काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विदेशी कम्पनीले हेलिकोप्टर अवतरणमा प्रयोग गरिने अस्थायी हेलिप्याड ‘एभटर्फ' को परीक्षण गरिएको छ। डेनमार्कको एभरग्रिन एभिएसन कम्पनीले गत शुक्रबार राख्न र झिक्न मिल्ने एभटर्फ हेलिप्याडको परीक्षण गरेको हो।
कम्पनीले त्रिभुवन विमानस्थलको हेलिकोप्टर पार्किङ क्षेत्रमा १३ दशमलव २६ मिटर वर्गाकार क्षेत्रफलको एभटर्फ हेलिप्याड बनाएको थियो।एभटर्फबाट बनाइएको हेलिप्याडमा हेलिकोप्टर अवतरण गरी सफल परीक्षण उडान गरिएको हो। परीक्षणका लागि आएको एभरग्रिन एभिएसनका प्राविधिक निर्देशक निकोलाज पि डकर्टले अधिकांश क्षेत्रमा यस्तो हेलिप्याड प्रयोग गर्न सकिने जानकारी दिए।
‘आगोले असर नगर्ने र कम मर्मत गरे पुग्ने एभटर्फ हेलिप्याड र धावनमार्गका लागि उपयुक्त हुन्छ,' डकर्टले भने, ‘यदि कुनै भाग बिग्रियो वा काम नलाग्ने भयो भने त्यसलाई काटेर अर्को जोड्न पनि मिल्छ। एभटर्फले धावनमार्गको आयु लम्ब्याउन मद्दत पनि पुर्याउँछ।'
उनका अनुसार एभटर्फको मूल्य प्रतिवर्गमिटर २३ युरो पर्छ। तर, जहाज एभटर्फ जडान गर्ने हो त्यो जमिनको अवस्थामा यसको मूल्य फरक पर्ने गर्छ। यस्तो एभटर्फको आयु करिब २५ वर्षसम्म हुने गर्छ।
नेपाल वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका महासचिव सुमन पाँडेले राम्रा हेलिप्याड अभावका कारण नेपाली पाइलटले उबडखाबड क्षेत्रमा हेलिकोप्टर अवतरण गर्नुपरिरहेको बेला एभटर्फ धेरै नै उपयोगी हुने बताए। ‘उबडखाबड जमिनमा अवतरण गर्दा हेलिकोप्टरको इन्जिन चाँडै खराब हुने गर्छ,' निजी हेलिकोप्टर सेवा प्रदायक कम्पनी फिसटेल एयरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत रहेका पाँडेले भने, ‘एभटर्फले आरामदायी अवतरण गर्न सहयोग गर्छ।'
नेपाली विमानस्थलका धावनमार्ग बेलाबेला चर्किने गरेका उदाहरण दिँदै पाँडेले एभटर्फ धेरै नै उपयोगी हुने बताए। ‘एभटर्फले चर्किएको भागलाई छोप्छ र फेरि चर्किन वा भत्किन दिँदैन,' उनले भने, ‘यसमा चरा तथा जंगली जनावरलाई लुक्ने ठाउँ पनि हुँदैन र धावनमार्गमा तिनीहरू उपस्थिति न्यून हुने गर्छ।'
एभटर्फलाई वर्षा मौसमका बेला हिलो भएको क्षेत्रमा ओछ्याएर उडान र अवतरणमा पनि प्रयोग गर्न सकिने पाँडेले जानकारी दिए।
एभरग्रिन एभिएसनका अधिकारीहरूका अनुसार हालसम्म अमेरिकाका ४५ वटा विमानस्थलमा एभटर्फ जडान गरिसकिएको छ। विगत १५ वर्षदेखि अमेरिकी विमानस्थलले एभटर्फ प्रयोग गर्दै आएका छन्। युरोपमा पनि दुई वर्षअघि यसको प्रयोग सुरु गरिएको थियो। यो गाढा हरियो रंगको हुने भएकाले पाइलटलाई अवतरण गराउन थप सजिलो हुने गर्छ।