काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट अनुदानमा प्राप्त दोस्रो जहाजले बिहीबारबाट नियमित व्यापारिक उडान गर्ने भएको छ। यो जहाजको पहिलो गन्तव्य पोखरा रहेको छ। पोखराका लागि दैनिक दुई उडान राखिएको निगमले जनाएको छ। पहिलो उडान बिहान ८ बजे र दोस्रो दिउँसो २ बजेलाई राखिएको छ। पोखराबाट बिहान ९:१० बजे र दिउँसो ३:१० बजे फर्कने तालिका बनाइएको छ।
निगमले भाडा दर प्रतियात्रु ३ हजार १० रुपैयाँ तोकेको छ। प्रवर्द्धनात्मक भाडा दर सम्पूर्ण करसहित भएको निगमले जनाएको छ। विदेशी यात्रुका लागि भने करसहित ९० अमेरिकी डलर तोकिएको छ।
निगमले गत कात्तिक १७ मा चीनबाट ल्याएको १८ सिट क्षमतायुक्त 'वाई१२–ई' जहाजले हालै उडानयोग्यता परीक्षण उडान र 'प्रुभिङ फ्लाइट' गरेको थियो। यो जहाजले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गत आइतबार वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) प्रदान गरेको थियो। त्यसपछि यो जहाजबाट नियमति उडान गर्ने बाटो खुलेको हो।
प्राधिकरणबाट '९एन–एकेएस' कलसाइन पाएको यो जहाजलाई निगमले 'कोइली' चराको नाम दिएको छ। यसलाई पश्चिम क्षेत्रका दुर्गम भेगका विमानस्थलमा उडाउने निगमको योजना छ। यसअघि आएको अनुदानको पहिलो जहाज ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) ले नियमित उडान गरिरहेको छ।
निगमका लागि चिनियाँ जहाज प्राप्त गर्न २०७० मंसिर १३ मा नेपाल र चीनबीच ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ (४० करोड ८० लाख युआन) बराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो। यसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो।
द्विपक्षीय सम्झौताअनुसार एमए–६० दुई र वाई१२–ई चारवटा उपलब्ध हुनेछन्। तीमध्ये एउटा एमए–६० र एउटा वाई१२–ई अनुदान तथा एउटा एमए–६० र तीनवटा वाई१२–ई सहुलियत ऋणमा चीनले दिनेछ। अब बाँकी चार जहाज (एउटा एमए–६० र तीनवटा वाई१२–ई जहाज चार महिनापछि ल्याउने गरी निगमले काम अगाडि बढाएको छ।