काठमाडौं– विनाशकारी भूकम्पपछि नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानमा सहयोग र प्रोत्साहन गर्न एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संगठन ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) ले अभियान सुरु गर्ने भएको छ। पाटाका विज्ञहरूको सहयोगमा सञ्चालन गरिने पुनरुत्थान अभियान आगामी असार अन्तिमबाट निर्देशिका र कार्य योजनासहित सञ्चालन गरिने पाटाले जनाएको छ।
यस अभियानलाई अगाडि बढाउन पाटाका उपाध्यक्ष एन्ड्र्यु जोन्स र संकट व्यवस्थापन विज्ञ बर्ट भान वालबिकले हालै नेपाल भ्रमण गरेका छन्। उनीहरूसँग संकट व्यवस्थापनतर्फ लामो सयम काम गरेको अनुभव छ । उनीहरूले फिलिपिन्स, थाइल्यान्ड, इन्डोनेसिया, श्रीलंका लगायत देशमा प्राकृतिक विपत्ति तथा युद्धपछि पुनरुत्थानमा काम गरेका थिए। दुवैले उक्त अभियानबारे कसरी अगाडि बढ्न सकिन्छ भनेर नेपालका सरकारी अधिकारी तथा निजी पर्यटन व्यवसायीसँग हालै छलफल गरेका थिए । पाटाका उपाध्यक्ष जोन्सले व्यावसायिकहरूको विज्ञता उपयोग गरेर बढीभन्दा बढी प्रवद्र्धनात्मक कार्यक्रम गर्ने तथा सार्वजनिक व्यक्तित्वहरूलाई त्यस्ता कार्यक्रममा सहभागी गराउनुपर्ने सुझाव दिए।
यसमा पाटाको सञ्जाल उपयोग गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए । पाटाले कार्यउन्मुख योजनासहित अगाडि बढ्न नेपाल सरकार, पाटा–नेपाल च्याप्टर र पाटा मुख्यालयलाई सुझाव दिने उनको भनाइ थियो। वालबिकले पुनरुत्थान प्रक्रियासम्बन्धी विभिन्न उपाय प्रस्तुत गरेका थिए । उनले नेपाली पर्यटन उद्योगका सरोकारवालालाई सकारात्मक कुरामा विश्वास गर्न तथा छट प्याकेज घोषणा नगर्न बरु थप सेवा सुविधा उपलब्ध गराउन आग्रह गरेका छन्।
राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रमणि अधिकारीले पर्यटन सरोकारवालालाई ध्वस्त संरचना पुनर्निर्माणका लागि काम गर्न, सकुशल रहेका सम्पदा देखाउन र दैनिक कारोबार यथावत रहेको सकारात्मक सन्देश दिन आग्रह गरे । पाटा विज्ञहरूको सहयोगबाट नेपाल सरकारलाई अल्प, मध्य र दीर्घकालीन योजना बनाएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्न उल्लेख्य योगदान पुग्ने उनले बताए। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले पर्यटन पुनरुत्थान योजनाका लागि विज्ञको महत्वबारे प्रकाश पार्दै पर्यटन पुनरुत्थान समितिका कार्यक्रमबारे जानकारी गराएका थिए।
पाटाका केन्द्रीय सचिव वसन्तराज मिश्रले बिनाव्यवधान सबै गतिविधि अगाडि बढे नेपालको पर्यटन उद्योग आगामी प्रमुख पर्यटन याम सेप्टेम्बरबाट पुनर्जीवित हुने बताए ।
त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख प्रशासक रमेश अधिकारीले मर्मत र तयारी दुई प्रमुख विषयबारे जानकारी दिएका थिए । ‘सरोकारवालाको साझा बल र संयुक्त प्रयासबाट अहिलेलाई मर्मत तथा भोलिका लागि तयारी गर्नसकिन्छ,’ उनले भने ।
त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख प्रशासक रमेश अधिकारीले मर्मत र तयारी दुई प्रमुख विषयबारे जानकारी दिएका थिए । ‘सरोकारवालाको साझा बल र संयुक्त प्रयासबाट अहिलेलाई मर्मत तथा भोलिका लागि तयारी गर्नसकिन्छ,’ उनले भने ।