कञ्चनपुर-सीमावर्ती भारतीय बजार वनबासामा नेपाली रुपैंयामा कारोबार हुने गरेको छ। अधिकांश ग्राहक नेपाली हुने गरेकाले वनबासामा नेपाली रुपैंयामै कारोबार हुने गरेको हो।
बिक्रीका लागि राखिएका बस्तुको नेपाली रुपैंयामै मोलतोलभै नेपाली रुपैंयामै कारोबार हुने गरेको व्यापारी अजय ठाकुरले बताए। खरिद बिक्रीबाट दैनिक जम्मा हुने नेपाली रुपैंया भारतीय व्यापारीले निकटवर्ती नेपाली बजार गड्डाचौकी र महेन्द्रनगरका बैंक र सटही काउन्टरमा पुगेर साट्ने गरेका छन। भारतबाट काम गरेर फर्कने नेपालीसँग समेत नेपाली रुपैंया साट्ने गरिएको यहाँका व्यापारी बताउँछन।
नेपाली ग्राहककै भरमा बजार चलेकाले नेपाली रुपैंयामै कारोबार गर्नुपरेको स्थानीय कपडा व्यापारी नितिन गुप्ताले बताए। नेपाली बजारको भन्दा दैनिक उपभोग्य वस्तु, कपडा, तरकारी, हार्डवेयरका सामाग्री र विद्युतीय सामान सस्तो हुने भएकाले भारतीय बजारबाट खरिद बिक्री हुनेगरको छ। घरायसी प्रयोजनका लागि ल्याइने समाग्रीको भन्सारमा शुल्क बुझाउनु पर्दैन। त्यसैले सामान किनमेल गर्न नेपालीहरु भारतीय बजार वनबासा धाउने गरेका हुन।
वनबासा व्यापार मण्डलकाअनुसार दैनिक रु तीन करोड भन्दा बढीको सामान नेपाली रुपैंयामा कारोबार हुने गरको छ। सामान खरिद गर्ने नेपाली ग्राहकको सङ्ख्या दैनिक पाँच सयदेखि एक हजारको हाराहारीमा हुने गरेको छ। चाडपर्वका बेला बनबासा बजारमा दैनिक रु ६ करोडभन्दा बढीको कारोबार हुने गरेको भारतीय व्यापारीहरु बताउँछन्। रासस