काठमाडौं- सरकारी कम्पनी नेपाल वायुसेवा निगममा जति धेरै जहाज थपिँदैछन्, त्यति नै धेरै पाइलट अभाव हुँदैछ। यसको टड्कारो असर निगमको अन्तर्राष्ट्रिय उडानमा देखिन थालेको छ। निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेका र दुई महिनाभित्र आपूर्ति हुने 'ए३२०–२००' सिरिजका जहाज उडाउन आवश्यक पाइलट तयार गर्न थालेपछि यहाँ रहेका दुई ठूला जहाजका लागि भने पाइलट अभाव हुन थालेको हो।
अन्तर्राष्ट्रिय उडान गर्न निगमसँग हाल अमेरिकी जहाज निर्माता कम्पनी बोइङका दुईवटा 'बि७५७' सिरिजका जहाजमात्र छन्। निगमले झन्डै तीन दशकदेखि ती जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। नयाँ आउने जहाजका लागि पनि पाइलट तयार गर्नुपर्ने भएपछि निगम व्यवस्थापनले बोइङका पाइटलाई एयरबसको तालिममा पठाउन थालेको छ।
निगमका एक उच्च अधिकारीका अनुसार केही दिनअघि तीन सेट (६ जना) पाइलटको टोली एयरबस उडान तालिम लिन फ्रान्स गएका छन् भने अर्को ६ जनाको टोली आगामी माघको दोस्रो साता जाने कार्यक्रम तय भएको छ।
'नयाँ जहाज पनि उडाउनैपर्छ र पुरानो पनि सँगसँगै लानुपर्छ,' ती अधिकारीले नागरिकसँग भने, 'अहिलेलाई हामीसँग भएकै पाइलट उपयोग गर्नुपर्ने बाध्यता छ। नयाँ पाइलट भर्ना गर्ने प्रक्रिया पनि सुरु भइसकेको छ।'
निगमसँग बोइङ ७५७ जहाज उडाउन हाल २४ जना क्याप्टेन र दुईजना को–पाइलटमात्र छन्। यो संख्या पनि कम हो। सामान्यतयाः यस्तो एउटा जहाज उडाउन सात सेट (१४ जना) पाइलट चाहिन्छ। अहिले गएका ६ (चार वरिष्ठ क्याप्टेन र दुई को–पाइलट) तथा जाने तयारीमा रहेका ६ गरी १२ जना एयरबस उडानमै बस्नुपर्ने भएपछि बाँकी १४ क्याटेनले दुई थान बोइङ ७५७ धान्नुपर्ने छ।
सम्बद्ध स्रोतका अनुसार फ्रान्स गएका वरिष्ठ क्याप्टेनमा रविन्द्रपुरुष ढकाल, सन्तोष शर्मा, दीपकनरसिंह राणा र महेश्वरमान डंगोल छन् भने बोइङका को–पाइलटहरू श्रवण रिजाल र नरबहादुर विश्वकर्मा छन्। यो टोलीसँग नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका क्याप्टेनहरू दीपक लामा र शैलजा मुनंकर्मी पनि निगमकै खर्चमा गएका छन्। निगमका पाइलटले तालिम लिएपछि प्राधिकरणका पाइलटले उनीहरूलाई नेपालका लागि प्रमाणित गर्नेछन्।
त्यसैगरी वरिष्ठ क्याप्टेनहरू राकेश जबरा, सुवर्ण अवाले, राजन मानन्धर, दीपाल शेरचन, समजकुमार श्रेष्ठ र रविन्द्रकुमार शेरचन अर्को टोलीमा सहभागी भएर फ्रान्स जाँदैछन्।
'सबैले ३५ दिनको तालिम लिनेछन्। पहिलो टोली आगामी माघ दोस्रो साता फर्कने छ र लगत्तै अर्को टोली जाने छ,' स्रोतले भन्यो, 'बोइङका पाइलटले एयरबसको तालिम लिएपछि फेरि बोइङका जहाज उडाउन पाइँदैन।'
पहिलो टोलीमा रहेका वरिष्ठ क्याप्टेनहरू शुक्रसमसेर राणा, ओमबहादुर गुरुङ र कृष्णविक्रम पौडेल क्षेत्रीले भने एयरबसका जहाज उडाउन नजाने र बोइङ ७५७ मै बस्ने भनेपछि अन्य तीन नयाँ क्याप्टेनलाई फ्रान्स पठाइएको थियो।
सम्बद्ध अधिकारीका अनुसार एक थरी जहाज उडाइरहेको पाइलटले अर्को थरी जहाजको तालिम लिएपछि पुरानो जहाज उडाउन पाउँदैन। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले पछिल्लो पटक 'एक पाइलट–एकथरी जहाज' अन्तर्गत यो नियम बनाएको हो।
त्यसैगरी आइकाओको अर्को नियमअनुसार ६० वर्ष उमेर पार गरेका दुईजना पाइलटले सँगसँगै एउटै जहाज उडाउन पनि पाइँदैन। ६० वर्षको पाइलटले जहाज कमान्ड गरेको छ भने को–पाइलट ६० वर्षभन्दा कम उमेरको हुनैपर्छ।
हाल निगमसँग ६० वर्ष उमेर पार गरेका चारजना वरिष्ठ क्याप्टेन छन्, जसले बोइङ ७५७ कमान्ड गरिरहेका छन्। तिनमा युवराजकुमार भट्टराई, रविन्द्रबहादुर श्रेष्ठ, ज्ञानेन्द्रपुरुष ढकाल र सुधीर राई छन्।
सन् २०१९ सम्म बोइङ ७५७ उडाउने निगम व्यवस्थापनको योजना भए पनि तिनलाई कसले उडाउने भन्ने समस्या रहेको एक वरिष्ठ क्याप्टेनले बताए। 'नयाँ क्याप्टेन ल्याए पनि डेढ दुई महिना तालिम नलिई उडाउन मिल्दैन, त्यसबाहेक स्वास्थ्यका कारण उडाउन नमिल्ने पनि अवस्था आउनसक्छ,' उनले भने।
झन्डै सात सेट पाइलट अर्को जहाजमा जाने भएपछि निगमलाई यहाँ भएका दुईवटा बोइङ ७५७ उडाउन समस्या पर्ने निश्चित छ। तर, निगम व्यवस्थापनले यसका लागि तीव्र गतिले तयारी अगाडि बढाएको जानकारी दिएको छ।
'२० जनाजति नयाँ क्याप्टेन भर्ना गर्न आवेदन मागेका छौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भने, 'टि्वनअटर जहाजका क्याप्टेनलाई पनि विस्तारै ठूला जहाजतिर लान्छौं र उडाइरहेका र नयाँ भर्ना हुनेलाई बोइङ ७५७ र एयरबस ए३२० मा व्यवस्थित तरिकाले राख्छौं।'
सम्बद्ध एक अधिकारीले भने पाइलट अभावमा उडानै रद्द गर्नुभन्दा थोरै उडान राखेर विश्वसनियता कमाउँदै जाने र त्यसपछि पूर्णरूपमा अगाडि बढ्ने योजना रहेको जानकारी दिए। नयाँ जहाज आएपछि पुराना दुईवटा ठूलालाई कम समय उडाउने उनको भनाइ छ।
अर्का एक वरिष्ठ क्याप्टेनले निजी कम्पनीको दाँजोमा असाध्यै न्यून सेवा सुविधा भएका कारण निगमका जहाज उडाउन अनुभवी पाइलटले कम चासो दिन गरेको बताए। निगमले अन्तर्राष्ट्रिय उडान गर्ने क्याप्टेनलाई ४५ घन्टा 'ग्यारेन्टी आवर', तलब र अन्य सुविधा गरी मासिक डेढ लाख रुपैयाँसम्म दिने गरेको उनले जानकारी दिए।
'निजी कम्पनीमा हाम्रो भन्दा चारदेखि पाँच गुणाबढी सुविधा पाइन्छ,' उनले भने, 'सरकारी संस्था भन्दैमा सेवा सुविधा बढी दिन नहुने भन्ने होइन, सरकारले पनि यसमा ध्यान दिनुपर्छ, नत्र निगमका जहाज उडाउन पाइलट कसरी आकर्षित गर्न सकिन्छ?'