इलाम– एक दशकपछि जिविसले निकासी करको दर दोब्बर पार्दा असन्तुष्ट बनेका चिया उद्योगीले इलाममा सञ्चालित डेढ दर्जन कारखाना बन्द गरेर आन्दोलन थालेका छन्। हरियो पत्ती उत्पादन हुने मुख्य मौसम चलिरहँदा शनिवारदेखि चिया प्रशोधन गर्ने कारखाना बन्द छन्। हरियो पत्ती बिक्री नहुँदा इलाममा मात्रै हजारौं किसान प्रभावित छन्।
राजश्व परामर्श समितिको सिफारिसबमोजिम जिविसको २० औं परिषदबाट पारित तयारी चिया निकासी करको दर प्रतिकिलो दुई रुपैयाँ बनाइएपछि चिया उद्योगी असन्तुष्ट बनेका हुन्। जिल्लामा उत्पादन हुने तयारी चिया निकासी गर्दा किटेनीमा रहेको संकलन केन्द्रमा प्रतिकिलो १ रुपैयाँ लिईंदै आएकोमा एकैपल्ट दोब्बर पार्न नहुने उद्योगीको माग छ।
नयाँ आर्थिक बर्षदेखि नयैं दरको कर असुली गर्न थालिएपछि चिया उद्योगी आन्दोलित भएका हुन्। यसक्षेत्रका कारखानाबाट चिया उत्पादन गर्ने उद्योगीको साझा संस्था हिमालयन अर्थोडक्स टि प्रोड्युसर्स एशोसिएसन नेपाल (होट्पा)ले करको दर बढाएकोमा आपत्ति जनाउँदै विज्ञप्तिमार्फत किसानबाट हरियो पत्ती खरिद नगर्ने निर्णय गरेको छ।
होट्पाको उक्त निर्णयपछि विभिन्न ठाउँमा सञ्चालित १८ कारखानाले हरियो पत्ती खरिद गर्न रोकेका हुन्। चिया किसान भने आन्दोलनले प्रत्यक्ष मर्कामा परेका छन्। मुख्य मौसममै हरियो पत्ती बिक्री नहुँदा किसानलाई आम्दानीको स्रोत बन्द हुने चिन्ता छ। टिप्न ढिलो हुँदा बोटमा हुर्किने हरियो पत्ती लामो भएपछि बिक्री नहुने अर्को समस्या छ।
वृद्धि गरिएको कर तिरेर उद्योग चलाउन नसक्ने जनाउँदै चिया उद्योगीले निर्णय फिर्ता गराउन कारखाना बन्द गरेर आन्दोलन थालेको जनाएका छन्। साँखेजुङस्थित हिमालयन साँग्रिला टि स्टेटका कमल मैनाली भन्छन्, ‘आफैं धरासयी अवस्थामा रहेका उद्यमीले बढेको दरमा कर तिरेर उद्योग चलाउन नसक्ने हुँदा यस्तो निर्णय लिइएको हो।'
बार्षिक ४५ लाख किलो तयारी चिया निकासी हुने दावी गरिरहेका उद्योगीले ‘ठेकेदारको नाफाका लागि मात्रै जिविसले चिया उद्योगीलाई प्रत्यक्ष मर्का पर्ने गरी करको दर बढाएको' आरोप लगाएका छन्। ‘अहिलेको दरमा चियाबाटै ९० लाख रुपैंयाँ कर असुली हुन्छ' मैनाली भन्छन्, ‘तर, ठेक्का एक करोड १५ लाख रुपैयाँमा मात्रै लगाइएको छ।'
अघिल्लो बर्ष एक करोड रुपैंयाँमा लागेको कृषि तथा पशुजन्य निकासीको ठेक्का यसपल्ट चियामा एक रुपैयाँ बढेपछि एक करोड १५ लाख रुपैयाँमा लागेको थियो। जिल्लाबाट निकासी हुने कृषिउपजको परिमाण धेरै हुँदाहुँदै पनि थोरैमा ठेक्का लगाइनुलाई सरोकारवाला कतिपयले जिविसका कर्मचारी र ठेकेदारबीचको ‘पैसा खाने' मिलेमतो भनिरहेका छन्।
कारखाना बन्द गर्दै हरियो पत्तीसमेत खरिद गर्न छोडेपछि आन्दोलनरत चिया उद्यमीलाई जिविसले शनिवार वार्तामा आउन आग्रह गरेको छ। स्थानीय विकास अधिकारी मदन कोइरालाका अनुसार करको दर बढाउने निर्णय फागुनमै भएको र अहिले त्यसलाई फिर्ता गर्न सकिने अवस्था नरहेपछि सहमति जुटाउन वार्तामा बोलाइएको हो।