काठमाडौं-विनाशकारी भूकम्पपछि मुलुकका अधिकांश पाँचतारे होटलले ३० देखि ४० प्रतिशत कर्मचारीलाई छुट्टी दिएका छन्। पोखराको एउटा पाँचतारेले भने ८० प्रतिशत कर्मचारीलाई बिदामा पठाएको छ।
गत वैशाख १२ मा आएको ७.६ म्याग्निच्युड स्केलको शक्तिशाली भूकम्प र त्यसपछि लगातार आएका परकम्पपछि नेपालमा रहेका पर्यटक फिर्ता जानुका साथै आउने तयारीमा रहेकाले भ्रमण रद्द गरेपछि अधिकांश होटल 'सुनसान' छन्।
पाहुना नै नभएपछि आवश्यकताभन्दा धेरै कर्मचारी होटलमा राख्नुभन्दा छुट्टीमा पठाउँदा राम्रो हुने होटल व्यवस्थापनको भनाइ छ। होटलहरूले कर्मचारीलाई तलबी बिदा दिएका हुन्। होटल व्यवस्थापन, मजदुर युनियन र कर्मचारीको संयुक्त प्रयासबाट यसखाले बिदाको व्यवस्था भएको हो। हाल धेरैजसा होटलको कोठा भराइ दर (अकुपेन्सी) बढीमा औसत ३० प्रतिशतमात्र रहेको छ।
'भूकम्पपछि कम्पनी जोगाउनुपर्छ र मजदुरको रोजीरोटी पनि खोसिनु हुँदैन भन्ने हाम्रो मान्यता हो,' अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय सचिव मुक्ति दाहालले शनिबार नागरिकसँग भने, 'त्यही भएर यसरी छुट्टी दिँदा मजदुर–कर्मचारीको मनोवल पनि उच्च हुने हाम्रो विश्वास छ।'
दाहालका अनुसार राजधानीको बौद्धस्थित प्रमुख पाँचतारे होटल हायातले आफ्ना २० प्रतिशत कर्मचारीलाई तलबी छुट्टीमा पठाएको छ। लाजिम्पाटस्थित पाँचतारे र्या डिसनले पनि ४० प्रतिशत कर्मचारीलाई छुट्टी दिएको छ। दरबारमार्गमा रहेको पाँचतारे याक एन्ड यतीले २० प्रतिशत कर्मचारीलाई बिदामा पठाएको छ। सबैभन्दा पुरानो पाँचतारे सोल्टीले भने कर्मचारीलाई बिदामा पठाउने तयारी गरिरहेको छ। दरबारमार्गकै पाँचतारे अन्नपूर्णमा पनि केही कर्मचारी बिदामा बसेका छन्। लाजिम्पाटकै अर्को पाँचतारे सांग्रिलामा कर्मचारी कम भएका कारण कसैलाई बिदा दिइएको छैन।
'बढीमा एक महिनासम्म तलबी बिदा दिइएको छ,' उनले भने, 'यस्तो बिदा वार्षिक बिदाबाट कट्टा हुने गरी दिइएको हो। होटलका कर्मचारीको वार्षिक १ सय ५ दिन बिदा सञ्चित हुने गरेको छ।'
हायातमा ३ सय २६ कर्मचारी छन्। हाल त्यहाँ ६५ जना तलबी बिदा लिएर बसेका छन्। त्यसैगरी र्यातडिसनका ४ सय ५० कर्मचारीमध्ये १ सय ८० जनालाई बिदा दिइएको छ। याक एन्ड यतीका ३ सयहाराहारीमध्ये ६० जनाजति कर्मचारी बिदामा बसेका छन्। पोखरास्थित पाँचतारे पोखरा ग्रान्डका १ सय ६५ कर्मचारीमध्ये १ सय ३५ जनालाई बिदामा पठाइएको छ। अहिले ३० कर्मचारीले उक्त होटल धानिरहेका छन्।
'अधिकांश तारे होटलमा व्यवस्थापन र मजदुर युनियनबीचको आपसी सहमतिपछि कर्मचारीलाई तलबी बिदामा पठाइएको हो,' होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का कार्यकारी निर्देशक प्रवेश अर्यालले नागरिकसँग भने, 'भूकम्पपछि पाहुना नभए पनि यस्तो बिदा दिइएको हो। अहिले दुवै पक्ष संयमित देखिन्छन्। त्यसमाथि अहिले 'अफ सिजन' पनि हो। यस्तो बेला व्यापार नहुनु स्वाभाविक हो।'
आपसी सहमतिमा कर्मचारीलाई बिदामा पठाइएका कारण हानले यसमा केही कदम चाल्नुपर्ने अवस्था नरहेको अर्यालको भनाइ छ। काठमाडौंपछि मुलुककै दोस्रो ठूलो पर्यटन गन्तव्य पोखरामा भूकम्पीय क्षति न्यून भए पनि पर्यटक नहुँदा अधिकांश होटल सञ्चालन गर्न कठिनाइ रहेको उनले बताए।
राजधानीकै ठमेल क्षेत्रका ९० प्रतिशत होटल तथा रेस्टुरेन्टमा पाहुना नभएपछि सञ्चालन गर्नसक्ने अवस्था नरहेको दाहालले बताए। त्यस्तै त्रिुपरेश्वर, दरबारमार्ग, न्युरोड, सुन्धाराका रेस्टुरेन्ट पनि चल्न सक्ने अवस्थामा छैनन्। नगरकोटमा रहेका ६५ होटलमध्ये १० देखि १२ होटलमात्र भूकम्पबाट जोगिएको उनले बताए। बाँकी होटल सञ्चालनमा आउन केही समय लाग्ने छ।
पाँचतारे एभरेस्ट र तीनतारे रोयल सिंगी बन्द
राजधानीको नयाँबानेश्वरस्थित पाँचतारे होटल एभरेस्ट बन्द भएको छ। त्यसैगरी दरबारमार्गस्थित तीनतारे होटल रोयल सिंगी पनि बन्द भएको छ। भूकम्पबाट क्षति पुगेपछि व्यवस्थापनले होटल बन्द गराएका हुन्।
एभरेस्टले हालसम्म काम गरेकोमा धन्यवाद दिँदै श्रम ऐनअनुसार कर्मचारीलाई आफूले पाउनुपर्ने बाँकी सेवा–सुविधा एक महिनाभित्र लिन आउन सूचना जारी गरेको छ। व्यवस्थापन होटल भवन पूरै भत्काउने तयारीमा लागेको छ।
गत वैशाख १२ को विनाशकारी भूकम्पबाट सामान्य क्षति पुगेको एभरेस्टको भवनमा वैशाख २९ को अर्को शक्तिशाली परकम्पपछि थप ठूलो क्षति पुगेको थियो।
एक वर्ष कुनै माग राख्दैनौं : मजदुर
एनेकपा माओवादीको मजदुर संगठन अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघले २०७२ सालभरि व्यवस्थापनसँग कुनै पनि किमिको सामूहिक माग नराख्ने निर्णय गरेको छ।
संघको केन्द्रीय कमिटीको केही दिनअघि बसेको बैठकले भूकम्पपछि पर्यटन क्षेत्रमा वृहत क्षति पुगेको र त्यसबाट लगानीकर्ता र व्यवस्थापन पक्ष मारमा परेको भन्दै एक वर्षसम्म माग नराख्ने निर्णय गरेको हो।
'हामीलाई रोजीरोटी उपलब्ध गराउने कम्पनी सबै समस्यामा छन्, यस्तो बेला सामूहिक माग राख्नु हुँदैन भन्ने सर्वसम्मत निर्णय भएको छ,' संघका केन्द्रीय सचिव मुक्ति दाहालले भने, 'त्यही भएर २०७२ सालभरि हामी व्यवस्थापनसँग 'कलेक्टिभ बार्गेनि' गर्दैनौं।'
उनका अनुसार काठमाडौंलाई घोषणा गरिएको संकटग्रस्त क्षेत्र तत्काल फिर्ता हुनुपर्ने र होटलहरूलाई कर छुट हुनुपर्ने निर्णय पनि बैठकले गरेको छ।