काठमाडौं-सिंगापुर एयरलाइन्स अन्तर्गतको सिल्क एयरले नेपाल महाप्रबन्धकमा विवेक जैनलाई नियुक्त गरेको छ। उनी नेपाल आउनुअघि सिल्को लागि भारतको महाप्रबन्धक थिए।
'नेपाल हाम्रो प्रमुख गन्तव्य हो,' जैनले भने, 'यहाँको व्यापारबाट हामी उत्साहित छौं किनभने काठमाडौंबाट सिंगापुर पुगेपछि हाम्रो सिंगापुर एयरलाइन्समार्फत एक सयभन्दा बढी देशमा सजिलै जान सकिन्छ। यसले यात्रुलाई धेरै नै सहज बनाएको छ।'
सिल्कको नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) एभरेस्ट एक्सप्रेस टुर्स एन्ड ट्राभल हो। सिल्कले काठमाडौं–सिंगापुर रुटमा हाल सातामा ६ उडान गरिरहेको छ। 'आगामी डिसेम्बरबाट बोइङ ७३७–८०० सिरिजको जहाजबाट काठमाडौं उडान गर्ने तयारी छ,' डेढ दशकदेखि सिंगापुर एयरलाइन्समा कार्यरत जैनले भने, 'यसबाट थप आरामदायी यात्रा गर्न सहज हुनेछ।'
सिल्कले हाल १२ देशका ४७ गन्तव्यमा साताका ३ सय ५० भन्दा बढी उडान गर्दै आएको छ। २६ जहाजबाट उडान गरिरहेको सिल्कले ६८ थान बोइङ ७३७ सिरिजका जहाज अर्डरसमेत गरेको छ।