काठमाडौं-विनाशकारी भूकम्पपछि गाडीको बिक्री घटे पनि आयात अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ। यातायात व्यवस्थापन विभागका अनुसार यस आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी गाडी आयात भएका छन्।
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिना (२०७१ साउन–२०७२ जेठ) मा २ लाख १८ हजार ३ सय ६० गाडी आयात भएका छन्।
'भूकम्पअघिको व्यवसाय अत्यन्तै राम्रो भएका कारण यस वर्ष व्यवसाय राम्रो भएको छ,' नेपाल अटो मोबाइल्स डिलर एसोसिएसन (नाडा) का उपाध्यक्ष अन्जन श्रेष्ठले भने, 'भूकम्पअघि अटो मोबाइल्सको व्यापार ५० प्रतिशतले बढेको थियो।'
अघिल्लो आर्थिक वर्षको साउनदेखि जेठसम्ममा १ लाख ७६ हजार २ सय ३९ गाडी आयात भएका थिए। अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष ४२ हजार १ सय २१ बढी ग्ााडी आयात भए। आर्थिक वर्ष २०६९/०७० मा २ लाख ८४ हजार र २०६६/०६७ मा २ लाख १ हजार गाडी आयात भएको तथ्यांक छ।
भूकम्पअघि मुलुकमा आर्थिक गतिविधि राम्रो भएको र गाडीको लागि राम्रो सुविधा भएकाले व्यवसाय राम्रो भएको थियो। भूकम्पअघि सर्वसाधारणको क्रयशक्ति बढेको थियो र बैंकले 'अटो लोन'को सुविधा राम्रो दिएकाले व्यवसाय उच्च हुन पुगेको श्रेष्ठले बताए। बैंकहरूले अटो लोनको ब्याजदर १३ बाट घटाएर ८ प्रतिशतसम्म ल्याएका थिए। त्यही सुविधा उपभोग गर्दै सर्वसाधारणले गाडीमा धेरै रुचि देखाएका थिए।
वैशाख १२ गते गएको भूकम्पपछि अटो व्यवसाय ओरालो लागेको छ। आयात र बिक्री दुवै घटेको छ। केही सातायता भने विस्तारै व्यवसाय बढ्न थालेको श्रेष्ठ बताउँछन्।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष बसको आयात घटेको छ। अन्य गाडीको आयात बढेको छ। यस वर्ष बस ९ सय ३२ वटाले घटेको छ। टेम्पोको आयात सबैभन्दा धेरै बढेको छ। अघिल्लो आर्थिक वर्षमा १३ वटा टेप्पो आयात भएकोमा यस वर्ष १ हजार ४ सय २९ पुगेको तथ्यांक विभागमा छ। यस हिसाबले टेम्पोको आयात ९९ गुणा बढेको देखिन्छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा मोटरसाइकल ३४ हजार २ सय ६० ले बढी आयात भयो। मिनिबस–मिनिट्रक ८ सय ५५, क्रेन–डोजर–एस्काभेटर–टि्रपर १ हजार ३ सय ६०, कार–जिप भ्यान १ हजार ८ सय ५८ ले बढेको देखिन्छ।
त्यस्तै पिकअप ३ सय ७३, माइक्रो ७ सय १८, ट्याक्टर पावर टिलरको आयात १ सय २० र अन्य २ सय २९ ले बढेको विभागको तथ्यांकले देखाएको छ।