काठमाडौं- कृषि क्षेत्रमा कार्यरत युवा कृषकहरुले सरकारले युवा मैत्री कृषि नीति बनाउन सुझाव दिएका छन्। अन्तर्राष्ट्रिय पारिवारीक खेती वर्ष २०१४ राष्ट्रिय कार्यान्वयन समिति नेपालले राजधानीमा गरेको कार्यक्रममा युवा कृषकहरुले कृषिमा युवाहरुलाई लाग्न प्रेरीत गर्ने गरी सरकारले कार्यक्रम ल्याउन नसकेको गुनासो गरे।
कार्यक्रममा युवा कृषक मदन पौडेलले सरकारको नीति तथा कार्यक्रममा कृषिको विषयले प्रमुख प्रथामिकता पाएपनि युवा कृषकहरुको व्यावसायिकरणका बारे उल्लेख नगरिनु दुःखद भएको बताए।
उनले भने 'हामी युवाले नेपालमै व्यावसायिक खेती गर्न चाहन्छौ तर उत्पादन र बजारको ग्यारेन्टी नहुनु हाम्रो प्रमुख चुनौती हो।' बजेटमा गरिएको ६ प्रतिशत व्याजदरको मापदण्ड स्वागत योग्य भएपनि झन्झटिलो प्रक्रियाका कारण नीति कार्यान्वयनमा आउन नसकेको बताए। नीतिलाई सहजै कार्यान्वयनमा ल्याउन सरकारले थप गृहकार्य गर्न पौडेलले माग गरे।
रामपुर कृषि क्यम्पस चितवनका विधार्थी एंव कृषक पौडेलले कृषि अध्ययन गरिरहेका विधार्थीहरुले आफ्नो शैद्धान्तिक ज्ञानसँगै व्यवहारिक प्रयोग गर्न चाहेपनि त्यो अनुसारको व्यवस्थापन हुन नसकेको बताए।
अन्तर्राष्ट्रिय पारिवारीक खेती वर्ष २०१४ कार्यान्वयन समितिका सदस्य सचिव रुद्र भट्टराईले सरकारको नीति राम्रो भएपनि कार्यान्वयन पक्ष फितलो भएका कारण समस्या आएको बताए। भट्टराईले भौगोलिक विविधतासँगै विविध कृषि उत्पादनको सम्भावना भएको देशमा आम नागरिकलाई काम लाग्ने गरी नीति बनाउन सरकारले जोड दिए।
उनले उत्पादन मुलक जग्गा बाँझो राख्ने कृषकहरुको जग्गा निश्चित समयपछि सरकारीकरण गर्ने नीति नल्याएसम्म कृषि उत्पादनमा बढाव ल्याउन नसकिने धारणा राखे।