काठमाडौं-करिब एक महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' नेपाल वायुसेवा निगमको एउटा ठूलो चिनियाँ जहाज मर्मतपछि उड्न थालेको छ। निगमले चीनबाट अनुदानमा पाएको ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) जहाज पुस १ देखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड थियो। यो जहाजका लागि यहीँ रहेका चिनियाँ इन्जिनियरले मर्मत गर्न नसकेपछि पुनः जहाज निर्माता कम्पनीले पुस १८ मा थप इन्जिनियरको अर्को टोली पठाएको थियो। त्यही टोलीले मर्मत गरेपछि जहाज तयार भएको थियो।
'मर्मत भएपछि एमए–६० ले नियमित उडान गर्न थालेको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकन्युजसँग भने, 'पहिलो उडान विराटनगरका लागि गर्योर। टिकट बुकिङ पनि राम्रै भइरहेको छ।'
यो जहाजको बायाँ पखेटाको 'फ्ल्याप' को 'लिडिङ एज' मा चरा ठोक्किएर कुच्चिएपछि जहाज ग्राउन्डेड भएको थियो। कुच्चिएको भाग मर्मत भए पनि त्यसपछि बायाँ पखेटाबाट तेल चुहिन थालेको थियो।
एमए–६० तीन सातादेखि थन्किएपछि निगमको आन्तरिक उडानको व्यापार पनि प्रभावित भएको थियो। यो जहाजले भद्रपुरका लागि सातामा दुई, धनगढी दुई र नेपालगन्जका लागि तीन तथा विराटनगरका लागि दैनिक एक उडान गरी सातामा १४ उडान गरिरहेको थियो। जहाज ग्राउन्डेड भएपछि निगमले ठूलो परिमाणमा यात्रु तथा आम्दानी गुमाएको थियो।
यो जहाज गत असार दोस्रो साता चरा ठोक्किँएर पनि ग्राउन्डेड भएको थियो। त्यसबेला काठमाडौंबाट विराटनगर गएर अवतरण गर्नेक्रममा चरा ठोक्किएको थियो। दुई साता थन्किएको उक्त जहाज बल्लबल्ल उडेको दोस्रो दिनमै पुनः ग्राउन्डेड भएको थियो। जहाजमा रहेको राडारमा समस्या देखिएपछि थन्किएको थियो।