काठमाडौं- 'व्यवस्थापन चुस्त र दक्ष नभएपछि जतिवटा जहाज किने पनि के गर्नु, कुनै अर्थ छैन'– यो सामान्यदेखि नीति–निर्मातासम्मले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमप्रति राख्ने धारणा हो।
वायुसेवा निगममा जोसुकै अध्यक्ष वा महाप्रबन्धक नियुक्त भए पनि यस्तो धारणा परिवर्तन हुन सकेको छैन। वर्षौंदेखि काम गरिरहेका कर्मचारी र उच्च तहका अधिकारीहरूको कार्यक्षमतामा सधैं प्रश्न उठ्ने गर्छ। सरकार नियन्त्रित संस्था भएका कारण यस्ता प्रश्न उठ्नु स्वाभाविक हो।
तर, पछिल्लो पटक निगमप्रति भनिने र सुनिने धारणा परिवर्तनका सुरुवात देखिन थालेका छन्। व्यवस्थापन सुधारका केही गतिविधि अगाडि बढाइरहेको निगमलाई वर्तमान संरचनाबाटै अझै माथि जान भने समस्या पर्नेछ। निगमका उच्च अधिकारीहरू नै भन्छन्– 'चुस्त–दुरुस्त तरिकाले सरकारी संस्थान चलाउन हाम्रो संरचना व्यावसायिक छैन।'
यति हुँदाहुँदै पनि वर्तमान व्यवस्थापन हाँकिरहेका महाप्रबन्धक मदन खरेल अझै आशावादी छन्। 'व्यवस्थापनका सबै पक्ष सुधार्ने काम भइरहेको छ,' खरेल भन्छन्, 'वायुसेवा कम्पनीको प्रमुख उपकरण (जहाज) सानादेखि ठूलासम्म थपिइरहेका छन्। ई–टिकेटिङको व्यवस्था पनि गरिसक्यौं। सुधार भनेको यसरी नै हुने हो।'
खरेलसँग व्यवस्थापन सुधारको लामै फेहरिस्त छ। एक दशकदेखि उड्न नसक्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' भएका दुईवटा जहाजलाई मर्मतपछि उडाउन सफल भएको उनी गर्वसाथ सुनाउँछन्। 'तीनदेखि चार महिनाभित्र हामीसँग एउटा पनि ग्राउन्डेड जहाज हुनेछैन,' उनी हौसिन्छन्, 'के यो व्यवस्थापन सुधार होइन?'
उनका अनुसार योजनाबद्ध तरिकाले व्यापार गर्नुपर्छ भनेर १० वर्षे रणनीति तयार पारिएको छ। निगमका नाममा मुलुकभर रहेका जग्गा खोज्ने र उपयोग गर्ने काम पनि भइरहेको छ। त्रिभुवन विमानस्थलमा आउने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजलाई दिइने 'ग्राउन्ड ह्यान्डलिङ' सेवा पनि धेरै सुधार गरिएको छ।
राजनीतिक हस्तक्षेपले थिलथिलो बनेको निगम हाँक्न जुनसुकै दलका मन्त्री आए पनि आफ्ना कार्यकर्ताको भर्ती केन्द्र बनाउने गरेको कसैबाट लुकेको छैन। तर, यसविपरीत हालै निगम व्यवस्थापनले इतिहासमै पहिलो पटक २ सय ५० कर्मचारी प्रतिस्पर्धाबाट नियुक्त गरेको छ। नवौं तहमा मात्र १९ जना वरिष्ठ क्याप्टेन नियुक्त गरेको छ। ३५ जना एयर होस्टेस नियुक्ति प्रक्रिया अगाडि बढेको छ।
'व्यवस्थापन भनेको कुनै जादुको छडी होइन र यो रातारात परिवर्तन हुने पनि होइन,' महाप्रबन्धक खरेल भन्छन्, 'दिउँसो कामको चापका कारण व्यवस्थापनको बैठक कार्यालय समयपछि गरिरहेका छौं। संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्यौंक। पहिले जथाभावी दरबन्दी थियो, अहिले त्यस्तो अवस्था छैन।'
उनका अनुसार मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने २१ करोड रुपैयाँ मिनाहा भएको छ। यसले दायित्व केही कम हुन पुगेको छ। लेखापरीक्षण तोकिएको समयमै हुने गरेको छ। चालु आर्थिक वर्षको बजेट असार मसान्तमै अनुमोदन भयो। सधैं पेस्की बजेट हुने निगममा यो वर्ष असारमै बजेट पास भएको छ। लामो समयदेखि वास्ता नगरिएको आइएफआरएस मापदण्डमा जाने काम भएको छ।
अहिले निगमका जहाज तोकिएकै समयमै उड्ने दर (अनटाइम) ९४ प्रतिशत र विश्वसनियता (रिलायबिलिटी) ९८ प्रतिशत पुगेको खरेल दाबी गर्छन्। 'यो ठूलो उपलब्धी हो,' उनी भन्छन्।
व्यवस्थापन सुधारका गतिविधि जारी रहे पनि संस्थागत संरचनाका कारण केही कुरामा बाँधिएको उनको भनाइ छ। संस्थालाई चाहिने जहाज, इन्जिनलगायत खरिद गर्न लामो प्रक्रिया पूरा गर्नुपर्ने अवस्था उनी सुनाउँछन्। 'राम्रो कार्य सम्पादन गर्ने कर्मचारी चाहिन्छ तर, यहाँ राम्रो काम नगर्नेलाई हटाउने नियमै छैन,' उनी भन्छन्, 'अनुशासन र प्रतिबद्धता हुनैपर्छ। त्यहीअनुसार तलब सुविधा दिनुपर्छ। सामान्य तलब सुविधा दिएर काम र उत्कृष्ट नतिजा पाउन सकिँदैन तर, सरकारी संस्था भएकाले गर्न पनि समस्या छ।'
निगमलाई थप चुस्त बनाउन सार्वजनिक–निजी साझेदारी अन्तर्गत चलाउन उपययुक्त हुनसक्ला तर, १३ वर्षदेखि कुराबाहेक काम नभएको उनको अनुभव छ। संयुक्त लगानीको कुरा पनि छ, तर सरकार यसमा गम्भीर हुनुपर्ने उनको भनाइ छ। जतिसुकै योजना बनाए पनि सरकारले पुँजी थप्ने कुरा नगर्दा थप समस्या रहेको उनी बताउँछन्।
'कर्मचारी सञ्चय कोषसँग १२ प्रतिशत ब्याज दरमा ऋण लिनुपर्ने बाध्यता छ,' उनी भन्छन्, 'यहाँ २/३ प्रतिशत ब्याज दरमा सहुलियत ऋण जति पनि उपलब्ध हुन्छ। हामीलाई व्यवस्थापकीय छनौट र स्वतन्त्रता छैन तर यति हुँदाहुँदै पनि काम गरिरहेका छौं। निगमको मुहार फेर्ने काम भइरहेको छ। वित्तीय हिसाबमा नाफामै छौं। वातावरण एकखालको छ, तर काम गर्न सकेन भन्न मिल्दैन।'
निगमले हाल आन्तरिकमा टि्वनअटर, चिनियाँ मोडर्न आर्क (एमए–६०) र वाई१२–ई तथा अन्तर्राष्ट्रियतर्फ अमेरिकी जहाज निर्माता बोइङको ७५७ गरी चार थरी जहाज उडाइरहेको छ। अब चाँडै आउने तयारीमा रहेको युरोपेली कम्पनी एयरबसको ए३२०–२०० सिरिजका थपिएपछि पाँच थरी हुनेछन्।
'पाँच थरी जहाज व्यवस्थापन गर्न कठिन भएपनि हामी तयार छौं। यही तथ्य राखेर हाम्रो व्यवस्थापनको मूल्यांकन गर्नुपर्छ। हामी व्यावसायिक सुझावका साथ अगाडि बढ्छौं,' महाप्रबन्धक खरेल भन्छन्, 'व्यवस्थापन संरचना हेर्दा कति सुधार गर्न सक्छौं, व्यवहारमा हेर्ने बेला आइसकेको छ। एउटालाई मात्र दोष दिएर हुँदैन।'