काठमाडौं-महाभूकम्प गएको १० दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ सय ७२ वटा उद्धार उडान–अवतरण भएका छन्। ती उडान ३८ देश तथा विश्व खाद्य कार्यक्रम, रेडक्रस क्यानडा र रेडक्रस फिन्ल्यान्डबाट आएको विमानस्थलले जनाएको छ।
विमानस्थलका अनुसार मंगलबार मात्र नेपाली सेनाका १०, निजी क्षेत्रका दुई, भारतीय सेनाका १३ तथा अमेरिकी सेनाका पाँच गरी ३० जहाजले उद्धार तथा राहत उडान गरेका थिए। तीमध्ये २३ वटा काठमाडौं र सातवटा पोखराबाट उडान भएका थिए।
ती उडान धादिङ, गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, दोलखा, सिन्धुली र रामेछापका विभिन्न स्थानका लागि भएका थिए। ती क्षेत्रबाट ३५ नेपाली तथा २६ विदेशी पर्यटकको उद्धार गरिएको थियो भने २५ हजार ३ सय किलो राहत सामग्री वितरण पनि गरिएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार महाभूकम्पपछि नेपाली सेनाको समन्वयमा सातवटा हेलिकोप्टर परिचालन भएकोमा मंगलबारबाट दुईवटा मात्र परिचालन गरिएका छन्। निजी क्षेत्रबाट सञ्चालित हेलिकोप्टरले सोमबारसम्ममा स्वदेशी तथा विदशी गरी ५ हजार ५ सय २२ घाइते तथा भूकम्पपीडितको उद्धार गरेका छन्। त्यसैगरी ७५ हजार ६ सय ७० किलो राहत सामग्री प्रभावित क्षेत्रमा ढुवानी समेत गरेका छन्।
त्यसैगरी नेपाली सेनाको समन्वयमा परिचालित हेलिकोप्टरले भूकम्पपीडितका लागि काभ्रे, सिन्धुपाल्चोक, दोलखा र धादिङका विभिन्न स्थानमा राहत सामग्री आकासबाट खसालेका (एरियल ड्रप) छन्।