काठमाडौं– राष्ट्रिय आर्थिक तथा विकास अनुसन्धान परिषद (नारेक) नेपालले आगामी आर्थिक वर्ष २०७१/०७२ को मोडल बजेट प्रस्तुत गरेको छ। बजेट निर्माणलाई सहजीकरण गर्न नारेकले बर्सेनि मोडल बजेट प्रस्तुत गर्छ।
संस्थाले आगामी आर्थिक वर्षको बजेट ६ खर्ब १८ अर्बभित्र राख्न अर्थ मन्त्रालयलाई सुझाव दिएको छ। यो वर्ष ५ खर्ब ९६ अर्बको बजेटको सिलिङ तोकिएको छ। संस्थाले चालू खर्च ३ खर्ब ९२ अर्ब, वित्त व्यवस्थापन खर्च ४५ अर्ब, पुँजीगत खर्च १ खर्ब ४० अर्ब र सावाँ भुक्तानी ४१ अर्ब छुट्याउन सुझाव दिएको छ।
‘हामीले तयार पारेको मोडल बजेट अर्थ मन्त्रालयलाई दिनेछौं,' राष्ट्रिय योजना आयोगका सदस्य एवं मोडल बजेटका परिकल्पनाकार चन्द्रमणि अधिकारीले भने, ‘हामीले तयार पारेको बजेटले अर्थ मन्त्रालयलाई प्राथमिकता तोक्नसमेत सजिलो हुनेछ।' मोडल बजेटमा बेरोजगार युवालाई दीर्घकालीन योजनाको आधार शिविरको रुपमा व्यावसायिक अवसर दिन वार्षिक एक लाख रोजगार योजना प्रस्ताव गरिएको छ।
बजेटमा कृषिलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाउँदै कृषिमा निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने र किसानलाई सम्मान गर्ने कार्यक्रम राख्न सुझाव दिइएको छ। मोडल बजेटमा विद्युत चुहावटलाई १८ प्रतिशतमा झार्न पहल गर्ने र निर्माणाधीन जलविद्युत आयोजनालाई तीव्रता दिने उल्लेख छ। मोडल बजेटमा प्रसारणलाइन निर्माणमा भएको अवरोध हटाउने र त्यसमा निजी क्षेत्रको संलग्नता बढाउने उल्लेख छ। मोडल बजेटमा नेपाल विद्युत प्राधिकरणको संरचना परिवर्तन गरेर उत्पादन, प्रसारण र वितरणमा विभाजन गरी व्यवस्थापन चुस्त बनाउने गरी कानुन ल्याउन सुझाव दिइएको छ।
अर्थमन्त्री रामशरण महतले समेत विद्युत प्राधिकरणको पुनर्संरचना नभई लगानी आउन नसक्ने बताउँदै आएका छन्। उनले प्राधिकरणको पुनर्संरचना गरेर उत्पादन, प्रसारण र वितरण छुट्टै निकाय बनाउनुपर्नेमा जोड दिएका छन्। मोडल बजेटमा २०७ मेगावाटको नौमुरे, ६ सय मेगावाटको बुढीगण्डकी, ४ सय मेगावाटको नलसिंगाडलाई बहुउद्देश्यीय मापदण्ड बनाउन सुझाव दिइएको छ।
मोडल बजेटमा व्यापार घाटा कम गर्न कृषि उत्पादन र कृषिमा मूल्य अभिवृद्धि गराउने कार्यक्रम कार्यान्वयनमा ल्याएर प्रतिस्पर्धी बनाउन सुझाव दिइएको छ। औद्योगिक नीतिअनुकुल कानुन निर्माण गरेर वैदेशिक लगानी नीतिमा समेत परिमार्जन गर्न सुझाव दिइएको छ। संस्थाले देशभरका सम्पूर्ण नगरपालिका र गाविसले आफ्नो क्षेत्रभित्र उत्कृष्ट र समाजको लागि उदाहरणीय काम गर्ने दुई व्यक्तिलाई सम्मान गर्न सुझाव दिएको छ।
उत्कृष्ट काम गर्ने साठी वर्ष वा सोभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई विशेष नागरिक योगदान पुरस्कार दिन मोडल बजेटमार्फत सुझाव दिएको छ। संस्थाले आयकरलाई प्रगतिशील दरबाट लाग्ने व्यवस्था गर्न सुझाव दिँदै अढाई लाख कमाउनेलाई एक प्रतिशत, साढे तीन लाख कमाउने दम्पतीलाई एक प्रतिशत लगाउन सुझाव दिएको छ। संस्थाले भ्याटमा समेत बहुदर लगाउन सरकारलाई सुझाव दिएको छ। भ्याटमा सामाजिक न्यायका आधारमा समतामूलक बनाउन आधारभूत र स्ट्यान्डर्ड गरेर दुई दर कायम गर्न सुझाव संस्थाले दिएको हो। आधारभूतमा १० प्रतिशत र स्ट्यान्डर्डमा १५ प्रतिशत लगाउन सुझाव दिइएको छ। संस्थाले आगामी आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर साढे ६ प्रतिशत हुने अनुमानसमेत गरेको छ। चालू आर्थिक वर्षमा एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको आर्थिक वृद्विदर साढे चार प्रतिशत हुने प्रक्षेपण गरेका छन्।