काठमाडौं-राजधानीको मन्डिखाटार हाइटमा नयाँ बुटिक होटल सञ्चालनमा आएको छ। 'नेवार भिल्ला' नाम दिइएको होटल हालै सञ्चालनमा आएको हो।
होटलमा हाल सात कोठा रहेका छन्। सबै कोठा भिन्नै डिजाइनमा तयार पारिएका छन् भने एउटा नेवारी रेस्टुरेन्ट पनि सञ्चालनमा छ। सञ्चालकले बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक लक्ष्य गर्दै होटल खोलेको बताएका छन्।
'अवकासपछिको जीवनमा पनि केही गर्नुपर्छ र आम्दानीको स्रोत पनि बढ्ने हिसाबमा यो बुटिक होटल सञ्चालनमा ल्याएका हौं,' नेवार भिल्लाका सञ्चालक दीव्यमणि राजभण्डारीले मंगलबार नागरिकसँग भने, 'यस्तो कामले अरूलाई पनि प्रोत्साहन मिल्ने विश्वास छ।'
उनका अनुसार होटलमा क्विन रुम, टेरेस रुम, कोजी रुम, इन्डिया रुम, नेवार सुइट, चाइना सुइट र जापान सुइट गरी सात कोठमा छन्। पाहुनाका लागि कोर्टयार्ड, टेरेस र गार्डेन पनि छन्। होटलले साढे चार रोपनी क्षेत्रफल ओगटेको छ।
'मेरो आफ्नै घरलाई रिनोभेसन गरी होटलमा परिणत गरेको हुँ,' राजभण्डारीले भने, 'खासै ठूलो लगानी गरेका छैन। हालसम्म पचासदेखि ६० लाख रुपैयाँ खर्च भएको छ।' होटल व्यवस्थापनले प्रतिरात प्रतिकोठा २ सय ५० अमेरिकी डलरसम्ममा बिक्री गरिरहेको उनले बताए। यो दर १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक हो।
होटल सञ्चालनमा आएपछि वरिपरिका क्षेत्रमा पनि राम्रो वातावरण सिर्जना भएको उनको भनाइ छ। 'यो होटलले राम्रो व्यापार गर्दै गयो भने निकट भविष्यमा कोठा संख्या थपेर २० पुर्यापउने योजना बनाएका छौं,' पहिलो पटक आतिथ्य सत्कार उद्योगमा लगानी गरेका राजभण्डारीले भने, 'अहिलेसम्म सकारात्मक प्रतिक्रिया पाएका छौं। यसबाट अगाडि बढ्ने हौसला मिलेको छ।'