काठमाडौं-नेपाल टेलिकमले रणनीतिक साझेदार भित्र्याउन छानेको परामर्शदाता एनालाइसिस मेसन कम्पनीको फाइल अख्तियारले नियन्त्रणमा लिएको छ। लामो समयपछि रणनीतिक साझेदारी ल्याउन प्रक्रिया थालेको टेलिकमले प्रतिस्पर्धाका आधारबाट भारतमा रहेको अमेरिकी कम्पनी एनालाइसिस मेसनलाई वैशाखमा छनोट गरेको थियो।
त्यसलगत्तै अख्तियारले छनोट प्रक्रियामा अनियमितता भएको आशंकामा आवेदन दिएका अन्य परामर्शदाता कम्पनीका फाइल लगेर अनुन्धान गरिरहेको छ।
अख्तियारले आइतबार पनि टेलिकमका उच्च अधिकारी बोलाएर सोधपुछ गरेको स्रोतले जानकारी दियो।
नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमका अध्यक्ष सुनिलकुमार मिश्रले परामर्शदाता छनोट प्रक्रियाको फाइल अख्तियारले लगेको जानकारी दिए। 'अख्तियारले परामर्शदाताको अन्तिम सूचीमा रहेका ६ वटा कम्पनीको र छनोट प्रक्रियाको फाइल लगेको छ,' उनले भने, 'टेलिकममा यो पुरानै रोग हो। कुनै काम अघि बढ्ने बेलामा उजुरी गर्ने र अवरोध हुने क्रम चलिरहन्छ।'
अख्तिायरका एक अनुसन्धान अधिकृतले परामर्शदाता छनोट प्रक्रियामा अनियमितता भएको विषयमा उजुरी परेपछि छानबिनका लागि टेलिकमका केही फाइल नियन्त्रणमा लिइएको बताए। 'हामीले करिब डेढ महिनादेखि यसमा अनुन्धान गरिरहेका छौं। एक सातापछि अनुसन्धान सकिन्छ,' उनले भने।
टेलिकमले रणनीतिक साझेदार भिœयाउन नियुक्त गर्न लागेको परामर्शदाता बन्न ९ वटा कम्पनीले इच्छा देखाएका थिए। लामो समयदेखि चर्चा रहे पनि प्रक्रियामा नगएको टेलिकमले गत वर्ष असारमा ९ वटाबाट ६ वटा कम्पनीलाई 'सर्टलिस्ट'मा राखेर प्रक्रिया अघि बढाएको थियो। एक वर्षसम्म सर्टलिस्टमा राखेको टेलिकमले गत वैशाखमा एनालाइसिस मेसनलाई छानेको हो।
टेलिकमले सर्टलिस्टका कम्पनीको नाम सञ्चालक समितिमा पेस गरेको थियो। सर्टलिस्टमा भारतको डिलोइट टच तोमात्सु इन्डिया प्रालि, अर्न्सट एन्ड योङ एलएलपी, केपिएमजी एड्भाइजरी सभिर्स प्राइभेट लिमिटेड, एनालाइसिस मेसन अन इन्डिया प्रालि, जर्मनीको डेटिकोन इन्टरनेसनल जिएमबिएच र सिंगापुरको रोल्यान्ड बर्जर स्ट्राटेजी कन्सल्ट्यान्ट पिटिई लिमिटेड थिए।
परामर्शदातामा छानिएको कम्पनीले टेलिकमको प्राविधिक, आर्थिकलगायत विभिन्न विषयमा अध्ययन गरेर कम्पनीलाई सुझाव दिन्छ। छानिएका कम्पनीलाई टेलिकमले रिक्वेस्ट अफ प्रपोजल (आरएफपी) दिएपछि थप प्रक्रिया अघि बढ्ने टेलिकमले जनाएको छ। टेलिकमको आर्थिक अवस्थाको समग्र अध्ययन हुन्छ र सेयर कसरी दिने भन्नेमा पनि सुझाव आउँछ। त्यसपछि मात्र साझेदार ल्याउने प्रक्रिया थालिने टेलिकमले जनाएको छ।
टेलिकमले २ वर्षअघि रणनीतिक साझेदारी ल्याउन सरकारबाट सैद्धान्तिक स्वीकृति पाएको थियो। सूचना तथा सञ्चार मन्त्रालयले यसका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो। टेलिकमले आफ्नो बजार हिस्सा बढाउन र प्रतिस्पर्धा गर्न रणनीतिक साझेदार ल्याउन खोजेको हो।