चितवन-राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले विकास गरेको नयाँ दुई जातका हाइब्रिड मकैले विदेशी हाइब्रिड बराबर उत्पादन दिएको छ। अनुसन्धान पूरा भएकाले भएकाले असारभित्रै ती दुई जात सिफारिस गर्ने तयारी भएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका प्रमुख केशवबाबु कोइरालाले बताए।
आरएमएल चार र आरएमएल १७ को क्रस गरेर एक जात र आरएमएल ३२ र आरएमएल १७ को क्रसबाट थप अर्को गरेर दुई हाइब्रिड जात विकास गर्न खाजेको कोइरालाले बताए। नेपालमा गौरव र रामपुर गरेर अहिलेसम्म दुई जातका हाइब्रिड मात्रै सिफारिस भएका छन्।
चितवनको रामपुर र बाराको निजगढ र डुमरवानामा अनुसन्धान भएको थियो। ...हामीले बीउ दियौं, किसानले आफ्नै तरिकाले खेती गरे। यसो गर्दा पनि प्रतिहेक्टर आठ टनभन्दा बढी फलेको छ,' प्रमुख कोइरालाले भने।
नेपालमा प्रतिहेक्टर सरदर अढाई टन मकै उत्पादन हुँदै आएको छ। यसको तुलानामा नयाँ नेपाली हाइब्रिडको उत्पादन धेरै बढी हुने कोइरलाले बताए। हाल नेपालमा विदेशबाट ३२ प्रकारका हाइब्रिड मकैको बीउ आउने गरेको छ।
ताप र सुक्खा सहने जात विकास गरिँदै
जलवायु परिवर्तनका कारण पृथ्वीमा ताप र सुक्खापन बढ्दै छ। नेपालका कृषि वैज्ञानिकहरु यस्ता असर सहने मकैको जात विकास गर्न जुटेका छन्। मकैका १७ सय जातबाट उपयुक्त छनोट गर्ने वैज्ञानिकको योजना सुरु भएको छ।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले अनुसन्धान सुरु गरेको हो। ...तापक्रम पनि बढेको छ। खडेरीले पनि सताउन थालेको छ। त्यसैले उच्च ताप र कम पानीमा पनि हुर्कने र उत्पादन दिन सक्ने जातकोे खोजीमा छौं,' कार्यक्रम प्रमुख केशवबाबु कोइरालाले भने।
मकै ३९ डिग्री सेन्टिग्रेड तापक्रम पुगेपछि माथिबाट र सुक्खाका कारण फेदबाट सुक्न थाल्ने कोइरालाले बताए। त्यसैले १७ सय जातले कुन विधिबाट के कसरी लगाउँदा ताप र सुक्खा सहन सक्छ भनेर परीक्षण गरिरहेको उनले जानकारी दिए।
नेपालगन्ज, सुर्खेत र रामपुरमा अनुसन्धान भइरहेको छ। मकैले जुँगा र धानचमर निकाल्ने बेलामा खडेरी र तापक्रमले दुःख दिने गरेको कोइरालाले बताए। मकैको धेरै खेती यही बेला हुने गरेकाले तापक्रम अनुकूल जात विकास गर्नु बाध्यता नै रहेको उनको भनाइ छ।
यसरी आउने मकैका जात हाइब्रिड नभएर खुला सिँचित हुने कोइरालाले जानकारी दिए। मकै गोड्ने समय र बोटको संख्याले पनि उत्पादनमा असर पर्न सक्ने उनको भनाइ छ।
नेपालीले मकै पातलो छर्ने गरेको कृषि वैज्ञानिक बताउँछन्। प्रतिहेक्टर ५५ हजारसम्म मकैका बोट हुनुपर्नेमा ३५ हजारसम्म हुने गरेको छ। त्यस्तै छरेको ३० दिनभित्र गोडमेल हुनुपर्ने कोइरालाले बताए।