काठमाडौं-कृषि विकास मन्त्रालयले प्रांगारिक मल कारखाना खोल्न उपलब्ध गराउने अनुदान व्यापक दुरुपयोग हुन थालेपछि आगामी आर्थिक वर्षबाट त्यसका लागि बजेट विनियोजन नहुने भएको छ।
मन्त्रालयले प्रांगारिक मल कारखाना खोल्न ५० प्रतिशतसम्म अनुदान दिने गरेको थियो। अनुदान लैजाने र उद्योग नखोल्ने प्रवृत्ति बढेपछि आगामी आर्थिक वर्षबाट अनुदान नदिने गरी कार्यक्रम बनाएको छ।
रासायनिक मल प्रयोगबाट माटोको उर्वराशक्ति र उत्पादकत्व घटेको भन्दै सरकारले प्रांगारिक मल प्रयोगमा किसानलाई प्रोत्साहित गर्ने नीति लिएको थियो। सोही अन्तर्गत प्रांगारिक मल कारखानाको मेसिनरी खरिदमा ५० प्रतिशत अनुदान दिन्थ्यो। मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले आगामी बजेटमा मल कारखाना खोल्न अनुदान दिने कार्यक्रम हटाइएको बताए।
'लगानी अनुसारको प्रतिफल नआएपछि हटाइएको हो,' उनले नागरिकसँग भने, 'राज्यको ठूलो रकम त्यसमा फसेकाले अबदेखि अनुदान दिइँदैन।' मन्त्रालयले तीन वर्षदेखि प्रांगारिक मल कारखाना खोल्न अनुदान दिँदै आएको थियो। हालसम्म अनुदानमा ८ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। त्यसको कुनै हिसाबकिताब छैन।
पहुँचवालाले अनुदान लाने र राज्यले अनुगमन नगर्ने गर्दा अनुदानको ठूलो हिस्सा व्यक्तिको खल्तीमा पुगेको छ। राज्यले प्रांगारिक मल प्रयोगमा किसानलाई प्रोत्साहित गर्ने र देशलाई मलमा आत्मनिर्भर बनाउने उद्देश्यले लगानी गरे पनि उचित अनुगमन नगर्दा ठूलो रकम व्यक्तिले पचाएको मन्त्रालयका उच्च अधिकारीको भनाइ छ।
सरकारले पाँचवटै विकास क्षेत्रमा प्रांगारिक मल कारखाना खोल्न अनुदान दिएको हो। मन्त्रालयले कागजमा मात्र सीमित प्रांगारिक मल कारखानालाई हचुवा किसिमले पटक–पटक अनुदान दिएको थियो। निजी फर्म, संस्था र सहकारीलाई मल कारखाना खोल्न ५० प्रतिशत अनुदान दिने नीति अन्तर्गत अनुदान दिइएको हो।
संसदको कृषि तथा जलस्रोत समितिले कृषि मन्त्रालयबाट जाने अनुदानमध्ये ९० प्रतिशत दुरुपयोग भएको भन्दै पटक–पटक सच्याउन निर्देशन दिएको छ।
मन्त्रालयले चालु आर्थिक वर्ष मल कारखानालाई अनुदान दिन १ करोड ७५ लाख रुपैयाँ छुट्ट्याएको थियो। आगामी वर्षबाट मल कारखानालाई अनुदान दिन बजेट उपलब्ध नगराउने मन्त्रालयका सहप्रवक्ता शंकर सापाकोटाले पनि जानकारी दिए।
सरकारी अनुदानमा टाठाबाठाको मात्र पहुँच छ। उनीहरुले अनुदान लगेर दुरुपयोग गरेका उदाहरण प्रशस्तै छन्। ट्र्याक्टर र पावर टिलर किन्न दिइएको अनुदान देशैभरि दुरुपयोग भइरहेको छ। आगामी वर्ष यसमा अनुदान दिने कि नदिने भन्नेमा मन्त्रालयले निर्णय गरिसकेको छैन।
'अहिले मल कारखानालाई दिने अनुदानमात्र रोकेको हो,' सापकोटाले भने, 'अन्य अनुदानको विषयमा निर्णय गरेको छैन।' अन्य अनुदानमा समेत सरोकारवालाले विरोध गरिरहका छन्।
सरकारले कृषिको लागि ट्र्याक्टर किन्दा १ प्रतिशतमात्र भन्सार लाग्ने व्यवस्था गरेको छ। अन्य कर मिनाहा छ। त्यस्तो अनुदानको ट्र्याक्टर इँटा उद्योगी र निर्माण व्यवसायीदेखि यात्रुवाहक सवारी सञ्चालकसम्मले दुरुपयोग गरिरहेका छन्।
आर्थिक वर्ष २०६९/०७० सम्म देशमा ९ हजार ७ सय २५ ट्र्याक्टर रहेकोमा आव २०७०/०७१ सम्ममा ८३ हजार १ सय १ पुगेको सरकारी तथ्यांकले ट्र्याक्टर र पावर टिलर खरिदमा दिइने १० लाखसम्मको अनुदान दुरुपयोग भएको पुष्टि गर्छ। किसानका लागि भन्दै किनिएका ट्र्याक्टर अन्य काममा प्रयोग भएको भेटिएको थियो। सहुलियतमा आयात भएका ट्र्याक्टर किसानको खेतमा नभई व्यवसायीको काममा प्रयोग भइरहेको पाइएको मन्त्रालयका अधिकारीको भनाइ छ।
पहुँचका आधारमा अनुदान दुरुपयोग गर्ने चलन बढ्दै गएको छ। मिलेमतोमा सहकारी धन्दा चलाएर अनुदान रकम दुरुपयोग गर्ने पनि छन। कृषिविज्ञ कृष्ण पौडेल ९० प्रतिशत अनुदान दुरुपयोग हुने बताउँछन्। 'सरकारको नीति नै किसान प्रवर्द्धन गर्ने खालका छैनन्' राजनीतिक पहुँच भएकाले किसानको राहत पचाइरहेका छन्,' उनले भने।