टि्वनअटर जहाज सञ्चालन हुनेछन्। बोइङ र एयरबस अन्तर्राष्ट्रिय उडान तथा बाँकी जहाज आन्तरिक उडानमा प्रयोग हुनेछन्।
लुफ्थान्सा कन्सल्टिङले तेस्रो चरणमा निगमको पुनर्संरचना गर्ने प्रस्ताव गरे पनि विस्तृतमा केही उल्लेख भने गरेको छैन। 'लुफ्थान्सा कन्सल्टिङले व्यवस्थापन सम्हाले पनि उच्च तहमा निगमकै कर्मचारी हुनेछन्,' निगम व्यवस्थापनका एक उच्च अधिकारीले गत वर्ष भनेका थिए, 'तर, उनीहरूका अधिकारी भने 'स्याडो' मा बस्नेछन्। अब उसको कामबारे तथा उसले लिने शुल्कबारे एक पटक छलफल गरिने छ। केही अवधि व्यवस्थापन लिएर नयाँ कुरा सिकाए भने संस्थाका लागि लाभदायक नै हुनेछ।'