काठमाडौं– नेपालमा रेस्टुरेन्ट संस्कृति भित्र्याउने 'श्रेय' पाएको नाङ्लो ब्रान्डको पहिलो रेस्टुरेन्ट ३८ वर्ष सञ्चालनमा आएपछि बन्द भएको छ। नाङ्लो ग्रुप अफ कम्पनिजले राजधानीको दरबारमार्ग सञ्चालन गरिरहेको उक्त रेस्टुरेन्ट आइतबारबाट आधिकारिक रूपमा बन्द भएको हो। व्यवस्थापनले 'विशेष परिस्थिति' भन्दै रेस्टुरेन्ट बन्द गर्नुपरेको सूचना जारी गरेको छ।
'रेस्टुरेन्ट रहेको घर–जग्गाका धनीले भाडा सम्झौता अवधि नथप्ने भनेपछि हामीले बाध्य भएर बन्द गर्नुपर्यो,' नाङ्लो ग्रुपका अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले आइतबार नागरिकसँग भने, 'एउटा स्थापित ब्रान्ड र ल्यान्डमार्क बनिसकेको रेस्टुरेन्ट एक्कासि बन्द गर्नुपर्दा दुःख लागेको छ।'
उनका अनुसार घर–जग्गा धनीहरू दयारामभक्त माथेमा र भुवनेश्वर अमात्यका परिवारले भाडा सम्झौता अवधि नवीकरण नगर्ने जानकारी दिएपछि रेस्टुरेन्ट बन्द गरिएको हो। सम्झौता गत मंसिर अन्तिमसम्म मात्र थियो। रेस्टुरेन्टले प्रत्येक दुईदेखि तीन वर्षमा सम्झौता नवीकरण गर्दै आएको थियो।
'मासिक १० लाख रुपैयाँ भाडा तिर्दै आएका थियौं,' कक्षपतिले भने, 'भाडा थपेर दिन पनि हामीले प्रस्ताव राखेका थियौं तर घर–जग्गा धनीले मान्नुभएन। नमानेपछि अर्कोको घर–जग्गा छाड्नैपर्यो।'
करिब चार दशकदेखि स्वदेशी तथा विदेशी ग्राहकलाई उत्कृष्ट खानाको स्वाद पस्किरहेको रेस्टुरेन्टमा मम, सिज्लर र नेपाली दालभात बढी लोकप्रिय थियो। रेस्टुरेन्टमा कार्यरत करिब ८० कर्मचारीलाई व्यवस्थापनले शनिबार ललितपुरको लामाटारमा वनभोज कार्यक्रम गरी आइतबारबाट रेस्टुरेन्ट सञ्चालनमा नआउने जानकारी दिएको थियो।
'यो बन्द गरे पनि हामी सकेसम्म चाँडै दरबारमार्गमै अर्को रेस्टुरेन्ट सञ्चालन गर्छौं,' नाङ्लोका अध्यक्ष कक्षपतिले भने, 'घर खोजिरहेका छौं। पाउनासाथ पुराना कर्मचारीलाई नै लिएर सञ्चालन गरिहाल्छौं। हामीसँग वर्षौं काम गरेकालाई नै पहिलो प्राथमिकता दिन्छौं।'
उनका अनुसार नाङ्लो ग्रुपले दरबारमार्गको यो रेस्टुरेन्टमा हालसम्म ३ करोड रुपैयाँ लगानी गरिसकेको थियो। यसभित्र एउटा चिनियाँ रेस्टुरेन्ट र क्याफे एन्ड पब सञ्चालनमा थिए। रेस्टुरेन्टले डेढ रोपनी क्षेत्रफल ओगटेको थियो। भाडा सम्झौता अवधि सकिनु डेढ महिना अघिदेखि नै नयाँ घर खोज्न सुरु गरेको थियो। तर, हालसम्म पाउन सकिएको छैन।
कक्षपतिले करिब चार दशकअघि कामकाजीहरूलाई लक्ष्य गरी दरबारमार्गमा यही 'नाङ्लो क्याफे एन्ड पब' रेस्टुरेन्ट सञ्चालनमा ल्याएका थिए। यो मुलककै पहिलो पब रेस्टुरेन्ट हो।
उनका अनुसार त्यसबेला दरबारमार्ग भर्खर बजारका रूपमा विकास हुँदै थियो। दरबारमार्गमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, ट्राभल एजेन्सीलगायतका कार्यालय खुल्दै थिए। 'त्यही बजार लक्ष्य गर्दै रेस्टुरेन्ट सुरु गरेको थिएँ,' उनले भने।
नाङ्लो ग्रुप अफ कम्पनिजअन्तर्गत दुईवटा कम्पनी सञ्चालनमा छन्। ग्रुपमा उनका भाइ गोपालसुन्दरलालको संयुक्त लगानी छ। पहिलो कम्पनी बेकरी क्याफेमा श्यामको लगानी छ भने दोस्रो कम्पनी नाङ्लोमा गोपालको लगानी छ। बेकरी क्याफे ब्रान्डमा हाल काठमाडौं उपत्यकामा १० तथा बुटवल र पाल्पामा एक–एकवटा रेस्टुरेन्ट सञ्चालनमा छन्। दरबारमार्गको नाङ्लोको व्यवस्थापन गोपालले हेरिरहेका थिए। 'पारिवारिक विवादका कारण रेस्टुरेन्ट बन्द भएको होइन,' ग्रुपका अध्यक्ष कक्षपतिले भने।
घर–जग्गा भाडा सम्झौता नवीकरण नहुँदा नाङ्लो ग्रुपले बन्द गरेको यो पहिलो रेस्टुरेन्ट भने होइन। यसअघि ठमेल, न्युरोड र महाराजगन्ज शिक्षण अस्पतालसँगैका गरी तीनवटा रेस्टुरेन्ट बन्द गरिसकेको छ।
'रेस्टुरेन्ट व्यवसायको सबैभन्दा ठूलो समस्या भनेकै घर–जग्गा भाडामा लिएर त्यसलाई लामो समय निरन्तरता दिन नसक्नु हो,' उनले भने, 'घर–जग्गा धनीलाई वर्षौं रिझाएर राख्न गाह्रो छ। सम्झौता नवीकरण नभएपछि पूर्वाधार सबै खेर जान्छ। आफैं घर बनाएर वा जग्गा किनेर रेस्टुरेन्ट सञ्चालन गर्न अब सम्भव छैन। सञ्चालनमा रहेकालाई नै निरन्तरता दिन ठूलो चुनौती छ।'