काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन लागेको दोस्रो जहाज आउने मिति अझै अनिश्चित भएको छ। चीनले यसअघि दिएको मितिअनुसार जहाज गत असार ३० मा आउनुपर्थ्यो।
निगम व्यवस्थापनले यताबाट ताकेता गरेको गर्यै गरेपछि चीनले त्यसपछि फेरि अर्को मिति दिएको थियो। त्यसअनुसार गएको साउन ९ मा उक्त जहाज काठमाडौं अवतरण गर्ने तालिका थियो।
चिनियाँसँग कागजातको समस्या भोग्दै आएको निगमलाई यसपालि पनि चीनले अंग्रेजी भाषा बोल्ने प्रशिक्षक पाइलट उपलब्ध गराउन नसकेका कारण दोस्रो जहाज ल्याउन कठिन भइरहेको छ। तोकिएको समयमै जहाज ल्याउन सकेको भए बजार हिस्सा ओगट्दै जाने निगमको योजना सफल हुनसक्थ्यो।
बारम्बार ताकेता गरेपछि चीनले भदौ २० मा एक प्रशिक्षक पाइलट नेपाल पठाइदियो। ती पाइलटलाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रमाणित गर्ने प्रक्रिया सुरु गरेको छ।
चिनियाँ पाइलट आए, अब जहाज ल्याउन पाइने भयो भनेर दंग परेका निगम अधिकारीहरू त्यतिबेला झस्किए जब ती पाइलटसँग अंग्रेजी भाषा बोल्न र बुझ्न सक्ने क्षमता छैन भन्ने पुष्टि भयो। यसपालि पनि चीनले 'धोका' दिएको निगम व्यवस्थापनको बुझाइ छ।
'हाम्रो उड्डयन नियमअनुसार अंग्रेजी भाषा बुझ्ने र बोल्ने पाइलट नै अनिवार्य छ, तर चीनले पठाइदिएको प्रशिक्षक पाइलट अंग्रेजी बोल्न र बुझ्न नसक्ने रहेछन्,' निगमका महाप्रबन्धक मदन खरेलले नागरिकसँग भने, 'अब चीनबाट दोस्रो जहाज आउने मिति झन् अनिश्चित भएको छ।'
निगमले चीनसँग अहिले लिन लागेको जहाज १८ सिटयुक्त 'वाई१२–ई' मोडेलको हो। यो अनुदानमा पाइने दोस्रो जहाज हो। यसअघि अनुदानको पहिलो जहाज ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) मोडेल यहाँ आएर नियमित व्यापारिक उडान सुरु गरिसकेको छ। निगमले सकेसम्म दसैंअघि नै वाई१२–ई जहाज ल्याएर उडाउने योजना बनाए पनि अझै पूरा हुन सकेको छैन।
'हामीले धैर्य गुमाएका छैनौं,' महाप्रबन्धक खरेलले भने, 'काम गर्दा वाधा–अडचन आइरहे पनि हाम्रो तर्फबाट सबै तयारी पूरा भइसकेका छन्। प्रशिक्षक पाइलट नभएसम्म जहाज ल्याउने पक्षमा हामी छैनौं।' उनका अनुसार चीनले प्रशिक्षक पाइलट व्यवस्था गर्दै गरौंला जहाज लैजान भनिरहेको छ। जहाज ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याउनुको अर्थ छैन।
निगमका पाइलटहरूले चिनियाँ जहाज उडाउने तालिम नलिएका कारण ती जहाज उडाउन पनि चीनबाटै पाइलट ल्याउनुपर्ने बाध्यता छ। एमए–६० हालसम्म चिनियाँ पाइलटले नै उडाइरहेका छन्। तर, सँगै ककपिटमा निगमका पाइलट पनि तालिम लिइरहेका छन्।
नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार जहाज उडाउने पाइलटले विमानस्थल टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) सँग अंग्रेजी भाषामै कुराकानी गर्नुपर्छ। यो नियम संसारभरका उड्डयन प्राधिकरणको छाता संगठन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले बनाएको हो।
प्राधिकरण पनि आइकाओको सदस्य राष्ट्र हो। चीनबाट अंग्रेजी भाषा बोल्ने पाइलट आए भने सुरुमा तिनको योग्यता प्राधिकरणले प्रमाणित गर्नुपर्छ। त्यसपछि मात्र तिनले चिनियाँ जहाज उडाउन पाउँछन्।
यसअघि आएको एमए–६० उडानमा पनि यस्तै समस्या आएको थियो। अंग्रेजी भाषा बोल्न सक्ने पाइलट तुरुन्त उपलब्ध नगराइदिनु तथा चीनमा दर्ता खारेज भएको पत्र नपठाइदिँदा उक्त जहाज झन्डै दुई महिना त्रिभुवन विमानस्थलमा थन्किएको थियो।
सम्बद्ध अर्का एक अधिकारीका अनुसार चीनसँग जहाज खरिद–बिक्री सम्झौता हुँदा यसबारे सबै स्पष्ट हुनुपर्थ्यो। चिनियाँले जहाजमात्र बेच्ने तर सहयोगी संयन्त्र उपलब्ध नगराउने गरेको यसबाट पुष्टि भएको छ। निगमले अमेरिकी जहाज निर्माता कम्पनी बोइङको जहाज उडाउन थालेको झन्डै तीस वर्ष भएको छ। अझैसम्म पनि ती जहाजमा कुनै प्राविधिक समस्या आएर बोइङसँग परामर्श लिइने गरिन्छ। जगेडा सामान भएसम्म उनीहरूले उपलब्ध पनि गराइरहेका छन्। तर, चीनसँग यसखाले संयन्त्र विकास गर्न सकिएको छैन।
चीनले गत असार पहिलो साता दोस्रो जहाज (वाई१२–ई) लिन निगमलाई पत्राचार गरेको थियो। त्यसपछि निगमका महाप्रबन्धक खरेलको टोली असार १८ मा जहाज लिन त्यसतर्फ गएको थियो। खरेललाई असार २२ मा जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट म्यानुफ्याक्चरिङ कर्पोरेसनले उक्त जहाज हस्तान्तरण गरेको थियो।
निगमको यो जहाजलाई प्राधिकरणले यसअघि नै '९एन–एकेएस' कलसाइन दिइसकेको छ। निगमले यो जहाजको नाम 'कोइली' राखेको छ।
नेपाल र चीनबीच भएको जहाज खरिद–बिक्री सम्झौताअनुसार एमए–६० दुई र वाई१२–ई चारवटा उपलब्ध हुनेछन्। तीमध्ये एउटा एमए–६० र एउटा वाई१२–ई अनुदान तथा एउटा एमए–६० र तीनवटा वाई१२–ई सहुलियत ऋणमा चीनले दिनेछ।
सहुलियत ऋणमा पाइने चारमध्ये एउटा एमए–६० असोज १४ तथा बाँकी तीनवटा वाई–१२ई कात्तिक १३ मा आइपुग्ने आपूर्ति तालिका चीनले यसअघि नै निगमलाई दिएको थियो। चीनले उत्पादन गरेको वाई१२–ई जहाजले सन् १९८२ मा पहिलो उडान गरेको थियो। १९८५ देखि उसले यस्ता जहाज उत्पादन गरिरहेको छ।