एमसिसी कम्प्याक्ट: पहिलो वर्ष ३० प्रतिशत मात्रै बजेट खर्च, ७० प्रतिशत ‘सरेन्डर’
११ असार २०८१
•
६ मिनेट पाठ
एमसिसी कम्प्याक्ट: पहिलो वर्ष ३० प्रतिशत मात्रै बजेट खर्च, ७० प्रतिशत ‘सरेन्डर’
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागू भएको पहिलो वर्षको बजेट खर्च निकै कम देखिएको छ।




मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले चालु आर्थिक वर्षका लागि पाएको कुल बजेटको करिब ३० प्रतिशत मात्रै खर्च गरेपछि बाँकी ७० प्रतिशत बजेट समर्पण (सरेन्डर) गरेको हो।

एमसीए नेपाल अन्तर्गतका परियोजनामा खर्च गर्ने गरी चालु आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले १० अर्ब ८४ करोड १७ लाख बजेट विनियोजन गरेको थियो। चालु आवका लागि छुट्याइएको उक्त बजेटमध्ये खर्च हुन नसकेको ७ अर्ब ६० करोड ७० लाख बजेट सरेन्डर गरिएको एमसीए नेपालका प्रवक्ता पुष्कर माथेमाले जानकारी दिए।

विद्युत् प्रसारण लाइन निर्माणका लागि चाहिने जग्गाको मुआब्जा वितरण र अधिग्रहणको काम सुस्त देखिएपछि लक्ष्यअनुसार बजेट खर्च हुन नसकेको उनले बताए।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्थाअनुसार कुनै योजना तथा कार्यक्रममा विनियोजित बजेट खर्च गर्न नसक्ने अवस्थामा समर्पण गर्नुपर्ने प्रावधान छ।

एमसीसी कम्प्याक्ट १३ भदौ २०८० देखि पूर्ण रूपमा लागू हुने (इन्ट्री इन टु फोर्स–ईआईएफ) चरणमा गएको थियो। परियोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने पाँच वर्षको अवधि गणना सुरु भएको करिब एक वर्ष पुग्न लाग्दा आयोजनाको प्रारम्भिक चरणका कामसमेत टुङ्गिन सकेका छैनन्।

यसअघि परियोजनाको पूर्वतयारीका काम नसकीकनै ईआईएफ घोषणा भएको भन्दै आलोचना भएको थियो। एमसीए नेपालले जग्गा मुआब्जा वितरण तथा अधिग्रहणका काम र ठेक्का प्रक्रियासँगसँगै अघि बढाउन सकिने भन्दै ईआईएफ घोषणा गरेको जनाएको थियो।

परियोजना लागू गर्नका लागि पूरा हुनुपर्ने भनी एमसीसी कम्प्याक्टमा तोकिएका सर्तहरूमध्ये जग्गाको अधिग्रहण पनि एउटा मुख्य सर्त थियो। उक्त सर्त अझै पूरा हुन सकेको छैन।

प्रसारण लाइन र सडक विस्तार आयोजनाका लागि आवश्यक जग्गाको मुआब्जा वितरण तथा प्राप्ति, वन क्षेत्रभित्रको जग्गा प्रयोग अधिकार सुनिश्चितता र परियोजना बन्ने क्षेत्रसम्मको पहुँचको पूर्वसर्त पूरा हुन सकेका छैनन्। उल्लेखित सर्तका विषय पूरा हुने आधार देखिएको भन्दै एमसीए–नेपालले ईआईएफ तोकेको थियो।

एमसीए–नेपालअन्तर्गत बनाउने भनिएका विद्युत् प्रसारण लाइन र सडक निर्माण दुवैतर्फको काम सुस्त छ। जग्गा अधिग्रहण र प्राप्तिको काम अझै टुङ्गिन सकेको छैन। प्रसारण लाइन निर्माणका तीन चरणमध्ये एउटामा जग्गा अधिग्रहणबिना नै बोलपत्र मूल्याङ्कन प्रक्रिया अगाडि बढाउन लागिएको छ भने बाँकी दुई चरणमा बोलपत्र आह्वान नै हुन सकेको छैन।

एमसीए नेपालले विद्युत् प्रसारण लाइन आयोजनाअन्तर्गत तीनवटा सबस्टेसन र काठमाडौंको लप्सीफेदीबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३ सय १५ किलोमिटर ४ सय केभी प्रसारण लाइन निर्माण गर्ने तय भएको छ।

उक्त प्रसारण लाइनअन्तर्गत न्यु बुटवल–नेपाल/भारत सीमा क्षेत्रसम्म १८ किमि प्रसारण लाइन खण्डको ठेक्का प्रक्रिया अघि बढेर मूल्याङ्कनको चरणमा पुगिसकेको छ तर त्यो क्षेत्रको जग्गा मुआब्जा बाँड्ने र अधिग्रहण गर्ने काम निकै सुस्त छ।

१५ मार्च २०२४ मा पहिलो सूचना प्रकाशित भएर अघि बढेको खरिद प्रक्रियाको प्रस्ताव पेस गर्ने मिति सन् २०२४ मे २७ मा सकिइसकेको छ। उक्त प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन भइरहेको र आगामी साउनभित्रै निर्माण सम्झौता गर्ने तयारी भइरहेको एमसीए नेपालको भनाइ छ।

आगामी साउनभित्र जग्गा मुआब्जाको काम सकिसक्ने अवस्था नदेखिएको नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी एवं आयोजनाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारण समितिका संयोजक स्किम श्रेष्ठले बताए।

'मुआब्जा निर्धारणका लागि प्राविधिक अध्ययन र मूल्याङ्कनको काम भइरहेको छ। यसमा धेरैवटा विषय जोडिएकाले कहिलेसम्ममा काम सकिन्छ भनेर यकिन भन्न सकिँदैन। त्यस्तो निश्चित समयसीमा पनि तोकिएको छैन। हामी यथाशीघ्र काम सक्ने गरी अगाडि बढेका छौँ,' उनले भने।

आयोजना अन्तर्गतका बाँकी २ सय ९७ किलोमिटर प्रसारण लाइन निर्माणमा रद्द भएको ठेक्का प्रक्रिया अब कहिले सुरु हुन्छ भन्ने यकिन छैन। एमसीए–नेपालले २६ असोज २०८० मा एक सूचना जारी गर्दै विद्युत् प्रसारण लाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो।

चरण–१ को लप्सीफेदी–रातामाटे–न्यु हेटौँडा, दोस्रो चरणको रातामाटे–न्यु दमौली र तेस्रो चरणको न्यु बुटवल–नेपाल/भारत सीमा क्षेत्रसम्मको प्रसारण लाइन निर्माण गर्न आह्वान गरिएको ठेक्का रद्द भएको उल्लेख थियो, जसमध्ये चरण–३ को मात्रै पुनः बोलपत्र आह्वान भएको छ।

सुरुवाती लागत अनुमानभन्दा बढी रकमको ठेक्का प्रस्ताव भएपछि ती ठेक्का प्रक्रिया रद्द भएको एमसीए नेपालले तर्क गरेको थियो। पुनः खरिद प्रक्रिया अघि बढाउन आयोजनाको ‘डिजाइन प्यारामिटर’ र निर्माणसम्बन्धी प्रावधानमा संशोधन गर्न लागिएको एमसीए नेपालका प्रवक्ता माथेमाले बताए।

उनका अनुसार बोलपत्रसम्बन्धी कागजातहरू पुनः तयार गर्नु तथा त्यसलाई पुनः प्रकाशन गर्नु प्राविधिक प्रक्रिया भएकाले समय लागेको हो।

अघिल्लोपटक प्राप्त बोलपत्रहरूको मूल्य बढी हुनाका प्रमुख कारण पहिचान गर्न र त्यसलाई सम्बोधन गर्न ‘डिजाइन प्यारामिटर’ र निर्माणसम्बन्धी प्रावधानलाई समीक्षा गर्ने जिम्मेवारी एमसीए नेपालले आफ्नो सुपरीवेक्षण इन्जिनियरिङ फर्मलाई दिएको थियो। सोही कारणले हालसम्म बोलपत्र पुनः आह्वान गर्ने र करार गर्ने प्रक्रिया सुरु हुन सकेको छैन।

यसैबीचमा, एमसीए नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिका– ७, रातमाटेमा ४ सय केभी सबस्टेसन निर्माण गर्न यही १ असारमा भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ।

उक्त ४ सय केभी ग्यास इन्सुलेटेड स्वीचगियर (जीआईएस) सबस्टेसनको ३९ महिनाभित्र निर्माण गरिनेछ। ५ करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ।

एमसीए–नेपालअन्तर्गत निर्माण गर्ने भनिएको विद्युत् प्रसारण लाइन र सबस्टेसनका लागि १ हजार ४ सय ७१ हेक्टर जमिन आवश्यक पर्ने जनाइएको छ। यसमध्ये रातमाटेमा २०.२७ हेक्टर क्षेत्रफल जग्गा अधिग्रहणका लागि १ अर्ब ४६ करोड ८४ लाख ६८ हजार ४ सय ९७ रुपैयाँबराबरको मुआब्जा वितरण गरिएको छ।

न्यून दमौली सबस्टेसन र न्यू बुटवल सबस्टेसनका लागि नेपाल विद्युत् प्राधिकरणले जग्गा उपलब्ध गराउने एमसीए नेपालले जनाएको छ।

प्रसारण लाइन टावरको जग निर्माण गर्न १० जिल्लामा १ सय ४ हेक्टर जग्गा आवश्यक पर्नेछ। जग्गा प्राप्तिको काम अहिले प्रक्रियामा रहेको एमसीए नेपालले जनाएको छ। काठमाडौंबाहेक अन्य नौ जिल्लामा प्रसारण लाइन टावरको जग निर्माण गर्न आवश्यक जग्गा प्राप्ति गर्ने कार्यमा उल्लेख्य प्रगति हासिल भएको एमसीए नेपालका प्रवक्ता पुष्कर माथेमाले बताए। नौ जिल्लामा प्राप्ति गरिने जग्गा कित्ताको तीनपुस्ते विवरणसहितको सूचना प्रकाशन भइसकेको छ।

अहिले मूल्याङ्कन सिफारिस उप–समितिले स्थलगत रूपमा जग्गाका कित्ताहरूको मूल्याङ्कनसम्बन्धी कार्य र मुआब्जा निर्धारणका लागि प्राविधिक प्रतिवेदन तयारीसम्बन्धी काम गरिरहेका छन्। त्यस्तै, भोगाधिकारका लागि आवश्यक जग्गासम्बन्धी विवरण सङ्कलनको काम जारी रहेको जनाइएको छ।

एमसीए नेपालले चालु आवका लागि पाएको कुल १० अर्ब ८४ करोड १७ लाख बजेटमध्ये विद्युत् प्रसारण आयोजनातर्फ ८ अर्ब ७७ करोड ६३ लाख ६६ हजार, सडक मर्मत आयोजनातर्फ १ अर्ब ५० करोड ७६ लाख ५३ हजार, अनुगमन तथा मूल्याङ्कनतर्फ २१ लाख ९३ हजार र कार्यक्रम प्रशासनतर्फ ५५ करोड ५४ लाख ८८ हजार विनियोजन भएको थियो।

एमसीए नेपालले आगामी आर्थिक वर्षका लागि १३ अर्ब ३६ करोडबराबर बजेट पाएको छ, जसमध्ये चालुतर्फ १ अर्ब २३ करोड ८५ लाख र पुँजीगततर्फ १२ अर्ब १२ करोड १५ लाख रुपैयाँबराबर विनियोजन भएको छ।

आगामी आवका लागि एमसीसीको स्रोतबाट नौ अर्ब ९० करोड ८२ लाख र नेपाल सरकारको स्रोतबाट ३ अर्ब ४५ करोड १८ लाखबराबर बजेट विनियोजन भएको एमसीए नेपालले जनाएको छ।

-हेमन्त जोशी/रासस
अर्को समाचार
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
२२ मिनेट अघि
•
१ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
गण्डकी। विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम सक्ने गरी अघि बढाइएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने सडक चार वर्ष बित्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन। 




चार पटकसम्म यसबीचमा ठेक्काको म्याद थपिए पनि सडक निर्माणको भौतिक प्रगति जम्मा ८० प्रतिशत मात्र पुगेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए।

पछिल्लो पटक गत असारमा थपिएको म्याद पनि कात्तिकमा सकिइसकेको छ। ‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो। सङ्घ सरकारको समन्वय तथा विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत उक्त सडक निर्माणको काम भइरहेको हो।

इन्जिनियर गौतमका अनुसार निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्धारित समयमा सडक निर्माण सम्पन्न हुन नसकेको हो। 'महानगरपालिकालगायत सम्बन्धित निकायबाट पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले लापरबाही गरिरहेको छ', उनले भने, 'मङ्सिर महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ, उक्त समयसीमाभित्र निर्माण पूरा नभएमा जरिवानालगायत अन्य कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ।'

सुरुमा जग्गाको विवाद देखाएर काममा ढिलाइ गरेको निर्माण कम्पनीले उक्त विवाद समाधान भएपछि पनि निर्माणलाई खासै गति दिन नसकेको इन्जिनियर गौतमले बताए। केही महिनाअघि सहरी विकास मन्त्रालय, महानगरपालिका, विकास साझेदार विश्व बैंक, परामर्शदातालगायतसँगको छलफलमा निर्माण कम्पनीले तोकिएको समयमा काम सक्ने प्रतिबद्धता जनाएको थियो।

जम्मा ३.२८ किमीको उक्त सडकलाई चार लेनमा विस्तार तथा स्तरोन्नति गर्न वर्षौं लागेपछि विकास निर्माणको काममा निकै सुधार आवश्यक रहेको स्थानीयवासीको भनाइ छ। पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समयमा सडक नबन्दा पर्यटकीय क्षेत्र बेगानासदेखि उक्त सडक भएर यात्रा गर्ने सर्वसाधारणलाई सास्ती पुगेको बताए।

'पछिल्लो समय कामको गति केही बढेको जस्तो देखिएको छ, चारपटकसम्म म्याद थप हुँदा पनि सडक निर्माण नहुनु दुखद छ', उनले भने, 'निर्माण कम्पनीलाई जवाफदेही बनाउनुपर्छ, महानगरपालिकाकै गौरवको आयोजनामा चरम ढिलासुस्ती भइरहेको छ।'

निर्माण कम्पनीसँग भ्याटसहित रु ७५ करोड ४८ लाखमा सडक निर्माणको ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताए। फुट ट्र्याक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नमूना सडक बन्ने उनको भनाइ छ। सडक छेउछाउमा बगैँचा, यात्रु प्रतीक्षालयसहित आकर्षक पूर्वाधार बनाइने भएको छ। सडकमा तीन वटा पुल पनि बन्नेछन्।

पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिनेछ। महानगरकै गौरवको आयोजनाका रूपमा रहेको उक्त सडक विस्तार एवं स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो। उक्त सडक बनेपछि सात तालको वाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको आर्थिक विकास र पर्यटन गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। रासस
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस