काठमाडौं- मंगलबार सुनको मूल्य एकै दिनमा प्रतितोला १७ सय रुपैयाँले बढेको छ। सोमबार ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले बढेर ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तोलाको मूल्य आगामी वर्षसम्ममा प्रति तोला ३५ देखि ४० हजारको बीचमा पुग्ने प्रक्षेपण गरिएपनि सुनको मूल्यमा भारी केही साता देखि उतारचढाव भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस ११५१ डलरमा कारोबार भएको थियो। मंगलबार भने प्रतिऔंस १२०३ डलरमा कारबोबार भएको हो। अन्तराष्ट्रिय बजारको प्रभावका कारण नै नेपालमा सुनको मूल्यमा उतारचढाव परिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
'सोमाबार सुन प्रतिऔंस ११५१ डलरमा झर्दा अन्तराष्ट्रिय बजारमा र संसारभर सुनको माग अनपेक्षित रुपमा बढ्यो,' नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणीरत्न शाक्यले भने। संसारभर आपूर्ति नै संकटमा आउने गरी माग बढेपछि मूल्य एकैचोटी बढेको उनले बताए। त्यस्तै स्वीस नेसनल बैंकले सुनको होल्डीङ बढाउनुपर्छ भन्ने विÈयलाई आइतबार सम्बोधन गरेको थियो। सोही प्रस्तावमा भएको मतदानमा यसको विरुद्धमा ७७ प्रतिशत मत परेपछि सुनको मूल्यमा गिरावट आएको शाक्यले बताए। 'तर सोमबार बेलुका कारोबार बन्द हु"दा बजारमा एकाएक सुधार देखियो र मूल्य फेरी अकासियो,' उनले भने।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य र अमेरिकी डलरको विनिमय दरका कारणले नेपाली बजारमा सुनको मूल्य निर्धारण हुने गरेको छ। 'सानोसानो कुराले पनि मूल्यमा प्रभाव पारिरहेको हुन्छ। अन्तर्राष्ट्रिय बजारमा मिनेट मिनेटमै सुनको मूल्यमा उतारचढाव भइरहेको हुन्छ,' शाक्यले भने।
सुनको मूल्य विगतमा निर्धारण हुने प्रक्रियाभन्दा यसपल्ट उल्टो भएको अर्थशास्त्री विश्वम्भर प्याकुरेल बताउँछन्। 'पहिले पहिले सुनको मूल्य डलरसँग जोडिएको हुन्थ्यो। डलरको मूल्य पेट्रोलियम पदार्थसँग जोडिएको हुन्थ्यो,' उनले भने। अहिले भने त्यो 'डिलिंक' भएको प्याकुरेलको विश्लेषण छ। अहिले अमेरिकी अर्थतन्त्रले पनि स्थिर नभएकाले सुनको मूल्यमा उतारचढाव भएको उनको भनाई छ । सुन व्यवसायीहरु भने सुनको मूल्यबारे यसै आँकलन गर्न नसकिने बताउँछन्। सोमबारसम्मको विश्लेषण हेर्दा सुनको मूल्य घटेर प्रति तोला ४८ हजारसम्म पुग्ने अनुमान गरिए पनि मंगलबार मूल्य बढेको महासंघका अध्यक्ष शाक्य बताउँछन्।
सुनको मूल्यमा उतारचढाव भइरहेका कारण बिवाहको मौसम सुरु भएपनि व्यपार ठप्प रहेको व्यवसायी बताउँछन्। मूल्यमा उतारचढाव भइरहेकाले नै अझ सस्तो भएपछी किनौला भनेर ग्राहक पर्खेर बसेका छन्। गत वर्षको तुलनामा ५० प्रतिशत पनि सुनको व्यापार नभएको शाक्यले बताए। अहिले देशभर दैनिक २० देखि २५ किलो सुन खपत भइरहेको उनले जानकारी दिए। अहिले बजारमा सुनको खास माग नभएको अर्थशास्त्री प्याकुरेलको दाबी छ। केन्द्रीय बैंकमा सुन सञ्चित रहेको र त्यो उपयोग हुन नसकेको उनी बताउँछन्। 'वाणिज्य बैंकमा सुन थुप्रिएको छ। यसो हुँदा पनि अवैध रुपमा सुन नेपालमा भित्रिइरहेको छ,' उनी भन्छन्। यसले गर्दा डलरको मूल्य मजबुत भएर पनि उत्पादन मूल्य बढेको उनले बताए।
कात्तिकको दोस्रो साता देखि भने सुनको भाउ क्रमश ओरालो लाग्ने क्रममा थियो। 'अमेरिकी डलरको अधिमूल्यनस"गै सुनको मागमा कमी आउन थालेपछि भाउ घट्ने क्रम सुरु भएको थियो,' शाक्यले भने। त्यस्तै अमेरिकी संघीय बैंकले जारी राखेको ऋणपत्र खरिद कार्यक्रमलाई कटौती गरेपछी यसले अमेरिकी अर्थतन्त्र बलियो भएको देखिएको छ भने डलर अझ मजुबत रही आगामी सन् २०१५ देखि बैंक ब्याजदर बढ्ने संकेत देखिएका उनको भनाई छ। 'यसै कारण पनि लगानीकर्ताहरु त्यता आकर्षित भएका छन्,' उनले भने।
अन्तर्राष्ट्रिय विश्लेषकहरुले भने अझै सुनको मूल्य घट्ने प्रक्षेपण गरेका छन्। विगत केही वर्षमा सुनको मूल्य वार्षिक औसत १५ प्रतिशतले बढेको र अब विस्तारै घट्ने क्रममा रहेको मर्निङ स्टारको मल्टि एसेट स्ट्राटेजीका प्रमुख माइकल कुपले पनि भनेका छन्। 'म एक दुई वर्षको प्रक्षेपण गर्न सक्दिन तर ५/७ वर्षमा सुनको मूल्य अहिलेको भन्दा निकै कम हुनेछ,' सिएनबिसी टेलिभिजनसँगको अन्तर्वार्तामा कुपले भने। अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रति औंस एक हजार एक सय ४० अमेरिकी डलरको हाराहारीमा रहेको सुनको मूल्य तीन अंकमा सिमित हुने उनको विश्लेषण छ।
बजारमा सोमबार प्रतितोला ६ सय ६५ मा कारोबार भएको चाँदीको मूल्य मंगलबार ४० रुपैयाँले बढेर ७ सय ५ रुपैयाँमा कारोबार भयो। सोमबार चाँदी ५ वर्षकै कम मूल्यमा कारोबार भएको थियो।