काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्ने नयाँ दुई ठूला जहाजका लागि करिब एक दर्जन पाइलट (क्याप्टेन) लिने भएको छ। निगम व्यवस्थापनले शनिबार सार्वजनिक सूचना आह्वान गरी करार सेवामा पाइलट लिने गरी दरखास्त मागेको हो। निगमले आवेदनका लागि अन्तिम मिति भने तोकेको छैन। त्यसैगरी पाइलट संख्या पनि उल्लेख गरेको छैन।
'पाइलट संख्या उल्लेख नगरे पनि हामी सकेसम्म करिब एक दर्जन पाइलट भर्ना गर्ने तयारीमा छौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले शनिबार नागरिकसँग भने, 'निगमबाटै अवकास पाएका र विगतमा निगममा सेवा गरेका र हाल विदेशी वायुसेवा कम्पनीमा उडान गरिरहेका पाइलटलाई ल्याउने योजना छ।'
निगमले अन्तर्राष्ट्रिय उडानका लागि २७ वर्षपछि पहिलो पटक खरिद गरेका दुई ठूला जहाजमध्ये पहिलो माघ २३ गते युरोपेली जहाज निर्माता कम्पनी एयरबसले जर्मनीको ह्यामबर्गमा निगमलाई हस्तान्तरण गर्ने छ। त्यसको भोलिपल्ट २४ गते जहाज काठमाडौं आइपुग्छ।
योसहित आगामी चैत दोस्रो सातादेखि वैशाख दोस्रो साताभित्र आइपुग्ने अर्को जहाजका लागि निगमले पाइलट माग गरेको हो। निगमले एयरबससँग खरिद गरेका जहाज 'ए३२०–२००' सिरिजका हुन्। दुवै जहाजमा आठ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट रहनेछन्।
निगमका अनुसार ए३२०–२०० जहाजको क्याप्टेन (कमान्डर) को टाइप रेटिङ भएका र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट तोकिएको मापदण्ड अनुसारको स्वास्थ्य स्तर कायम गरेका नेपालीले मात्र दरखास्त दिन पाइने छ।
निगमले पाइलटको उडान उमेर हद ५८ वर्ष तोके पनि पनि तिनलाई एक वा दुई वर्ष थप्दै करारमा काम लगाइरहेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमअनुसार पाइलटले ६५ वर्षको उमेरसम्म उडान गर्न पाउँछन्। त्यसैगरी एउटा पाइलटले एकथरी मात्र जहाज उडाउन पाउँछ। ६० उमेर पुगेको पाइलटले जहाज कमान्ड गरेको छ भने को–पाइलट त्यसभन्दा कम उमेरको हुनैपर्ने पनि आइकाओको नियम छ।
'नयाँ लिइने पाइलटको सेवा–सुविधा हाल काम गरिरहेका क्याप्टेनसरह हुनेछ,' सम्बद्ध स्रोतले भन्यो, 'निगममा यसअघि सेवा गरिरहेका केही पाइलट हाल भारत, खाडी मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाका जहाज उडाइरहेका छन्, तिनलाई लक्ष्य गरेका छौं। उनीहरूलाई व्यक्तिगत रूपमा पनि निगमका नयाँ जहाज उडाउन आग्रह गरिएको छ।'
एयरबसका दुई नयाँ जहाज थपिएपछि र हाल सञ्चालनमा रहेका अमेरिकी जहाज निर्माता कम्पनी बोइङका दुईवटा 'बि७५७' सिरिजका जहाजबाट निगमले चीनको ग्वाङझाउ, भारतका नयाँदिल्ली, बैंंगलोर र मुम्बई तथा युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा उडान गर्ने तालिका बनाएको छ। सँगसँगै हङकङ, बैंकक, दोहा र क्वालालम्पुर सेक्टर पनि छन्। सबैमा गरी सातामा ४२ उडान गर्ने निगमको तालिका छ।
निगमले आगामी फागुन ८ बाट नयाँ जहाज ए३२० ले नयाँदिल्ली उडान गर्ने छ। टिकट बुकिङ भने माघ तेस्रो साताबाट खुला हुने निमगको भनाइ छ। दिल्लीका लागि बिहान ८ बजे काठमाडौंबाट उड्ने तालिका बनाएको छ। अन्य गन्तव्यका लागि पनि समय तालिका बनिरहेको निगमले जनाएको छ।
निगमका अर्का एक अधिकारीका अनुसार केही सातादेखि तीन सेट (६ जना) पाइलटको टोलीले फ्रान्समा एयरबस जहाज उडान तालिम लिइरहेको छ भने अर्को ६ जनाको टोली माघको दोस्रो साता जाने कार्यक्रम तय भएको छ। तालिममा रहेका ६ (चार वरिष्ठ क्याप्टेन र दुई को–पाइलट) तथा जाने तयारीमा रहेका ६ गरी १२ जना एयरबस उडानमै बस्नुपर्ने भएपछि बाँकी १४ क्याटेनले दुई थान बोइङ ७५७ धान्नुपर्ने छ।
एयरबसमा तालिम लिएपछि पनि नयाँ जहाज 'कमान्ड' गर्न भने निगमका क्याप्टेनहरूले पाउँदैनन्। नयाँ जहाज काठमाडौं ल्याउँदा पनि एयरबसकै एक प्रशिक्षक पाइलटले नेतृत्व गर्नेछन् भने निगमका पाइलट सहायक हुनेछन्। केही महिनासम्म एयरबसकै प्रशिक्षक पाइलटले नयाँ जहाज कमान्ड गरेर उडाउनेछन्।