कात्तिक महिनामा मात्र हिमालपारिको जिल्ला मुस्ताङमा झन्डै ८० हजार पाहुना पुगेका छन्। ती मध्ये ७३ हजार ८ सय ७९ जना आन्तरिक र ५५ सय ४ जना विदेशी पाहुना रहेको मुस्ताङ प्रहरीले बताएको छ। सबैगरि ७९ हजार ३ सय ८३ जना पाहुना मुस्ताङ पुगेको प्रहरीको तथ्यांक रहेको छ।
चाँडबाँडको लामो बिदा पारेर हिमालपारिको जिल्ला मुस्ताङ घुम्न जाने आन्तरिक पाहुनाका कारण महिनाभर हिमाली जिल्ला मुस्ताङको चहलपहल निकै नै बढेको प्रहरीले जनाएको छ। पर्यटकीय सिजन भएकोले विदेशी पाहुना पनि जाँदा मुस्ताङ कात्तिक महिनाभर पर्यटनमय बनेको प्रहरीको भनाई छ।
मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार मुस्ताङ गएका विदेशी मध्ये भारतीय पाहुना पनि थिए। ‘चाँडबाँडको कारण लामो बिदाको मौका पारेर यो वर्ष ठूलो संख्यामा आन्तरिक र बाह्य पर्यटक मुस्ताङ घुम्न आए,’ पाण्डेले भने, ‘महिनाभर नै मुस्ताङ पर्यटनले चलायमान बन्यो।’ दसैं र तिहारको लामो बिदा परेका कारण आन्तरिक पाहुनाको ठूलो संख्या मुस्ताङ पुगेको उनले बताए।
डिएसपी पाण्डेका अनुसार मुस्ताङमा कात्तिकभर १३ हजार ९ सय १ वटा गाडी गएका थिए। ती गाडी चढेर पाहुना घुम्न मुस्ताङ पुगेका थिए। मुस्ताङ पुगेका सवारी मध्ये ६ हजार ४ सय ८ वटा मोटरसाइकल, ६ हजार २ सय ८९ कार–जीप तथा ७ सय ५० वटा बसमार्फत ती पाहुना मुस्ताङ पुगेका थिए। दिनको चारवटा बस जोमसोमबाट पोखराका लागि नियमित चल्ने भएपनि ती सवारी पनि गणना भएको उनले बताए।
‘सवारी व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको थियो,’ उनले भने, ‘यतिधेरै पाहुना आए की कात्तिक महिनाभर यहाँको पर्यटन क्षेत्र चम्केको थियो।’ सिजनका कारण यहीबेला पोखरा–जोमसोम हवाई सेवा पनि संचालन भएकोले हवाईमाध्यम मार्फत पनि पाहुना भित्रिएको उनले बताए। जिल्ला भित्रिएका पाहुनाको तथ्यांक राख्नेगरि प्रहरीले मुस्ताङ प्रवेशको एकमात्र नाका घाँसामा टिम नै खटाएको छ। प्रहरीले जिल्ला प्रवेशका सबै सवारी चेक गरेर यात्रु गणना गरेर रेकर्ड नै राख्ने गरेको उनले बताए। डिएसपी पाण्डेले मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ र अर्ध निषेधित क्षेत्र उक्लने पाहुनालाई सचेत गराउने गरि डिजिटल प्रणालिको सूचना बोर्ड राख्ने तयारी गरेको पनि जानकारी दिए।
मुस्ताङको मुक्तिनाथ क्षेत्रका पर्यटन व्यावसायी सुरज गुरुङ पनि योपटक हिमाली जिल्ला मुस्ताङले ठूलो आकारमा आन्तरिक र बाह्य पाहुना पाएको बताए। उनका अनुसार दसैं र तिहारको बिदाले गर्दा पाहुना आगमन निकै नै थियो। ‘हुन त पोहोर पनि पाहुना आएकै हुन्। तर, पोहोर भन्दा यो पटकको आगमन अझै बढी थियो। एकमहिना भरि जिल्लामा पाहुना अभाव भएनन,’ उनले भने।
‘आन्तरिक पाहुनाको पनि सिजन नै हो । त्यसबाहेक विदेशी पाहुना आउने मुख्य सिजन भएकोले पनि यो बेला एकमहिना पर्यटन क्षेत्र व्यस्त बन्यो,’ उनले भने। उनका अनुसार यतिबेला भने पाहुना केही कम भएका छन्। ‘अब अफसिजन सुरु भएको छ। पाहुना केही घटेका छन्। नत्र अघिल्लो महिना त हामी सबैलाई व्यस्त बनायो,’ मुक्तिनाथ मन्दिर नजिकै होटल संचालन गरिरहेका गुरुङले भने, ‘पाहुना आगमन उत्साहजनक हुँदा व्यावसाय चलायमान बन्यो।’
पोखराबाट पर्यटक समूहलाई मुस्ताङ घुमाउँदै आएका पर्यटन व्यावसायी विजय केसीका अनुसार कात्तिक महिनामा आन्तरिक पाहुनाको यतिसम्म भीड थियो की एउटै समूहमा ३ सय जनासम्म पनि पाहुना पुगेका थिए।
‘मुस्ताङ जाने नितान्त पर्यटन उद्देश्यले हो। धार्मिक र साहसिक पर्यटनले मुस्ताङले पाहुना तानेको छ,’ केसीले भने, ‘आन्तरिक पाहुनामा घुमफिरको संस्कार यति विकास भएको छ की समूहमा पाहुना घुम्न गएका थिए। कात्तिक महिनाभर मुस्ताङ पाहुनाले भरिभराउ थियो।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका संरक्षण अधिकृत प्रमोद रेग्मीले पनि यो बेला पाहुना आगमन निकै नै बढेको बताए। आन्तरिक पाहुनाको आगमन निकै नै राम्रो रहेको उनले बताए। विशेष गरि आन्तरिक पाहुना बढी आउँदा कात्तिक महिनाभर मुस्ताङ चलायमान बनेको उनले बताए। थोराङला भञ्ज्याङ पार गरेर र तिलिचो घुमेर मुस्ताङ झर्ने तथा उपल्लो मुस्ताङ घुम्न आउने पाहुना अधिक रहेको उनले बताए।
‘२÷३ दिन अघि नै होटल बुकिङ नगरि आउँदा त पर्यटकलाई बासको पनि समस्या थियो। सवारी चल्न थालेको र पहुँच सहज बन्दै जाँदा पर्यटन आगमन बढेको हो,’उनले भने, ‘आन्तरिक पाहुनाको घुम्ने ट्रेन्डले पनि महिनादिनसम्म मुस्ताङका होटल खालि रहेनन।’
भदौ १० गतेको बाढीले क्षतविक्षत गरेपछि रसुवागढी केरुङ नाका पूर्ण रुपमा बन्द छ। उत्तरी चीनतर्फको तातोपानी नाका पनि त्यही बाढीपछि बन्द गरिएको थियो। यतिबेला नेपाललाई उत्तरतर्फ चीनसँगको ब्यापारिक गतिविधि गराउने एकमात्र नाका मुस्ताङको कोरला बनेको छ। रसुवा र तातोपानी नाका बन्द भएपछि पछिल्लो एकमहिनादेखि नेपालको उत्तरतिरको ब्यापार त्यही कोरलासँग निर्भर छ।
रसुवा र तातोपानी बन्द भएपछि मात्र महत्व पाएको कोरला नाकाबाट हुँदै आएको ब्यापार पनि पछिल्लो एकसातादेखि बाढीपहिरोका कारण अवरुद्ध छ। नाका क्षेत्रमा कुनै समस्या नरहेपछि कालिगण्डकी करिडोर अवरुद्ध हुँदा आयातनिर्यात पूर्ण रुपमा ठप्प छ। तर, करिडोर खुलाउने प्रयास भइरहेको सडक कार्यालयका प्राविधिकले बताएका छन्।
त्यही कोरला नाकालाई पूर्ण रुपमा कसरी संचालन गर्न सकिन्छ भन्ने बुझ्नका लागि नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहितको टोलीले कोरला नाकाको शनिबार अनुगमन पनि गरेको छ। यसअघि चिनियाँ पदाधिकारीले सिन्धुपाल्चोकको तातोपानी नाकाको अनुगमन गरेका थिए। त्यसपछि कोरला नाका अनुगमन गर्न आएका हुन्। तातोपानी र कोरला नाका अवलोकनपछि मात्र कहाँको नाका संचालनमा ल्याउने भन्ने यकिन हुने चिनियाँ अधिकारीले बताएका थिए।
‘राजदूत सहितको टिम आउनु भएको हो। नेपाल र चीनलाई जोड्ने एकामत्र कोरला नाकालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने हेर्नका लागि चिनियाँ राजदूतसहितको टिम मुस्ताङ आएको हो,’ मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले भने, ‘राजदूत सहितको टिमले नाका क्षेत्र अनुगमन पनि गरेको हो। त्यसबाहेक राजदूतले हालैको बाढीले क्षतविक्षत पारेको कालिगण्डकी करिडोरलाई संचालन गर्नेबारे पनि जानकारी लिनुभएको हो।’ उनका अनुसार कोरला भन्सारलाई व्यवस्थित बनाउने बारेमा चिनियाँ पदाधिकारीले चाँसो दिएका थिए।
‘आयातनिर्यातलाई व्यवस्थित बनाउनेबारेमा छलफल पनि भयो। बाढिपहिरोले बिगारेको कालिगण्डकी करिडोरको बारेमा पनि चिनियाँ टोलीको विशेष चाँसो थियो,’ उनले भने।
रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान अहिले धमाधम कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको छ। चालु आर्थिक वर्षको हालसमम मुस्ताङ भन्सार कार्यालयले ६ अर्ब रुपैयाँ राजस्व पनि संकलन गरिसकेको छ। रसुवागढी र तातोपानी नाका बन्द भएपछि त्यहाँ पुगेका सामान सबै कोरलातिर डाइभर्ट गरिएको थियो। दिनमा ५० कन्टेनर हाराहारीमा अहिले कोरलाबाट सामान आयात हुँदै आएको थियो।
भन्सार कार्यालयका प्रमुख बिदुर चुडालले नेपालका लागि चिनियाँ राजदूत सहितको भ्रमण टोली कोरला नाकालाई व्यवस्थित रुपमा कसरी संचालन गर्न सकिन्छ भन्नेमा केन्द्रीत रहेको बताए। ‘वर्षभरि चौबिसैघण्टा कोरला भन्सार नाकालाई व्यवस्थित रुपमा संचालन गर्न सकिने वा नसकिने भन्नेमा उहाँहरु (दूतावास टिम)को चाँसो थियो। पूर्वाधारको अवस्थाबारेमा पनि उनीहरुले चाँसो राखेका थिए,’ चुडालले भने।
चुडालका अनुसार दूतावासको टिमले कोरला नाका व्यवस्थापन, नाकालाई चौबिसै घण्टा संचालन गर्नका चूनौती, आवश्यक पूर्वाधार बारमो बढि चाँसो राखेका थिए। ‘चिनियाँ क्षेत्रमा कुनै समस्या छैन। जे जति पूर्वाधार आवश्यक पर्ने हो, ती सबै नेपालतिर मात्र छ,’ उनले भने, ‘नृेपालतिर अझैसम्म व्यवस्थित भईसकेको छैन। पूर्वाधार पनि पर्याप्त छैनन। त्यस्तै कोरला नाकासम्मको पहुँच पनि सहज छैन।’
नेपालतिर पूर्वाधार अभावमा अझैपनि आयातनिर्यात सहज नभएको व्यावसायीले पनि बताउँदै आएका छन्। चिनियाँ खण्डमा पर्याप्त पूर्वाधार बनिसकेको भएपनि नेपालतर्फ भने अझै पनि अपर्याप्त रहँदा आयातनिर्यातमा समस्या रहेको उनीहरुको भनाई छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...