काठमाडौं- राजधानीको तरकारी बजारमा टमाटरको मूल्य फेरि बढेको छ। एक साताअघि ठूलो टमाटरको थोक मूल्य घटेर प्रति किलो १७ रुपैयाँ र सानो टमाटरको मूल्य प्रति किलो १२ रुपैयाँसम्म पुगेकोमा बुधबार बढेर क्रमशः एक किलोको २७ रुपैयाँ र १८ रुपैयाँ पुगेको छ। खुद्रा बजारमा भने दुबै टमाटरको मूल्य बढेर प्रति किलो ३५ रुपैयाँ पुगेको छ।
‘अघिल्लो साता टमाटरको मूल्य घटेर हैरान थियो। अहिले दिनदिनै बढिरहेको छ,' लगनखेलका तरकारी व्यापारी महेश खरेलले भने। उनका अनुसार टमाटरको मूल्य घटेको भए पनि व्यापार भने बढेको थिएन। अहिले जुनसुकै तरकारीमा पनि विषादी भएको भन्दै उपभोक्ताहरु तरकारी किन्न हिच्किचाउन लागेका उनको अनुभव छ। ‘तरकारी किन्दा पनि कुन जिल्लाबाट आएको हो भनेर सोध्न थालेका छन्,' खरेलले भने।
गत सातासम्म दैनिक ८० टनसम्म टमाटर कालिमाटी बजारमा भित्रिने गरेकोमा अहिले यो घटेर दैनिक ५० टनमा सिमित रहेको कालिमाटी फलफूल तथा तरकारी बजार समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठले बताए।‘अहिले टमाटरको आपूर्ति घटेको छ। व्यवसायीहरुले नै बजारमा कम पठाउन थालेका छन्,' मूल्य बढ्नुको कारण बताउँदै उनले भने। व्यवसायीहरुले बजारलाई नियन्त्रण गरेकाले पनि मूल्यमा असर परेका श्रेष्ठको दाबी छ।
नेपालकै उत्पादन बढेर आपूर्ति अत्याधिक भएपछि यो वर्ष टमाटरको मूल्य घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। गत वर्षको तुलनामा यो वर्ष टमाटरको मूल्यमा आधाभन्दा धेरैले गिरावट आएको हो। गत वर्ष यसै समयमा राजधानीको बजारमा सानो टमाटरको थोक मूल्य ५३ रुपैयाँ र ठूलो टमाटरको थोक मूल्य ७८ रुपैयाँ प्रति किलो पुगेको थियो। किसानहरुले आधुनिक कृषि प्रविधीको प्रयोग गरेर टनेलमा टमाटर रोप्न थालेकाले यसको उत्पादन बढेको छ। सानो टमाटरमा नेपाल लगभग आत्मनिर्भर भइसकेको किसानहरुले बताउने गरेका छन्।
गत साता सोमबार किसानहरुले टमाटरको मूल्य निकै सस्तो भएको र लगानी पनि उठ्न नसकेको भन्दै बाटोमै टमाटर पोखेर विरोध प्रदर्शन गरेका थिए। बजारको अभाव र कम मूल्य पाएकोले विभिन्न माग राख्दै कालिमाटी तरकारी बजारबाहिर करीव आठ टन टमाटर फालेर विरोध जनाएका थिए। उनीहरुले देशमै पर्याप्त बजार, भारतीय बजारमा तरकारी विक्रि गर्न पाउनुपर्ने र तरकारीको न्युनतम मूल्य कायम गर्नुपर्ने भनी सरकारसँग माग गरेका छन्।
त्यस्तै, राजधानीको बजारमा रातो आलुको मूल्य समेत एक सातामा दश प्रतिशतले बढेको छ। गत बुधवार ३७ रुपैयाँ किलो थोक मूल्य रहेको रातो आलुको मूल्य यो साताको बुधबार एक किलोमा चार रुपैयाँ बढेर ४१ रुपैयाँ पुगेको छ। खुद्रा बजारमा भने रातो आलुको मूल्य प्रति किलो ५५ रुपैयाँको हाराहारीमा पुगेको छ। असारको पहिलो साता यो मूल्य ४० रुपैयाँको हाराहारीमा रहेको थियो। भारतबाट आयात हुने गरेको रातो आलु भारतबाटै महंगो भित्रिएको र आपुर्तिमा केही कमी भएको कारणले मूल्य उकालो लागेको कालिमाटी बजारले जानकारी दिएको छ। प्याजको फुटकर मूल्य पनि असारको पहिलो साताको तुलनामा अहिले ५० प्रतिशतले बढेको छ। भारतबाट आपुर्ति कटौती भइरहेको र भारतमा पनि मूल्य बढेकाले आलु र प्याजको मूल्य अझै बढ्न सक्ने व्यापारीहरु बताउँछन्।